काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले किसानले उत्पादन गरेको खसी–बोक्राको उचित मूल्य सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर रहेको बताएकी छन्।
उनका अनुसार किसानदेखि व्यापारी र बजारसम्मको आपूर्ति शृङ्खला, खरिद मूल्य तथा उत्पादकले प्राप्त गर्ने वास्तविक प्रतिफलको अवस्थाबारे तथ्याङ्क सङ्कलन तथा अध्ययन प्रक्रिया अघि बढाइएको छ।
मन्त्री चौधरीले किसानले आफ्नो उत्पादनको न्यायोचित मूल्य पाउने वातावरण निर्माण गर्नुका साथै उपभोक्तासम्म सहज, पारदर्शी र व्यवस्थित आपूर्ति प्रणाली विकास गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य भइरहेको जानकारी दिइन्।
उनले उत्पादक र उपभोक्ता दुवैको हितलाई ध्यानमा राख्दै आवश्यक नीतिगत तथा समन्वयात्मक पहलका सम्बन्धमा सरकारले छिट्टै थप निर्णय सार्वजनिक गर्ने बताइन्।


