काठमाडौं । पाकिस्तानी सेना प्रमुखमाथि अमेरिकी प्रतिबन्धको सम्भावना
अमेरिकाले पाकिस्तानी सेना प्रमुख जनरल असीम मुनीर सहित उच्च सैन्य अधिकारीहरूलाई प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ। यसका लागि अमेरिकी संसदमा विशेष विधेयक पेश गरिएको छ, जसले पाकिस्तानमा राजनीतिक विपक्षीहरूको दमन विशेषगरी पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारी र मानव अधिकार उल्लंघन मा संलग्न सैन्य नेतृत्वलाई जवाफदेही बनाउने उद्देश्य राखेको छ।
यो विधेयक अमेरिकी कांग्रेसमा रिपब्लिकन सांसद जो विल्सन र डेमोक्र्याटिक सांसद जिमी पनेटा द्वारा पेश गरिएको हो। यसले ग्लोबल म्याग्निट्स्की मानव अधिकार जवाफदेहिता ऐन अन्तर्गत पाकिस्तानी सैन्य अधिकारीहरूमाथि आर्थिक तथा यात्रा प्रतिबन्ध लगाउने सिफारिस गर्दछ।
प्रतिबन्ध लागेमा के हुन्छ?
यदि यो विधेयक पारित भयो भने, जनरल असीम मुनीर सहित अन्य उच्च सैन्य अधिकारीहरूको सम्पत्ति जफत हुन सक्छ। साथै, उनीहरूलाई अमेरिकी भिसा नदिने र अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाउने प्रावधानसमेत विधेयकमा समावेश छ।
यस प्रस्तावलाई डेमोक्र्याटिक सांसद रो खन्ना, इल्हान ओमार र रिपब्लिकन सांसद ज्याक बर्गम्यान लगायतका १० सांसदहरूले समर्थन गरिसकेका छन्।
विधेयकमा एउटा विशेष समय सीमा तोकिएको छ—यदि पारित भयो भने, अमेरिकाले १८० दिन भित्र पाकिस्तानी सैन्य नेतृत्वमाथि प्रतिबन्ध लगाउनुपर्नेछ। यस अवधिमा अमेरिकी प्रशासनले राजनीतिक दमनमा संलग्न पाकिस्तानी अधिकारीहरूको पहिचान गर्नेछ र उनीहरूलाई आवश्यक कानुनी कारबाहीको दायरामा ल्याइनेछ।
पाकिस्तानमाथि प्रतिबन्ध फुकुवा हुन सक्ने सर्त
विधेयकमा एउटा महत्वपूर्ण शर्त राखिएको छ—यदि पाकिस्तानको सेनाले राजनीतिक मामिलामा हस्तक्षेप घटायो भने, विगतमा लगाइएका केही प्रतिबन्धहरू फुकुवा गर्न सकिने प्रावधान राखिएको छ।
यो विधेयक पारित भएमा, अमेरिका–पाकिस्तान सम्बन्धमा गम्भीर असर पार्ने अनुमान गरिएको छ। पाकिस्तानको सेनाले लामो समयदेखि देशको राजनीतिमा प्रत्यक्ष नियन्त्रण राख्दै आएको छ, जसको अन्तर्राष्ट्रिय आलोचना हुँदै आएको छ।


