काठमाडौँ – व्यावसायिक भिसामा बसेर ‘म्यारिज ब्युरो’ सञ्चालन गरेको आरोपमा चार जना चिनियाँ नागरिक काठमाडौँमा पक्राउ परेका छन्। काठमाडौँको सोह्रखुट्टेस्थित मिलीजुली चोकबाट अध्यागमन विभागको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार पक्राउ परेकामध्ये एक महिला र तीन पुरुष छन्। व्यावसायिक भिसामा नेपाल बसेका उनीहरूले कमजोर आर्थिक हैसियत भएका नेपाली युवतीहरूलाई चिनियाँ नागरिकसँग विवाह गराउने काममा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ।
हाउजिङ क्षेत्रमा बस्दै आएका उनीहरूले आफ्नो व्यवसायबारे कुनै विश्वसनीय जानकारी दिन नसकेको विभागले जनाएको छ। निर्देशक ढकालका अनुसार उनीहरूले नेपाली किशोरीहरूलाई टिकटक भिडियो बनाउन लगाई विभिन्न चिनियाँ नागरिकसँग सम्पर्क गराइ विवाह मिलाउने ‘म्यारिज ब्युरो’ सञ्चालन गर्दै आएका थिए। विभागको अनुसन्धानले केही युवतीलाई विवाह गराइ चीन पठाइएको तथ्य पनि पत्ता लागेको छ।
पक्राउ परेकामध्ये दुई जना विगत १० वर्षदेखि पर्यटक, अध्ययन र व्यावसायिक भिसा लिएर नेपाल बस्दै आएको भेटिएको छ।
विद्यमान कानुनअनुसार गैरकानुनी रूपमा बसोबास गर्ने वा भिसाको दुरुपयोग गर्ने विदेशी नागरिकलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्न तथा नेपालबाट निष्कासन गर्न सकिने व्यवस्था रहेको विभागले जनाएको छ।


