काठमाडौं। फ्लड लाइटको उज्यालोमा पहिलोपटक कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान उत्साहले भरियो। प्याराफिटमा हजारौं दर्शक र बाहिरबाट पनि ठूलो संख्यामा समर्थकले उद्घाटन खेल हेरे। सीमित सिटका कारण धेरैले मैदानबाहिरबाटै समर्थन जनाए।
नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो खेलमा काठमाडौँ गोर्खाजले जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्दै फ्लड लाइटमा भएको ऐतिहासिक खेललाई झनै यादगार बनायो। कप्तान करण केसीले पहिलोपटक घरेलु मैदानमा फ्लड लाइटमा खेल्न पाउँदा विशेष अनुभूति भएको बताए।
उनले भने, “आजको खेलमा छुट्टै अनुभव भयो। पहिलोपटक फ्लड लाइटमा खेल्न पाउँदा भित्रैबाट ठूलो खुसी लागेको छ। पहिलो खेलमै जित निकाल्न पाउनु झन् सुखद् क्षण हो।” पिचले स्पिनरलाई साथ दिएको र स्पिनिङ आक्रमणकै कारण खेल आफ्नो पक्षमा आएको पनि उनले बताए। आगामी खेलमा अझ राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
जनकपुर बोल्ट्सका कप्तान अनिल साहले पनि नेपालमै फ्लड लाइटमा खेल्न पाउनु आफ्नो लामो समयदेखिको सपना पूरा भएको बताए। तर ब्याटिङतर्फ लामो साझेदारी बन्न नसकेको कारण हार बेहोरिएको उनले स्वीकारे। “सुरुआत राम्रो भए पनि साझेदारी जम्न नसक्दा खेल मोड्न सकिएन,” उनले भने।
सरकारले एनपिएलको पहिलो संस्करण सफल भएपछि मैदानमा फ्लड लाइट जडानमा चासो देखाएको थियो। रु ४२ करोड १९ लाख लागतमा जडान गरिएको फ्लड लाइट छवटा खम्बामा राखिएको छ, जसमा प्रत्येक खम्बामा ७० लाइट गरी जम्मा ४२० लाइट छन्।
क्यानका अनुसार एनपिएलका ३२ मध्ये २३ खेल फ्लड लाइटमा हुनेछ। प्रतियोगिता मंसिर २७ गतेसम्म चल्नेछ। लिगमा आठ टोली — विराटनगर किङ्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स — प्रतिस्पर्धामा छन्।


