Wednesday, June 3, 2026
Homeस्वास्थ्य र जीवनशैलीटिचिङ अस्पतालमा १५ शैय्याको ग्रीन वार्ड र थ्री टेस्ला एमआरआई सेवा सुरु

टिचिङ अस्पतालमा १५ शैय्याको ग्रीन वार्ड र थ्री टेस्ला एमआरआई सेवा सुरु

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा थप गरिएको १५ शैय्याको इमर्जेन्सी ग्रीन एरिया वार्ड र आधुनिक थ्री टेस्ला एमआरआई सेवा औपचारिक रूपमा सुरु गरेका छन्।

थ्री टेस्ला एमआरआई मेसिन जडानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० करोड रुपैयाँ उपलब्ध गराएको थियो।

सेवा शुभारम्भ गर्दै मन्त्री पौडेलले टिचिङ अस्पतालप्रति नागरिकको विश्वास उच्च भएको उल्लेख गरे। उनले सरकारी अस्पतालहरूमा बिरामीको चाप बढ्नुको मुख्य कारण पनि यही विश्वास भएको बताए। थपिएका सेवाले सर्वसाधारणलाई सुलभ र सुपथ मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउनेमा विश्वास व्यक्त गर्दै उनले मन्त्रालयले सेवा विस्तार र आधुनिकीकरणमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए।

“टिचिङको सेवा अझ आधुनिक र क्षमतावान बनाउन मेरो साथ रहनेछ,” मन्त्री पौडेलले भने।

अस्पतालका निर्देशक प्राडा सुभाष आचार्यले मन्त्रालयको सहयोगमा अत्याधुनिक एमआरआई सेवा सुरु गर्न सकिएको जनाउँदै अब बिरामीहरूलाई महँगो शुल्क तिरेर बाह्य संस्थामा जानु नपर्ने बताए।

अस्पतालको इमर्जेन्सीमा बिरामीको चाप अत्यधिक भए पनि शैय्या अभावका कारण एकै बेडमा दुई जनासम्म भर्ना गर्नुपर्ने अवस्था आएको थियो। यो समस्यालाई सम्बोधन गर्न ग्रीन एरियामा थप १५ शैय्या पुर्‍याइएको हो।

यसअघि केवल आठ बेडमात्र रहेको इमर्जेन्सी ग्रीन वार्डको क्षमता दोब्बर भएसँगै अब थप बिरामीलाई सहज सेवा दिन सकिने अस्पतालले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका