Tuesday, May 20, 2025
Homeअन्तराष्ट्रिय६ घण्टामा भवन निर्माण गरेर विश्व रेकर्ड

६ घण्टामा भवन निर्माण गरेर विश्व रेकर्ड

काठमाडौं: राति अन्तिम रेल चल्दा पुरानो भवन अझै उभिरहेको थियो। तर, त्यसको केवल ६ घण्टा पछि बिहान पहिलो रेल आइपुग्दा त्यही स्थानमा नयाँ स्टेशन भवन तयार भइसकेको थियो।

यो अविश्वसनीय उपलब्धि जापानमा सम्भव भएको हो, जहाँ पुरानो काठको रेलवे स्टेशनको सट्टा संसारको पहिलो थ्रीडी-प्रिन्टेड स्टेशन भवन निर्माण गरिएको हो।

ओसाका शहरको दक्षिणतर्फ रहेको ग्रामीण क्षेत्र एरिडा मा यो नयाँ स्टेशन बनाइएको हो, जसले बगैंचाको शेड जस्तो स्वरूप लिएको छ। स्टेशन निर्माणमा थ्रीडी-प्रिन्टेड मोर्टार मोल्डहरू प्रयोग गरिए, जुन ट्रकमार्फत ल्याएर क्रेनको सहायतामा रातभरि जडान गरियो।

द इन्डिपेन्डेन्टको रिपोर्टअनुसार नयाँ भवन २.६ मिटर अग्लो छ, जसले १०० वर्ग फिट क्षेत्रफल ओगटेको छ र प्रबलित कंक्रीटबाट बनेको छ। पश्चिम जापान रेलवे कम्पनी (JR West) ले गत महिना सम्पन्न भएको यो निर्माणलाई विश्वकै पहिलो थ्रीडी-प्रिन्टेड रेलवे स्टेशन भनेको छ।

एरिडा स्थानीय माछा मार्ने बन्दरगाह हो, जुन आफ्नो सुन्दर पर्वतशृङ्खलाको कारण परिचित छ।

प्राविधिक साझेदार सेरेन्डिक्स नामक जापानी आवास निर्माण कम्पनीका अनुसार, नयाँ संरचना छाना र पर्खालसहित चार भागमा विभाजित छ र भूकम्प प्रतिरोधी क्षमतामा समान प्रबलित कंक्रीट घरहरूसँग मेल खान्छ।

हाल संरचनाको आन्तरिक काम जारि रहेको छ। टिकट मेसिन र कार्ड रिडर जडान भएपछि, ७५ वर्ष पुरानो काठको पुरानो भवनलाई अन्ततः भत्काइनेछ। नयाँ स्टेशन सन् २०२५ जुलाईमा जनसाधारणका लागि खोलिने अपेक्षा गरिएको छ।

एक रेलवे अधिकारीका अनुसार, परम्परागत रूपमा यस्तो भवन बनाउन करिब दुई महिना लाग्ने गरेको थियो, तर थ्रीडी प्रिन्टिङ प्रविधिले यो काम छ घण्टामै सम्भव बनाएको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका