Tuesday, May 12, 2026
Home Blog Page 793

बजेट वक्तव्यः सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश

0

काठमाडौँ: सरकारले सूचना प्रविधि क्षेत्रलाई पहिलोपटक आर्थिक विकासको रूपान्तरणकारी क्षेत्रमा समेटेको छ ।

कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन, कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास तथा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास, समावेशिता र सामाजिक सुरक्षा र सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह र आर्थिक सुधार तथा निजी क्षेत्रको प्रवर्द्धन बजेटका पाँच प्राथमिकता हुन् ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आव २०८१÷८२ को बजेट प्रस्तुत गर्दै सूचना प्रविधिमा आएको क्रान्ति, कृत्रिम बौद्धिकताको बढ्दो प्रयोग र ज्ञानमा आधारित अर्थतन्त्रको विकास भइरहेका सन्दर्भमा नेपालको अर्थतन्त्रले नयाँ पुस्ता अनुकूलको आर्थिक सुधारको माग गरेको उल्लेख गर्नुभयो ।

त्यसैगरी सरकारले नागरिकको सुसूचित हुने हक सुनिश्चित गर्दै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्ने र आमसञ्चार क्षेत्रलाई निष्पक्ष, समावेशी, व्यावसायिक र प्रतिस्पर्धी बनाउँदै सार्वजनिक महत्वको समाचार समयमै सत्य, तथ्य र निष्पक्षरूपमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने भएको छ ।लुम्बिनी प्रदेशमा कृष्णसेन इच्छुक सञ्चारग्राम स्थापना गरिने सरकारको योजना छ ।

“सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि तालिमको अवसर उपलब्ध गराइने छ सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मको प्रयोगलाई मर्यादित र व्यवस्थित बनाइने छ, डिजिटल प्लेटफर्ममार्फत गरिने विज्ञापन नियमन गरिनेछ, विज्ञापन क्षेत्रलाई एकद्वार प्रणालीमार्फत व्यवस्थित गरिने छ । सञ्चार माध्यमलाई उपलब्ध गराइने लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिइनेछ”, बजेट वक्तव्यमा भनिएको छ ।

सरकारले हुलाक सेवालाई पुनःसंरचना गरी विद्युतीय व्यापारको हबको रूपमा विकास गर्नुका साथै काभ्रेपलाञ्चोकको बनेपामा चलचित्र छायाङ्कन स्टुडियो निर्माण कार्य सुरू गर्ने र दोलखा चलचित्र नगरीलाई सार्वजनिक–निजी साझेदारीमा निर्माण कार्य अगाडि बढाउने भएको छ । सूचना प्रविधि उद्योगले आफ्नो नाफा पुँजीकरण गरेमा लाग्ने लाभांश करमा छुट दिने व्यवस्था गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि रु सात अर्ब ३५ करोड विनियोजन गरिएको छ । सूचना प्रविधि क्षेत्रमा १० वर्षमा रु ३० खर्बको निर्यात गर्ने र पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्यसहित आगामी आवलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षका रूपमा अगाडि बढाइने छ । सूचना प्रविधिलाई अर्थतन्त्रको संवाहक क्षेत्रका रूपमा स्थापित गरिने बेट वक्तव्यमा जनाइएको छ ।

निजी क्षेत्रको प्रतिक्रिया : बजेटले निजीक्षेत्र समेटेको छ

0

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल सरकारद्वारा आज प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले हरेक क्षेत्रमा निजी क्षेत्रलाई समेटेकोे प्रतिक्रिया दिएको छ ।

महासङ्घका अध्यक्ष चन्द्र ढकालले प्रस्तुत बजेटले हरेक क्षेत्रमा निजीलाई समेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ चरणको आर्थिक सुधारका कार्यक्रम समेटिएको देखिन्छ । आर्थिक विधेयक आएपछि संस्थागत रुपमा भन्न सक्छौं । कृषि, पर्यटन, ऊर्जा, स्टार्टअप, आइटी क्षेत्रलाई प्राथमिकतामा राखेको देखियो । त्यसलाई सकरात्मक रुपमा लिन सकिन्छ ।”

नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले कतिपय कुराहरु गोलमटोल रुपमा आएको र थप अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बजेट झण्डै चालु आवको भन्दा पनि २० प्रतिशतले वृद्धि भएको छ । समग्र रुपमा चालु वर्षमा जुन राजश्व उठ्न नसकेका बेला स्रोतको सङ्कलन कसरी गर्ने भन्नेमा अझै अन्यौलमा छौँ । कतिपय कुराहरु आन्तरिक र बाह्य ऋणबाट लिने कुरा छ । सकेसम्म उधारोमा लिएर घ्यू खाने प्रवृत्ति देखिएको छ । बजेट भनेको यथार्थपरक र आर्थिक स्थायित्व दिने किसिमको हुनुपर्दछ ।”

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष मोहन कटुवालले अहिलेको बजेटलाई सकरात्मक रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो अवस्थामा आएको बजेटलाई साह्रै नकारात्मक लिनु हुन्न्न । मुख्य कुरा कार्यान्वयन पक्ष कत्तिको प्रभावकारी हुन्छ भन्ने हो । विगत हेर्दा कार्यान्वयन पक्ष फितलो देखिएको छ । बजेट अलि ठूलो आकारको आयो की भन्ने आशंका हो । किनकी अहिले उद्योग व्यापार व्यवसाय आधा पनि चलेका छैनन् ।आर्थिक मन्दीका बेला समग्रमा बजेटलाई सकारात्मक रुपमा लिएका छौँ ।”

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले बजेटमा निजी क्षेत्रलाई समावेश गरिएपनि कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने बताउनुभयो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्ष उमेश प्रसाद सिंहले बजेट अघिल्लो वर्षको निरन्तरताको रुपमा नै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले निजी क्षेत्रबाट ५६ वटा सुझाव दिएका छौँ । त्यो सुझावमध्ये केही सुझाव समावेश गरिएको छ भने केही चाहीँ छैन ।

सरकारको सीमित स्रोतसाधनका कारण बाध्यता पनि होला । अहिले सरकारबाट घरेलु तथा साना उद्योगीले धेरै आशा गरेका थिए । किनभने कोभिडबाट थलिएका उद्योगीलाई पुनःस्थापना गर्नुपर्ने छ । सहुलियत कर्जालाई निरन्तरता दिएको छ । नवप्रवर्तनलाई पनि प्राथमिकता दिइएको छ त्यो राम्रो पक्ष हो ।”

घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रीता अवालले बजेट विगत वर्षको निरन्तरता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष राम्रो पक्ष के हो भने महिला उद्यमशीलतालाई जोड दिइएको छ । महिला उद्यमशीलताकालागि बिक्री कक्ष, प्रदर्शनी कक्षका कुरा आएको छ त्यो सकारात्मक कुरा हो । विपन्न क्षेत्रमा रहेका महिला तथा युवा महिला उद्यमीहरुलाई प्रवर्द्धन गर्ने कुरा सकारात्मक छ । रातो किताबमा भने हेर्न बाँकी छ । कार्यन्वयको पक्षको कस्तो हुन्छ । सुझाव अनुसार समेटिएको देखिन्छ ।”

व्यापारी दीपक मल्होत्राले बजेट सरसर्ती हेर्दा नकारात्मक प्रतिक्रिया दिनुपर्ने नभएको धारणा राख्नुभयो । नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले भन्नुभयो, “बजेट सन्तुलित आएको छ । निजी क्षेत्रलाई चाप नपर्ने गरी बजेट आएको छ ।”

बजेट वक्तव्यः दलित समुदायलाई पहिलोपटक बजेट

0

काठमाडौँ: सरकारले दलित समुदायको लागि पहिलो पटक बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमानले आज सङ्घीय संसद्को सुंयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै दलित समुदायको रोजगार सिर्जना गर्न “दलित विकास प्राधिकरण” स्थापनाका लागि रु २० करोड विनियोजन गरिएको बताउनुभएको छ ।

दलित समुदायका लागि बजेट छुट्याइनु सकारात्मक भएको दलित अधिकारकर्मीहरुको प्रतिक्रिया छ। अधिकारकर्मी गणेश विकले दलित लक्षित बजेट उल्लेख गरिनु सकारात्मक कदम भएको बताउनुभयो । उहाँले यो पर्याप्त भने नभएको प्रतिक्रिया दिनुभयो । विकले संविधानको मर्मअनुसार दलित अपेक्षित बजेट अझै आउन बाँकी रहेको बताउनुभयो । “केही नहुनुभन्दा २० करोड पनि ठीकै हो”, उहाँले भन्नुभयो “तर, यतिले मात्रै दलित समुदायको गहिरो घाउ निको पार्न सक्दैन ।”

आगामी आव २०८१÷८२ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले दलित समुदायको संविधान प्रद्धत अधिकारको प्रत्याभूति गर्न सशक्तीकरण कार्य गर्ने संरचना एकीकृत गरी दलित उपेक्षित, उत्पीडित वर्ग उत्थान तथा विकास प्राधिकरणको संस्थागत व्यवस्थापन गरिने बताउनुभएको छ । साथै दलित समुदायको रैथाने, सीप, ज्ञान र पेसाको आधुनिकीकरण गरी रोजगार सृजना, जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न रु २० करोड विनियोजन गरिने उल्लेख गर्नुभएको छ ।

अधिकारकर्मी धनकुमारी सुनारले घोषणा भएको बजेट राजनीतिकरण नभई कार्यक्रम सञ्चालन गर्न पाए लाभदायी हुने बताउनुभयो । लेखक एवं अभियन्ता सुशील विकले बजेटले भूमिहीन दलितको कुरा समेट्न नसकेको धारणा राख्नुुभयो ।

कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण

0

म्याग्दी: म्याग्दीको सदरमुकाम बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि ‘काउन्टर फोर्ट’ प्रविधिको पर्खाल निर्माण भएको छ । रुपाताल संरक्षण परियोजनामार्फत बेनी नगरपालिका–७ मा रहेको म्याग्दी जेसिजको भवनबाट वडा नं ८ स्थित म्याग्दी उद्योग वाणिज्य सङ्घको भवन पछाडिसम्म कालीगण्डकी नदी किनारमा नयाँ प्रविधिको पक्की पर्खाल निर्माण भएको हो ।

सो योजना निर्माणका लागि रु नौ करोड ५६ लाखमा विसं २०७८ पुसमा रौताह–बिएनबी जेभीले ठेक्का सम्झौता गरेको थियो । कालीगण्डकीको कटानबाट उच्च जोखिम रहेको सो क्षेत्रमा एक सय ४० मिटर लम्बाइ भएको काउन्टर फोर्ट (नयाँ प्रविधिको हेभी पर्खाल) र ३० मिटर ग्राभेटी प्रविधिको पर्खाल निर्माण गर्ने काम सकिएको रौताह–बिएनबी जेभीका प्रतिनिधि राजकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुुसार नदी किनारमा १४ मिटर फराकिलो जग ढलान गरी ३२, १६ र १२ एमएमको गोलाइ भएका रडहरू प्रयोग गरी दुई मिटरमाथिबाट ५० सेन्टिमिटर बाक्लो र आठ मिटर अग्लो पक्की पर्खाल निर्माण गरिएको छ ।

पर्खाल निर्माणका लागि कालीगण्डकी नदीलाई डाइभर्सन गरिएको थियो । यो ठेक्कामार्फत यसअघि कालीपुल बसपार्कमा ८० मिटर लामो, आठ मिटर अग्लो ग्राभिटी र मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा ४६ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण भएको थियो । विसं २०८१ वैशाखसम्म ठेक्का सम्झौताको म्याद भए पनि २०८० चैतमै निर्माण सकिएको रौताह–बिएनबीका प्रतिनिधि श्रेष्ठले बताउनुुभयो । परियोजनामार्फत करिब रु ४८ करोड लागतमा सञ्चालित सातमध्ये चारवटा योजना सम्पन्न भएका र थप तीनवटा सम्पन्न हुने चरणमा छन् । परियोजनाका प्रमुख कालीबहादुर शाहीले ९० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएका योजनाको ठेक्का टुङ्ग्याउने प्रक्रिया अघि बढाएको बताउनुभयो । बेनी नगरपालिका–२ भसभसेस्थित म्याग्दी र कालीगण्डकीको दोभानमा ७५ मिटर लम्बाइ भएको कम्पोजिट पर्खाल निर्माण गर्न रु दुई करोड ३० लाखमा ठेक्का लिएको हिमालयन कन्ट्रक्सनले दुई वर्षको काम चार महिनामै सकेको थियो । पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा रहेको कालीगण्डकी आमा समूहको भवन पछाडि ८४ मिटर लामो र आठ मिटर अग्लो पर्खाल बनाउन रु तीन करोड ५० लाखमा ठेक्का सम्झौता गरेको डाभा कन्ट्रक्सनले सुरु गरेको चार महिनामै ९० प्रतिशत निर्माण सकेको परियोजनाका इन्जिनियर कृष्ण विश्वकर्माले बताउनुभयो ।

जलजला गाउँपालिका–२ र ३ नं वडामा पर्ने बगरफाँटस्थित कालीगण्डकी किनारमा ९० मिटर लामो कम्पोजिट पर्खाल निर्माण गर्न रु तीन करोड २० लाखमा माछापुच्छ्रे निर्माण सेवाले ठेक्का लिएको योजनाको ९५ प्रतिशत भौतिक प्रगति भएको छ । जलजला–२ राममन्दिर संरक्षणका लागि कालीगण्डकी नदी किनारमा एक सय ३८ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । यो योजना निर्माणका लागि माछापुुच्छ्रे निर्माण सेवाले रु चार करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा दुई सय ६२ मिटर कम्पोजिट पर्खाल बनाउन रु १२ करोड ३७ लाखमा ठेक्का लिएको सुप्रिम कन्ट्रक्सनका सञ्चालक सुुरेश खड्काले बर्खाअघि नै निर्माण सकिने बताउनुभयो ।

बेनी नगरपालिका–९ गलेश्वरस्थित राहुघाट र कालीगण्डकी नदी किनारमा एक सय १० मिटर कम्पोजिट पर्खाल निर्माण गर्न भाग्यलक्ष्मी कन्ट्रक्सनले रु दुई करोड २५ लाखमा ठेक्का लिएको थियो । राहुघाट नदी किनारमा पर्खाल निर्माण भइसकेको र कालीगण्डकी किनारमा दुई–तीन दिनमा सकिने निर्माण कम्पनीका प्रतिनिधिले जनाएका छन् । सबै योजना निर्धारित समयभित्रै काम सकिएका र सम्पन्न हुने चरणमा रहे पनि भुक्तानी नपाउँदा समस्या भएको निर्माण कम्पनीका सञ्चालकले गुनासो गरेका छन् । चालु आवमा रु नौ करोड विनियोजन भएको बजेट भुक्तानी भइसकेको र थप रु नौ करोड बजेट रकमान्तरणका लागि सङ्घीय अर्थ मन्त्रालयमा कागजात पेस गरेको परियोजनाका प्रमुख शाहीले बताउनुभयो ।

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीबजारलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ । परियोजनाले बेनी बजार र आसपासका बस्तीमा कटान नियन्त्रणका लागि गत वर्ष रु एक अर्ब १९ करोडको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर स्वीकृत गराएको थियो ।

बेनी नगरपालिका–४ सिङ्गा तातोपानी बजार संरक्षणका लागि परियोजनामार्फत काम गर्न आगामी आवमा बजेट प्रस्ताव गरिएको छ । बेनी नगरपालिकाका प्रमुख सुुरत केसीले परियोजनामार्फत कालीगण्डकी र म्याग्दी नदी किनारमा कटान नियन्त्रणका लागि स्वीकृत डिपिआरअनुसार थप बजेट व्यवस्थापन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालयमा पहल गरिएको बताउनुभयो ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

0

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक बिहान १० बजे बस्न लागेको जानकारी दिनुभयो । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।

नेपाली कांग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्दै आएको छ । सरकारले आज बजेट ल्याउने तयारी गरिरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

0

नवलपुर (नवलपरासी): पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैँडाकोट–९ थुम्सीको जङ्गलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले निर्माणाधीन उक्त सडक भासिँदा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जानकारी दिनुभयो । अवरुद्ध सडकमा ट्रक फसेकाले त्यसलाई हटाउने कार्य भइरहेको उहाँले बताउनुभयो । यसैबीच भासिएको सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु१ख ८५१३ नम्बरको यात्रुबाहक बसमा एक्कासी ब्रेक लगाउँदा त्यसमा सवार आठ यात्रु सामान्य घाइते भएका छन् ।

ब्रेक लगाउँदा बस हुत्तिएर अर्को बसमा ठोक्किन गई यात्रु घाइते भएका प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो । सडक एकतर्फी भए पनि खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्नुपर्छ : सञ्चार मन्त्री

0

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्दै यसलाई थप बलियो बनाउनुपर्ने बताउनुभएको छ । सत्रौँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै मन्त्री शर्माले गणतन्त्रमा गल्ती गर्ने छुट कोहीलाई नहुने उल्लेख गर्दै गल्ती गर्नेले उन्मुक्ति पाउँदैन भन्ने तथ्य स्थापित गरेर नै गणतान्त्रिक व्यवस्थालाई थप बलियो बनाउन सकिने बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाइहरूमा हार्दिक बधाईसहित शुभकामना व्यक्त गर्दै मन्त्री शर्माले महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलनसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागि भएका आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । “बेपत्ता तथा घाइते यौद्धाहरूसहित गणतान्त्रिक आन्दोलनमा योगदान गर्ने राजनीतिक नेता, कार्यकर्ता, नागरिक समाज एवं आम जनसमुदायप्रति उच्च सम्मान व्यक्त गर्दछु”, मन्त्री शर्माले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । “नेपालमा दुई सय ४० वर्षको राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको १६ वर्ष पूरा भएको छ ।

नेपाली जनताको त्याग र बलिदानबाट स्थापित पहिलो संविधासभाबाट २०६५ जेठ १५ गते गणतन्त्र घोषणा गरिएपछि नेपाली जनताले सार्वभौम नागरिकको हैसियत प्राप्त गरेका हुन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै सङ्घीयता, समावेशी–समानुपातिक प्रतिनिधित्व र धर्मनिरपेक्षजस्ता ऐतिहासिक उपलब्धि हासिल भएका हुन् । यिनै राजनीतिक उपलब्धिका जगमा हामीले गणतान्त्रिक राज्य व्यवस्थाको अभ्यास गरिरहेका छौँ”, शुभकामना सन्देशमा भनिएको छ ।

गणतान्त्रिक व्यवस्थाले सबै जाति, भाषा, क्षेत्र, धर्म, लिङ्ग र समुदायका जनतालाई राज्यको मूलप्रवाहमा एकाकार गर्दै रुपान्तरणको बाटोमा अघि बढ्न सघाएको मन्त्री शर्माको भनाइ छ । सबै समुदायमा नेपाल राज्यप्रति साझा स्वामित्व र अपनत्व स्थापित गराउँदै राष्ट्रिय हितको प्रवर्द्र्धन तथा मुलुकको स्वाधीनता र सार्वभौमिकता सबल बनाउँदै लगेको उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । “राजनीतिक व्यवस्थाको परिवर्तन जनताको दशकौँदेखिको सपना हो, व्यवस्था परिवर्तन भए पनि व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्ने हाम्रो कार्यभार बाँकी नै छ ।

प्राप्त राजनीतिक उपलब्धिको भरपूर उपभोग गर्दै, मुलुकको सम्पूर्ण शक्तिलाई एकाकार गर्दै, स्रोत साधनको यथोचित परिचालन र अवसरको न्यायोचित वितरणको नीतिमार्फत सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको जगमा टेकेर समाजवाद निर्माणको बाटोबाट जनताको अवस्था परिवर्तन गर्न सकिनेछ” शुभकामना सन्देशमा भनिएको छ ।

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली

0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुने बताउनुभएको छ । सत्रौँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले एक वंशको विशेषाधिकार अन्त्य गरी नेपाली जनता आफैले चुनेका प्रतिनिधिबाट शासकीय व्यवस्था तय गरेको दिनका रूपमा रहेको उल्लेख गर्नुभएको छ । “आफूले चुनेका प्रतिनिधिले गल्ती गरे उनीहरूलाई चुनावबाट फेर्न यही व्यवस्थामा मात्र पाइन्छ ।

कहिलेकाहीँ हामी गलतलाई चुन्न सक्छौँ, तर गलत चुनियो भन्दैमा चुन्ने अधिकार गलत हुन सक्दैन”, अध्यक्ष ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ, “गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुन्छ । जनताले चुन्ने अधिकार नै गलत हो भन्ने यदाकदा सुनिने भाष्य आफै गलत छ । हामीले अधिकार पाएका छौँ । सँगसँगै कर्तव्य पनि नभुलौँ ।”

गणतन्त्रमा जनताको स्थान

0

काठमाडौँ: नागरिकमा चेतना बढ्दो छ । शिक्षा र स्वास्थ्यका क्षेत्रमा देशले फड्को मारेको छ । उच्च शिक्षाका लागि नेपालमै धेरै राम्रा कलेज विश्वविद्यालयहरू खुलिसकेका छन् । नेपालमा उत्पादित जनशक्तिले विश्वको गुणस्तरीय बजारमा सहजै प्रतिस्पर्धा गरिरहेको छ । देशमा अनेकन विषयहरू छन् विद्यार्थीले पढ्न चाहँदा पाइने । विश्वबजारका नयाँ तथा उपयोगी विषयहरू निजी क्षेत्रका कलेज, विश्वविद्यालयहरूले यहीँ भित्र्याएका छन् । शिक्षा क्षेत्रमा सरकारको प्राथमिकता छ, बजेटमा पनि शिक्षालाई प्रायः प्राथमिकतमै राखिएको छ । देशको स्वास्थ्य क्षेत्रले पनि त्यसैगरी गुणात्मक फड्को मारेको छ ।

सरकारले स्वास्थ्य बीमासहित विभिन्न प्रभावकारी कार्यक्रम ल्याएको छ भने गरिब तथा निम्न आय भएका नागरिकको उपचारमा पहुँचका लागि सरकारले विभिन्न नीति ल्याएको छ । जस्तो कि ज्येष्ठ नागरिक, असहाय अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाको मुटु रोगको उपचारमा सरकारले विगतदेखि नै सहयोगको नीति अख्तियार गरिरहेको छ । स्थानीय सरकारले गरिब, असहाय तथा न्यून आय भएका व्यक्ति भनेर गर्ने सिफारिसका आधारमा सरकारी अस्पतालहरूमा उपचारमा छुटको व्यवस्था छ ।

त्यसैगरी राज्यले समाजका विभिन्न तह र तप्काका व्यक्तिलाई सामाजिक सुरक्षाको प्रबन्ध पनि विगतका वर्षहरूदेखि गर्दै नै आएको छ । सरसर्ती हेर्दा यी सुविधाहरू नागरिकका लागि सामान्य भए पनि एउटा लोककल्याणकारी राज्यले अवलम्बन गर्नुपर्ने नीतिहरू सरकारले अख्तियार गरेको छ । शिक्षा र स्वास्थ्य नागरिकका आधारभूत आवश्यकताभन्दा पनि नैसर्गिक अधिकार भएकाले राज्यस्तरमा भएको यो व्यवस्थालाई यहाँ उल्लेख गरिएको हो । सरकारले लिएको उदार नीतिका कारण विकासका धेरै आयामहरूमा निजी क्षेत्र जुर्मुराएको छ । स्वास्थ्यकै कुरा गर्दा पनि निजी क्षेत्रमा धेरै नै सुविधायुक्त अस्पतालहरू निर्माण भएका छन् । ती अस्पतालले दिने सेवा सुविधाका लागि खर्च गर्न सक्ने क्षमता त सर्वसाधारणसँग नहुन सक्छ तर पनि यी सुविधाका लागि खर्च गर्न सक्ने नागरिकका लागि यी सुविधासम्पन्न संरचना बरदान पनि सावित भएका छन् । नागरिकहरू यस्तो विशिष्ट सेवाका लागि विदेशिनुपर्ने अवस्था निकै घटेको छ । सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरूले मात्र नागरिकलाई स्वास्थ्य सुविधा उपलब्ध गराउन सक्दैन ।

यसरी स्वास्थ्यका क्षेत्रमा निजी क्षेत्रको संलग्नताले देशका ठूलो सङ्ख्याका नागरिकलाई स्वास्थ्य सुविधा प्रदान गर्दै आएका छन् । निजी क्षेत्रलाई सरकारले मुलुकको अर्थतन्त्र सञ्चालनका लागि एक महत्त्वपूर्ण इञ्जिनका रुपमा स्वीकार गरेको छ । यसका कारण देशको विकासमा निजी क्षेत्रको योगदान बढ्दै गएको छ । पर्यटनदेखि धेरै पूर्वाधारहरूमा निजी क्षेत्रको लगानी बढ्दो छ । पाँचतारे र सोभन्दा ठूला होटल, केबलकारलगायतका सेवा क्षेत्रमा पूर्वाधारहरू बन्दै गएका छन् । जलविद्युत्लगायतका क्षेत्रमा निजी क्षेत्रको लगानी बढेको छ । सरकार देश विकासका लागि निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढेको छ । देशभित्रको यो आर्थिक चलायनमानले नागरिकलाई आफ्नो आयस्तर बढाउन सघाएको मात्र नभई उनीहरूमा उद्यमशीलताको विकास हुँदै गएको छ । नागरिकको आन्तरिक पर्यटकका रूपमा घुम्ने र खर्च गर्ने बानीको विकास भएको छ ।

यस्ता विषयहरूलाई गणतन्त्रको उपलब्धिसँग जोड्न मिल्छ/मिल्दैन थाहा छैन, तर विगतका तुलनामा जनताको जीवनस्तरमा देखिएको यो सुधारले उनीहरूलाई स्वावलम्बी बन्नेतर्फ अग्रसर बनाएको हुनुपर्छ । गएका करिब सात वर्षमात्र अघि सरकारले नेपालमा अब लोडसेडिङ हट्छ भन्दा धेरैलाई विश्वासै लाग्दैनथ्यो । स्वयं मुलुकको राजधानी नै दैनिक कम्तीमा पनि १६ घण्टे लोडसेडिङमा बसेको थियो ।

त्यस समय नेपाल पनि लोडसेडिङमुक्त हुन्छ भनेर पत्याउन मुस्किल हुनु त्यसैले स्वाभाविकै थियो । एकाध वर्षमै मुलुक लोडसेडिङमुक्त हुन सम्भव भयो । अहिले उज्यालो नेपालको केही वर्षमात्र मात्र बित्यो देशले वर्षमा अर्बौँ रुपैयाँको बिजुली बेच्न नै सफल भएको छ । यतिखेर देशमा निर्माणाधीन बिजुली आयोजनाहरू पूरा भइसक्दा हामीलाई पुगेर धेरै उब्रिन्छ, बेच्ने बजारको जरुरत पर्दछ । त्यसपछि एकाध मात्र वर्षअघिसम्म मिथकजस्तो मानिएको बिजुली बिक्री गरेरै नेपालले कमाउने दिन पनि भोलि नै आउने छ । यसका लागि सुझबुझपूर्ण रूपमा अघि बढ्ने सरकारको विवेक चाहिन्छ, बिजुली बिक्री गर्नका लागि भारतसँग व्यापारिक साझेदारितामा आफ्नो हात माथि पार्नसक्ने क्षमता चाहिन्छ । आज १७औँ गणतन्त्र दिवस देशव्यापी रूपमा मनाइँदैछ । सरकारले औपचारिक सभा, सम्मेलन र भाषण गरेर यो दिवस मनाइरहँदा नागरिकले भने गणतन्त्रले के दियो भन्ने बहसलाई निरन्तरता दिएका छन् । निरन्तरता यो अर्थमा कि अघिल्ला केही वर्षहरूदेखि नागरिकले आफ्ना माध्यममार्फत बहस सुरु गरेका थिए । आजका सामाजिक सञ्जालहरूमा सरसर्ती चियाउने हो भने यो प्रश्न व्यापकताका साथ उठेको छ । प्रायः कुनै पनि देशको राजनीतिक व्यवस्थाप्रतिको बहस त्यस व्यवस्थाको आवश्यकता र औचित्यसँग जोडिएरै हुने गर्दछ ।

यस प्रकारका बहसहरूले नागरिकका अपेक्षा र प्राप्तिका हिसाबकिताबहरू बोकेका हुन्छन् । र, जनताका यी अपेक्षाहरू खासमा नागरिकले प्राप्त गर्न सके नसकेका सरकारका ‘डेलिभरी’सँग नै धेरै मात्रामा जोडिएका हुन्छन् । त्यसैले पनि जनताको सोच र विचारमा गणतन्त्रको उपलब्धि उनीहरूले प्राप्त गर्न पाउनुपर्ने अधिकार, सेवा र सुविधाको समग्रतामा बढी केन्द्रित हुन्छ । यतिखेर जारी यो बहसको सन्देश पनि यही हो । हिजोका दिनमा मुलुकमा गणतन्त्र आएपछि सबै नागरिकका घरमा खाना, नाना र छाना पुग्छ भनिएको थियो । त्यसपछि यो उपलब्ध भयो कि भएन त ? भएन भने नागरिकले यसको औचित्यमाथि प्रश्न त उठाउने नै भए । उनीहरूको चासो पनि देशको विकास हुनुपर्छ र जनता पनि लाभान्वित हुनुपर्दछ भन्ने नै हो । यो चासो र चिन्ताका बीचमा नागरिकले गणतन्त्रमा आफ्नो स्थान त खोजिहाल्छ । यस्तो धारणा नागरिकले सार्वजनिक रूपमा राख्न पाउनु पनि गणतन्त्र नै हो । सबै राजनीतिक व्यवस्था अर्थात् प्रणालीमा उनीहरूले यो विचार राख्न पनि पाउँदैनन् होला । नागरिकले आफ्ना अधिकारसँगै विकास र सेवामा पनि सार्वजनिक रूपमै चासो राख्न पाएका छन् ।

सरकारले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रमा जनपक्षीय नीति अख्तियार गर्नुपर्छ र त्यसैबमोजिम नागरिक सशक्तीकरण हुन पाउनुपर्दछ भन्ने नै जनताको चासो हो । नागरिकलाई लाभ दिनेगरी लोककल्याणकारी कार्यक्रमहरूको घोषणा त हरेक सरकारले गरेकै छन्, तर त्यसमा सबै नागरिकको समान पहुँच पुग्न सकेको छ कि छैन ? जनताको प्रश्न यही हो । देशमा विकास तथा संरचना निर्माणका काममा देश अघि बढेको भए पनि म आफू कहाँ छु र आफ्ना लागि के सहुलियत मिलेको छ भनेर पनि जनताले खोजिरहेको हुन्छ । किसानले समयमै मल, बीउ तथा उत्पादनको उचित मूल्य खोजेको छ भने युवा जनशक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लाम लाग्न अब धेरै जान चाहँदैन र देशभित्रै रोजगार बन्ने योजना चाहेको छ । बिरामी सहुलियत र पहुँचयोग्य उपचारको पर्खाइमा छ भने श्रमिकले कामको समान र समयसापेक्ष ज्याला खोजेको छ । निजी क्षेत्रले लगानीको वातावरण तथा व्यावसायिक सुरक्षा खोजेको छ भने उत्पादकले बजार मागेको छ । मुलुकका सबै क्षेत्र, भूगोल र जातका नागरिकले यही गणतान्त्रिक शासन व्यवस्थाभित्रै आफ्ना अधिकारको सुनिश्चितता खोजेको छ । आफ्ना वास्तविक, न्यूनतम एवं आधारभूत आवश्यकताको पूर्ति हुन नसक्दा आममानिसमा व्यवस्थाको विकल्पका स्वरहरू उठ्न सक्छन् । यस्तो प्रश्न उठाउनेमा यदि मुलुकमा गणतन्त्रका लागि लडेका नागरिक रहेछन् भने त्यसले उनीहरूमा निराशा पनि थपिदिनसक्छ । आजको विचारणीय प्रश्न हो यो । जनता यही व्यवस्थाबाट ‘डेलिभरी’ चाहन्छन् ।

यसको अर्थ हो जनता संविधान र कानुनले आफूलाई दिएका सहुलियत र सुविधा अनि राज्यले आफ्ना नागरिकलाई दिनुपर्ने कर्तव्यअन्तर्गतका सेवा र सुविधा चाहन्छन् । जनताले गणतन्त्रलाई शासन व्यवस्था भन्न रुचाउँदैनन् बरु यसलाई आफ्नो जीवन पद्दतिसँग जोडेर परीक्षण गर्न चाहन्छन् । जबसम्म जनताले गणतन्त्रलाई मेरो र मेरै आवश्यकताका लागि म आफैँले लडेर ल्याएको राजनीतिक व्यवस्था भनेर अपनत्व महसुस गर्न सक्दैनन्, तबसम्म जस्तोसुकै उन्नत र उत्तम व्यवस्था भए पनि यसको दिगोपना हुँदैन । अनि यो व्यवस्थामा रहेर शासन सञ्चालन गर्ने प्रतिनिधि या जनप्रतिनिधि पनि जनताको मन, मुटुभित्र पस्न, बस्न सक्दैन । हरेक नागरिक हिजोका आफ्ना दिनहरूसँग आजको आफ्नो अवस्थालाई राजनीतिक व्यवस्थासँग तुलना गरेर बसेको हुन्छ । उसले कुनै पनि राजनीतिक व्यवस्थाको रुप, स्वरुप र शैलीको सुक्ष्म अध्ययन गरेर हेरेको हुन्छ । अनि उसले त्यो व्यवस्थामा आफूलाई पाउने कोसिस गरिरहेको हुन्छ । यो संवेदनशीलतालाई मुलुकको शासन सञ्चालन गर्न गएका जनताका प्रतिनिधिले आजैका दिनमा बुझ्न सक्नुपर्दछ । तब मात्र नेपालको गणतन्त्र दिगो बन्न सक्दछ र जनताको इच्छाइएको राजनीतिक प्रणाली बन्न सक्दछ । कुनै पनि लोकतान्त्रिक शासन व्यवस्थामा त्यस व्यवस्थाका मालिक जनता हुन्छन् । नेपालको वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका मालिक पनि जनता नै हुन् । यो व्यवस्था नेपाली नागरिकको सङ्घर्ष र बलिदानबाट प्राप्त भएको हो ।

यस व्यवस्थामा आवधिक निर्वाचनमार्फत आफूले निर्वाचित गरेका प्रतिनिधिहरूबाट नै देशको शासन व्यवस्था सञ्चालन हुने भएकाले जनताको अपेक्षा र आकाङ्क्षाभन्दा पर पुगेर गरिने शासनले गणतन्त्र बलियो हुँदैन । त्यसैले पनि गणतन्त्रमा जनताले आफ्नो स्थान खोजेका हुन्छन्, जुन स्वाभाविक हो ।

धेरै इजरायली सैनिकहरूलाई अपहरण गरेको हमासको दावी

0

काठमाडौं । गाजाको रफाहमा इजरायलसँग चलिरहेको युद्धको बीचमा हमासले धेरै इजरायली सैनिकलाई बन्धक बनाएको दाबी गरेको छ । शनिबार हमासको अल-कासिम ब्रिगेडका प्रवक्ता अबु उबैदाले रेकर्ड गरिएको सन्देशमार्फत यो जानकारी दिएका हुन्। यद्यपी कति सैनिक अपहरणमा परेका छन् भन्ने जानकारी भने खुलाइएको छैन ।

समाचार एजेन्सी रोयटर्सका अनुसार उबैदाले भने – आक्रमणको बीचमा हाम्रा लडाकुहरूले यहूदी सेनाका लागि सुरुङमा जाल राखेका थिए। सुरुङभित्र छिर्नेबित्तिकै हामीले उनीहरूमाथि आक्रमण गर्‍यौं। यस अवधिमा केही इजरायली सैनिकको मृत्यु हुनुका साथै धेरै घाइते भएका थिए। पछि बाँकी यहूदी सेनाहरू त्यहाँबाट पछि हटे।

हमासले एउटा भिडियो पनि जारी गरेको छ जसमा आफ्ना लडाकुहरूले एक इजरायली सैनिकलाई सुरुङमा तानेको देखिन्छ। भिडियोमा सैनिक नराम्ररी घाइते भएका छन् । तर, यो भिडियो अहिलेसम्म पुष्टि भएको छैन । अर्कोतर्फ इजरायलले हमासको दाबीलाई अस्वीकार गरेको छ ।

इजरायली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता ड्यानियल हगारीले आइतबार बिहान सामाजिक सञ्जालमा एक पोस्ट मार्फत स्पष्टीकरण दिए। उनले हमासले कुनै पनि सैनिकलाई अपहरण नगरेको बताए । हमासको अल-कासिम ब्रिगेडले पनि उत्तरी गाजाको जबलिया क्षेत्रमा इजरायलको मर्काभा ४ ट्याङ्कमा आक्रमण गरेको दाबी गरेको छ ।

हमासले सामाजिक सञ्जालमा पोस्ट गर्दै अल-यासिन १०५ रकेटले ट्याङ्कमा आक्रमण गरेको बताएको छ। हमासका यी दुवै बयान यस्तो समयमा आएका छन् जब इजरायलले शनिबार फेरि हमासलाई युद्धविरामका लागि वार्ता गर्ने प्रस्ताव गरेको छ ।

यस विषयमा जानकार एक व्यक्तिले रोयटर्सलाई भने – हालै इजरायली गुप्तचर प्रमुख मोसादले अमेरिकी सीआईए प्रमुख र कतारका प्रधानमन्त्रीलाई भेटेका थिए। त्यसपछि अर्को साताबाट युद्धविरामबारे छलफल सुरु गर्ने निर्णय भएको थियो । स्रोतलाई उद्धृत गर्दै रोयटर्सले युद्धविराम वार्तामा इजिप्ट, कतार र अमेरिकाले मध्यस्थकर्ताको भूमिका खेल्ने बताएको छ ।

इजरायलले रफाहका विभिन्न क्षेत्रमा लगातार आक्रमण गरिरहेको छ । अल जजिराको रिपोर्टका अनुसार इजरायलले शनिबार खिरबेट अल-अदास क्षेत्रमा हवाई आक्रमण गरेको थियो। मिसाइल किष्ट परिवारको घरमा खसेको थियो । यस हमलामा एक बालकसहित ६ प्यालेस्टिनीको मृत्यु भएको थियो ।