काठमाडौं । टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको अन्तिम सुनुवाइ नसकिएपछि विशेष अदालतले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राख्दै भोलिका लागि पेसी तोकेको छ।
विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासमा मुद्दाको अन्तिम सुनुवाइ भइरहेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँ बराबरको बिगो, जरिवाना र सजायको माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बस्नेतले पर्याप्त अध्ययन र कानुनी आधारबिनै आफ्नो प्रस्तावमा टेरामक्स प्रविधि खरिद गर्ने निर्णय गराएका थिए। नेपाल दूरसञ्चार प्राधिकरणको बजेट तथा कार्यक्रम स्वीकृतिको क्रममा अन्तर्राष्ट्रिय कल मोनिटरिङ तथा भीओआईपी नियन्त्रणका लागि उक्त प्रणाली खरिद गर्ने निर्णय गरिएको आरोप छ।
यस्तै, तत्कालीन नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झामाथि आवश्यक कानुनी पूर्वाधार तयार नभएको अवस्थामा टेरामक्स प्रणाली कार्यान्वयन प्रक्रिया अघि बढाएको आरोप लगाइएको छ।
अख्तियारका अनुसार प्रारम्भिक अध्ययनले कानुन बनेपछि मात्र नागरिकको कल आदानप्रदान र डेटा प्रयोगसम्बन्धी अनुगमन गर्न सकिने सुझाव दिएको थियो। तर त्यसविपरीत झाले २०७३ माघ २१ गते टेरामक्स खरिदको निर्णय गराएका थिए।
आयोगले वार्षिक बजेट एकपटक मात्र स्वीकृत हुने व्यवस्था हुँदाहुँदै पनि उनले एउटै प्रस्ताव पटक–पटक बोर्डमा पेस गरी दबाब सिर्जना गरेर बदनियतपूर्वक खरिद प्रक्रिया अघि बढाएको आरोपसमेत लगाएको छ।


