Tuesday, July 21, 2026
Homeअन्तराष्ट्रियइन्डोनेशियाको नयाँ फौजदारी संहिता लागू, विवाहपूर्व यौन सम्बन्धलाई अपराध मानिने

इन्डोनेशियाको नयाँ फौजदारी संहिता लागू, विवाहपूर्व यौन सम्बन्धलाई अपराध मानिने

काठमाडौं । इन्डोनेशियाको नयाँ फौजदारी संहिता जनवरी २ अर्थात् आजदेखि लागू भएको छ। नयाँ कानुनले विवाहपूर्व यौन सम्बन्ध, विवाहित दम्पती बाहेक अन्यसँगको यौन सम्बन्ध तथा देशप्रति अपमानजनक भनाइलाई अपराध ठहर गर्ने व्यवस्था गरेको छ।

३४५ पृष्ठको यो फौजदारी संहिता सन् २०२२ मा पारित गरिएको हो, जसले डच उपनिवेशकालीन कानुनलाई प्रतिस्थापन गरेको छ। कानुनको व्यापक परिभाषालाई लिएर लोकतन्त्रवादी कार्यकर्ता र मानवअधिकार समूहहरूले कडा आलोचना गरेका छन्। उनीहरूले यसले नागरिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा सरकारका आलोचकहरूलाई पक्राउको जोखिम बढाउने चिन्ता व्यक्त गरेका छन्।

कानुन मन्त्री सुप्रतमान आन्दी अग्तासले नयाँ कानुन समयानुकूल संशोधन भएको दाबी गर्दै यसका सम्भावित दुरुपयोग रोक्न सार्वजनिक निगरानी आवश्यक रहेको बताएका छन्। उनले रोयटर्ससँग फोनवार्तामा भने, “त्यस्तो हुन सक्छ। हामी अन्धा छैनौँ। तर सबैभन्दा महत्वपूर्ण कुरा सार्वजनिक निगरानी हो। नयाँ कानुन तुरुन्तै परिपूर्ण हुँदैन।”

दशकौँको तयारीपछि यो संहिता तत्कालीन राष्ट्रपति जोको विडोडोको अन्तिम कार्यकालमा पारित भएको थियो। त्यस समयमा तत्कालीन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले केही प्रावधानहरूमा पुनर्विचार गर्न आग्रह गरेका थिए।

मन्त्री अग्तासका अनुसार यो संहिता इन्डोनेशियाको वर्तमान कानुनी तथा सांस्कृतिक मान्यताअनुसार अद्यावधिक गरिएको हो, जसमा पुनर्स्थापना न्याय प्रणालीजस्ता नयाँ अवधारणाहरू समावेश छन्। उनले भने, “यो हाम्रो आफ्नै कानुनी प्रणाली हो, अन्य देशभन्दा फरक।”

नयाँ कानुनअनुसार विवाहपूर्व यौन सम्बन्ध तथा विवाहित पति–पत्नी बाहेक अन्यसँगको यौन सम्बन्धलाई अपराध मानिनेछ, जसमा एक वर्षसम्म कैद सजाय हुन सक्छ। यद्यपि यो व्यवस्था त्यतिबेला मात्र लागू हुन्छ जब पति वा पत्नी, अभिभावक वा सन्तानले उजुरी गर्छन्। हाल इन्डोनेशियामा व्यभिचार मात्र अपराध मानिन्छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका