Friday, July 3, 2026
Homeअन्तराष्ट्रियचीनकी महिला डाक्टरको अनौठो यात्रा: अस्पतालमा डाक्टर, फुर्सदमा कवाडी संकलन

चीनकी महिला डाक्टरको अनौठो यात्रा: अस्पतालमा डाक्टर, फुर्सदमा कवाडी संकलन

काठमाडौं: पेशाले डाक्टर एक युवतीले चिकित्सा अध्ययन पूरा गरेपछि एक निजी अस्पतालमा पूर्णकालीन रूपमा कार्यरत छिन्। तर आश्चर्यजनक रूपमा, उनलाई अस्पतालबाट प्राप्त हुने तलबभन्दा बढी आम्दानी उनले आंशिक समयमा कवाडी बेचेर गरिरहेकी छन्।

यी २६ वर्षीया महिला डाक्टर सियोङ (Xiong) दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको चेङ्दुस्थित एक सानो निजी अस्पतालमा बिहान ८ बजेदेखि साँझ ५:३० बजेसम्म डाक्टरको रूपमा काम गर्छिन्। अस्पतालको ड्युटी सकिएपछि उनी सिधा आफ्ना आमाबाबुले सञ्चालन गर्दै आएको नजिकैको रिसाइक्लिङ स्टेशन पुग्छिन्।

सियोङ रिसाइक्लिङ स्टेशनमा फोहोर सामग्रीहरू जम्मा गर्न, तिनलाई वर्गीकरण गर्न, ढुवानी गर्न र बेच्न मद्दत गर्छिन्। सामान्यतः उनी राति ९ बजे मात्र घर फर्किन्छिन्। उनका अनुसार, यस कामको बदलामा आमाबाबुले उनलाई पकेट मनी स्वरूप जुन रकम दिन्छन्, त्यो अस्पतालको तलबभन्दा बढी हुन्छ।

“म अस्पतालबाट महिनामा ४ हजार युआन (करीब ७५ हजार रुपैयाँ) मात्र कमाउँछु,” सियोङले South China Morning Post सँगको कुराकानीमा भनिन्, “तर मेरा आमाबाबुले रिसाइक्लिङमा सहयोग गरेबापत जुन रकम दिनुहुन्छ, त्यो यसभन्दा धेरै हुन्छ।”

सियोङले चिनियाँ सामाजिक सञ्जालमा आफ्नो दोहोरो जीवनशैलीका भिडियोहरू पनि शेयर गरेकी छन्, जसमा उनले अस्पतालको काम र रिसाइक्लिङ स्टेशनमा व्यस्त दिनचर्याको दृश्य प्रस्तुत गरेकी छन्। भिडियोहरू सार्वजनिक भएपछि चीनभर यो विषयमा व्यापक चर्चा भइरहेको छ।

सियोङका अनुसार उनी बाल्यकालदेखि नै आफ्ना आमाबाबुलाई सहयोग गर्दै आएकी हुन्। त्यसैले रिसाइक्लिङ जस्तो मेहनती काममा संलग्न हुन उनलाई कुनै संकोच छैन। हाल रिसाइक्लिङ स्टेशनमा उनका आमाबाबुले दुई जना कामदार पनि राखेका छन्, जसले मेसिन सञ्चालन र ट्रक चलाउने काम गर्छन्।

सियोङको जीवनशैलीले मेहनत, समर्पण र परिवारप्रतिको उत्तरदायित्वबोधको अनुकरणीय सन्देश दिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका