मनहरी (हेटौँडा): हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरिटार रंगशालामा रु ११ करोड ७४ लाखको लागतमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ।
अन्तर्राष्ट्रियस्तरको यस मैदानमा छ हजार दर्शक क्षमताको प्याराफिटसहित पाँच वटा पिच, ७० मिटर रेडियसको मैदान, स्कोर बोर्ड, भिभिआइपी कक्ष, खेलाडी कक्ष (प्लेयर बक्स), चेन्जिङ रुम, टिभी र रेडियो प्रसारण कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङजस्ता संरचना निर्माण हुनेछन्। प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपक लामाका अनुसार चार ब्लकमा प्याराफिट निर्माण गर्ने योजना तयार गरिएको छ, जसमध्ये हाल एउटा ब्लकको निर्माण कार्य भइरहेको छ।
क्रिकेट मैदान निर्माणका लागि रु नौ करोड ४२ लाख ८२ हजारको ठेक्का २०८० चैत २० मा एसएनएस पिएल एचकेसी जेभीले पाएको थियो। सचिव लामाका अनुसार अहिले मैदान सम्याउने काम तीव्र गतिमा भइरहेको छ। मैदान सम्याएपछि भूमिगत ढलमार्फत पानी निकास गर्न पाइप बिछ्याउने, साथै विभिन्न तहमा ग्राभेल र माटो राख्ने काम हुनेछ। मैदानको माथिल्लो सतहमा बर्मुण्डा घाँस राखिने बताइएको छ।
गत आइतबार नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले गौरीटार रंगशालाको निर्माणाधीन क्रिकेट मैदानको स्थलगत अवलोकन गर्नुभएको थियो। सचिव खड्कासहित क्यानका प्रवक्ता छुवी लामा र मकवानपुर क्रिकेट संघका पदाधिकारीले पनि मैदानको निरीक्षण गर्नुभएको थियो।
क्रिकेटका लागि पूर्वाधार निर्माण कार्यप्रति खुशी व्यक्त गर्दै सचिव खड्काले प्रदेश सरकारले पूर्वाधार निर्माणमा गरेको लगानी सकारात्मक रहेको उल्लेख गर्नुभयो। निर्माण तीव्र गतिमा भइरहेकोले छिट्टै राष्ट्रियस्तरका खेल सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो।