Tuesday, May 26, 2026
Homeअर्थ र ब्यापारभटमास र सूर्यमुखी तेलको आयात–निर्यातमा चुलिएको कारोबार, वीरगञ्ज नाका हुँदै अर्बौँको कारोबार

भटमास र सूर्यमुखी तेलको आयात–निर्यातमा चुलिएको कारोबार, वीरगञ्ज नाका हुँदै अर्बौँको कारोबार

वीरगञ्ज (पर्सा), २१ असार: चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेलको आयात उल्लेखनीय रूपमा बढेको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार सो अवधिमा भटमासको कच्चा तेल रु ५२ अर्ब ५८ करोड मूल्य बराबर आयात भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा रु ७ अर्ब ३७ करोडको मात्र भटमास कच्चा तेल आयात भएको थियो। यसअनुसार चालु वर्षको आयातमा ६१३.४१ प्रतिशत अर्थात् रु ४५ अर्ब २१ करोडको वृद्धि भएको हो।

भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानेका अनुसार कच्चा तेल आयातपछि नेपालमै प्रशोधन गरी विदेशी मुलुकहरूमा निर्यात गरिएको देखिन्छ।

चालु वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको तेल प्रशोधित गरेर कुल २५ करोड ८८ लाख १४ हजार ७३२ लिटर तेल रु ५५ अर्ब ३ करोड मूल्यमा निर्यात गरिएको छ। गत वर्षको सोही अवधिमा भने मात्र चार लाख ६४ हजार १३८ लिटर तेल रु आठ करोड ८३ लाख मूल्यमा निर्यात गरिएको थियो।

त्यस्तै, सोही अवधिमा सूर्यमुखी तेलको कच्चा पदार्थ पनि रु ९ अर्ब ७५ करोड बराबर आयात भएको छ, जुन गत वर्षको रु ८ अर्ब ४ करोड भन्दा बढी हो।

साथै, सूर्यमुखीको प्रशोधित तेल निर्यातमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। चालु आवको ११ महिनामा वीरगञ्ज नाका हुँदै तीन करोड ८८ लाख ९५ हजार ३३९ लिटर सूर्यमुखी तेल रु ८ अर्ब ४० करोड मूल्यमा निर्यात गरिएको छ। जबकि, गत वर्षको सोही अवधिमा मात्र पाँच लाख २७ हजार २९१ लिटर तेल रु नौ करोड ९४ लाख मूल्यमा निर्यात गरिएको थियो।

यसरी, वीरगञ्ज नाका हुँदै प्रशोधित खाद्य तेलको निर्यातमा आएको चपल वृद्धि नेपालको तेल प्रशोधन उद्योगको विस्तार र निर्यात क्षमताको संकेत हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका