Sunday, May 10, 2026
Home Blog Page 820

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दङ्ग

0

महोत्तरी: आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान दङ्ग छन् । पशुबस्तुका लागि पोसिलो मानिने मेनदोला, भटमासे र बकाइनोको बीउ पाएपछि यहाँका किसान दङ्ग भएका हुन् ।

किसानलाई मटिहानी नगरपालिका र हेफर प्रजेक्टको ‘कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना’ले सोमबार डाले घाँसको बीउ वितरण गरेको हो । विभिन्न समूहमा आबद्ध महिला किसानलाई जनही मेनदोला–५५०, बकाइनो–१५० र भटमासे–१२० ग्राम दिइएको परियोजना संयोजक महेश यादवले बताउनुभयो । डाले घाँसको बीउ मटिहानी नगरक्षेत्रका २०० बढी महिला किसानले पाएका छन् ।

आफ्नै घरआगनमा पोसिलो घाँसको बीउ पाएपछि अब पशुबस्तुका लागि घाँस खोज्न चिन्ता हराएको बीउ लिएका महिला
बताउँछन् ।“प्रतिकूल मौसममा पनि घाँस काट्नुपथ्र्यो” मटिहानी–२ की पशुपालक किसान विमला खत्वे भन्नुहुन्छ,“अब आफ्नो घर नजिकको बारीमा घाँस हुर्काएपछि निकै सजिलो हुनेछ ।” खत्वेजस्तै मटिहानी–३ की ललितादेवी मण्डल र मटिहानी–९ की बच्चीदेवी साफीले पनि घरपालुवा पशुबस्तुलाई आफ्नै बारीमा उत्पादित पोसिलो घाँस ख्वाउन पाइने बताउनुभयो।मटिहानीमा विभिन्न समूहमा आबद्ध महिला किसानले परियोजनाको सहयोगमा उन्नत जातका बाख्रा र कोरली पाल्दै आएका छन् ।

महिला किसानलाई आय आर्जनमा उत्प्रेरित गर्न यो परियोजनाले सघाउ पु¥याएको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ । पशुपालनमा लागेपछि उनीहरू आर्थिक रूपमा आत्मनिर्भर भएका छन् । ।मटिहानी नगरपालिकाले बर्सेनि कृषिलक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ । विगत पाँच वर्षदेखि बर्सेनि मौसमअनुसारका फलफूल, तरकारी र अन्नका बीउबिरुवासँगै प्रविधिक सहयोग पनि प्रदान हुँदै नगरप्रमुख मण्डलले बताउनुभयो । पछिल्लो समयमा परियोजनाको सहयोगले हौसिएका नगरका महिला बाख्रा, कोरली पालनमा जुटेका छन् । “हामी अब आफै केही गर्न सक्ने भयौँजस्तो लागेको छ” मटिहानी–२ की पशुपालक किसान सुजिता यादव भन्नुहुन्छ, “परियोजनाले हामीलाई आत्मनिर्भर बनाउँदैछ ।’’

यसैगरी सोमबार नै परियोजनाले सातवटा महिला सहकारी संस्थालाई अभिलेख राख्न सहयोग पुग्ने उद्देश्यले ल्यापटप, प्रिन्टरसहितका सामग्री प्रदान गरेको छ ।महिला सहकारीलाई उत्पादित फलफुल र तरकारी सुरक्षित राख्न र बजारसम्म पुर्याउन ‘क्यारेट’ पनि उपलब्ध भएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पानीपर्ने पूर्वानुमान

0

काठमाडौँ: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भागमा आंशिक बदली रही बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको तथा बाँकी भूभागमा आंशिक बदली रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ ।कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसैगरी आज राती देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका केही भागमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

0

धरान (सुनसरी): ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन् ।

आठ वर्षको वैदेशिक रोजगारीपछि फर्कनुभएका धरानका एनसी राई र वीरेन्द्र थापाले यहाँ लाखौँको लगनीमा बेकरी उद्योग सञ्चालन गर्नुभएको छ । उहाँहरूले रु १० लाख लगानीमा धरान उपमहानगरपालिका–१२ को अमान बजारमा बिस्कुट फ्याक्ट्री खोलेको उद्योग अहिले कोशी प्रदेशमा दोस्रो ‘लाइभ बेकरी’का रूपमा ब्रदर्श बेकरी स्थापित भएको उद्यमीहरू बताउँछन् ।

धरान उपमहानगरपालिका–९ गौतम पथ र धरान–१७ रेल्वे लाइनमा गरी दुई वटा शाखा सञ्चालन गरिरहनुभएको छ। उहाँहरुले केक, आइसक्रिम, चकलेट, पाउरोटीलगायत सबै किसिमका बेकरीको व्यापार गर्दै आउनुभएको छ । उद्योगमा आठजनालाई रोजगारी पनि दिनुभएको छ । कामदारलाई मासिक रु आठदेखि ३० हजारसम्म तलब दिँदै आउनुभएको छ। उहाँहरूले आफ्नो परिवारका लागि खर्चसमेत यसैबाट पुर्याउँदै आउनुभएको छ।

उद्यमी एनसीले आफ्नो पुख्र्यौली घर भोजपुरको हसनपुरबाट रोजगारीको सिलसिलामा विदेशमा लामो समय बिताएर स्वदेश फर्किएपछि व्यवसाय सुरु गर्नुभएको हो। उहाँ व्यवसायसँगै सामाजिक सङ्घसंस्थामा पनि आबद्ध भएर काम गरिरहनुभएको छ । हसनपुर– सुनसरी सम्पर्क मञ्च नेपालको सल्लाहकार, लायन्स क्लब धरानका क्यापेवल ट्रेजर, आशिष बचत तथा ऋण सहकारीको सञ्चालक समिति सदस्य, लड्स होम नेपालको बोर्ड समिति सदस्यसमेत हुनुहुन्छ भने भक्तपुरका वीरेन्द्र थापा धरानमा विगत २१ वर्षदेखि बेकरी सेफका रुपमा काम गर्दै आउनुभएको छ ।

एक समय पाउरोटी, बिस्कुट मोटरसाइकलमा लिएर सिँधुवासम्म पुग्नुपथ्र्यो तर अहिले धनकुटा, भोजपुर, पाँचथर, इटहरी, दमक, झापालगायत विदेशबाट पनि धरानेहरूले केक माग गरिरहेका राईले बताउनुभयो । धरानमा शाखा सञ्चालनमा आएपछि उद्योगको प्रारम्भमा केक काट्ने र उत्सव मनाउने माहोल नै बनेको व्यापारी एनसी राई सुनाउनुहुन्छ । अहिले धरानमा मात्र नभएर धरान बाहिरका बेकरीका ग्राहकका लागि पनि आकर्षक बनेको छ– ब्रदर्श बेकरी ।

दसैँ, तिहार र क्रिसमसमा ५० प्रतिशत छुट र ६० वर्षभन्दा माथिकालाई सित्तैमा केक वितरण गर्दै आएको राई बताउनुहुन्छ । उहाँहरूले ब्रदर्श बेकरीका तर्फबाट तालिम पनि दिँदै आउनुभएको वीरेन्द्र थापा बताउनुहुन्छ । उहाँहरूसँग तालिम लिएर गएका भोजपुर, चक्रघट्टी, इटहरीलगायत धेरै स्थानका युवाले आफैँ बेकरी सञ्चालन गरिरहेका थापा बताउनुहुन्छ ।

लामो समयको वैदेशिक रोजगारीबाट फर्केपछि बेकरीको सीप भएका वीरेन्द्रसँग भेट भएपछि काम थालेको राई बताउनुहुन्छ ।अहिले आफ्नै ठाउँमा आठ–दश जनालाई रोजगारीको अवसर प्रदान गर्न पाएकामा उहाँहरू हुनुहुन्छ ।

धरानमा दुईवटा शाखा सञ्चालनमा छन् भने धरानभरि जम्मा १७ वटा एशोसिएट डिलरसमेत सञ्चालनमा छन् । उहाँहरूले सञ्चालन गर्दै आउनुभएको ब्रदर्स बेकरी उद्योगबाट आफ्नो सबै खर्च कटाएर मासिक रु दुईदेखि दुई लाख ५० हजारसम्म बचत हुने गरेको बताउनुभयो ।

ब्रदर्स बेकरी अहिले सीप सिक्न चाहनेका लागि उपयुक्त थलो बनेको छ । उद्यमी राई भन्नुहुन्छ, “मेहनत आवश्यक छ, देशमा अवसर छैन भन्न मिल्दैन । विदेश पलायन हुनुभन्दा आफ्नै ठाउँमा मेहनत गर्दा प्रतिफल प्राप्त हुन्छ ।”

ग्वार्कोमा आगलागी: दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

0

काठमाडौं। ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागी हुँदा दुई बालिकाको आज मृत्यु भएको छ भने दुई बालिका गम्भीर घाइते भएका छन्।

आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका थिए। घाइतेमध्ये आठ वर्षीया प्रिया गिरी र तीन वर्षीया एलिसा गिरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनीहरुको उपचारका क्रममा किष्ट अस्पतालमा राति ७ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य दुईजनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको छ। एकजनाको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ।

प्रवक्ता सुवेदीका अनुसार घर मालिक ३५ वर्षीय सञ्जय गिरीको भेन्टिलेटरमा र उनकी श्रीमती ३२ वर्षीया रुपा गिरीको आइसियुमा राखेर उपचार भइरहेको छ। अर्का घाइते नित गिरीको अवस्था सामान्य छ । गिरीलाई साधारण वार्डमा सारिएको छ। केही दिनअघि आगो निभाउने क्रममा जलेर ललितपुरको गोदावरीका शंकर र रमेश पहरीको मृत्यु भएको थियो।

श्रीमतीको हत्या आरोपमा पक्राउ

0

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम): पश्चिम नवलपरासीमा श्रीमतीलाई हत्या गरी फरार रहेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । रामग्राम नगरपालिका-१६ सबुनीकी ललिता कँहारलाई उनका श्रीमान जोखन कँहारले गत वैशाख २१ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोग लागेको थियो ।

प्रहरीले कँहारलाई आज बिहान ८ः३० बजे पाल्हीनन्दन गाउँपालिका-६ पडरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुदर्शन पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार श्रीमानश्रीमतीबीच लामो समयदेखि विवाद हुँदै आएको थियो । आठ वर्षअगाडि विवाह भएका उनीहरुको दुई छोरा छन् ।

भारतको महारजगञ्ज जिल्लास्थित नौतनवा माइत भएकी ललिताको श्रीमान्सँग छ महिना अघि विवाद भएपछि माइतमै बस्दै आएकी थिइन् । पछि उनका श्रीमान जोखनले सुध्रिने वाचा गरेपछि वैशाख २१ गते श्रीमतीलाई आफ्नै घरमा ल्याएका थिए । सोही दिन राति साढे १० बजे श्रीमतीलाई सुत्ने कोठामा धरिलो हतियार प्रयोग गरी हत्या गरेर फरार भएको आरोप छ ।

प्रहरीले अभियुक्त कँहारलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाएको छ ।

शङ्खपार्कमा एक पुरुषको शव फेला

0

काठमाडौँ: काठमाडौँको शङ्खपार्कमा एकजना पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आज शङ्खपार्कमा एक पुरुषको शव भेटिएको छ, पहिचान खुलेको छैन, शव पहिचानका लागि अनुसन्धान गरिरहेका छौँ ।” शवपरीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रवक्ता अधिकारीले बताउनुभयो ।

चोरले एक तोला सुन निलेपछि…

0

पाँचथर: पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमित कुशवाहाका अनुसार योङ्या गत चैत २८ गते योङ्या फिदिम–२ की विष्णुकुमारी तामाङको घरमा चोरी गर्न पसेका थिए । परिवारका सदस्यले योङ्याले सुनका गरगहना भएको स्टिलको दराजबाट सामग्री निकाल्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । यस क्रममा योङ्याको साथबाट रु १५ हजार नगद बरामद गरिएको थियो ।

तामाङका गरगहनामध्ये एक तोलाको सुन फेला परेन । चोरी गर्न गएका योङ्याले उक्त सुन निलेको आशङ्कापछि जिल्ला अस्पताल फिदिममा एक्स–रे गरिएको थियो । एक्स–रे गर्दा योङ्याको पेटमा धातु देखिएको थियो । “निलेको करिब ३६ घण्टापछि दिसाबाट उक्त सुन निकालिएको थियो”, सूचना अधिकारी कुशवाहाले भन्नुभयो । उक्त सुन प्रहरीले फिदिमकै सुनचाँदी पसलमा परीक्षण गराएको थियो ।

गत चैत २८ गते भएको उक्त घटनापछि चोरीसम्बन्धी सबै अनुसन्धान पूरा गरी जिल्ला प्रहरी कार्यालय पाँचथरले योङ्याविरुद्ध जिल्ला अदालत पाँचथरमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले गत वैशाख २३ गते प्रतिवादी योङ्यालाई रु एक लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर धरौटी रकम जम्मा गर्न नसपछि उनलाई पुर्पक्षका लागि जिल्ला कारागार पाँचथरमा थुनामा पठाइएको सूचना अधिकारी कुशवाहाले बताउनुभयो ।

संरक्षण थालिएको ताल सुक्यो

0

ढोरपाटन (बागलुङ): बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले भरिभराउ थियो । तालको बीचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो । तर अहिले तालमा पानी होइन कमिला डुल्छन् । गाउँमा जथाभावी सडक निर्माण र तालमा डोजर लगाएपछि पानी रित्तिएको हो ।

तङ्ग्राम गाउँका शिरमा रहेको खोरताल संरक्षण गर्ने भन्दै आर्थिक वर्ष २०७९/८० काठेखोला गाउँपालिकाले डोजर लगाएर कङ्क्रिटको पर्खाल लगाएको थिए । त्यसपछि ताल पानीविहीन भएको स्थानीय गङ्गाबहादुर किसानले बताउनुभयो । गाउँलेले ताललाई परम्परागत रुपमा संरक्षण गर्दै आएको सुनाउँदै सिमेन्टको पर्खालका कारण ताल सुकेको उहाँले बताउनुभयो ।

धार्मिक महत्वसँग जोडिएको यो तालमा पहिले–पहिले स्थानीयले पूजाआजासमेत गर्ने गरेको भन्दै अहिले त्यो पनि हराएको छ । तालमा एकाएक पानी सुक्न थालेपछि स्थानीय अचम्मित बनेका छन् । अहिले बाहिरबाट पानी लिएर हाल्ने स्थिति आएको किसान बताउनुहुन्छ । दुई वर्ष अगाडि तालमा ४० प्रतिशत पानी रहेको उहाँको भनाइ छ ।

“यहाँ ठूलो पानीको ताल थियो, गाउँले यहीँ पानी भर्ने गर्थे, पहिले–पहिले भैँसी राँगा डुबेपछि कोही पनि तालभित्र पस्दैनथे, तर अहिले तालमा धुलो उड्छ, किन यस्तो भयो हामीहरु निकै अचम्मित भएका छौँ, हिउँमा अलिअलि पानी घट्यो तर यस्तो सुक्खा कहिल्यै पनि परेका थिएन”, किसानले भन्नुभयो, “यो ताल निकै सुन्दर थियो, पानी सफा हुन्थ्यो, हामी सानो हुँदा पानी भरेर खान्थ्यौँ, हावाले पात ल्याएर खसाले पनि चराले सफा गथ्र्यो, अहिले त धुलाम्मे बनेको छ, यहाँ पालिकाबाट योजना प¥यो, योजनाबाट यहाँ सिमेन्टको पर्खाल लगाउने काम भयो, त्यसपछि पानी पूरै सकेर सकियो ।”

स्थानीय दिलमाया किसानले ताल सुकेपछि वरपर खानेपानीको समस्या बढेको बताउनुभयो । आफू यो ठाउँमा आएको २५ वर्ष भएको सुनाउँदै यतिका समयसम्म खानेपानी अभाव नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यस्तो त कहिलै भएको थिएन, म यहाँ आएको पनि साढे दुई दशक बित्यो तालमा पानी सुकेको कहिल्यै थिएन, अहिले तालमा एक थोपा पनि पानी छैन ।”

काठेखोला गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण पुनले जलवायु परिवर्तनका कारण ताल सुकेको हुनसक्ने बताउनुभयो । तालसँगै गाउँमा भएका थुप्रै पानीका मुहान सुकेको उहाँको भनाइ छ । ताल सुन्दर र पर्यटकीय सम्भावना बोकेको हुँदा गाउँपालिकाले रु ३० लाख लगानी गरे संरक्षण गरेको उहाँ बताउनुहुन्छ।पहिले हिउँद बर्खा पानी रहने ताल अहिले सुक्खा बनेको अध्यक्ष पुनको भनाइ छ ।

“यो धेरै वर्ष पुरानो ताल हो, पर्यटकीय हिसाबले यसको प्रचारप्रसार, संरक्षण र सौन्दर्यकरण गर्न जरुरी थियो, सोहीअनुसार बजेट व्यवस्थापन गरेर काम गरेका थियौँ, तर अहिले तालमा पानीनै सुक्यो”, अध्यक्ष पुनले भन्नुभयो, “तालसँगै अन्य ठाउँमा भएको खानेपानीको मुहानसमेत सुकेको छ, जलवायु परिवर्तनको प्रत्यक्ष असर यहाँ परेको देखियो ।”

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

0

नेपालगञ्ज: बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।

जिल्ला वन कार्यालय, बाँकेका अनुसार नेपालगञ्ज सव डिभिजन कार्यालयअन्तर्गतका १०, नरैनापुर सव डिभिजनअन्तर्गतका नौ, सिक्टा सव डिभिजनका १८, राप्तीसोनारी सव डिभिजजनका चार, कोहलपुर सव डिभिजनका २२ र शम्शेरगञ्ज सव डिभिजनको एउटा चक्ला वनसहित गरी कूल ७६ सामुदायिक वनमा डढेलो लागेको छ । बाँकेमा एक सयको हाराहारीमा सामुदायिक वन छन् ।

जिल्ला वन कार्यालयका सहायक वन अधिकृत तथा सूचना अधिकारी वीरेन्द्र रोकाले अधिकांश स्थानमा डढेलो नियन्त्रणमा आएको उल्लेख गर्दै डढेलो लागेको वनमा सात सय लिटर ट्याङ्की भएको अग्नि नियन्त्रक गाडीमार्फत आगो निभाइएको जानकारी दिनुभयो । उहाँले डढेलो नियन्त्रण गर्न आठ अग्नि हेरालुसमेत परिचालन गरिएको बताउनुभयो ।

डढेलो नियन्त्रण गर्न चक्ला वनमा ३० किलोमिटर र विभिन्न सामुदायिक वनमा २० किलोमिटर अग्निरेखा निर्माण गरिएको छ । लामो समयको सुक्खा खडेरी, जङ्गलमा मौवा टिप्न जाने बहानामा र चरिचरण गर्न जानेहरुको लापर्वाहीका कारण डढेलो लागेको अनुमान गरिएको छ ।

राप्तीसोनारी–१ को सतिभवानी र गाइलेख सामुदायिक वनमा सबैभन्दा बढी दुई सय ५० देखि दुई सय ८० हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो भने सबैभन्दा कम कोहलपुरको बागेश्वरी सामुदायिक वनमा एक दशमलव २० हेक्टर क्षेत्रफलमा डढेलो लागेको सहायक वन अधिकृत रोकाले बताउनुभयो ।

डढेलोका कारण खरायो, सर्प, विभिन्न प्रजातिका चरालगायत मरेका छन् । शम्शेरगञ्जको चक्ला वन तथा कोहलपुरको रानी सामुदायिक वन क्षेत्रमा लागेको आगो १२ घण्टाभन्दा बढी समय लगाएर निभाइएको थियो । आवश्यक परेको स्थानमा कोहलपुर, नेपालगञ्ज तथा नरैनापुरको बारुणयन्त्रको समेत सहयोग लिइएको थियो । शम्शेरगञ्ज क्षेत्रमा डिभिजन वन कार्यालयको अग्नि नियन्त्रक सवारी साधन चौबिसै घण्टा तैनाथ राखिएको छ ।

शम्शेरगञ्ज सव डिभिजन कार्यालयका वन अधिकृत सुशील सुवेदीले फाट्टफुट्ट घटनाबाहेक बाँकेमा डढेलो नियन्त्रणमा आएको उल्लेख गर्नुभयो ।

बाँकेमा एक सय पाँच आगलागीका घटना

बाँकेका विभिन्न स्थानीय तहमा आगलागीका एक सय पाँच घटना भएका छन् । विसं २०८० साउनदेखि वैशाखसम्म भएका उक्त घटनामा एक जनाको मृत्यु भएको भने ६ जना घाइते भएका जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी जोरासिंह माझीले जानकारी दिनुभयो ।

ती आगलागीका घटनामा एक सय चार पशु चौपाया मरेका छन् । आगलागीका घटनाबाट रु एक करोड ७७ लाख ५९ हजार बराबरको क्षति भएको छ । जिल्लाको नरैनापुर, राप्तीसोनारी, जानकी गाउँपालिका र नेपालगञ्जमा आगलागीका घटना भएका हुन् ।

सात हजार पशुपन्छीको उपचार

0

टीकापुर (कैलाली): कैलालीस्थित रानीजमरा कुुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरले सात हजार चार सय आठ पशुपन्छीको उपचार गरेको छ । आयोजनाले टीकापुर, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न गाउँमा पशु स्वास्थ्य शिविर सञ्चालन गरी पशुपन्छीको उपचार गरेको हो ।

आयोजनाले पशु स्वास्थ्यका हिसाबले उपचार सेवा लिन टाढा रहेका वडा टीकापुर नगरपालिका–४ मौरनीया, वडा नं ७ दिव्यपुर, जानकी गाउँपालिका वडा नं २ बडरिया, वडा नं ६ जगतपुर र लम्की चुहा ७ चाङ्गावाणीमा पशु स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा उपचारसँगै आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।

टीकापुर–४ मा भएको पशु स्वास्थ्य शिविरमा ९३ गाईभैँसी, चार सय ६८ भेडाबाख्रा, २४ बङ्गुर, एक हजार चार कुखुरा, नौ कुकुरको उपचार गरिएको छ । त्यस्तै टीकापुर–७ मा दिव्यपुरमा भएको शिविरमा ६७ गाईभैँसी, तीन सय ४४ भेडाबाख्रा, १७ बङ्गुर, नौ सय ८३ कुखुराको उपचार गरिएको छ ।

जानकी–२ बडरियामा ६६ गाईभैँसी, छ सय ९३ भेडाबाख्रा, १५ बङ्गुर, दुई सय ७९ कुखुराको उपचार गरिएको छ । जानकी–६ जगतपुरमा एक सय ४९ गाईभैँसी, छ सय ४८ भेडाबाख्रा, ५४ बङ्गुर, एक हजार छ सय ४४ कुखुरा, २४ बिरालोको उपचार गरिएको पशु स्वास्थ्य प्राविधिक पुष्पराज भारतीले जानकारी दिनुभयो ।

भारतीका अनुसार लम्कीचुहा नगरपालिकाको चाङ्गावाणीमा भएको शिविरमा ७८ गाई भँैसी, तीन सय ५५ भेडा बाख्रा, चार सय ३२ कुखुरा, सात कुकुर बिरालाको उपचार गरिएको हो । “पाँचवटै स्थानमा गरी चार सय ६२ गाईभैँसी, दुई हजार पाँच सय ४२ भेडाबाख्रा, एक सय २२ बङ्गुर, चार हजार तीन सय ४२ कुखुरा हाँस र ४० कुकुर बिरालोको उपचार गरिएको छ”, उहाँले भन्नुभयो, “पशुपालक किसानलाई गाउँमै सेवा दिने उद्देश्यले उपचारका लागि विकट रहेका वडामा शिविर आयोजना गरेका हौँ । शिविरले किसानलाई धेरै लाभ भएको छ ।”

पाँच दिनसम्म चलेको पशु स्वास्थ्य शिविरमा छ सय २५ किसानले सेवा लिएका हुन् । आयोजनाले ग्रामीण क्षेत्रमा रहेका किसानलाई पशुपन्छीको उपचारमा सहजताका लागि गाउँगाउँमा गएर स्वास्थ्य सेवा दिएको हो । कार्यक्रममा पशु चिकित्सक डाक्टर निराजन चौधरीसहित टीकापुर, लम्कीचुहा र जानकी तीनवटै पालिकाका प्राविधिकले उपचारमा सघाएका हुन् ।

पशु प्राविधिक भारतीले हरेक वडाका वडाध्यक्षसँगको समन्वयमा कार्यक्रम गरिएको, शिविर आयोजना गर्दा जनप्रतिनिधि र बडघरको सहयोगमा गाउँका किसानले स्थानीयस्तरमै सेवा पाएका बताउनुभयो । पशुमा स्वास्थ्य समस्या भएमा टाढा लगेर उपचार गर्नुपर्ने वा निजी एग्रोभेटका प्राविधिक घरमा लैजाँदा खर्चिलो उपचार गर्दै आएका स्थानीय गाउँमै उपचार पाएपछि खुसी भएका छन् । टीकापुर–७ बेलुका किसान फुलराम चौधरीको सपना कृषि फर्म छ । उहाँले गाउँमै पशु स्वास्थ्य शिविर आयोजना भएपछि १० भैँसी र पाँच बाख्राको स्वास्थ्य परीक्षण गर्नुभयो ।

“समय समयमा यस्ता खाले शिविर आयोजना गर्नुपर्छ । मैले पनि गाउँमै पशुको उपचार सेवा पाउँदा खुसी लागेको छ । पशुपन्छीमा समस्या भए टाढा टीकापुर लैजानुपर्ने समस्या हुन्छ, नभए निजी पशु प्राविधिक घरमै ल्याउनुपर्छ”, उहाँले भन्नुभयो, “यसरी गर्दा समय र खर्च महँगो हुन्छ । गाउँमै सेवा पाउँदा सबै किसान खुसी भएका छौँ ।”