Sunday, June 7, 2026
Homeअपराध र घटनाआलमलाई सफाइ दिने न्यायाधीशहरूमाथि छानबिनको माग गर्दै न्याय परिषदमा निवेदन दर्ता

आलमलाई सफाइ दिने न्यायाधीशहरूमाथि छानबिनको माग गर्दै न्याय परिषदमा निवेदन दर्ता

रौतहट: रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ८४ वर्षीय श्रीनारायण सिंह न्यायको खोजीमा काठमाडौं पुगेका छन्।

राजपुर बमकाण्डमा नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमसहित चार जनालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले सफाइ दिएपछि उनले न्यायाधीशहरूकै भूमिका माथि प्रश्न उठाउँदै न्याय परिषदमा छानबिनको माग गरेका हुन्।

न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई सफाइ दिएपछि असन्तुष्ट बनेका सिंहले मंगलवार न्याय परिषद्मा निवेदन दर्ता गराएका हुन्।

परिषद्मा दर्ता गरिएको निवेदनमा उनले न्यायाधीशद्वयले बदनियतपूर्वक प्रतिवादीहरूलाई सफाइ दिएको आरोप लगाएका छन्। साथै, उनीहरूलाई निलम्बन गरी छानबिन गर्न तथा न्याय परिषद् ऐन र संविधानअनुसार कारबाही गर्न माग गरेका छन्।

श्रीनारायण सिंहका छोरा त्रिलोकप्रताप सिंह भारतको सीतामढीमा अध्ययनरत रहँदा राजपुर बमकाण्डमा मारिएका थिए। उनले आफू सास रहुञ्जेल न्यायको लागि लडिरहने अठोट व्यक्त गरेका छन्।

२०६४ साल चैत २८ गते पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन राजपुरमा बम विस्फोट भएपछि घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरिएको आरोपमा जिल्ला अदालत गौरले मोहम्मद आफताब आलमसहितलाई २०८१ साल वैशाख १४ गते जन्मकैदको फैसला सुनाएको थियो।

तर, उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले जिल्ला अदालतको फैसलालाई उल्ट्याउँदै चारै जनालाई सफाइ दिएको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका