काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले पेट्रोलियम पदार्थको मूल्य बढाइएकोप्रति आपत्ति जनाएको छ। खाडी क्षेत्रमा देखिएको युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै गरिएको मूल्यवृद्धिले यातायात क्षेत्रसहित समग्र जनजीवनमा नकारात्मक असर पर्ने महासंघले जनाएको छ।
महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले जारी गरेको विज्ञप्तिमा नेपाल आयल निगमले २०८२ चैत १ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत पेट्रोलियम पदार्थको मूल्य अस्वाभाविक रूपमा बढाएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
अमेरिका, इजरायल र इरानबीचको तनावका कारण खाडी क्षेत्रबाट विश्व बजारमा पेट्रोलियम पदार्थको उत्पादन तथा आपूर्ति प्रभावित हुँदा कच्चा तेलको मूल्य बढेको र त्यसको असर नेपालमा परेको निगमको भनाइ छ।
महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण आम नागरिक आक्रोशित बनेको र यसको प्रत्यक्ष असर यातायात व्यवसायमा पर्ने बताएको छ। वैज्ञानिक प्रणालीका आधारमा निर्धारण गरिएको भाडादरअनुसार ट्रक सञ्चालन गर्ने तथा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँ तलमाथि हुँदा भाडादर समायोजन गर्ने विषयमा यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी महासंघबीच लिखित सहमति भएको पनि उल्लेख गरिएको छ।
डिजेलको मूल्य बढेसँगै सोही वैज्ञानिक विधिअनुसार ट्रक भाडादर स्वचालित रूपमा समायोजन गर्न सरकारका सम्बन्धित निकायसँग महासंघले माग गरेको छ। हाल भाडादर प्रभावकारी रूपमा कार्यान्वयन नभएको अवस्थामा पेट्रोलियम पदार्थको मूल्य बढाइँदा ट्रक व्यवसायीलाई पुरानै भाडादरमा व्यवसाय सञ्चालन गर्न कठिन हुने महासंघले जनाएको छ।
महासंघका अनुसार २०६५ सालदेखि पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा सवारीसाधनको भाडा समायोजन गर्ने वैज्ञानिक नीति लागू गरिएको भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। साथै २०८१ साल पुस २२ यता भाडादरको पुनरावलोकनसमेत नभएकोप्रति महासंघले असन्तुष्टि जनाएको छ र मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ।
यसैबीच नेपाल आयल निगमले सोमबारदेखि पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य बढाएको छ। बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ तथा डिजेल–मट्टीतेल १५२ रुपैयाँ पुगेको छ। दोस्रो वर्गअन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोल १७१ रुपैयाँ र डिजेल–मट्टीतेल १५१ रुपैयाँ कायम गरिएको छ।
त्यस्तै पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा तथा डिजेल–मट्टीतेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ।


