काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता सम्बन्धी प्रकरणमा नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई अदालतले ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
मंगलबार थुनछेक बहसपछि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीश डिल्ली रत्न श्रेष्ठको संयुक्त इजलासले अधिकारीलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो।
यसै प्रकरणका प्रतिवादी मुरारी भण्डारीलाई भने अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २१ गते प्रदीप अधिकारीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा आयोगले पाँच जना तत्कालीन मन्त्रीहरूलाई समेत प्रतिवादी बनाएको छ। साथै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्झौता गर्ने चिनियाँ कम्पनी चाइना सिएएमसी (China CAMC) विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ।


