Thursday, June 11, 2026
Home Blog Page 713

बंगलादेशमा शेख हसिना सरकारका आठ मन्त्रीलाई देश छाड्न प्रतिबन्ध

0

काठमाडौं: बंगलादेशमा अन्तरिम सरकारले शेख हसिना सरकारका आठ मन्त्री र उनको पार्टी अवामी लिगका छ जना सांसदलाई देश छाड्न प्रतिबन्ध लगाएको छ ।

एन्टी करप्सन कमिशनका वकिल हुसेन जहाँगीरले सो कुराको पुष्टि गरेका हुन् ।

प्रतिबन्धमा परेका पूर्वमन्त्रीहरूमा जाहिद मलिक, दिपु मोनी, मोहिबुल हसन चौधरी नौफेल, साधनचन्द्र मजुमदार, नुरुल मजिद महमूद हुमायुन, कमल अहमद मजुमदार, शाहजहान खान र कमरुल इस्लाम रहेका छन् ।

देश छाड्न प्रतिबन्ध लगाइएका ६ पूर्व सांसदहरुमा सलीम उद्दीन, मामुनुर रसिद किरण, कुजेन्द्रलाल त्रिपुरा, काजिम उद्दिन, नूर आलम चौधरी र जियाउर रहमान रहेका छन् ।

यसैबीच, अदालतले शेख हसिना सरकारमा वाणिज्यमन्त्री रहेका टिपु मुन्शीलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

ढाकाको मुख्य महानगरीय मजिस्ट्रेट अदालतले बिहीबार यस्तो आदेश दिएको हो ।

राजधानीको बर्दा प्रहरी चौकीमा सुमन सिकदार नामका व्यक्तिको हत्या गरेको अभियोगमा मुन्सीलाई हिरासतमा राखिएको छ ।

उनलाई र्‍यापिड एक्सन बटालियनले बुधबार राति पक्राउ गरेको हो । त्यसै रात उनलाई गुल्शन प्रहरी चौकीमा बुझाइएको थियो ।

बाल मन्दिरका जग्गा जमिन पूर्ण संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन

0

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल संगठन (बाल मन्दिर) का देशभर छरिएका भौतिक सम्पतिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिएका छन्।

सो संगठनका पदाधिकारसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जे जति जमिन, भवन र सम्पति छन्, तिनको पूर्ण सुरक्षाका लागि आवश्यक परे कठोर कदम पनि चालिनुपर्ने बताएका हुन्।

नवनियुक्त मुख्यसचिव एकनारायण अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणिन्द्र गौतमसहित भएको छलफलमा प्रधानमन्त्री ओलीले भने,‘बाल मन्दिरका जग्गामा अरुले अतिक्रमण गरेको वा नियमबमोजिम भाडा सम्झौता नगरी बसेको छ भने कडाइ र तीव्रताका साथ तिनको नियन्त्रण र प्रयोग हुनुपर्छ। धनी पूर्जाविना लामो समयदेखि संगठनले भोगाधिकार लिँदै आएको छ भने पनि ती जग्गा संगठनकै नाममा ल्याइनुपर्छ।’

प्रधानमन्त्री ओलीले संगठनको नयाँ विधान स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन, सङ्गठनको जिम्मामा रहेका बालबालिकालाई सन्तुलित आहार, उचित लत्ताकपडा र माया ममता दिनसहित गुणस्तरीय शिक्षा दिन पनि आग्रह गरे।‘बाल सङ्गठनका बालबालिकाले हुने खाने परिवारका बालबालिकाले पाए सरह सुविधा पाउनुपर्छ। उनीहरु स्वस्थ्य हुनुपर्छ। उचित शिक्षा र मायाा पाउनुपर्छ । त्यसका लागि सरकारले सक्दो सहयोग गर्छ।’

संगठनका अध्यक्ष विद्या न्यौपानेले विशिष्ट सङ्गठनको स्पष्ट पहिचानसहित परिमार्जित र आधिकारिक विधान स्वीकृत गर्न, बजेटको व्यवस्था गर्न, जग्गा जमिनको संरक्षण गर्न, जन्मदार्ता र नागरिकता पाउन समस्या हुने बालबालिकाका लागि आवश्यक सहजीकरण गर्न सरकारसँग आग्रह गरेकी थिइन्। हाल सो संगठनको आश्रयमा करिब तीन सय बालबालिका रहेका छन्।

ढोरपाटन सिकार आरक्षको पाखाथरमा होमस्टे

0

म्याग्दी: पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको पाखाथरमा होमस्टे (घरबास) सुरु भएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा ढोरपाटनको पाखाथरमा घरबास सेवा सुरु र नयाँ पर्यटकीय गन्तव्य पहिचान गरी पूर्वाधार तयार पारिएको हो ।

ढोरपाटन पर्यटन प्रवर्द्धन विकास संस्थाका सचिव जीवनकुमार पुनले ६ घरमा एक सय २० जना क्षमताको घरबास सुरु गर्नुका साथै पाखाथरबाट काडेकोडाँडा हँुदै किटेनीसम्म पदमार्ग निर्माण गरिएको जानकारी दिनुभयो । “ढोरपाटन घुम्न आउने पर्यटकको सुविधाका लागि नयाँ घरबास बनाएर क्षमता बढाएका छौँ”, उहाँले भन्नुभयो, “पर्यटकको बसाइ लम्बाउन नयाँ गन्तव्य पहिचान गरेर प्रवर्द्धनमा जुटेका छाँै ।”

गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक नमूना होमस्टे कार्यक्रममार्फत रु १२ लाख बजेटमा घरबासको क्षमता विस्तार र पर्यटकीय पूर्वाधार तयार पारिएको हो । अप्ठ्यारो ठाउँमा ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाउनुका साथै पर्यटकीयस्थलको जानकारी र सूचनामूलक काठको बोर्ड राखिएको सचिव पुनले बताउनुभयो ।

काठैकाठले बनेका परम्परागत घरमा पाहुनाका लागि कोठा बनाइएका छन् । कोदो, फापरको ढिडो, आलु, च्याउ, टुसा, लोकल कुखुरा, खसीको मासु र दुग्धजन्य परिकारको स्वाद चाख्न पाइन्छ । ढोरपाटन सिकार आरक्षका अनुसार त्यहाँ रहेका २९ होटल र होमस्टेमा दैनिक तीन सय पाहुना बास बस्न सक्छन् ।

देशका विभिन्न ठाउँबाट घुम्न आउने पर्यटकको चाप बढेपछि घरबासको क्षमता विस्तार गरिएको ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तीले बताउनुभयो । पाखाथरमा सञ्चालन हुनुअघि ढोरपाटनमा दुईवटा होमस्टे थिए । पाखाथर होमस्टेमा बास बस्ने पर्यटकका लागि समुद्री सतहबाट काडेधुरी, थारसिङ, गुराँस पार्क र किटीनी धुरीमा हाइकिङ गर्न पाउनु आकर्षण हो ।

पाखाथरबाट तीन घण्टा उकालो पैदलयात्रापछि पुगिने चार हजार मिटर एक सय १० मिटर उचाइमा रहेको किटीनी धुरीबाट ढोरपाटन उपत्यका, सिस्ने, पुथा, गुर्जा, धवलागिरि, चुरेन, निलगिरि, मानापाथी, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमशृङ्खलाको मनमोहक दृष्यावलोकन गर्न सकिन्छ । फराकिलो फाँट, बुकी, गाईभैँसी, भेडा, घोडाको गोठ, वन्यजन्तु, पक्षी, वनजङ्गलको दृष्यावलोकन गर्न पाउनु पनि यहाँको आकर्षण हो ।

एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षले पूर्वीरुकुमको ६०, बागलुङको २६ र म्याग्दीको १४ प्रतिशत भूगोल ओगटेको छ । आर्थिक वर्ष २०८०÷८१ मा १५ हजार पाँच सय ७३ पर्यटकले भ्रमण गरेको ढोरपाटनमा पर्यापर्यटन शीर्षकमा रु १९ लाख ३३ हजार राजस्व सङ्कलन भएको संरक्षण अधिकृत मण्डिप पङ्गेनीले बताउनुभयो ।

ढोरपाटन उपत्यकाको प्रवेशबिन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकको विवरण राख्ने र शुल्क लिने गरिन्छ । ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति रु एक सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति रु एक हजार पाँच सय र अन्य देशकाले रु तीन हजारका दरले शुल्क तिर्नुपर्छ ।

सेतीमादी नदी किनारमा निर्माण गरिएको खुला व्यायामशालामा सर्वसाधारणको घुइँचो

0

दमौली (तनहुँ): तनहुँको व्यास नगरपालिका–३ सेतीमादी नदी किनारमा निर्माण गरिएको खुला व्यायामशालामा सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । वडावासीलाई स्वस्थ र तन्दुरुस्त बनाउन तथा व्यायाम गर्ने बानीको विकास गर्न वडा कार्यालयले सेतीमादी सामुदायिक वनभित्र खुला व्यायामशाला निर्माण गरेको हो ।

व्यायामशालामा दैनिक सर्वसाधारणको घुइँचो लाग्छ । स्वस्थ जीवनका लागि व्यायाम अतिआवश्यक रहेको र वडाले निर्माण गरेको खुला व्यायामशाला सर्वसाधारणको ध्यान खिच्न सफल भएको व्यास नगरपालिका–३ सिर्जनाटोलका त्रिभुवन श्रेष्ठले बताए ।

स्थानीय प्रेमप्रसाद पौडेलले खुला व्यायामशालाको संरक्षण महत्त्वपूर्ण भएको बताए । उनले भने, “सर्वसाधारणको बाक्लो उपस्थितिले यसको संरक्षणमा चुनौती थपिएको छ । यहाँ टिकट प्रणाली लागू गरेर यसको संरक्षणमा ध्यान दिनुपर्छ ।”

शारीरिक स्फूर्ति र शरीरका लागि आवश्यक व्यायामका लागि बनाइएको खुला व्यायामशाला वडावासीले निःशुल्क प्रयोग गर्न सक्ने वडाध्यक्ष अनुप रानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरमा खुला व्यायामशालाको आवश्यकता थियो, त्यसका लागि कहाँ बनाउने भन्ने छलफलपछि यो ठाउँ उपयुक्त देखियो ।” उहाँका खुला व्यायामशालामा बालबालिका, युवा र वृद्धवृद्धा व्यायाम गर्न आउने गरेका छन् ।

जिम हाउसमा पैसा तिर्नपर्ने तर खुला व्यायामशाला निःशुल्क प्रयोग गर्न सकिने भएकाले यसतर्फ आकर्षण बढ्ने विश्वास गरिएको छ । रु १३ लाखको लागतमा खुला व्यायामशाला निर्माण गरिएको हो । यहाँ विभिन्न १६ प्रकारका व्यायाम सामग्री जडान गरिएका छन् । व्यायामशाला क्षेत्रलाई सुरक्षित बनाउन तारबारसहित सिसी क्यामेरा जडान गरिएको छ । व्यायामशालाको नजिकै प्रसिद्ध व्यास गुफा क्षेत्र रहेकाले धार्मिक तथा पर्यटकीय हिसाबले पनि यो ठाउँ उपयुक्त रहेको वडा सदस्य दधिराज घिमिरेले बताउनुभयो ।

६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबा २६८ परिवार प्रभावित हुने

0

खाँदबारी (सङ्खुवासभा): सङ्खुवासभा जिल्लामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् ।

निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदन अनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गरिने छ । “यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर अधिग्रहण हुनेछ”, तल्लो अरुण पावरडेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी निर्देशक अरुण धिमानले भन्नुभयो ।

प्रभावित स्थानीयलाई करिब रु एक अर्ब ४० करोड रकम मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ । तल्लो अरुण बन्ने पक्का भएपछि प्रभावित क्षेत्रका बासिन्दासँग निर्माणकर्ता भारतीय सतलज कम्पनीले छलफल अघि बढाएको छ । नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७ दशमलव चार किलोमिटर सुरुङ मार्गबाट पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको हो । भारतीय कम्पनी सतलजले नै अहिले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

रुसमा पर्यटक बोकेको हेलिकप्टर बेपत्ता

0

काठमाडौं: रुसको एमआई हेलिकप्टर उडानका क्रममा बेपत्ता भएको छ। मिडिया रिपोर्टका अनुसार बेपत्ता हेलिकप्टरमा चालक दलका तीन सदस्यसहित २२ जना सवार रहेका थिए।

इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार रुसको भाचकाजेट्स ज्वालामुखी नजिकैको साइटबाट २५ किलोमिटर टाढा निकोलाएभकामा हेलिकप्टर उडेको थियो।

हेलिकप्टरले मस्को र सेन्ट पिटर्सबर्गका पर्यटकहरू बोकेको थियो र हेलिकप्टर  तालमा खसेको जनाएको छ।

एमआई-८टी हेलिकप्टर १९६० मा डिजाइन गरिएको र यसमा दुईवटा इन्जिन रहेको बताइएको छ। उद्धारकर्मीले बेपत्ता भएको हेलिकप्टरको खोजी सुरु गरेका छन् । हेलिकप्टर बेपत्ता भएको क्षेत्रमा हुरीबतास र कुहिरो देखिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।

यो हेलिकप्टर संसारमा सबैभन्दा व्यापक रूपमा प्रयोग हुने हेलिकप्टरहरू मध्ये एक रहेको बताइएको छ। रूसले यसको १७ हजारभन्दा बढी एकाइहरू बनाएको छ । भारत, चीन, इरानलगायत ५० भन्दा बढी देशले यसको प्रयोग गरिरहेका छन्। यो दुवै नागरिक र सैन्य मा प्रयोग गरिन्छ।

रुसमा एमआई- ८ पछिल्लो पटक यसै महिनाको सुरुमा, १६ जना सवारहेलिकप्टर रुसको पूर्वी क्षेत्रमा दुर्घटनामा परेको थियो।

कामचटका मस्कोबाट ६,००० किमी पूर्व र अलास्काबाट २,००० किमी पश्चिममा अवस्थित छ। यो क्षेत्र आफ्नो सौन्दर्यको लागि परिचित छ, त्यसैले धेरै पर्यटकहरू यहाँ आउँछन्। यहाँ लगभग १६० ज्वालामुखी छन् र ती मध्ये २९ अझै सक्रिय छन्।

कांग्रेस पदाधिकारी बैठकमा महासमिति बैठकका प्रस्ताव सर्वसम्मत पारित गर्ने सहमति

0

काठमाडौं। नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महासमितिमा प्रस्तुत प्रस्ताव सर्वसम्मत पारित गर्ने सहमति भएको छ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको बैठकमा महासमितिमा प्रस्तुत: सबै प्रस्तावलाई आइतबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गरी सर्वसम्मत रुपमा पारित गर्ने सहमति भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेस केन्द्रीय समितिको बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बिपीनगर, सानेपामा बस्ने पनि उनले जानकारी दिए। बैठकले सबै प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्ने जनाइएको छ । प्रस्तावमा मस्यौदा गर्ने काम भने जारी रहेको छ।

केन्द्रीय समितिमा प्रस्तुत गरिने मस्यौदालाई अन्तिम रूप दिन भोलि दिउँसो १ बजे फेरि पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्ने जनाइएको छ। गत माघमा ललितपुरमा सम्पन्न महासमिति बैठकमा प्रस्तुत भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने जिम्मेवारी पार्टी केन्द्रीय समितिलाई दिइएको थियो।

जलवायुसम्बन्धी आगामी सम्मेलन कोप-२९ ‘फाइनान्स कोप’ हुने

0

काठमाडौं: जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औं सम्मेलन (कोप-२९) ‘जलवायु वित्त’का विषयमा बढी केन्द्रित हुने भएको छ।

कोप-२९ आगामी नोभेम्बर ११ देखि २२ तारिख (आगामी कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अरजरबैजानको बाकुमा हुँदैछ। यो सम्मेलनमा ‘क्लाइमेट फाइनान्स’ र ‘कार्बन क्रेडिट’का विषय छलफलको सबैभन्दा प्राथमिक सूचीमा रहेकाले पनि यस सम्मेलनलाई फाइनान्स कोप भनिएको हो।

वन तथा वतावरण मन्त्रालयको जलवायु परिवर्तत व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा बुद्धिसागर पौडेलले कोप-२९ मा ‘क्लाइमेट फाइनान्स’ र ‘कार्बन क्रेडिट’ विषयलाई अन्तिम रुपम दिने र रकमको स्रोतसमेत निर्धारण गर्ने काम हुने भएकाले यो सम्मेलन जलवायु वित्तका दृष्टिकोणले महत्वपूर्ण हुने बताए।

उनले भने, “जलवायु वित्तमा नयाँ सामूहिक परिमाणित लक्ष्य (एनसिक्यूजी) लाई अन्तिम रुप दिने र यसमा बढी कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूमध्ये कसले कति रकम राख्ने भन्ने बारेमा टुङ्गो लाग्ने बताइएको छ। साथै रकमको मात्रा खोल्ने कि नखोल्ने तथा के के विषयलाई जलवायु वित्त भन्ने विषयमा समेत टुंगाे लगाउने काम यो सम्मेलनमा हुनेछ।”

यस विषयमा नेपालले तयारीका लागि हाल वातावरण संरक्षण नियमावली संशोधन प्रक्रियालाई अघि बढाएको, बजारमा कार्बन बेच्नका लागि स्विडेन र दक्षिण कोरियासँग द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने प्रक्रिया अघि बढाएको र यसका लागि आवश्यक पर्ने निर्देशिका बनाउन समूह गठन गरिएको सहसचिव डा पौडेलले जानकारी गराए।

कोप-२८ को ठूलो उपलब्धिका रुपमा स्थापना गरिएको जलवायुजन्य हानि-नोक्सानीसम्बन्धी कोष कार्यान्वयनमा आउन अझै केही समय लाग्ने भएको छ। हाल उक्त कोष कार्यान्वयनका लागि कार्यविधि, प्रक्रिया र मोडालिटी बनाउने काम भइरहेको छ।

कोप-२९ कै तयारीका लागि यही भदौ १३ गते मलावीको लिलोङवेमा सम्पन्न अल्पविकसित देशका मन्त्रीहरुको सम्मेलनले आफ्ना मागसहितको घोषणापत्र जारी गरेको एलडिसिज समूहका अध्यक्षका जलवायु सल्लाहकार मन्जित ढकालले जानकारी दिए।

कुल ४५ अल्पविकसित देशका मन्त्री र प्रतिनिधिमण्डलका प्रमुखसहतिको सम्मेलनले जारी गरेको घोषणापत्रमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन र पेरिस सम्झौता सम्बन्धमा आफ्ना मागका विषय समेटेका छन्।

नेपाल सरकारद्वारा कोप-२९ को तयारी प्रारम्भ

नेपाल सरकारले कोप-२९ को तयारीका लागि हाल वनमन्त्रीको अध्यक्षतामा सम्मेलनसँग सम्बन्धित सबै विषयमा निर्देशन र समन्वय गर्न उच्चस्तरीय निर्देशन समिति गठन गरेको छ।

त्यस्तै, वन सचिवको अध्यक्षतामा ‘स्टाटस पेपर’लाई अन्तिम रुप दिन र ‘पोजिसन पेपर’ बनाउन प्राविधिक समिति गठन गरिएको छ। सम्मेलनका लागि विषयगत ‘थिमेटिक पेपर’ बनाउने, छलफल र परामर्शका लागि आवश्यक रायसुझाव संकलन गर्न तथा परामर्श र समन्वय गर्न जलवायु परिवर्तन महाशाखाका प्रमुखको अध्यक्षतामा कार्यदल गठन गरिएको छ।

वन मन्त्रालयले कोप-२९ मा नेपालको सहभागितालाई समावेशी र उपलब्धिमूलक बनाउनका लागि तयारी सुरु गरेको छ। यसका लागि विगतको वर्षमा जस्तै कोप-२९ को मस्यौदा मार्गचित्र तयार गरिएको छ।

यसका साथै, नेपाल पक्ष राष्ट्र भएको पेरिस सम्झौता र कोप-२८ को निर्णयबमोजिम सन् २०२५ को फेब्रुअरीसम्ममा सन् २०३५ सम्मको नयाँ लक्ष्य राखी नेपालले पनि ‘एनडिसी-तेस्रो समीक्षा’ पेस गर्नुपर्ने भएको र यसका लागि प्राविधिक समिति गठन गरी प्रक्रिया सुरु अघि बढाइएको डा पौडेलले बताए।

कोप-२९ को मस्यौदा मार्गचित्रलगायत तयारी र ‘एनडिसी-तेस्रो समीक्षा’ तयारीका लागि वनमन्त्रीको अध्यक्षतामा रहेको उच्चस्तरीय जलवायु परिवर्तन निर्देशक समिति तथा ‘एनडिसी-तेस्रो समीक्षा’ तयारी प्राविधिक समितिको संयुक्त बैठक आगामी सोमबार भदौ १७ गते तय गरिएको छ।

कोप-२९ मा नेपालबाट हालसम्म वन मन्त्रीस्तरको सहभागिता हुने निश्चित भए पनि राष्ट्रप्रमुख वा सरकार प्रमुख तहको उच्चस्तरीय सहभागिता हुने भन्ने विषयमा स्पष्ट भइसकेको छैन।

यद्यपि राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्लो समय जलवायु परिवर्तन र वातावरणका विषयलाई प्राथमिकताका साथ चासो दिएकाले उनको नेतृत्वमा नेपालले कोप-२९ मा सहभागिता जनाउन सक्ने अनुमान मन्त्रालयले गरेको छ। राष्ट्रपति पौडेल यस अघि युएईको दुबईमा भएको कोप-२८ मा जाने चर्चा चलेको थियो।

नेपालबाट हालसम्मको उच्चस्तरीय सहभागिता

नेपालबाट हालसम्म चार सम्मेलनमा राष्ट्र-सरकार प्रमुख स्तरबाट सहभागिता भएको छ। सन् २००९ डेनमार्कको कोपनहेगनमा भएको १५औं सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधव नेपाल, सन् २०१८ मा पोल्यान्डमा भएको २४औं सम्मेलनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, सन् २०२१ मा संयुक्त अधिराज्यको स्कटल्यान्डमा भएको २७औं सम्मेलनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र गत वष युएईको दुबईमा भएको कोप-२८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो।

उच्चस्तरीय प्रतिनिधत्वले सम्बन्धित मुलुकले सम्मेलनलाई कति गम्भीररुपमा लिएको छ भन्ने सन्देश जाने र यसले निर्णय क्षमता र कार्यान्वयनमा पनि ठूलो महत्व राख्ने जलवायुविज्ञ ढकालले बताए।

हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा पाँच हजारभन्दा बढी डेङ्गीका बिरामी

0

काठमाडौँ: देशभर डेङ्गीका बिरामीको सङ्ख्या पाँच हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ ।

महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार पाँच हजार पाँच सय ८९ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । यस्तै, तीनजना डेङ्गी रोगको सङ्क्रमणका कारणले निधन भइसकेको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ ।

गण्डकी प्रदेशमा सबभन्दा बढी

डेङ्गी सबभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा दुई हजार चार सय ४० देखिएको छ । कोशी प्रदेशमा सात सय ४९, मधेसमा ८६, बागमतीमा एक हजार चार सय ८६, गण्डकी दुई हजार चार सय ४०, लुम्बिनी चार सय १८, कर्णालीमा ७६ र सुदूरपश्चिम प्रदेशमा तीन सय ३४ जना सङ्क्रमण देखिएको छन् ।

उपत्यकामा ६ सय १६

काठमाडौँ जिल्लामा चार सय ६६, भक्तपुर ६२ र ललितपुर ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । वर्षाको बेला पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टै रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको सङ्क्रमण बढेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नाका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

हैजा ६८ जनामा

यस्तै महाशाखाका अनुसार हैजाका बिरामी ६८ जना पुगेका छन् । महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा दाहालले ललितपुर, काठमाडौँ, प्यूठान, मकवानपुर र कैलाली हैजाका बिरामी भेटिएको बताउनुभयो । उहाँका अनुसार ललितपुरमा ४८, काठमाडौँमा नौ, कैलालीमा आठ, प्यूठान दुई र मकवानपुर एकजनामा हैजा पुष्टि भएको छ । हैजा अति सङ्क्रामक र शीघ्र फैलिने पखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानीजस्तो दिसा आउने, वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन हुने गर्दछ ।

पारा ओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कांस्य पदक

0

काठमाडौँ: पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कास्य जितेकी हुन् ।

पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । हिजै भएको पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । तर, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ १०-८ ले पराजित भएकी थिइन् ।
दोस्रो चरणमा पराजित भएका कारण उनले रिपाचेजमा मौका पाएकी थिइन् । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २-१ ले पराजित गर्दै उनी कास्य नजिक पुगेकी थिइन् ।

गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्णपदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी हुन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् । उनी चीनमा भएको १९औँ एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्य पदक विजेता हुन् ।
नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारालिम्पिकमा सहभागिता जनाउन थालेको हो । १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् ।

त्यसयता उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् । पारा तेक्वान्दो, जोर्डनमा २०१९ मा भएको पाँचौँ एसियाली पारा खुला तेक्वान्दो र २०१९ मै टोकियो पारालिम्पक गेम्सको टेस्ट इभेन्टमा पाँचौँ स्थान हासिल गरेकी थिइन् ।

यसैगरी सन् २०१९ मा टर्कीमा भएको आठौँ विश्व पारा तेक्वान्दोमा नवौँ स्थान हासिल गरेकी पलेशाले साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन् ।