पोखरा, गण्डकी — हिमालय आँखा अस्पतालमा ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू) का चार बिरामी उपचाररत छन् । पछिल्लो एक सातामा उनीहरू अस्पताल भर्ना भएका हुन् ।
आँखामा गम्भीर असर पुगेका तीन जनाको शल्यक्रिया गरिएको र एक जनाको सामान्य उपचार भइरहेको अस्पतालका स्वास्थ्य निर्देशक डा. बबिता गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार हाल सापू रोगको जोखिम बढ्दै गएको छ र वर्षापछि दैनिक बिरामी आउन थालेका छन् । असोजदेखि मंसिरसम्म संक्रमणको दर अझै बढ्ने संभावना छ ।
सन् १९७५ मा पोखराको नारायणटारमा पहिलोपटक सापू रोग भेटिएको थियो, जसलाई नेत्र रोग विशेषज्ञ डा. मदन उपाध्यायले पत्ता लगाउनुभएको हो । यो रोग प्रायः पोखरा र वरपरका क्षेत्रमा देखिन्छ र दुई-दुई वर्षको अन्तरालमा फैलिने गरेको छ । सन् २०२१ पछि हाल पुनः संक्रमण पुष्टि भएको हो ।
डा. गुरुङका अनुसार बत्तीमा आकर्षित हुने कालो धर्सा भएको सेतो पुतलीको सम्पर्कबाट सापू लाग्ने गर्छ । संक्रमण भएपछि २४ घण्टाभित्र उपचार नगरे दृष्टि गुम्ने खतरा हुन्छ । रोग लाग्दा आँखा रातो हुने, उज्यालोमा हेर्न गाह्रो हुने, गेडी दुख्ने र दृष्टि कमजोर हुने जस्ता लक्षण देखिन्छन् ।
सापूबाट बच्न सेतो पुतलीको सम्पर्कमा नजान, साँझपख बालबालिकालाई बाहिर खेल्न नदिन, राति धेरै उज्यालो बत्ती नबाल्न र सुत्दा झुल प्रयोग गर्न सुझाव दिइएको छ । जटिल अवस्थामा शल्यक्रियामार्फत उपचार गर्नुपर्ने भए पनि प्रारम्भिक उपचार बेलैमा भए रोग निको हुन्छ ।
अस्पतालले सापू बिरामीलाई निःशुल्क जाँच र उपचार सुविधा उपलब्ध गराउँदै आएको छ ।


