Thursday, August 20, 2026
Homeराजनीतिआज नौ संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र समसामयिक विषयमा छलफल...

आज नौ संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र समसामयिक विषयमा छलफल हुने

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका नौ संसदीय समितिको बैठक आज बस्दैछ । बिहीबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी रहनेछ । छलफलमा अर्थमन्त्री र अर्थसचिवलाई आमन्त्रण गरिएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ । बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा होटल एसोसिएसन नेपाललगायत सरोकारवाला निकायसँग छलफल गरिनेछ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा समितिमा प्राप्त उजुरीका विषयमा छलफल हुनेछ ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा नेपालमा जैविक तथा प्राङ्गारिक मलको उत्पादन, भण्डारण तथा बिक्री–वितरणको अवस्था सुधार गर्दै कृषि उत्पादनमा असर नपर्ने गरी रासायनिक मलको प्रयोग क्रमशः घटाउने विषयमा उत्पादकहरूसँग छलफल गरिनेछ ।

पूर्वाधार विकास समितिको बैठक पनि बिहान १० बजे बस्नेछ । बैठकमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गत सञ्चालित बागमती ब्युटिफिकेसन आयोजनाका विषयमा छलफल हुनेछ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीलगायत विषयमा आयोगका पदाधिकारीसँग छलफल गरिनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल हुनेछ ।

सार्वजनिक लेखा समितिको बैठक अपराह्न १ बजे बस्नेछ । बैठकमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षणका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक पनि अपराह्न १ बजे बस्नेछ । बैठकमा विधायिकी अन्तरसम्बन्धका विषयमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष र कार्यकारी निर्देशकसँग छलफल गरिनेछ ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका