काठमाडौँ । पोखरा क्षेत्रीय विमानस्थल निर्माणका क्रममा व्यापक भ्रष्टाचार भएको निष्कर्षसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५५ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले एक निर्माण कम्पनीलाई समेत प्रतिवादी बनाएको छ।
मुद्दा दायर गरिएकामध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्रीहरू स्व. पोस्ट बहादुर बोगटी, राम कुमार श्रेष्ठ, भीम प्रसाद आचार्य र दीपक चन्द्र अमात्य रहेका छन्।
त्यसैगरी तत्कालीन अर्थमन्त्री राम शरण महत, तत्कालीन सचिवहरू तथा नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न महर्जन, रतीशचन्द्र लाल सुमन र प्रदीप अधिकारीलगायत उच्च अधिकारीहरूलाई पनि प्रतिवादी बनाइएको छ।
अख्तियारको अनुसन्धान अनुसार विमानस्थल निर्माण प्रक्रियामा करिब ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार भएको ठहर छ।
1


