Tuesday, July 21, 2026
Homeअन्तराष्ट्रियग्रीनल्याण्ड गाभ्ने ट्रम्पको संकेत, युरोपेली राष्ट्रहरूको कडा आपत्ति

ग्रीनल्याण्ड गाभ्ने ट्रम्पको संकेत, युरोपेली राष्ट्रहरूको कडा आपत्ति

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको अर्ध–स्वायत्त क्षेत्र ग्रीनल्याण्डलाई अमेरिकामा गाभ्न सैन्य विकल्पसमेत प्रयोग हुन सक्ने संकेत दिएका छन्। ह्वाइट हाउसले ग्रीनल्याण्ड प्राप्तिलाई “राष्ट्रिय सुरक्षाको प्राथमिकता” भन्दै यसका लागि विभिन्न विकल्पबारे छलफल भइरहेको पुष्टि गरेको छ।

ह्वाइट हाउसले मंगलबार जारी गरेको विज्ञप्तिमा अमेरिकी सेनाको प्रयोग सधैँ कमाण्डर–इन–चिफको नियन्त्रणमा रहने विकल्प भएको उल्लेख गरेको छ। राष्ट्रपति ट्रम्पले सुरक्षा कारण देखाउँदै अमेरिकालाई ग्रीनल्याण्ड आवश्यक रहेको दाबी दोहोर्‍याएका छन्। तर, डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले अमेरिकाले कुनै पनि प्रकारको आक्रमण गरेमा त्यसले नेटो सैन्य गठबन्धनको अस्तित्वमै गम्भीर असर पार्ने चेतावनी दिएकी छन्।

यस विषयमा युरोपेली राष्ट्रहरूले कडा आपत्ति जनाएका छन्। बेलायत, फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड र स्पेनका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै डेनमार्कको समर्थन जनाएका छन्। उनीहरूले ग्रीनल्याण्ड त्यहाँका जनताको भएको र यसको भविष्यबारे निर्णय गर्ने अधिकार डेनमार्क र ग्रीनल्याण्डलाई मात्रै रहेको स्पष्ट पारेका छन्। साथै, युरोपेली नेताहरूले संयुक्त राष्ट्रसंघको बडापत्र, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्न ट्रम्प प्रशासनलाई आग्रह गरेका छन्।

ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनले पनि अन्तर्राष्ट्रिय कानुन र क्षेत्रीय अखण्डताको सम्मान गर्दै विवाद समाधानका लागि सम्मानजनक संवाद आवश्यक रहेको बताएका छन्।

यो विवाद अमेरिकाले भेनेजुएलामा गरेको सैन्य हस्तक्षेपपछि थप चर्किएको बताइएको छ। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी अमेरिका लगिएको घटनापछि ह्वाइट हाउसका एक वरिष्ठ सल्लाहकारसँग सम्बन्धित सामाजिक सञ्जाल पोस्टले ग्रीनल्याण्ड विवादलाई थप चासोको विषय बनाएको थियो।

यसैबीच, ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले ग्रीनल्याण्ड अमेरिकाको हिस्सा हुनुपर्ने कुरा सरकारको औपचारिक धारणा भएको बताएका छन्। उनले ग्रीनल्याण्डको भविष्यका विषयमा अमेरिकासँग कसैले पनि युद्ध नगर्ने दाबीसमेत गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका