Friday, June 26, 2026
Homeराजनीतिकाठमाडौंका विभिन्न स्थानमा दुई महिनाका लागि निषेधाज्ञा

काठमाडौंका विभिन्न स्थानमा दुई महिनाका लागि निषेधाज्ञा

काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न पाँच स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिसमा जिप्रकाले आइतबार (फागुन २५ गते) देखि लागू हुनेगरी यो आदेश जारी गरेको हो।

निषेधाज्ञा जारी भएका स्थानहरूमा राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन क्षेत्र रहेका छन्। आदेशअनुसार ती स्थानहरूमा पाँच जनाभन्दा बढी व्यक्तिले भेला भएर नारा, जुलुस, धर्ना, घेराउ तथा प्रदर्शन गर्न नपाइनेछ।

निषेधाज्ञा जारी गर्ने कारण

जिल्ला प्रशासन कार्यालयका अनुसार कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका कार्यालयहरू, अति विशिष्ट व्यक्तिहरूको निवास तथा प्रमुख प्रशासनिक केन्द्रहरूको सुरक्षालाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको हो। विरोध प्रदर्शनका कारण सार्वजनिक सेवा प्रवाह, यातायात, सार्वजनिक सम्पत्ति तथा समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकाले यस्तो निर्णय गरिएको प्रशासनको भनाइ छ।

आदेशमा भनिएको छ, “कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका कार्यालय तथा अति विशिष्ट व्यक्तिहरूको निवास क्षेत्रमा भीडभाड तथा प्रदर्शन हुँदा तोडफोड, आगजनी तथा अशान्ति हुन सक्ने देखिएको छ। यसले अत्यावश्यक सेवा प्रवाह तथा सार्वजनिक सुरक्षामा बाधा पुर्‍याउने जोखिम भएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ।”

निषेधाज्ञा लागू हुने स्थानहरू

१. राष्ट्रपति कार्यालय (शीतल निवास), महाराजगंज क्षेत्र

उत्तर-पूर्व: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म

पूर्व-दक्षिण: सामाखुशी मोडदेखि १०० मिटर दक्षिणसम्म

दक्षिण-पश्चिम: सामाखुशी मोडदेखि सामाखुशी खोलासम्म

२. उपराष्ट्रपति कार्यालय (हरित गृह), लैनचौर क्षेत्र

केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म

३. प्रधानमन्त्री निवास, बालुवाटार क्षेत्र

वालुवाटार पवित्र वर्कशप चोकदेखि नेपाल राष्ट्र बैंक हुँदै इटालिया चोकसम्म

इटालिया चोकदेखि पश्चिम: राष्ट्रिय सभा अध्यक्ष निवाससम्म

प्रधानमन्त्री निवास उत्तरपूर्वी मोडदेखि प्रधान न्यायाधीश निवासको मोडसम्म

राष्ट्र बैंक चोकदेखि पूर्वतर्फ जाने सडकमा १०० मिटर भित्र

४. सिंहदरबार क्षेत्र

भद्रकाली मन्दिर (तिनकुने आइल्याड) को पूर्वी कुनादेखि सिंहदरबार मूलगेटसम्म

सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय माविको मोडसम्म

पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय हुँदै अनामनगरको उत्तरपूर्वी मोडसम्म

सिंहदरबार दक्षिण गेटदेखि हनुमानस्थान मन्दिरसम्म

जिल्ला अदालतको पूर्वी मोडदेखि जिल्ला प्रशासन कार्यालयको उत्तरतर्फको मोडसम्म

५. संसद भवन, नयाँ बानेश्वर क्षेत्र

संसद भवन चारैतर्फको सडक क्षेत्र

संसद भवन दक्षिण-पूर्वी मोडदेखि ३०० मिटर पूर्वतर्फ

बानेश्वर चोकदेखि पश्चिमतर्फ ३०० मिटर

प्रशासनले निषेधाज्ञा उल्लङ्घन गरेमा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका