काठमाडौं: शनिबार सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी सञ्चालन गरेको आरोपमा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्तिहरूमा उत्तरप्रदेशको आग्रा, सिकन्दरा पञ्चायत निवासी ४७ वर्षीय हरिस जावा र ३८ वर्षीय ऋषि मातन रहेका छन्। उनीहरू हाल टोखा, ग्राण्डी क्षेत्रमा बस्दै आएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूले एनपीएलमा सट्टेबाजी सञ्चालन गरिरहेका थिए। पक्राउ परेका व्यक्तिहरूको साथबाट ५ थान मोबाइल, १ थान ल्यापटप, ८ थान सिम कार्ड, राहदानी, आधार कार्ड, र भोटिङ कार्डजस्ता सामग्री बरामद गरिएको छ।
प्रहरीले उनीहरूविरुद्ध सट्टेबाजीसम्बन्धी कानुनी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।


