रौतहट — कटहरिया नगरपालिकामा सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्याएको आरोपमा सात जना तत्कालीन कर्मचारी र एक संस्थाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा नगरसभाबाट बजेट स्वीकृत नभएको अवस्थामै सरिता फाउण्डेसनको नाममा पाँच लाख रुपैयाँको चेक जारी गरिएको थियो। मिलेमतोमा गरिएको भुक्तानी प्रक्रिया मार्फत रकम हिनामिना भएको अनुसन्धानबाट खुल्न आएको आयोगले जनाएको छ।
आयोगको ठहरमा अनियमित रूपमा भुक्तानी लिई–दिई नगरपालिकालाई कुल ९ लाख ९८ हजार ९२१ रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको छ। यसका आधारमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, सहायक लेखापाल विवेक कुमार सहनी, सहायक पाँचौँ स्तरका कर्मचारी राम नरेश प्रसाद यादव, कम्प्युटर अपरेटर उमेश कुमार दास, खरिदार कौशल किशोर चौधरी लगायत सात कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको विवरणमा उल्लेख छ।
यसबाहेक, काठमाडौँस्थित सरिता फाउण्डेसन तथा संस्थाकी निर्देशक सरिता कुमारी साहविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा मुद्दा दायर गरिएको हो। दोषी ठहरेमा सोही रकम बराबरको जरिवाना तथा कानुनअनुसारको सजाय हुने व्यवस्था ऐनमा छ।


