काठमाडौं । होटलमा रोजगारी लगाइदिने लोभ देखाई नेपाली युवाहरूलाई भारत पुर्याएर मिर्गौला झिक्ने अन्तरदेशीय गिरोहको पर्दाफास भएको छ। मानव अङ्ग तस्करीको यो संगठित घटनामा संलग्न तीन जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका–१० का ३५ वर्षीय राजकुमार परियार (कुमार), नुवाकोट बेलकोटगढी नगरपालिका–९ का २४ वर्षीय समिर नेपाली, र सोही पालिकाको वडा नम्बर ४ का ४७ वर्षीय राकेश नेपाली रहेका छन्। उनीहरूलाई काठमाडौं र काभ्रेबाट पक्राउ गरिएको ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णप्रसाद पंगेनीले जानकारी दिए।
मिर्गौला बेच्न अस्वीकार गर्दा जबर्जस्ती निकालियो
पंगेनीका अनुसार, २०८२ साल जेठमा एक पुरुषलाई काठमाडौंको कोटेश्वरबाट ल्याई कलंकी–सुनौली हुँदै भारतको चण्डीगढ पुर्याइएको थियो। त्यहाँ ‘मासिक १०–२० हजार भारु कमाइ हुने’ प्रलोभनमा उनलाई एक होटलमा राखियो। केही समयपछि एक अज्ञात क्लिनिकमा स्वास्थ्य परीक्षण गरियो।
“त्यहाँ करिब एक महिना राखेपछि ‘छ लाख रुपैयाँ दिइन्छ, मिर्गौला निकालिसकेपछि नेपाल फर्कँदा पैसा दिइनेछ’ भनियो,” पंगेनीले पीडितको भनाइ उद्धृत गर्दै बताए। तर, पीडितले मिर्गौला दिन नमानेपछि डर, त्रास र करकापमा पारेर २०८२ साउन ९ गते जबर्जस्ती बायाँ मिर्गौला निकालिएको थियो।
सामूहिक पीडा, ब्युरोमा उजुरी
मिर्गौला झिकिएको केही दिनपछि ती पीडितसहित अन्य चार जना युवालाई नेपाल फर्काइएको थियो। साउन १५ गते काठमाडौं आइपुगेका पीडितले अन्ततः ब्युरोमा उजुरी दर्ता गरेका थिए। त्यसपछि ब्युरोले साउन २१ र २२ गते विशेष अपरेसनमार्फत तीनै जना अभियुक्तलाई नयाँ बसपार्क, टोखा र काभ्रेबाट पक्राउ गरेको हो।
५०–६० जनासम्म मिर्गौला तस्करी
प्रारम्भिक अनुसन्धानमा उनीहरूले आर्थिक रुपमा कमजोर पृष्ठभूमिका युवाहरूलाई रोजगारीको प्रलोभन देखाएर भारत लग्ने, क्लिनिकमा परीक्षण गराउने, र जबर्जस्ती मिर्गौला निकाल्ने कार्यमा लामो समयदेखि संलग्न रहेको खुलेको छ। एसएसपी पंगेनीका अनुसार, “अहिलेसम्म ५०–६० जना युवाको मिर्गौला निकालिएको अनुमान गरिएको छ।”
संगठित अपराध र मानव अधिकार हनन्
ब्युरोका अनुसार, अभियुक्तहरूविरुद्ध संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान अगाडि बढाइएको छ। उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर हिरासतमा राखिएको छ। साथै, घटनासँग सम्बन्धित अन्य फरार व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
एसएसपी पंगेनी भन्छन्, “यो केवल एउटा घटना होइन, यसले गरिबी, बेरोजगारी र सामाजिक असमानताबाट पीडित नेपाली युवाहरूलाई कसरी अन्तरदेशीय गिरोहले लक्षित गरिरहेका छन् भन्ने तीतो यथार्थ देखाएको छ।”
उनका अनुसार, मिर्गौला तस्करी नेपालमा बढ्दो चिन्ताको विषय बन्दै गइरहेको छ। जबसम्म कानुनी कठोरता र अन्तरदेशीय सहकार्य थप प्रभावकारी हुँदैन, तबसम्म यस्ता अपराध नियन्त्रण गर्नु चुनौतीपूर्ण रहनेछ।


