Friday, July 31, 2026
Homeखेलकुदएसीसी टी–२० एसिया कपमा पाकिस्तानमाथि भारतको सहज जित

एसीसी टी–२० एसिया कपमा पाकिस्तानमाथि भारतको सहज जित

काठमाडौँ । भारतले एसीसी टी–२० एसिया कपमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ । आइतबार दुबई क्रिकेट रंगशालामा भएको खेलमा भारतले लगातार दोस्रो जित दर्ता गर्दै सुपर–४ चरणको नजिक पुगेको हो ।

१ सय २८ रनको लक्ष्य पछ्याएको भारतले १५.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । कप्तान सूर्यकुमार यादवले ३७ बलमा ५ चौका र १ छक्कासहित ४७ रन बनाए भने शिबम दुबे १० रनमा अविजित रहे । ओपनर अभिषेक शर्माले १३ बलमा ४ चौका र २ छक्कासहित ३१ रन, शुभमन गिलले १० रन र तिलक बर्माले ३१ रन जोडे ।

यसअघि टस जितेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन मात्र बनाउन सक्यो । पाकिस्तानका सहिबजादा फहरानले ४४ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । अन्तिमतिर शाहिन शाह अफ्रिदीले १६ बलमा ४ छक्कासहित अविजित ३३ रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याए ।

भारतको जितमा स्पिनर कुलदीप यादव सर्वाधिक प्रभावकारी रहे, उनले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । अक्षर पटेल र जस्प्रित बुमराहले २–२ विकेट तथा हार्दिक पाण्ड्या र बरुण चक्रवर्तीले १–१ विकेट हात पारे ।

यस जितपछि समूह ‘ए’ मा भारत ४ अंकसहित शीर्ष स्थानमा छ । पहिलो खेलमा युएईलाई ९ विकेटले हराएको भारतले अब समूह चरणको अन्तिम खेल शुक्रबार ओमानसँग खेल्नेछ । पाकिस्तान २ खेलमा १ जित र १ हारसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा ओमानलाई ९३ रनले हराएको पाकिस्तानले अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ, जहाँ सुपर–४ मा पुग्न जित अनिवार्य हुनेछ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका