काठमाडाैं। आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि रास्वपा सभापति रवि लामिछानेले आक्रोश पोखेका छन्। लामिछानेले आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि प्रधानमन्त्री केपी ओलीलाई निशाना साँधेका छन्। सामाजिक सञ्जालमा लेख्दै लामिछानेले तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हत्कडी भन्दै प्रश्न गरेका छन्।
उनले भनेका छन्-
तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ? तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपिदिनुपर्ने ? तपाई प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने, मैले ठगीको आरोप खेपिदिनुपर्ने ? तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दा पनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चढ्नुपर्ने ? तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, म सहकारी ठग भैदिनुपर्ने?
यति गरेपछि भाटभटिनीको इस्यु मोड्न पनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिंड्न परेन। तर म कहिले भागेर हिँडिन र हिड्दिन पनि। ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो।वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।यो मलाई राम्रोसँग थाहा छ।तपाईको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो। तपाईहरुका दलका नेता /कार्यकर्ता प्रमाणित सहकारी ठग हुन् । कोही जेलमा छन् कोही फरार छन् ।तपाईहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ। अब तपाईहरुबाट पीडितले न्याय पाउँदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौ।
ठीक छ,म तपाईहरुको दिनगन्ती शुरु भएको खुशियालीमा कानुनलाई पूरै सघाउने प्रतिवद्धता व्यक्त
गर्दछु ।
नयाँ पुस्तालाई एक-एक गर्दै सक्काउदै जाने तिमीहरुको कुनियतले तिमीहरुलाई चाडैं रसातलमा पुर्याएको यो देशले चाडै देख्नेछ। शुरूवात तिमीहरुले गर्यौ,अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्, छिट्टै
गर्नेछन् । अहिलेलाई,सरकार मर्यो हामीलाई जुठो पर्यो। तर मलाई न्यायलयप्रति आशा र न्याय प्रेमी जनताप्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईको सभापतिले कसैलाई ठगेको छैन ।


