प्रचण्डको दुःख मनाउ– ‘ओली र हामीलाई उस्तै–उस्तै चाहिँ नभनिदिनुहोस्, प्लिज !’
काठमाडौं : माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सबैभन्दा चित्त त्यतिखेर दुख्दोरहेछ, जब कसैले प्रधानमन्त्री केपी ओलीसँग तुलना गर्छ। ‘तपाईंहरू पनि ओलीजस्तै त हो नि’ भनिदियो भने झन् सहनै गाह्रो पर्दो रहेछ।
बिहीबार त्यस्तै भयो। विपक्षी गठबन्धनका तीन दल र दुई दलका प्यानल सम्बद्ध नेताले सम्पादकहरूसँग अन्तरक्रिया गरे। प्रधानमन्त्री ओलीद्वारै भएको अघिल्लो प्रतिनिधिसभा विघटनमा कांग्रेसबाहेकको यही समूहले यस्तै अन्तरक्रियामा सम्पादकहरूबाट गतिलो सहानुभूति पाएको थियो। आन्दोलनमा साथ–सहयोगको प्रतिबद्धतासमेत लिएको थियो।
यसपालि ठीक उल्टो भयो। सम्पादकहरूले उल्टै तीखा–तीता आलोचना गरिदिए।
– ‘कोर्स करेक्सन’ को कुरा गर्नुहुन्छ, तपाईंहरूको ‘करेक्सन’ चाहिँ कहिले गर्नुहुन्छ ?
– ओलीभन्दा तपाईंहरूको फरक के ? हामीले बुझेको फरक– उहाँ सत्तामा हुनुहुन्छ, तपाईंहरू हुनुहुन्न।
- ओली ढालेर आउने अनुहार, उही परिचित र परिक्षित तपाईंहरू नै होइन ? लौरो टेक्ने बेलामा अब हलो जोत्न अग्रसर नहुनुहोस्।
- विपक्षी गठबन्धनले खोपको पहल गर्दा के हुन्थ्यो ? सबै पूर्वप्रधानमन्त्री हुनुहुन्छ, अन्तर्राष्ट्रिय आह्वान गर्दा हुँदैन थियो ?
- ‘ओलीतन्त्र’ बनाउने, हुर्काउने तपाईंहरू नै होइन र ?
- शासनका खराब अभ्यासलाई टुंग्याउन तपाईंहरू नै चाहनुहुन्न। कारण आफू सत्तामा बस्दा उपभोग गर्न मज्जा आउने स्वाद पाइसक्नुभयो।
- जति गरे पनि तपाईंहरू सुध्रिएको र चेतेको खोइ ?
- सत्ता पाउँला, प्रधानमन्त्री बनुला भनेर आन्दोलनमा लागेको भए बेकार हो। तर, आन्दोलन त्यहाँभन्दा माथि जान सकेन। आदि।
- ‘चौथो अंगको भूमिका खरबदारी गर्ने हो’, सुझाव सुनिसकेपछि बोलेका अध्यक्ष दाहालले भने, ‘तर, केपी ओली र हामीलाई तपाईंहरूले उस्तै–उस्तै भन्नुभयो। उस्तै होइनन्। प्रधानमन्त्री पद त्याग्ने प्रचण्ड र प्रधानमन्त्री पद जोगाइराख्न लोकतन्त्र, संविधान सबै कुल्चिने ओली कसरी उस्तै–उस्तै भए ?’ ‘उस्तै–उस्तै’ भनेकामा दाहालले पटक–पटक गुनासो गरे। ‘तपाईंहरूले नै उस्तै–उस्तै भनेपछि’, उनको भनाइ थियो, ‘हामी त साह्रै अन्यायमा पर्ने भयौं। त्यसैले उस्तै–उस्तैलाई लिमिटभन्दा बढी नभनिदिनुहोस्, प्लिज।’
नेतृत्व अर्को पुस्तामा सुम्पन सम्पादकहरूले दिएको सुझावमा दाहालले भने, ‘हामीभन्दा गतिला नेता ल्याउन सक्नुहुन्छ भने छाड्न तयार छौं। तर, नेता जमिनमुनिबाट निकाल्न सकिन्न। आकाशबाट खसाउन पनि सकिन्न। जस्ता भए पनि (यो देशका नेता) हामी नै छौं। यसैलाई धोई–पखाली गर्नुपर्यो।’
‘बरु राजाको शान थियो’
गणतन्त्रवादी दाहालले राष्ट्रपतिको आलोचना गर्ने नाममा राजसंस्था र राजाको प्रशंसा गरे। ‘म नै राज्य हुँ भन्दै प्रधानमन्त्री हिँड्नुभएको छ। बाटा–बाटाबाट मन्त्री टिपेको छ। संवैधानिक निकाय त यति कमजोर छन् कि, त्यतिको कहिल्यै थिएनन्’, उनले भने, ‘राष्ट्रपति कार्यालय बदनाम भएको छ। योभन्दा राजा हुँदा शान थियो। अहिले शान, मान, इज्जत केही छैन।’
त्यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको मिलोमतोबाट लोकतन्त्र अप्ठ्यारोमा परेको आरोप लगाएका थिए। ‘संविधानको धारा ७६ (५) बमोजिम मलाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षरसहित पेस गरेको आवेदन स्वेच्छाचारी ढंगले राष्ट्रपतिबाट अस्वीकार भएको छ’, सभापति देउवाले भने। उनले अध्यादेशका भरमा शासन चलाउन खोजेको, खोप उपलब्ध गराउन नसकेको जस्ता टिप्पणी गर्दै प्रधानमन्त्रीको आलोचना गरे। जसपा अध्यक्ष उपेन्द्र यादवले ‘इतिहास हेर्दा जब–जब निरंकुशताको पहल हुन्छ, तब–तब संसद् भंग गरिन्छ’ भने। यस क्रममा उनले राजा महेन्द्र र ज्ञानेन्द्रका कदमका उदाहरण दिए। ‘विघटन गरेको संसद् पुनःस्थापना हुन्छ, प्रधानमन्त्री भने उही रहन्छन्’, उनले भने, ‘एउटै संसद् एउटै प्रधानमन्त्रीले दुईपटक भंग गरेको सम्भवतः नेपालमा पहिलो हो।’ एमालेबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपालले देशलाई भड्खालोमा जानबाट जोगाउन आफूहरूको पहल रहेको बताए।
‘हामी सकारात्मक शक्तिहरूको हातेमालो गर्न चाहन्छौं’, उनले भने, ‘कोर्स करेक्सन गरेर आउनुभयो भने केपी ओलीलाई पनि ठाउँ दिनुपर्छ है, शेरबहादुरजी।’अन्नपूर्णबाट


