नारायणगढ (चितवन), ४ साउन । चितवन जिल्लामा गत आर्थिक वर्षमा ३,८८९ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालयका अनुसार तीमध्ये १,५४८ पुरुष र १,४७२ महिला गरी ३,०२० जना चितवन जिल्लाभित्रै संक्रमित भएका हुन्। अन्य जिल्लाबाट आएका ८६९ जनामा पनि संक्रमण देखिएको छ।
सबैभन्दा बढी संक्रमण भरतपुर महानगरपालिकामा देखिएको छ, जहाँ १,१७१ जनामा डेङ्गु पुष्टि भएको थियो। त्यसपछि रत्ननगरमा ९०७, इच्छाकामनामा ४६७, खैरहनीमा २२३, राप्तीमा १२४, कालिकामा ९१ र माडी नगरपालिकामा ३७ जना संक्रमित भएका थिए। गत वर्ष डेङ्गुका कारण १ जनाको मृत्यु पनि भएको थियो।
पछिल्लो वर्ष १७,३५३ जनाको रगत परीक्षण गरिएकोमा संक्रमणदर अघिल्ला वर्षहरूको तुलनामा उच्च देखिएको छ। भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार अघिल्लो आवमा १,८३१ जनामा डेङ्गु देखिएको थियो, जुन २३,८४० जनाको परीक्षणबाट पुष्टि भएको हो।
विगत वर्षहरूको तुलनामा संक्रमणको उतारचढाव देखिन्छ:
आव २०७४/७५: १,२९१ परीक्षण, ५९ संक्रमित
आव २०७५/७६: १,९५१ परीक्षण, ३१ संक्रमित
आव २०७६/७७: १९,२३० परीक्षण, ४,८०३ संक्रमित
आव २०७७/७८: १,७१७ परीक्षण, २४३ संक्रमित
आव २०७८/७९: १४,९७८ परीक्षण, ३,३३६ संक्रमित
आव २०७९/८०: ५,४५४ परीक्षण, ३०३ संक्रमित
मुख्य बजार क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्र मानिँदै आएको छ। संक्रमण बढ्न नदिन स्वास्थ्य कार्यालयले सातै पालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिसँग समन्वय गरी सचेतना र नियन्त्रणका कार्यक्रम अघि बढाएको छ। लामखुट्टेको सङ्ख्या मौसमी कारणले बढ्ने भएकाले सबैलाई सतर्क रहन आग्रह गरिएको छ।
नेपालमा पहिलोपटक डेङ्गु सन् २००४ मा चितवनमा एक जापानी पर्यटकमा देखिएको थियो। त्यसयता संक्रमण क्रमशः देशभर फैलिँदै गएको छ। सन् २०१० मा ३,२९८ जनाको परीक्षणमा ७३९ जनामा संक्रमण देखिएको थियो।
डेंगु विषाणुजन्य रोग भएकाले यसको प्रत्यक्ष उपचार छैन। पाँचदेखि सात दिनसम्म रहने ज्वरोका साथै आँखाको गेडी दुख्ने, शरीर बिबिरा आउने, रक्तश्राव हुने, जोर्नी दुख्ने, वान्ता हुनेजस्ता लक्षण देखिन सक्छन्। यसबाट बच्न मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो।
जनस्वास्थ्य कार्यालयले घर वरिपरिका खाली ड्रम, टायर, बट्टाजस्ता स्थानमा पानी जम्न नदिन सुझाव दिएको छ।


