काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले रौतहटका ४२ वर्षीय निराजन (निरन्जन कुमार खरेल) लाई पक्राउ गरेको हो। सिआइबी प्रमुख एआइजी मनोज केसीका अनुसार, उनी शरणार्थी प्रकरणमा संलग्न महत्वपूर्ण व्यक्ति हुन्।
सुरूवाती अनुसन्धानमा निराजनको नाम खुलेको भए पनि उनको पहिचान पत्ता नलाग्दा उनी पक्राउ परेका थिएनन्। ‘कोर टिममै बसेर ठगी गर्ने व्यक्ति हुन्। सुरुमा उनको नाममात्र थियो, पहिचान भएपछि मात्रै पक्राउ गर्न सफल भयौं,’ एआइजी केसीले जानकारी दिए।
शुक्रबार पक्राउ गरी उनलाई ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार, निराजनले भुटानी शरणार्थी बनेर जान चाहने पीडितहरूबाट नगद तथा चेकमार्फत रकम संकलन गर्थे र त्यसलाई ओसारपसार तथा नक्कली कागजात तयार पार्न प्रयोग गर्थे। उनले प्रमुख गिरोहसँग समेत मिलेर रकम असुली गर्ने काम गरेको आरोप छ।


