Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Monday, May 11, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 801

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

By
Himalayan Tribune
-
May 21, 2024
0

जलेश्वर (महोत्तरी): भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो । महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेलसेवा प्रारम्भ भएको हो ।

नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेलसेवा बन्द हुने जानकारी सार्वजनिक सूचना प्रकाशन गरेर दिएको थियो । सूचनमा रेल्वे सेवा पुनः साविकबमोजिम जेठ ८ गतेदेखि नियमित सञ्चालनमा आउने जानकारी दिइएबमोजिम आज बिहानदेखि सञ्चालन भएको हो ।

वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन

By
Himalayan Tribune
-
May 21, 2024
0

वीरगञ्ज, (पर्सा): वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम राजस्व सङ्कलन गरेको छ ।

महानगरले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु तीन करोड १८ लाख ९८ हजार २९ रकम बढी सङ्कलन गरेको हो। महानगरले गत आवको १० महिनामा रु ३६ करोड ६१ लाख ३६ हजार ९० राजस्व सङ्कलन गरेको थियो ।

वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको बजेट पुसमा संशोधन गर्दै रु ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य भए तापनि हालसम्म रु ४० करोडको हाराहारीमा मात्रै राजस्व सङ्कलन भएको राससलाई जानकारी दिनुभयो । ‘‘आर्थिक मन्दीका कारण वीरगञ्जमा व्यापार घटेको छ, यसको राजस्व सङ्कलनमा प्रत्यक्ष असर परेको छ’’ उहाँले भन्नुभया ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई चालु आर्थिक वर्षमा मालपोत कर रु ५० करोड रकम सङ्कलन गर्ने लक्ष्य रहेकामा त्यो प्राप्त गर्न कठिन हुने बताउनुभयो ।”यो वर्ष घरजग्गा कारोबारमा ठूलो मन्दी आएकाले रु१३ करोड ९३ लाख ६२ हजार मात्रै सम्पत्ति कर(मालपोत) कर उठेको छ,” उहाँले भन्नुभयो,‘‘आन्तरिक राजस्व अपेक्षाकृत रुपमा सङ्कलन नहुँदा स्रोत जुटाउन दबाब बढेको छ ।’’

महानगरले २४ शीर्षककमा आन्तरिक राजस्व वापत आम्दानी गर्दै आइरहेको छ। महानगरले यस वर्ष घरबहाल कर बापत रु चार करोड ९६ लाख ७५ हजार आम्दानी गरेको छभने पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर बापत भने रु दुई करोड सात लाख ९२ हजार सङ्कलन गरेको छ ।

हानगरले बहाल करतर्फ रु तीन करोड २६ लाख ४४ हजार तथा अन्य सेवा शुल्कबापत रु दुई करोड ४१ लख ४३ हजार, नक्सापास दस्तुर रु दुई करोड ९२ लाख ४ हजार उठाएको छ । गत आवमा रु ५७ करोड एक लाख ७३ हजार दुई सय एक राजस्व सङ्कलन भएको थियो ।

आज दिउँसो देशभर आंशिक बदली हुने

By
Himalayan Tribune
-
May 21, 2024
0

काठमाडौँ: हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मुख्यतया मौसम सफा र रहेको छभने कोशी ,मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिउँ पर्नसक्नेछ ।

त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने अन्य बाँकी क्षेत्रमा आंशिक बदली भई मुख्यतया मौसम सफा रहने छ । कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी र लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागका केही स्थानमा तथा बाँकी प्रदेशका केही क्षेत्रमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै विभागले देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना भएकाले सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

By
Himalayan Tribune
-
May 21, 2024
0

काठमाडौँ: संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताउनुभएको छ ।

नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा उहाँले उक्त कुरा बताउनुभएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

त्यस अवसरमा प्रधानमन्त्री सुनकले आगामी दिनमा बेलायत र नेपालबीच व्यापार, लगानीलगायत आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने बताउनुभयो । उहाँले बेलायत र नेपालबीचको ऐतिहासिक सम्बन्धका विभिन्न आयामका बारेमा चर्चा गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन ‘ब्रिटिस गोर्खा’को योगदानको प्रशंसा गर्नुभयो । विगतमा राजा चाल्र्सले गर्नुभएको नेपाल भ्रमणको स्मरण गर्दै उहाँले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त नेपाली ‘डायस्पोरा’को काम र उपलब्धिबाट आफू प्रेरित भएको बताउनुभयो ।

बेलायतकी परराष्ट्र राज्यमन्त्री आन मारी ट्रेवल्यानले बेलायत–नेपालबीचको घनिष्ठ सम्बन्धबारे चर्चा गर्दै बेलायतले नेपालको विकास प्रयासमा सहयोग गरिरहेको र त्यो जारी रहने बताउनुभयो । उहाँले नेपाालसँगको आर्थिक सम्बन्धलाई थप विस्तार गरी उसको मध्यम आययुक्त मुलुक बन्ने लक्ष्यमा सहायता गर्ने बताउनुभयो ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट प्रधानमन्त्री सुनकप्रति शुभकामना व्यक्त गर्दै सन् १९२३ मा सम्पन्न मैत्रीसन्धिका विविध पक्षको चर्चा गर्नुभयो । उहाँले मैत्रीसन्धिपश्चात् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान भएको उल्लेख गर्नुभयो ।

नेपालमा हालसम्म भएका सामाजिक एवं राजनीतिक परिवर्तन तथा हासिल भएका प्रगतिबारे जानकारी दिँदै राजदूत आचार्यले नेपालको विकासमा बेलायतले पुर्याएको सहयोगका निम्ति आभार व्यक्त गर्नुभयो । साथै उहाँले आगामी एक सय वर्षमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्धलाई थप क्षेत्रमा विस्तार गरी पारस्परिक सम्बन्ध अझ सुदृढ तुल्याउन दुवै पक्षबाट महत्त्वपूर्ण भूमिका निर्वाह हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा बेलायतमा विभिन्न पेसा तथा व्यवसायमा रहेको नेपाली समुदाय, भूतपूर्व गोर्खा, बेलायतका सांसद तथा उच्चपदस्थ अधिकारी एवं नेपालका बेलायती मित्रहरूको उपस्थिति थियो ।

नेपाल र बेलायतबीच सन् १९२३ को मैत्रीसन्धिमा हस्ताक्षर भएको सय वर्ष पुगेको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरी मनाउने सिलसिलामा नेपाली राजदूतावास र बेलायती परराष्ट्र मन्त्रालयको समन्वयमा नेपाली समुदायको सहयोगमा सो समारोह सम्पन्न भएको हो । यो ऐतिहासिक अवसरलाई स्मरणीय तुल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित प्रेक्षालयमा गत २१ डिसेम्बरमा विशेष समारोह आयोजना गरिएको थियो । सोही प्रेक्षालयमा २१ डिसेम्बर १९२३ मा उक्त सन्धिमा हस्ताक्षर भएको थियो ।

नेपालको संस्कृति चिनाउन अमेरिकामा सांस्कृतिक कार्यक्रम

By
Himalayan Tribune
-
May 20, 2024
0

टेक्सास (अमेरिका): नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन आइतबार अमेरिकाको न्यूयोर्कमा ‘नेपाल डे परेड’ को आयोजना गरिएको छ । गैरआवासीय नेपाली सङ्घ, अमेरिका न्यूयोर्क च्याप्टरको आयोजना तथा नेपाली समुदायका विभिन्न सङ्घ/संस्थाको सहभागितामा आयोजना गरिएको कार्यक्रममा नेपालका सातवटै प्रदेशका कला, संस्कृति झल्किने विभिन्न झाँकीका साथै पर्यटकीय गन्तव्यको प्रदर्शनीसमेत गरिएको थियो कार्यक्रममा सुदूरपश्चिमेली समुदायको सांस्कृतिक बाजा दमाहा, झाँकी र डेउडा कार्यक्रमको आकर्षण बनेको थियो । सांस्कृतिक झाँकीसहितको र्याली र बाजागाजासहित न्यूयोर्कको म्यानहाटन सहर परिक्रमा गरी समारोहको आयोजना गरिएको थियो ।

कार्यक्रममा सहभागी न्यूयोर्क सिटीका प्रमुख इरिक एडम्सले नेपाल एक पटक घुम्नै पर्ने ठाउँ रहेको बताउनुभयो । नेपालका कला संस्कृतिको बारेमा आफू जानकार रहेको बताउँदै उहाँले न्यूयोर्क सिटीलाई विविध संस्कृतिको सहर बनाउन नेपाली समुदायको समेत योगदान रहेको धारणा व्यक्त गर्नुभयो । त्यसअवसरमा अमेरिकी सिनेटर चक सुमरले उत्कृष्ट कला, संस्कृति हेर्न नेपाल घुम्नै पर्ने र कार्यक्रममा प्रस्तुत गरिएका सांस्कृतिक झाँकीबाट आफू प्रभावित भएको बताउनुभयो ।

कार्यक्रममा नेपाली महावाणिज्यदूत विष्णु अधिकारी, नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठ, गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष डा अर्जुन बन्जाडेलगायत नेपाली समुदायका अगुवाको सहभागिता रहेको थियो । कार्यक्रममा न्यूयोर्कलगायत न्यूजर्सी र कनेक्टिकट राज्यबाट पनि नेपाली एवम् नेपालीमूलका अमेरिकीहरूको उल्लेख्य सहभागिता रहेको थियो । नेपाली जनसम्पर्क समिति अमेरिका, प्रवासी नेपाली मञ्च तथा आदिवासी जनजाती महासङ्घको पहलमा सन् २०१६ मा सुरू भएको ‘नेपाल डे परेड’ कार्यक्रम हरेक वर्ष आयोजना हुँदै आएको छ ।

कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय

By
Himalayan Tribune
-
May 20, 2024
0
टीकापुर (कैलाली): कोरियन नागरिक उ याङ छेदानको सहयोगमा कैलालीको टीकापुर– १ एकतापुरस्थित प्रगतिशील आधारभूत विद्यालयमा शौचालय निर्माण गरिएको छ । बालबालिकाका लागि शौचालयको समस्या देखेपछि टीकापुर अस्पतालमा कोइका (कोरियन सरकारको सहयोगमा) को कार्यक्रम व्यवस्थापक तथा आरसीआइका नेपालका प्रतिनिधि पार्क क्वाङ होले, छेदानको सहयोगमा शौचालय निर्माण गरिदिनु भएको हो ।
विपन्न समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयमा छात्राका लागि सुविधा सम्पन्न पाँच कोठे शौचालय निर्माण गरिएको छ भने पुरानो शौचालयसमेत मर्मत गरिएको छ । रु छ लाख लागतमा शौचालय निर्माण गरिएको विद्यालयले जनाएको छ । छेदानले शौचालय उद्घाटनसँगै विद्यालयमा बालबालिकालाई खेल गतिविधिका लागि दुई थान फुटबल, दुई थान भलिबल, स्पीकिङ, हावा भर्ने पम्पसमेत सहयोग गर्नुभएको छ । कार्यक्रममा सामान सहयोग गर्दै पार्क क्वाङ हो ले चिटिक्क परेको शौचालय उपहार दिन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले विद्यालय तथा बस्तीमा गरिबी देखेपछि यहाँका बालबालिकालाई सजिलो होस् भनेर सहयोग गरेको बताउनुभयो । “यहाँ पढ्ने बालबालिका विपन्न समुदायका देखेँ, सधैँ यही बाटो साइकलमा हिँड्छु”, छेदानले भन्नुभयो, “विगतमा म पनि यस्तै विद्यालयमा पढेको थिएँ ।
यहाँको स्वास्थ्य र सरसफाइमा सहयोग पुगोस् भनी शौचालय बनाइदिएको हुँ ।” कार्यक्रममा वडा नं १ का वडा सदस्य नरेश विकले विद्यालयलाई वडा कार्यालयबाटसमेत सहयोग हुँदै आएको बताउँदै आउँदा दिनमा पनि व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “अव्यवस्थित बस्तीमा रहेको विद्यालय भएकाले पालिकाले सहयोग गर्न कठिनाइ हुने गरेको छ”, उहाँले भन्नुभयो, “मेरो व्यक्तिगत तर्फबाट भए पनि विद्यालयमा लगानी भित्र्याउने छु ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर नेपालीले कोरियन नागरिक भएर पनि ठूलो सहयोग गरेको बताउँदै विद्यालयको अवस्था दयनीय भएकाले सघाउन पालिकालाई अनुरोध गर्नुभयो । उहाँका अनुसार विभिन्न दाताको सहयोगमा विद्यालयमा टिनका छानासहितका भवन निर्माण गरिएका छन् । बालविकास कक्षाका बालबालिका बस्ने ठाउँ जीर्ण रहेका भन्दै दिवा खाजा पकाउने भान्साको समेत समस्या रहेको प्रधानाध्यापक हृदयराज रेग्मीले बताउनुभयो ।

सभामुखको भूमिकाप्रति कांग्रेस असन्तुष्ट

By
Himalayan Tribune
-
May 20, 2024
0

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे निष्पक्ष नभएको आरोप लगाउँदै उहाँको भूमिकाप्रति असन्तुष्टि जनाएको छ । नेपाली कांग्रेस संसदीय दलको आजको बैठकले प्रतिनिधिसभामा सभामुखले आज निर्वाह गर्नुभएको भूमिका पदीय गरिमा अनुकूल नभएको ठहर गर्दै त्यसप्रति प्रश्न उठाएको हो ।

कांग्रेसले प्रतिनिधिसभामा विपक्षी दलको विरोध र नाराबाजीबीच संसद् बैठकका कार्यसूची अघि बढाएको भन्दै सभामुखको भूमिकामाथि प्रश्न उठाएको हो । “सङ्घीय संसद्को गरिमामय सभभामुख पदमा आसिन व्यक्ति कुनै एक दलको इशारामा प्रयोग हुने अवस्थाले संसदीय मूल्यमान्यतालाई कुठाराघात गर्दछ । तसर्थ कांग्रेस संसदीय दलको यो बैठक सभामुखलाई संसदीय मूल्यमान्यता र परम्परा जोगाउनेतर्फ काम गर्न गम्भीररुपले ध्यानाकर्षण गर्दछ”, बैठकको निर्णयमा उल्लेख छ ।

विपक्षी दलको विरोध र नाराबाजीबीच प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव अघि बढाएको र नेपाली कांग्रेसका सांसदलाई बोल्न नदिएको कांग्रेस संसदीय दलको आरोप छ । संसदीय दलको बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख सचेतक लेखकले सभामुखले पार्टीको कार्यकर्ता जस्तो व्यवहार गर्न सुहाउँदैन भन्नुभयो ।

लोकतान्त्रिक एवं संसदीय मूल्यमान्यता बिर्सेर संसद् बैठक सञ्चालन गर्ननहुने निष्कर्ष कांग्रेसको छ । प्रधानमन्त्रीले विश्वासको मत लिन ३० दिनको समायावधि रहेकामा विपक्षी दलहरुको मागबमोजिम संसदीय छानबिन समिति गठन गर्नुको साटो पर्याप्त समय हुँदाहुँदै विश्वासको मत लिने प्रक्रिया पूरा गराउनु अनुपयुक्त भएको सचेतक लेखकले बताउनुभयो । कांग्रेससहित सङ्घीय संसद्मा रहेका सबै विपक्षी दलहरुले सहकारी ठगीसम्बन्धमा स्वतन्त्र र निष्पक्ष छानबिनको सुनिश्चितता गर्न संसदीय छानबिन समिति गठनको माग जारी राखेका छन् ।

तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

By
Himalayan Tribune
-
May 20, 2024
0

काठमाडौँ: चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले रु ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाख मसान्तसम्ममा रु १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात भएको थियोभने रु एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको निर्यात भएको थियो । विभागका अनुसार चालु आवको १० महिनामा रु १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख बराबरको वैदेशिक व्यापार भएको छ ।

यो अवधिको कुल वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव ५० प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको दश महिनाको तुलनामा आयात दुई दशमलव ३९ र निर्यात तीन दशमलव ६१ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा भारतसँग नेपालले रु सात खर्ब २९ अर्ब ७० करोड बराबरको व्यापार घाटा व्यहोरेको छ । भारतबाट रु आठ खर्ब १५ अर्ब ७२ करोडको आयात र रु ८६ अर्बको निर्यात भएको छ ।

नेपालसँग दोस्रो ठूलो वैदेशिक व्यापार छिमेकी मुलुक चीनसँगको व्यापार घाटा रु दुई खर्ब ३८ अर्ब ५५ करोड बराबर रहेको छ । दश महिनामा चीनसँग रु दुई खर्ब ४० अर्ब ८३ करोड बराबरको आयात हुँदा रु २२ अर्ब ७४ करोड बराबरको निर्यात भएको छ । वैशाख मसान्तसम्मको वैदेशिक व्यापारमा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ । यो अवधिमा रु एक खर्ब १५ अर्ब ६७ करोड बराबरको डिजेल रु ५६ अर्ब ८० करोड बराबरको डिजेल र रु ४६ अर्ब बराबरको खाना पकाउने ग्यास आयात भएको छ । सोही अवधिमा रु २४ अर्ब एक करोड बराबरको मोबाइल फोन आयात भएको छ । नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट रु आठ अर्ब ७९ करोड, अलैंची रु छ अर्ब ९१ करोड, फलामजन्य वस्तु रु पाँच अर्ब ५२ करोड र पाम आयल रु पाँच अर्ब ६० करोड बराबर छ ।

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी

By
Himalayan Tribune
-
May 20, 2024
0
फाइल तस्बिर

काठमाडौँ: सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल)ले झण्डै रु आठ खर्ब ५३ अर्ब ६२ करोड लगानीमा चार हजार एक सय १३ मेगावाट क्षमताका ठूला आयोजनाको काम अघि बढाएको छ ।

मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकारले गरिरहेको योजनाबद्ध प्रयासलाई थप सार्थक बनाउने लक्ष्यका साथ कम्पनीले मझौला र ठूला क्षमताका आयोजना निर्माणका लागि आवश्यक प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको छ ।

कम्पनीले अर्ध जलाशयुयुक्त प्रकृतिको चार सय ८० मेगावाट क्षमताको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीसँग मिलेर अगाडि बढाउन लागेको छ । सो आयोजना अगाडि बढाउनेसम्बन्धी द्विपक्षीय सम्झौतामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को २०७९ जेठमा भएको भारत भ्रमणका क्रममा भएको हो ।

यसैगरी कम्पनीले चार सय ५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण, एक हजार नौ सय दुई मेगावाट क्षमताको मुगु कर्णालीको विस्तृत अध्ययनको कामलाई अगाडि बढाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत बखतबहादुर शाहीका अनुसार, निकट भविष्यमा नै ती आयोजनाको आवश्यक अध्ययन प्रक्रिया पूरा हुनेछ । कम्पनीले ४० मेगावाट क्षमताको सौर्य परियोजनासमेत अगाडि बढाएको छ । ऊर्जा मिश्रणको अवधारणामा समेत काम गर्ने उद्देश्यका साथ सौर्य परियोजनाको कामसमेत कम्पनीले सुरु गरेको शाहीको भनाइ छ ।

नेपालको पानी जनताको लगानी अवधारणा

सरकारले नेपालको पानी जनताको लगानी अवधारणामा अगाडि बढाएको कम्पनी हो, विद्युत् उत्पादन कम्पनी । यो कम्पनीले ठूला क्षमताका आयोजना अगाडि बढाउने लक्ष्यका साथ काम अगाडि बढाएको छ । सोही कम्पनीको सहायक कम्पनीको रुपमा रहेको जगदुल्ला हाइड्रोपावर कम्पनीले गत बुधबार मात्रै एक सय छ मेगावाट क्षमताको जगदुल्ला आयोजनाको वित्तीय व्यवस्थापन गरेको छ । चालु आवमा आवश्यक तयारी गरेर आगामी आवको सुरुदेखि नै निर्माणमा जाने तयारी गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले गर्दै आएको निर्माण, उत्पादन, वितरण र बिक्रीको चापलाई कम गर्ने लक्ष्यका साथ सो कम्पनी स्थापना गरेको हो । ऊर्जा क्षेत्रको समग्र सुधार गर्ने र व्यवस्थित रुपमा काम गर्ने लक्ष्यका साथ सरकारले २०७३ मङ्सिर ५ मा कम्पनी स्थापना गरिएको हो । ऊर्जा क्षेत्रको पुनःसंरचना गर्ने र कामलाई थप सहज रुपमा अगाडि बढाउने उद्देश्यले २०७२ सालमा कम्पनी स्थापना गर्ने निर्णय गरिएको थियो ।

सरकारले २०७२ फागुनमा ल्याएको ‘ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशक’ कार्ययोजनामा उत्पादनसहित ऊर्जा क्षेत्रमा आधा दर्जन कम्पनी स्थापना गर्ने उल्लेख थियो । सो अवधारणामा रहेर स्थापना गरिएको कम्पनीले देशको समग्र ऊर्जा क्षेत्रको विकासमा संस्थागत प्रयास थालेको छ ।

अघि बढ्दैछन् यी आयोजना

प्राधिकरण र विद्युत् विकास विभागले अध्ययन गरिरहेका आयोजनालाई कम्पनी मातहत ल्याएर विस्तृत अध्ययन तथा आवश्यक काम गरिरहेको छ । सोही कम्पनी मातहतमा नै रहने गरी जाजरकोटामा आयोजनास्थल रहेको चार सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत् परियोजनासमेत निर्माणमा जाने तयारीमा छ । सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । सरकारकोे आगामी वर्षको नीति तथा कार्यक्रममा सो आयोजनाको निर्माण सुरु गर्ने उल्लेख गरेको छ ।

यस्तै सात दशमलव एक मेगावाट क्षमताको ताप्सुलाई निकट भविष्यमा नै निर्माणमा लैजादैछ । एक सय छ मेगावाट क्षमताको जगदुल्लाको वित्तीय व्यवस्थापन भइसकेको छ । एक सय २० मेगावाट क्षमताको जलदुल्ला ‘ए’को अध्ययन जारी छ । जगदुल्ला हाइड्रोपावर कम्पनीका अध्यक्षसमेत रहनुभएका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवका अनुसार आगामी असारभित्र आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार हुनेछ ।
कम्पनीले शेयर अगाडि बढाएको अर्को आयोजना हो सिम्बुवा खोला । सो आयोजनाको क्षमता ७० दशमलव तीन मेगावाट बराबर छ । त्यसलाई रेमिट हाइड्रोको अवधारणामा अगाडि बढाइएको छ । त्यस्तै, ७७ दशमलव पाँच मेगावाट क्षमताको घुन्सा खोला पनि विद्युत् उत्पादन कम्पनी मातहत नै रहेको छ । कर्मचारी सञ्चय कोषको सहायक कम्पनीले अगाडि बढाएको बेतन कर्णाली आयोजनाको व्यवस्थापन र शेयर लगानीमा समेत विद्युत् उत्पादन कम्पनी नै जोडिएको छ । बेतन कर्णालीमा कम्पनीको १० प्रतिशत बराबरको शेयर स्वामित्व छ ।

प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनियरिङमा समेत भियुसिएलले लगानी गरेको छ । त्यस्तै नेपाल पावर टे«डिङ कम्पनीमा पनि स्वामित्वसहितको लगानी छ । मुलुकलाई ऊर्जामा पूर्णरुपमा सम्पन्न गराउने, लगानीका विभिन्न स्रोतहरुको खोजी गर्ने र सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्यलाई साकार पार्न कम्पनी लागिपरेको प्रमुख कार्यकारी अधिकृत शाहीको कथन छ ।

यस्तो छ कम्पनीको शेयर संरचना
कम्पनीको अधिकृत पुँजी रु २० अर्ब र जारी पुँजी रु १० अर्ब बराबर रहेको छ । कम्पनीमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको रु दुई अर्ब, अर्थ मन्त्रालयको रु ५० करोड, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको रु ५० करोड बराबरको शेयर स्वामित्व छ ।
नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष र नेपाल दूरसञ्चार कम्पनीको समान रु एक ÷एक अर्ब, नागरिक लगानी कोषको रु ५० करोड बराबरको शेयर छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको रु ४० करोड, राष्ट्रिय बीमा संस्थानको रु २० करोड बराबरको शेयर छ ।

हालसम्म रु सात अर्ब १० करोड बराबरको शेयर बाँडफाँट भएको छ । बाँकी शेयर भने निकट भविष्यमा नै आम नागरिकलाई बिक्री गर्ने कम्पनीको योजना छ । शेयरधनीले रु चार अर्ब १० करोड बराबरको रकम मात्रै चुक्ता गरेका छन् । दुई अर्ब ८१ करोड बराबरको रकम भने शेयरधनीले उपलब्ध गराउन बाँकी रहेको कम्पनीको विवरणमा उल्लेख छ ।
संस्थागत शेयरधनीलाई समूह ‘क’ र ‘ख’मा वर्गीकरण गरिएको छ । यो समूहको शेयर ७१ प्रतिशत बराबर छ भने सर्वसाधारण समूह जुन ‘ग’ समूहमा छन् । जुन शेयर स्वामित्व २९ प्रतिशत बराबर हुन आउँछ ।

श्रममार्फत विपन्न नागरिकलाई शेयर

सर्वसाधारण नागरिकलाई १७ प्रतिशत, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दालाई १० प्रतिशत र अति विपन्न परिवारलाई पनि कम्पनीले शेयर उपलब्ध गराउनेछ । श्रम, रोजगारी वा अन्य कुनै विकल्पको प्रयोग गरेर अति विपन्न नागरिकले शेयर लगानी गर्न सक्ने प्रबन्ध गरिएको छ ।

पूर्वऊर्जामन्त्री जनार्दन शर्माका अनुसार अति विपन्न नागरिकले समेत अपनत्व महसुस गर्ने गरी कम्पनीमा शेयरको प्रबन्ध गरिएको हो । शर्मा नै ऊर्जामन्त्री हुँदा यो कम्पनी स्थापना गरिएको थियो । नेपालको पानी जनताको लगानी, हरेक नेपाली शेयरधनी बनाउने उद्देश्यका साथ आर्थिकरुपमा लगानी गर्न नसक्ने नागरिकलाई समेत श्रम, रोजगारी वा अन्य कुनै विकल्पमार्फत लगानीको अवसर प्रदान गरिएको उहाँको भनाइ छ ।

लगानीको स्रोत नै नागरिक हुन भन्ने उद्देश्यका साथ स्थापना भएको कम्पनीले अनेकन कारणले अपेक्षित कामलाई भने तीव्र गतिमा अगाडि बढाउन नसकेको गुनासो पनि बेला बेलामा आउने गरेको छ । तर, कम्पनीका प्रमुख कार्यकारी अधिकृत शाही, सरकारको सोच, राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर आफूहरु अगाडि बढिरहेको बताउनुहुन्छ ।

“हामीले निकट भविष्यमा नै देखिने गरी परिणाम दिन्छौँ । कामको सुरुआत जगदुल्लाबाट सुरु भएको छ । निकट भविष्यमा नै जगदुल्ला ‘ए’को पनि काम सुरु हुन्छ । अहिले लगानी गर्ने सम्झौता गरेका बैंक तथा वित्तीय संस्थाले नै लगानी गर्ने प्रतिबद्धता जनाएका छन्”, उहाँले भन्नुभयो ।

यी आयोजना छन् गतिमा
फुकोट कर्णालीको पनि आवश्यक प्रक्रिया अगाडि बढाउन भारतीय कम्पनी एनएचपिसीसँग छलफल भइरहेको छ । सो आयोजना सुरु भएपछि कालीकोट जिल्लाको विकास निर्माणको कामले समेत गति लिने विश्वास गरिएको छ । कर्णाली नदीमा निर्माण हुने आयोजनाले वार्षिकरुपमा दुई हजार चार सय ४७ दशमलव ८८ गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन गर्नेछ ।

उत्पादित बिजुली चार सय केभी क्षमताको डबल सर्किट प्रसारण लायनमार्फत राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले खाडाचक्त नगरपालिकाको रेङ्गीलमा निर्माण गर्ने सवस्टेशनमा जोडिनेछ । पहुँचमार्ग र कर्मचारी आवास गृह तथा कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा छ ।
सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ मा आयोजनास्थल रहेको किमाथाङ्का अरुण जलविद्युत् आयोजनाको पनि अध्ययन कार्य जारी छ । आयोजनाबाट वार्षिक दुई सय ५५ दशमलव ११ करोड युनिट बिजुली उत्पादन हुन्छ । उत्पादित बिजुली १८ दशमलव पाँच किलोमिटर लामो चार सय केभी क्षमताको डबल सर्किट प्रसारण लाइन मार्फत हाइटार सवस्टेसन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

मुगु कर्णालीको अध्ययन प्रक्रिया चलिरहेको छ । बाजुरा जिल्लाको जगन्नाथ र स्वामीकात्र्तिक खापर गाउँपालिकाको बीच भएर बहने कर्णाली नदीको पिलुचौर भन्ने स्थानमा दुई सय ८० मिटर अग्लो बाँध र अन्य संरचना निर्माण हुनेछ । आयोजनाको जलाशय कर्णाली प्रदेशको मुगु र हुम्ला जिल्लाको भूभाग गरी ४५ किलोमिटर उपल्लो तटीय क्षेत्रसम्म रहनेछ ।
एक हजार नौ सय दुई मेगावाट क्षमताको सो आयोजनाको विद्युत् गृहदेखि करिब ४६ किलोमिटर लामो चार सय केभी क्षमताको डबल सर्किट प्रसारण लाइनमार्फत कालिकोटको रेङ्गील सवस्टेशनमा जोडिनेछ । सो आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयारीको काम प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनियरिङ कम्पनीले गरिरहेको छ ।

आयोजनाको र्काालय भवन तथा कर्मचारी आवास गृह निर्माणको प्रारम्भिक प्रक्रिया अगाडि बढाइएको छ । विद्युत् प्रसारण लाइन आयोजनाको विद्युत् प्रसारणको सर्वेक्षण अनुमति प्राप्त भइसकेको छ । प्राधिकरणसँग विद्युत् खरिद सम्झौताका लागि २०८० कात्तिक २३ गते निवेदन समेत दिइसकिएको प्रमुख कार्यकारी अधिकृत शाहीले जानकारी दिनुभयो ।
कम्पनीले दैलेखमा सौर्य परियोजनाको समेत काम अगाडि बढाएकोे जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत शाहीले ऊर्जा मिश्रणको अवधारणाअनुसार पनि राष्ट्रिय लक्ष्य पूरा गर्ने दायित्व आफूहरुको पनि भएको बताउनुभयो ।

विस्तृत अध्ययन र वातावरणी अध्यय भइरहेका आयोजनाको विद्युत् उत्पादनसम्बन्धमा अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति एवं व्यावसायिक योजना तय गरी कार्यान्वयनमा लैजाने कम्पनीको योजना छ । यस्तै, आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तथा वातावरण अध्ययनको कार्य समयमा सम्पन्न गराउन पनि कम्पनी लागिपरेको कार्यकारी अधिकृत शाहीले जानकारी दिनुभयो ।

विद्युत् विकास विभागमा उत्पादन अनुमतिपत्रका लागि आवश्यक कारबाही अगाडि बढाउने साथै नजिकैको सवस्टेसनसम्म विद्युत् प्रसारणको निम्ति प्रसारण अनुमतिको कार्यका साथै सम्भाव्यता तथा वातावरणीय अध्ययन कार्य अगाडि बढाइएको छ ।

आयोजनाको लागि पहुँचमार्ग, जग्गा खरिद र विस्तृत अध्ययन कार्य सम्पन्न भई बोलपत्रको प्रक्रिया अगाडि बढाउने, वित्तीय व्यवस्थापनको कार्य अगाडि बढाउने लक्ष्य राखिएको छ ।
लगानीका लागि नयाँ जलविद्युत् आयोजनाको पहिचान गरी अध्ययन तथा निर्माण कार्य अगाडि बढाउने र कम्पनीको उद्देश्यअनुरुप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग दुईपक्षीय एवं बहुपक्षीय रुपमा समन्वय गर्ने कम्पनीको योजना रहेको प्रमुख कार्यकारी अधिकृत शाहीको भनाइ छ ।

अध्ययन सम्पन्न भएका आयोजनाका लागि वित्तीय स्रोतको जोहो गर्ने र बोलपत्रमार्फत निर्माण व्यवसायी छनोट गरी निर्माणमा लैजान नै तत्कालको प्रमुख काम भएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत शाहीले भन्नुभयो, “राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा वित्तीय स्रोत खोजिरहेका छौँ । आशा छ, हामी निकट भविष्यमा नै सफलता हासिल गर्छाैँ ।” उहाँले कम्पनीले अन्य केही आकर्षक आयोजनाको समेत अध्ययन सुरु गर्ने तयारी गरेको बताउनुभयो ।

कम्पनीको समेत लगानी रहेको एनइए इञ्जिनियरिङ कम्पनीमार्फत अध्ययन गराउँदा ठूलो धनराशी विदेशिनबाट जोगिएको छ । प्राविधिक कर्मचारीले कामसमेत पाएका छन् । नेपाली प्राविधिक क्रमशः दक्ष बन्दै गएका छन् । मानव स्रोतलाई दक्ष बनाउनु पनि कम्पनीको उद्देश्य रहेको जानकारी दिँदै उहाँले राष्ट्रिय लक्ष्य प्राप्तिका लागि समेत आफूहरु दत्तचित्त भएर लागेको बताउनुभयो ।

एनइए इञ्जिनियरिङ कम्पनीले एक हजार पाँच सय मेगावाट बराबरका आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत इञ्जिनियरिङ र बोलपत्रको कागजात तयार पार्ने काम सम्पन्न गरेको छ । यस्तै, विभिन्न प्रसारण लाइन आयोजनाको अध्ययन, डिजाइन तथा सुपरिवेक्षण, वातावरणीय अध्ययन, मूल्याङ्कनसम्बन्धी कार्य, सौर्य आयोजनाको निर्माणमा सहजीकरण गरिरहेको छ । जलविद्युत् आयोजनाको निर्माण सुपरीवेक्षण कार्यमा पनि सहभागी भई आफ्नो दक्षता र क्षमतामा अभिवृद्धि गरेको छ ।

सरकारी संस्थाहरु सबल र सक्षम बनाउँदा मात्रै राज्यको अपेक्षालाई सम्बोधन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ कम्पनीले काम गरिरहेको जानकारी दिँदै उहाँले कम्पनीलाई थप व्यावसायिक र दक्ष बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

सुन लुटपाट गर्ने दुई पक्राउ

By
Himalayan Tribune
-
May 20, 2024
0

काठमाडौँ: नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ नगरपालिका–२ विएमसी स्कुल र माथिल्लो भङ्गाल क्षेत्रमा महिलाले लगाएको गहना लुटपाटमा संलग्न दुईजनालाई आइतबार बूढालीनकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट मौलापुर नगरपालिका–४ का १९ वर्षीय सरोजकुमार शाह र सोही स्थानका २० वर्षीय राधेश्याम शाह रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले विएमसी स्कुल नजिक ७५ वर्षीया शारदा थापाको एक तोला ९२ लाल सुन लुटपाटमा सरोजकुमार र माथिल्लो भङ्गालमा सुमित्रा श्रेष्ठको सुन लुटपाटमा संलग्न राधेश्यामलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ परेका दुवैजनालाई चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

1...800801802...1,300Page 801 of 1,300

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune