Monday, February 17, 2025
HomeEnglish३३ वर्षपछि सरकारको स्वामित्वमा फर्कियो मेचीनगरको सरकारी जग्गा

३३ वर्षपछि सरकारको स्वामित्वमा फर्कियो मेचीनगरको सरकारी जग्गा

झापा: मेचीनगर नगरपालिका–५ स्थित नकलबन्दा टी इस्टेटले ३३ वर्षअघि कब्जा गरेको १० बिघा पाँच कठ्ठा सात धुर सरकारी जग्गा पुनः सरकारको स्वामित्वमा आएको छ। मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले उपप्रमुख, वडाध्यक्ष र नगर प्रहरीसहित सो जग्गा रहेको चिया बगानमा पुगेर आजदेखि उक्त जग्गा सरकारको स्वामित्व र नगरपालिकाको संरक्षणमा रहने घोषणा गर्नुभयो। नगर प्रहरीले सरकारी जग्गाको क्षेत्रफल उल्लेख गरिएको साइनबोर्ड राखेको छ।

नगरप्रमुख बुढाथोकीले जग्गा चिया बगानले भोगचलन गरिरहेको भए पनि अब नगरपालिकाले यसको संरक्षण र उपयोग गर्ने जानकारी दिनुभयो।

भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरका अनुसार उक्त जग्गा २०४८ असोज २५ गते उद्योगी दिनेशप्रसाद कानुले छुट दर्ताको पर्चा खडा गरी आफ्नो नाममा दर्ता गरेका थिए। पछि २०५५ असोज ११ गते नकलबन्दा टी इस्टेटलाई बिक्री गरिएको थियो। सरकारी जग्गालाई निजी बनाइएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६६ मङ्सिर २२ गते उक्त जग्गा सरकारको स्वामित्वमा फर्काउने निर्णय गरेको थियो।

२०६६ पुस ६ मा भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले सरकारी रेकर्डमा उक्त जग्गा सरकारको नाममा कायम गरेको थियो। तर चिया बगानले ३३ वर्षदेखि भोगचलन गरिरहेको सो जग्गाको संरक्षणमा मेचीनगर नगरपालिकाले अब मात्र चासो देखाएको हो।

नगरपालिकाले उक्त जग्गामा रहेको बाली उठाएर खाली गरिदिन दुईपटक पत्राचार गरेको जनाएको छ। “अब यो जग्गा नगरपालिकाको संरक्षणमा आएको छ,” नगरप्रमुख बुढाथोकीले भन्नुभयो, “जग्गाको बहुउपयोगबारे कार्यपालिकामा छलफल गरी निर्णय गर्नेछौँ।”

हाल जग्गामा चियाका बोट र ठूला रुखहरु छन्। यद्यपि, जग्गाको सिमाना अझै यकिन भइसकेको छैन। साविक नकलबन्दाको वडा नं. ७ अन्तर्गत कित्ता नम्बर ३७० देखि ३९० सम्मका केही र २३१ र २३२ नम्बरको जग्गा नकलबन्दा टी इस्टेटबाट सरकारको नाममा ल्याइएको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका