पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको करिब चार वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउने सम्भावना बढेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को ध्वजावाहक वायुसेवा कम्पनी फ्लाई दुबईले बुधबारदेखि पोखरा–दुबई–पोखरा रुटमा नियमित उडान सुरु गर्ने तयारी गरेको हो।
फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। यात्रु लिएर सोही दिन साँझ ७ः१५ बजे पोखराबाट दुबईका लागि उडान गर्ने तालिका छ।
पोखरा विमानस्थल २०७९ पुस १७ गते अंग्रेजी नयाँ वर्षका दिन उद्घाटन गरिएको थियो। सञ्चालनमा आएपछि विभिन्न समयमा चार्टर्ड तथा केही नियमित अन्तर्राष्ट्रिय उडान भए पनि अपेक्षित रूपमा नियमित सेवा सञ्चालन हुन सकेको थिएन।
फ्लाई दुबईले दुबई अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–३ बाट पोखराका लागि नियमित सेवा सञ्चालन गर्नेछ। पहिलो उडानको अवसरमा पोखरा विमानस्थलमा विमानलाई वाटर स्यालुटसहित स्वागत गर्ने तयारी गरिएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक प्राविधिक तथा भौतिक पूर्वाधारको तयारी पूरा भएको छ। विमानस्थलभित्र अध्यागमन, भन्सार तथा सुरक्षा व्यवस्थासमेत थप व्यवस्थित गरिएको उनले बताए।
उनका अनुसार यसअघि विभिन्न वायुसेवा कम्पनीले चार्टर्ड उडान गरे पनि ती उडानले निरन्तरता पाउन सकेका थिएनन्। दुबईका लागि नियमित उडान सुरु हुन लागेकोमा विमानस्थल व्यवस्थापन उत्साहित रहेको उनले बताए।
फ्लाई दुबईले एमिरेट्ससँगको कोड सेयरअन्तर्गत सेवा सञ्चालन गर्ने भएकाले दुबईलाई ट्रान्जिट बनाएर विश्वका विभिन्न गन्तव्यमा यात्रा गर्न यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नियमित अन्तर्राष्ट्रिय उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग थप जोड्ने बताए। उनका अनुसार यसले पोखराको पर्यटन, व्यापार तथा अन्तर्राष्ट्रिय आवागमनलाई सहज बनाउन सहयोग पुग्नेछ।
उडान सुरु हुने भएपछि पोखराका पर्यटन व्यवसायी, उद्योगी तथा स्थानीय नागरिक उत्साहित भएका छन्। पहिलो उडानबाट पोखरा आउने तथा पोखराबाट जाने यात्रुलाई पर्यटन व्यवसायीले खादा र मालासहित स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन्।
होटल तथा पर्यटन व्यवसायीहरूले यात्रुका लागि छुट प्याकेज, उपहार कुपन, सूचना डेस्क र निःशुल्क पिकअपलगायतका सेवा उपलब्ध गराउने तयारी गरेका छन्।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुनु पर्यटन क्षेत्रका लागि महत्वपूर्ण अवसर भएको बताए। उनले उडानलाई सफल बनाउन स्थानीय व्यवसायी तथा सरोकारवालाले यात्रु आकर्षित गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले नियमित उडानले विदेशमा रहेका नेपालीलाई काठमाडौं हुँदै पोखरा आउनुपर्ने बाध्यता कम गर्ने बताए। उनले भिसा, श्रम स्वीकृति, स्वास्थ्य परीक्षण तथा कार्गो सेवाजस्ता सुविधासमेत पोखरामै सहज बनाउनुपर्ने आवश्यकता औँल्याए।
परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा–दुबई उडानलाई पर्यटनमा मात्र सीमित नगरी गण्डकी प्रदेशका कृषि तथा औद्योगिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए।
यसअघि १४६ अन्तर्राष्ट्रिय उडान
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म ७३ वटा चार्टर्ड र ७३ वटा नियमित गरी कुल १४६ वटा अन्तर्राष्ट्रिय उडान भएको विमानस्थलले जनाएको छ।
विमानस्थलका अनुसार हालसम्म करिब ३ हजार ८२८ यात्रुले अन्तर्राष्ट्रिय उडानमार्फत आवतजावत गरेका छन्। चीनको सिचुवानमा लामो समय चार्टर्ड उडान भएको थियो भने ल्हासामा करिब एक वर्ष नियमित उडान सञ्चालन भएको थियो। त्यसबाहेक विभिन्न गन्तव्यमा चार्टर्ड उडान भएका छन्।
अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न विमानस्थलले वायुसेवा कम्पनीलाई ल्यान्डिङ र पार्किङ शुल्कमा छुट दिँदै आएको छ। पछिल्लो समय यात्रु सेवा शुल्कमा समेत छुटको व्यवस्था गरिएको विमानस्थलले जनाएको छ।


