Friday, June 5, 2026
Homeराजनीतिभैरहवा कारागारमा रवि लामिछानेको सुरक्षार्थ विशेष व्यवस्था

भैरहवा कारागारमा रवि लामिछानेको सुरक्षार्थ विशेष व्यवस्था

लुम्बिनी – कारागार कार्यालय रूपन्देहीले सहकारी ठगीसम्बन्धी मुद्दामा भैरहवा कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य (निलम्बित) रवि लामिछानेको सुरक्षाका लागि विशेष व्यवस्था मिलाइएको जनाएको छ।

कारागार प्रशासक सुरेश भण्डारीद्वारा जारी विज्ञप्तिमा लामिछानेलाई एक छुट्टै कोठामा बसोबासको व्यवस्था गरिएको र समय–समयमा उहाँको समस्या तथा आवश्यकताबारे सोधपुछ गरी समाधान गर्ने कार्य भइरहेको उल्लेख गरिएको छ। लामिछाने चार महिनादेखि सहकारी ठगीसम्बन्धी मुद्दामा थुनुवाका रूपमा उक्त कारागारमा रहेका छन्।

विज्ञप्तिमा सञ्चारमाध्यममा कारागारसम्बन्धी प्रकाशित केही समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै, समाचारमा प्रयोग गरिएको तस्बिर कारागारभित्रको नभएको र समाचारमा वर्णन गरिएजस्तो अवस्था पनि वास्तविकतासँग मेल नखाने स्पष्ट गरिएको छ।

कारागार कार्यालयले लामिछानेलाई अन्य कैदीहरूले पाउने सेवासुविधामा विभेद नगरी समान सुविधा दिइँदै आएको र भेटघाट तथा सञ्चार सुविधा उहाँको चाहना अनुसार मात्र उपलब्ध गराइने जनाएको छ।

साथै, कारागार संवेदनशील क्षेत्र भएकाले समाचार प्रकाशन वा प्रसारण गर्दा भ्रम उत्पन्न हुने तस्बिर वा सामग्री नसमावेश गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका