Monday, May 11, 2026
Home Blog Page 816

बेलायतले रुसी रक्षा सहचारीलाई जासुसीको आरोपमा देश निकाला गर्यो

0

काठमाडौं । बेलायती सरकारले बुधबार रुसी रक्षा सहचारीलाई जासुसी गरेको आरोपमा बर्खास्त गरेको जनाएको छ । बेलायतको गृह सचिवको कार्यालयले यस हप्ता लागू गरिएका उपायहरू रसियालाई कडा सन्देश पठाउन र देशमा रहेको रुसी सम्पत्तिहरूबाट कूटनीतिक परिसरको स्थिति हटाउने र उनीहरूको कूटनीतिक भिसामा नयाँ प्रतिबन्ध लगाउने उद्देश्य रहेको बताएको छ।

एजेन्सीका अनुसार बेलायती गृहमन्त्री जेम्स क्लेभरलीले भने, “हामी रुसलाई कडा निवारक सन्देश पठाउन र बेलायतलाई धम्की दिने रुसी गुप्तचर सेवाहरूको क्षमतालाई थप घटाउन कारबाही गरिरहेका छौं।” उनले बेलायत र आफ्नो जीवन शैलीलाई रुसी खतराको सामना गर्न बलियो उभिने बताए ।

सरकारले बेलायतका लागि रुसी राजदूतलाई बोलाएर यी उपायहरूको व्याख्या गर्दै रुसको कार्य नसहने दोहोर्‍याएको बताएको छ। राष्ट्रिय सुरक्षा सरकारको पहिलो कर्तव्य भएको बताउँदै बेलायती प्रधानमन्त्री ऋषि सुनकले आफ्ना जनता र सहयोगीहरुको सुरक्षा सुनिश्चित गर्न सबै काम गर्ने बताएका छन् ।

बेलायतले एक रुसी रक्षा सहचारीलाई “अघोषित सैन्य गुप्तचर अधिकारी” भनी गृह कार्यालयले घोषणा गरेपछि निष्कासन गरेको हो। ती अधिकारी “खुफिया उद्देश्य” को लागी प्रयोग भएको मानिन्छ। अब बेलायतमा रुसी कूटनीतिक भिसामा नयाँ प्रतिबन्धहरू हुनेछन्, जसमा रुसी कूटनीतिज्ञहरूले बेलायतमा बिताउन सक्ने समयको “सीमा” तोकिने छ ।


पोखरा स्पोर्टस अवार्डको तयारी पूरा

0

पोखरा । पोखरा स्पोर्ट्स अवार्डको तयारी पूरा भएको छ । उक्त अवार्डमा यस वर्ष विभिन्न ७ विधामा खेलाडी, पत्रकार र खेल सङ्घहरू सम्मानित हुने पोखरा अवार्ड समितिले जनाएको छ।

उक्त अवार्डमा वर्ष खेलाडी महिला र पुरुष, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, खेल संस्था वा क्लब, लाइफ टाइम एचिभमेण्ट र उत्कृष्ट पत्रकारलाई सम्मान गरिने समितिका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।

लाइफ टाइम अचिभमेण्ट यो वर्ष एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललाई प्रदान गरिनेछ भने उत्कृष्ट खेल संघको रूपमा सहारा क्लब पोखरा, उत्कृष्ट पत्रकारमा रोहितराज पराजुलीलाई सम्मान गरिनेछ । अचिभमेण्ट अवार्ड चाँदीको करुवा, ट्रफी र ताम्रपत्रले सम्मान गरिने बरालले जानकारी दिए ।

खेल संघ, उत्कृष्ट प्रशिक्षक र पत्रकारलाई ३५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ । वर्ष खेलाडीहरू दुवै विधामा स्कुटर पुरस्कार दिइनेछ । यसैगरी, ओलम्पियन नारायण गुरुङ र टेनिसका अन्तर्राष्ट्रिय वरियता खेलाडी अभिषेक बास्तोलालाई स्पेसल अवार्ड प्रदान गरिनेछ ।

वर्ष खेलाडीका रूपमा पुरुषतर्फ क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी तथा महिलातर्फ आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर, आर्चरीकी अनुश्का शेरचन र भलिबलकी अरुणा शाही मनोनयनमा परेका छन् ।

 

पर्वतका ९१ साना उद्योग बन्द

0

पर्वत: कोरोना महामारीसँगै आर्थिकमन्दीमा परेका पर्वतका ९१ साना उद्योग अन्ततः बन्द भएका छन् ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एक सय ६२ वटा उद्योग, व्यवसाय फर्म दर्ता भएकामा ९१ वटा बन्द भएका पर्यटन तथा उद्योग कार्यालयका प्रमुख अशोककुमार नेपालीले जानकारी दिनुभयो । चालु आवको चैत मसान्तसम्म ८० वटा नयाँ उद्योग दर्ता भएका छन् । ८० वटा नयाँ उद्योग तथा व्यवसाय दर्ता भएका हुन् ।

आर्थिकमन्दी, युवा शक्तिको बढ्दो पलायन, आयातित बस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, बजार अभावलगायत कारण उद्योग विस्थापित हुने क्रम बढेको कार्यालय प्रमुख नेपालीले बताउनुभयो । कोरोना महामारीपछि दर्ता हुने उद्योगको तुलनामा खारेज हुनेको सङ्ख्या बढेको छ । पर्वतमा अघिल्लो आवमा ९२ वटा उद्योग खारेज भएका थिएभने दुई सय ७४ वटा व्यवसाय दर्ता भएका थिए ।

कार्यालय प्रमुख नेपालीका अनुसार कृषि, पशुपन्छी फार्म, फलफूल खेती, गाईपालन, भैँसीपालन, व्यावसायिक बाख्रापालनलगायत अन्य घरेलु उत्पादनका उद्योग दर्ता गर्ने बढ्दै गएकोछ ।

यसैबीच, उक्त कार्यालयले उद्योगको दिगोपनाका लागि २३ उद्योगीलाई प्रविधि र उपकरण सहयोग गर्ने भएको छ । पर्यटन पूर्वाधार विकास कार्यक्रमतर्फ यस वर्ष ५६ वटा योजना रहेकामा १९ वटा योजना सम्पन्न भएको र बाँकी योजना कार्यान्वयनको चरणमा रहेका कार्यालय प्रमुख नेपालीले बताउनुभयो ।

पारदर्शीता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति

0

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एकअर्काका पूरक भएको बताउनुभएको छ। उहाँले न्यायोचित ढङ्गबाट कार्यसम्पादन गरिरहनुभएका लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार रहेको बताउनुभयो ।

नेपाल चार्टर्ड एकाउन्टेन्टस् सङ्घ (एक्यान) द्वारा आज यहाँ आयोजित राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले भन्नुभयो, “मुलुकभर सक्रिय लेखापरीक्षककै कारण भएका स्पष्ट हिसाबलाई हामीले आर्थिक सुरक्षाको एउटा पाटोका रुपमा लिन सकेका छौँ, हरबखत चनाखो रहेर हिसाब मिलान गर्नु गराउनु नै लेखापरीक्षकको उच्चतम धर्म हो, आफ्नो कर्ममा धर्म नबिर्सनु नै न्याय हो, तसर्थ, न्यायोचित ढङ्गबाट कार्यसम्पादन गरिरहनुभएका लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार हुनुहुन्छ ।”

लेखापरीक्षकको सक्रियताका कारण मुलुकमा हुने आर्थिक क्रियाकलापमा पारदर्शिता कायम गर्न योगदान पुगेको विश्वास व्यक्त गर्नुहुँदै राष्ट्रपति पौडेलले सम्बन्धित निकायलाई पारदर्शी र जवाफदेही बनाउन चार्टर्ड एकाउन्टेन्टका विषयमा ज्ञान भएका दक्ष व्यक्तिको आवश्यकता र भूमिका महत्वपूर्ण हुन्छ भन्नुभयो ।

“कुनै देशले सहयोग गर्दा हेर्ने भनेको त्यो देशको खर्च र हिसाब प्रणालीको पारदर्शिता हो, देशको आर्थिक विकास र राजस्व परिचालनमा विश्वसनीय वातावरणको अभिवृद्धि यसैबाट हुन्छ, विकास निर्माणका ठूलो खर्चमा प्रयोग हुन सक्ने फर्जी बिल र राजस्व छलीको नियन्त्रण लेखापरीक्षणबाटै सम्भव हुन सक्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

सम्मेलनको उद्घाटन समारोहमा कृषि तथा पशुुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले लेखापरीक्षकको भूमिकाको प्रशंसा गर्दै स्पष्ट लेखापरीक्षणको आवश्यकताबारे उल्लेख गर्नुभयो । “विकास निर्माणका नाममा हुने ठूलो खर्चमा प्रयोग हुँदै आएको फर्जी बिल र राजस्व छलीको नियन्त्रण लेखापरीक्षणबाटै सम्भव भएको हो”, मन्त्री साहले भन्नुभयो, “यसरी एक्यानले मुलुकको वित्तीय सुशासन, लेखापरीक्षणका माध्यमबाट योगदान दिँदै आएको छ । नयाँ पुस्ताका चार्टर्ड एकाउन्टेटहरुले राष्ट्रको आर्थिक विकासमा लेखाको महत्वका साथै लेखा व्यवसायीलाई बदलिँदो आर्थिक अवस्थाबारे जनचेतना जगाउनुपर्छ, त्यो अत्यन्तै प्रशंसनीय छ ।”

एक्यानका अध्यक्ष दिपक पाण्डेले सम्मेलनले देशको आर्थिक सङ्कट र समाधानका विषयमा बहस गर्दै निकासको बाटो खोल्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको अर्थतन्त्रमा सुक्ष्मरुपमा के–कस्ता समस्या देखिएका छन् र त्यसको समाधान के हो भन्ने विषयमा पहिलो सत्रमा छलफल गर्दैछाँै । यस्तै नीतिगत सुधार र विकासबारे घनिभूत छलफल गर्दैछाँै ।”

सम्मेलनमा एक्यानले डा सन्दुक रुइत, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरेको छ । उक्त सम्मेलनले मुलुकको समृद्धिको र आर्थिक विकासका विषयमा हुने छलफल एवं बहसमा अर्थशास्त्री, उद्योगी, बैंकर्स र नीति निर्मातालगायतको सहभागिता रहने बताइएको छ ।

झाँगाझोली जडीबुटीको ‘शैक्षिक हब’ बन्ने

0

तनहुँ: जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोलीमा गौरादेवी प्राकृतिक जडीबुटी उद्यान स्थापना गरिएको छ ।नेपालमा पाइने सबै किसिमका जडीबुटी लगाएर यस क्षेत्रलाई शैक्षिक अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न लागिएको हो ।

करिब पाँच रोपनी क्षेत्रफलमा दुई सय बढी विभिन्न प्रजातिका जडीबुटीका नामसहित बिरुवा रोपिएको छ । यसले यहाँ घुम्न आउने मानिसलाई जडीबुटी, वनस्पतिलगायतका बिरुवाका बारेमा जानकारीमा सहज हुने बताइएको छ । यस स्थानलाई शैक्षिक हबका रूपमा प्रवर्द्धन गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको झाँगाझोली एग्रो टुरिजम प्रालिका सञ्चालक उज्वल पौडेलले जानकारी दिनुभयो ।

उक्त उद्यानमा रुद्राक्ष, कुरिलो, तेजपात, श्रीखण्ड, बेल, अश्वगन्धा, असुरो, पाखनबेद, तुलसी, नीम, बोझो, टिमुर, लोडसल्लालगायतका महँगा र औषधिजन्य जडीबुटी लगाइएको छ । विशेष तरिकाले निर्माण गरिएको उद्यानमा विभिन्न जातका जडीबुटी र वनस्पति रहेका छन् । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–३ झाँगाझोली निवासी ८९ वर्षीय गौरादेवी दाहालको नाउँमा उक्त उद्यान स्थापना गरिएको हो ।

पौडेलका अनुसार करिब रु एक करोड ५० लाखको लागतमा जडीबुटी उद्यान तथा विभिन्न अस्थायी संरचना स्थापना गरिएको छ । जडीबुटीलगायत अवलोकनका लागि हात्ती, गैँडा, बाघ, घोडालगायतका विभिन्न जातका पक्षी र जनावरका आकर्षक मूर्ति निर्माण गरिएको छ । खोलाको वरपर रहेको जङ्गलको हरियाली र चुराचुरुङ्गीको आवाजले झाँगाझोली क्षेत्रमा घुम्न आउने पर्यटक लठ्ठ हुने गर्दछन् ।

अहिले यस स्थानमा सार्वजनिक बिदाका दिनमा पाँच सय बढी र अन्य दिनमा एक÷दुई सयका हाराहारीमा आन्तरिक पर्यटक घुम्नका लागि आउने गर्दछन् । त्यसैगरी ५० भन्दा बढी प्रजातिका फलफूलका बिरुवा लगाएर फलफूलको नामसहितको सुन्दर बगँैचासमेत स्थापना गरिएको छ । दुई सय बढी लोपोन्मुख चिनारीसहितको सङ्ग्राहलयसमेत सञ्चालन गरिएको छ । धेरै जातका जडीबुटी र फलफूलका बिरुवा एकै स्थानमा देख्न र चिन्न सकिने भएकाले पर्यटक गन्तव्यस्थलको रूपमा परिचित हुँदैछ ।

विभिन्न देवीदेवता, वन्यजन्तुहरूको मूर्ति निर्माण गरी जानकारी लिनका साथै घुम्न आउने विद्यार्थीलाई ज्ञान दिइने लक्ष्य रहेको छ । रूद्र कुण्ड, रूद्र घण्ट मठमन्दिरसमेत रहेको गौरादेवी यस उद्यानबाट पर्यटकले भरपुर मनोरञ्जन लिन सक्छन् । पारिवारिक वातावरणमा अग्र्यानिक खाना र आरामदायी बसाइका लागि समेत उत्कृष्ट गन्तव्य बनेको सञ्चालक पौडेलको भनाइ छ ।

सिन्धुलीको झाँगाझोलीदेखि तनहुँको झाँगाझोलीसम्म

तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको झाँगाझोली र सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको झाँगाझोली धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा परिचित छन् । सिन्धुली झाँगाझोली क्षेत्रका नेपालथोक, दुम्जा, झाँगाझोली गुठबजार, रातमाटा, बोहोरेटार, रामटार, पत्द्युरी, मुलकोट, गैरीपुछार, खाल्टेचैनपुर, शितलपाटीजस्ता बीपी राजमार्गमा पर्ने क्षेत्रहरू मात्र होइन, झाँगाझोली आसपासका क्षेत्रहरू परेवाडाँडा, नागेडाँडा, थुम्का, काशीखर्क, खहरे, बन्दीपुर, कोटगाउँ, सिरूवानी, सिम्ले, रानीछाँगा, अमारेजस्ता पर्यटकीय हिसाबले विशेष महत्व राख्ने क्षेत्र हुन् ।

दुई जिल्लामा रहेका झाँगाझोली एकापसमा भावनात्मक रूपले समेत जोडिएका छन् । झाँगाझोली एग्रो टुरिजम प्रालिले सिन्धुलीको झाँगाझोली र तनहुँको झाँगाझोली बीचको सम्बन्धलाई सुमधुर बनाई मुलुकमा कृषि र पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने लक्ष्य लिएको छ । दुई झाँगाझोली बीचको एकरूपता र समानताले दुवै झाँगाझोलीको पर्यटन प्रवद्र्धनमा नयाँपन ल्याउने सम्भावना रहेको छ । बीपी राजमार्गमा पर्ने झाँगाझोलीमा रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक मठमन्दिर समेतका सम्पदाहरू समेटेर तनहुँ झाँगाझोलीको परिकल्पना गरिएको सञ्चालकहरू बताउँछन् ।

पछिल्लो समय तनहुँको झाँगाझोली आन्तरिक पर्यटकहरूको प्रमुख रोजाइमा पर्न थालेको छ । भौगोलिक बनावट, प्राकृतिक सुन्दरता र पर्यटन प्रवद्र्धनको नयाँ प्रयोगले पनि पर्यटकहरूको झाँगाझोली मोह बढ्न थालेको अर्का सञ्चालक शङ्करप्रसाद अधिकारीले बताउनुभयो । शैक्षिक, धार्मिक, मनोरम दृश्यावलोकनले तनहुँ झाँगाझोली अवलोकनको लागि दैनिक सयौं पर्यटकको पहिलो प्राथमिकतामा पर्न थालेको छ ।

सुनकोशी गाउँपालिका सुनकोशी नदीको नामबाट नामाकरण भएको हो । शुक्लागण्डकी नगरपालिका पनि नदीकै नामबाट नामाकरण भएको पाइन्छ । एकताका प्रतीक पृथ्वीनारायण शाहको नामबाट नामाकरण भएको पृथ्वी राजमार्गमा पर्ने तनहुँ झाँगाझोली र जननेता बीपी कोइरालाको नामबाट नामाकरण भएको बीपी राजमार्गमा पर्ने सिन्धुली झाँगाझोलीबीच समानता र एकरूपता धेरै रहेका छन् ।

तनहुँको झाँगाझोलीदेखि दरगाउँ जोड्ने मोटर मार्ग स्तरोन्नतिका लागि सङ्घीय सरकारले रु ३५ लाख बजेट विनियोजन गरेको छ । यही मार्ग हुँदै प्रसिद्ध धार्मिकस्थल तीनखोले मन्दिर जाने वैकल्पिक मार्गको रूपमा विकास गर्न लागिएको छ । पृथ्वी राजमार्गको खैरेनीटारबाट करिब पाँच किमी दूरीमा झाँगाझोली पुग्न सकिन्छ । झाँगाझोलीको अगाडि भाग भएर बग्ने कुम्ले खोलाको मध्यभागमा कृत्रिम बाँध बाँधेर ताल बनाउनका लागि सम्भाव्यता अध्ययन भैरहेको छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकाभित्र सात सय रोपनी क्षेत्रफलमा जी.पी.कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र केन्द्रीय अस्पतालको रूपमा स्थापना गरी सञ्चालनमा ल्याएको छ । नेपाल सरकारले सात सय शय्या र भारत सरकारले तीन सय शय्याको आधुनिक उपकरणसहित पूर्वाधार निर्माण गर्ने गरी एक हजार शय्या क्षमताको अत्याधुनिक अस्पताल निर्माण गर्न लागेको छ ।

नेपालमा रहेका सातवटै प्रदेशका विशिष्टीकृत सामानहरूको बिक्री एवं प्रदर्शन केन्द्र स्थापना गरी आंशिक रूपमा सञ्चालनमा आएको छ । पूर्ण रूपमा कोशेली घर सञ्चालन हुन केही समय लाग्ने सञ्चालकहरू बताउँछन् । सिन्धुली झाँगाझोली क्षेत्रमा पर्ने ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक सम्पदाका बारेमा जानकारी दिने उद्देश्यले सूचना कक्ष निर्माण गरिएको छ । सूचना कक्षमा झाँगाझोली क्षेत्रमा पर्ने विविध विषयका बारेमा ब्रोसर, मूर्ति, सङ्ग्राहलयमार्फत घुम्न आउने पर्यटकले जानकारी लिने गरेका छन् ।

हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत

0
सुरुङ्गा (झापा): रातारात बथानका बथान भारतबाट नेपाल प्रवेश गरेर यहाँका सामुदायिक वनमा बस्दै आएका जङ्गली हात्ती नियन्त्रण गर्न झापामा थुप्रै काम गरिएका छन् ।
वर्षौदेखि झापामा देखिएको मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले हात्ती प्रवेश गर्ने गौँडामा सोलार अफसेट फेन्स (विद्युतीय सौर्य तारबार) जडान गर्दै हात्ती नियन्त्रण गर्न खोजिएको छ भने सामुदायिक वन क्षेत्रभित्र हात्तीको आहारका लागि केरासहित विभिन्न प्रजातिको घाँससमेत लगाइएको छ । यति गर्दा पनि जङ्गली हात्तीले बस्ती प्रवेश गरेर मच्चाउने उपद्रो भने रोकिएको छैन ।
हात्ती नियन्त्रणकै लागि हालसम्म झापाका विभिन्न ठाउँमा ७६ दशमलव ३९ किलोमिटर सोलार अफसेट फेन्स जडान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको रेखदेखमा जडान गरिएको सोलार अफसेट फेन्सले हात्ती नियन्त्रण गर्न खोजिए पनि पूर्ण प्रभावकारी भने देखिएको छैन ।
हात्ती नियन्त्रणका लागि २७ विभिन्न सामुदायिक वन क्षेत्रमा जडान गरिएको सोलार अफसेट फेन्स राष्ट्रिय प्रकृति संरक्षण कोषले डिभिजन वन कार्यालयको रोहवरमा हालै भद्रपुर, कचनकवल, हल्दिबारी, बाह्रदशी र मेची नगरपालिकाअन्तर्गत रहेका वन समूहलाई हस्तान्तरणसमेत गरेको छ । कोषले हस्तान्तरण गरेका विद्युतीय सौर्य तारबारका कारण हात्ती नियन्त्रणमा केही सहज भए पनि झापावासी हात्तीको समस्याबाट भने पूर्णरुपमा मुक्त हुन सकेका छैनन् ।
हात्ती नियन्त्रणका लागि हात्ती प्रवेश गर्ने प्रमुख गौडा पूर्वी सीमा मेची खोलाको तटीय क्षेत्रमा रहेको सामुदायिक वन क्षेत्रमा विद्युतीय सौर्य तारबार गरिए पनि यहाँ रहेका सामुदायिक वनमा बस्दै आएका हात्तीले बस्तीमा पसेर दिनहुँजसो उपद्रो मच्चाउने गरेका छन् ।
हात्तीको उपद्रोका कारण सात विदेशी नागरिकसहित ६७ जनाले झापामा ज्यानसमेत गुमाएका छन् । डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार विसं २०६८ यता मात्रै ६० जना नेपाली र सात विदेशी नागरिकले हात्तीको आक्रमणमा परी ज्यान गुमाएका हुन् ।
हात्तीले प्रायःजसो मच्चाउने उपद्रोकै कारण झापामा हात्तीसमेत मारिने गरेका छन् । हात्ती कसले मा¥यो भन्ने पुष्टि हुन नसक्दा हात्ती मार्ने कार्यमा संलग्नलाई कारबाही हुन नसकेको वन कार्यालयका अधिकृत पाठकको भनाइ छ । झापामा हालसम्म २० हात्ती मृत फेला परेका छन् । कालगतिले मरेका हात्तीको सङ्ख्या भने न्यून रहेको पाठकको भनाइ छ ।
हालैमात्र झापाको मेची नगरपालिका–११ स्थित कालिका सामुदायिक वनभित्र ४० वर्षको बयष्क हात्ती मृत फेला प¥यो । मृत भेटिएको हात्तीको पुच्छर, दाह्रा नभएकाले हात्तीलाई तस्करले मारेको हुनसक्ने डिभिजन वन कार्यालयको निष्कर्ष रहेको पाठकको भनाइ छ ।
“हात्तीलाई गोली हानेर मारिएको रहेछ”, पाठकले भन्नुभयो, “मेरै संयोजकत्वमा छानविन समिति बनेको थियो, घटना छानविन गर्दा हात्तीलाई गोली हानेर मारेको पाइएपछि मारिएको हात्तीको पोष्टमार्टम पछि सामुदायिक वनमा नै खाल्डो खनेर पुरियो, मारिएको हात्तीको दाह्रा र पुच्छर नहुनुले झापामा हात्ती तस्करी गर्ने समूह सक्रिय रहेको पुष्टि हुन्छ, हामी हात्ती मार्ने गिरोहको सुक्ष्म ढङ्गले खोजी गरिरहेका छौँ ।”
यही वैशाख ३ गते मृत्त फेला परेको हात्ती जिल्लामा मारिएको पहिलो भने होइन । “यहाँ विद्युतीय सौर्य तारबारमा परेर र पारिएर पनि धेरै हात्ती मरेका छन्”, पाठकले भन्नुभयो, “तर प्रमाण नजुट्दा हात्ती मार्ने कार्यमा संलग्नलाई कारबाही गर्न भने सकिएको छैन ।”
मेचीनगरमा हात्ती मार्न भरुवा बन्दुकको प्रयोग गरिएको प्रारम्भिक अध्ययनले देखाएको बताइएको छ । मृत्त हात्तीको पोष्टमार्टमका क्रममा हात्तीको कान छेउको भागमा गोली हानेको र टाउकामा गोली भेटिएको पाठकले बताउनुभयो ।
विसं २०६८ देखि गत आर्थिक वर्षसम्म हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई  रु सात करोड १९ लाख ७० हजार छ सय ९७ राहत वितरण गरिएको छ । चालू आर्थिक वर्षमा मात्र हात्तीले सात जनाको ज्यान लियो ।
हात्तीको उपद्रोका कारण अर्बौं रुपैयाँको धनमाल क्षति हुने गरेको छ भने हात्तीबाट हालसम्म झापामा पाँच सय ३२ घटना भएका छन् । त्यसबापत रु एक करोड २६ लाख राहत वितरण गर्न अझै बाँकी रहेको डिभिजन वन कार्यालयले जनाएको छ । हात्तीको आक्रमणमा परी मृत्यु हुनेका परिवारलाई हाल राज्यले रु १० लाख राहत रकम उपलब्ध गराउँदै आएको छ । विसं २०७४ असार अघि रु पाँच लाख प्रदान गरिँदै आएको थियो ।
विसं २०७१ असोज २५ गते अघि रु तीन लाख र त्यसअघि हात्तीको आक्रमणमा परी मृत्यु हुनेको परिवारलाई रु एक लाख ५० हजार राज्यबाट राहत रकम प्रदान गरिँदै आएको थियो ।

खडेरीका कारण ट्युबेलको पानी सुक्न थाल्यो

0

उदयपुर (गाईघाट): यय वर्ष खडेरी परेपछि उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न स्थानमा गाडिएका ट्युबेल (कल)को पानी सुक्न थालेको छ । त्रियुगा–१२, ११, ३, १, २, ४ र ५ क्षेत्रका स्थानमा गाडिएका कलको जमिनमुनि पानीको सहत सुकेर घट्न थालेपछि पानी आउन छाडेको स्थानीयवासी बताउँछन् ।

त्रियुगा–१२ बुद्धचोकका स्थानीय धनबहादुर मगरले छिमेकीसहित घरमा गाडेको कलमा १० दिनदेखि पानी आउन छाडेको मगरले बताउनुभयो । त्रियुगा–११ शिवालय टोलका देवराज कार्कीका अनुसार यसपटकको कडा खडेरीका कारण जमिनमुिन पानीको सहत घटेकाले २० फिट मुनिसम्म गाडेको ट्युबेलबाट समेत पानी आउन छाडेको हो ।

खडेरीले जमिनमुिनको सतहबाट पानी झनै तल घट्दै जान थालेकाले वडा नं १ जोगीदह क्षेत्रमा १७ देखि २० फिटमुनिसम्म गाडिएको ट्युबेलबाट केही दिनयतादेखि पानी आउन छाडेको स्थानीय कृष्ण ढुङ्गानाले बताउनुभयो ।

त्रियुगा–२ खैजनपुर र वडा नं ३ भुल्के मोतिगडा क्षेत्रमा खडेरीले जमिनको सतहभन्दा धेरै तल पानी घटेर झरेपछि गाडिएका कलबाट पानी आउन छाडेको मोतिगडाका नन्दीदेव चौधरीले बताउनुभयो । वडा नं ५ देउरी जलजले क्षेत्रमा पाँच दर्जनभन्दा बढी ट्युबेल सुकेका स्थानीय परमानन्द चौधरीले बताउनुभयो । चौधरीका अनुसार यस क्षेत्रमा १७ देखि २० फिट गहिराइका कलबाट पानी आउने गरेकामा अहिले अधिकांश कल सुकेका छन् ।

गाईघाट डिएमगेटका ट्युबेल मिस्त्री पशुपतिदेव चौधरीका अनुसार यसपटक यस क्षेत्रमा खडेरीका कारण २५ देखि ३० फिट गहिराइसम्म जमिनमुनि पानीको सहत घटेको छ । उहाँले यस क्षेत्रमा झण्डै पाँच सयभन्दा बढी ट्युबेलबाट पानी आउन छाडेको बताउनुभयो ।

पानीको सहत सुकेर पानी आउन छाडेपछि कतिपय स्थानीयवासी नजिकैको इनारबाट पानी बोकेर खान बाध्य भएका स्थानीय स्थानीय रोजन चौधरीले बताउनुभयो ।

नख्खु करिडोरमा टिपर गुड्दा स्थानीयलाई सास्ती

0

ललितपुर: ललितपुर महानगरपालिका–१३ कुसुन्तीको नख्खु खोला करिडोरमा रातभरि टिपर गुड्दा स्थानीयले निन्द्रा नपर्ने गुनासो गरेका छन् । लालितपुरको टीकाभैरवको ढुङ्गाखानीबाट सञ्चालन हुने टिपरका कारण ललितपुर–४ नख्खुखोला पुलबाट रानेबुसम्म बस्तीका बासिन्दा टिपरको कारण समस्यामा परेका हुन् ।

अन्य ठाउँमा पक्की सडक भए पनि नख्खु खोला करिडोरको करिब दुई किलोमिटर सडक पक्की छैन । पक्की सडक नहुनु र बस्तीछेउबाट रातभरि टिपर गुड्दा आफूहरूले सास्ती भोगिरहेको स्थानीय बताउँछन् ।

बस्ती छेउबाट टिपर गुडाउनलाई सडक पक्की र व्यवस्तित गरिदिन पटक–पटक ललितपुर जिल्ला प्रशासन र महानगरलाई अनुरोध गरे पनि आश्वासनमा मात्र सीमित रहेको ललितपुर–१३ का वडाध्यक्ष गणेश केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “बस्ती छेउबाट करिब पाँच सयभन्दा बढी टिपर रातभरि गुड्छन् । स्थानीयले रातभरि निद्रा नपर्ने गुनासो गर्दै आएका छन् । बिहानपख बस्ती धुलैधुलोले भरिएको देखिन्छ ।”

उपत्यकाको बागमती नदी करिडोरसहित अन्य नदीको करिडोर व्यवस्ति भए पनि नख्खुखोला करिडोर अस्तव्यस्त रहेको वडाध्यक्ष केसीले बताउनुभयो । बस्ती छेउबाट टिपर गुड्ने सडक व्यवस्थित गर्नका लागि स्थानीयले आन्दोलन गरेर सडक बन्द गरे पनि कुनै सुनुवाइ नभएको उहाँको भनाइ छ ।

विसं २०७२ को भूकम्पलगत्तै बस्ती छेउबाट टिपर गुड्न सुरु भएकोभन्दै हालसम्म पनि सडक व्यवस्थित नहुँदा स्थानीयले सास्ती खेपिरहेको रामनारायण महतोले बताउनुभयो । उहाँले दुःखेसो पोख्दै भन्नुभयो, “धुलो र टिपरको चर्को आवाजका कारण हामी रोगी हुन लागिसक्यौँ । करिब पाँच सयभन्दा बढी टिपर रातभरि गुड्दा सडक थर्किन्छ र घर ढल्ने चिन्ताले निन्द्रा लाग्दैन । बालबालिकादेखि ज्येष्ठ नागरिक समस्या छन् । हामीले महानगरमा निवेदन गर्दा, सडक बन्द गरेर आन्दोलन गर्दा पनि पीडा बुझिदिने कोही भएनन् ।”

ललितपुर–१३ कुसुन्तीका प्रतीक गुप्ताले भन्नुभयो, “टिपरको आवाजका कारण रातमा निद्रा पर्दैन । यस्तै भइरहे बालबालिकाको स्वास्थ्य अवस्थामा नकारात्मक असर पर्ने निश्चित छ ।” करिब दुई सयभन्दा बढी घरधुरीले बस्ती छेउको कच्ची बाटोमा टिपर गुड्दा सास्ती खेप्नुपरेको बताउँदै आएका छन् ।

आफ्ना समस्या लिएर अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय पुगेर गुनासो पोख्दा पनि समस्याको सामाधान नभएको स्थानीय बताउँछन् । नख्खु करिडोरमा टिपर गुडाउन बन्द नगरे पनि सडक पक्की र व्यवस्थित गराउनुपर्ने उहाँहरुको माग छ ।

एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

0

काठमाडौँ: एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा चार सय केभी नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का लिङ्कसन इण्डिया प्रालिलाई प्रदान गर्दै उक्त कम्पनीसँग सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सबस्टेशनको निर्माण सम्झौता अवधि ३९ महिनाभित्र सम्पन्न गरिने जनाइएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा आज आयोजित हस्ताक्षर समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपालका लागि संयुक्त राज्य अमेरिकी राजदूत डिनआर थम्पसन, स्थानीय अधिकारीहरू तथा निर्वाचित जनप्रतिनिधिको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी राजदूत थम्पसनले भन्नुभयो, “नेपालको ऊर्जासम्बन्धी आवश्यकता सम्बोधनका लागि कम्प्याक्ट उपयोगी रहेको सुनिश्चित गर्ने सन्दर्भमा अमेरिकी सरकार, नेपाल सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छ । घरेलु उपभोग, विस्तारित व्यापारिक एवं औद्योगिक संस्थाहरू तथा सीमापार विद्युतीय व्यापारका लागि भरपर्दाे एवं धान्न सकिने विद्युत् उपलब्ध गराइरहेको नेपालको विद्युत् प्रसारण क्षमतामा यस चार सय केभी नयाँ बुटवल सबस्टेशनले सुधार ल्याउनेछ ।”

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “यो चार सय केभी सबस्टेशन प्राधिकरणको प्राथमिकतामा रहेको संरचना हो र यसले यस क्षेत्रमा सीमापार ऊर्जा व्यापार उल्लेख्य रूपमा उकास्नका लागि विद्यमान दुई सय २० केभी सबस्टेशनलाई सघाउनेछ ।”

कार्यक्रममा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा भइरहेका समष्टिगत प्रगतिमाथि प्रकाश पार्नुभयो । उहाँले भन्नुभयो, “एमसिए–नेपालले विद्युत् प्रसारण आयोजनाअन्तर्गत प्रसारण लाइन र सबस्टेशनहरूको निर्माणसम्बन्धी सम्पूर्ण कार्यलाई तीव्रतापूर्वक अगाडि बढाइरहेको छ । बाँकी दुईवटा सबस्टेशनको निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नका लागि हामी खरिद प्रक्रियाको अन्तिम चरणमा छौँ ।”

एमसिए–नेपालले नेपाल सरकारको लगानी तथा अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पाेरेशनबाट आर्थिक अनुदान प्राप्त विद्युत् प्रसारण आयोजनाअन्तर्गत यस सबस्टेशनका अतिरिक्त नुवाकोट जिल्लाको रातमाटेमा र तनहुँ जिल्लाको दमौलीमा पनि एक–एकवटा सबस्टेशन निर्माण गर्दैछ । ती सबस्टेशनका लागि निर्माण कम्पनीको छनोट हुँदैैछ ।

अर्थ मन्त्रालयका सचिव अध्यक्ष रहनुभएको एमसिए–नेपालको सञ्चालक समितिको २०८० साल फागुनमा बसेको बैठकले भारतसँगको सम्झौतामा उल्लेख गरिएअनुरूप सीमापार ऊर्जा व्यापारलाई समयमै अगाडि बढाउनका लागि सहजीकरण गर्न नयाँ बुटवल–गोरखापुर विद्युत् प्रसारण लाइनको नेपाली क्षेत्रमा पर्ने १८ किमी अंशको निर्माणलाई अगाडि बढाउने निर्णय गरेको थियो ।

कोसी प्रदेशको पर्यटन प्रवर्द्धनमा स्वीस सरकारको सहयोग

0

काठमाडौँ: पदयात्रामा आधारित पर्यटन परियोजनाका निम्ति स्वीट्जरल्याण्ड सरकारले नेपाललाई ९.०१ मिलियन स्वीसफ्रयाङ्क आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा ड्यानियल म्यूलीले सहयोग सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

उक्त परियोजना यही वर्ष (सन् २०२४) देखि कार्यान्वयन हुनेछ । सन् २०२८ सम्म सञ्चालन हुने सो परियोजनाबाट कोसी प्रदेशका २९ स्थानीय तहका करिब एक लाख स्थानीयले प्रत्यक्ष लाभ लिने विश्वास गरिएको अर्थ मन्त्रालयले जनाएको छ । परियोजनाको कार्यान्वयनबाट स्थानीय कला, संस्कृतिको संरक्षण, स्थानीय उत्पादन, रोजगारी सिर्जना तथा दिगो पर्यटनको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

सो अवसरमा राजदूत म्यूलीले दिगो पर्यटन विकास र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने परियोजनाले कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । परियोजना कार्यान्वयनमा आएसँगै वातावरणमन्त्रै सामाजिक आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ छ ।

अर्थ मन्त्रालयका सहसचिव एवं वैदेशिक सहयोग आर्थिक समन्वय महाशाखाका प्रमुख नेपालले कोसी प्रदेशको पर्यटन क्षमता अभिवृद्धि गर्ने र यसबाट पर्या–पर्यटनको प्रवर्द्धन गर्दै स्थानीय जनताको आयस्रोतमा वृद्धि गर्ने बताउनुभयो ।