Thursday, June 11, 2026
Home Blog Page 700

१६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेका कारण भट्टराई अस्वीकृत

0

काठमाडौं: श्रीलंकाको लागि नेपाली राजदूतमा सिफारिस भएका रामकृष्ण भट्टराईको स्नातक पास भएको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएपछि अस्वीकृत भएका छन्।

विभिन्न १७ देशको राजदूतमा सिफारिस भएकाहरुको सम्बन्धनमा निर्णय लिन बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकमा भट्टराईको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएपछि उनको नाम अस्वीकृत भएको हो। भट्टराईबाहेक अन्य १६ जनाको नाम अनुमोदन भएको छ।

अनुमोदन भएका १६ जनामध्ये १३ जना सर्वसम्मत र ३ जना बुहमतबाट अनुमोदन भएका हुन् । राजदूतमा सिफारिस भएका धनप्रसाद पण्डित, कपिलमाण श्रेष्ठ र नेत्रप्रसाद तिमल्सिनाको नाम भने बहुमतबाट अनुमोदन भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल र जसपा नेपालका सांसद प्रकाश अधिकारीले फरक मत राखेका थिए।

समितिको निर्णयअनुसार चीनका लागि प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेती, भारतका लागि शंकरप्रसाद शर्माको नाम अनुमोदन भएको छ।

यस्तै इजरायलका लागि डा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहेम्फेको नाम अनुमोदन भएको छ।

यसैगरी स्पेनका लागि सनिल नेपाल, बेलायतका लागि चन्द्र कुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम अनुमोदन भएको छ।

परराष्ट्रमन्त्री र क्यानडा–नेपाल संसदीय समूहका पदाधिकारीबीच छलफल

0

काठमाडौँ: क्यानडा भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र क्यानडा–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीबीच भेटवार्ता भएको छ ।

समूहका अध्यक्ष तथा सांसद डा सोनिया सिद्धुले परराष्ट्रमन्त्री डा देउवालाई स्वागत गर्दै दुई देशका संसद् सदस्यहरूबीच अनुभव आदानप्रदान हुनुपर्नेमा जोड दिनुभएको छ ।

ओटावास्थित नेपाली राजदूतावासका अनुसार क्यानडा–नेपाल संसदीय मैत्री समूह एकअर्काको लोकतान्त्रिक प्रक्रियाबाट अनुभव आदानप्रदान र सिक्ने एउटा महत्वपूर्ण मञ्चका रूपमा स्थापित भएको बताउँदै परराष्ट्रमन्त्री देउवाले दुई देशबीचको सम्बन्ध प्रवद्र्धनमा समूहले महत्वपूर्ण भूमिका निर्वाह गरेकामा त्यसप्रति आभार व्यक्त गर्नुभयो ।

साथै उहाँले नेपालको सङ्घीय संसद्मा नेपाल–क्यानडा संसदीय मैत्री समूह गठनका बारेमा जानकारी दिँदै यस्ता समूहबाट दुई देशका संसद्बीच सहयोग आदानप्रदान र सहकार्यलाई प्रवर्द्धन गर्न बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष सिद्धुले क्यानडा र नेपालका सांसदहरुबीचको सहकार्यले दुवै मुलुकका सांसदबीचको मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ बनाएको बताउनुभयो । उहाँले लैङ्गिक समानता र महिला तथा बालिकाको सशक्तीकरणमा संसद् र स्थानीय सरकारमा नेपाली महिलाको बढी प्रतिनिधित्वका साथै सार्वजनिक जीवनमा उनीहरूले गरेको योगदानको प्रशंसा गर्नुभयो ।

त्यस अवसरमा क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्याल र दूतावासका अन्य अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो । बुधबार नै परराष्ट्रमन्त्रीले राजदूतावासको भ्रमण गरेर नियोगका गतिविधिबारे जानकारी लिनुभएको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

संविधानको कार्यान्वन गरी जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ: अध्यक्ष दाहाल

0

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र थप परिस्कृत गर्दै जनताको अवस्था बदल्न दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । संविधान दिवस २०८१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको सुस्पष्ट बाटो भएको बताउनुभयो ।

सबै प्रकारका अराजकता र निरङ्कुशतावादी सोचका विरुद्ध राष्ट्र र जनतालाई एकताबद्ध गर्नु नै संविधान दिवस मनाउनुको उद्देश्य भएको भन्नुहुँदै अध्यक्ष दाहालले संविधानप्रदत्त अधिकारलाई थप सुदृढ गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गर्नुभयो । “सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, जसले नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायलाई अधिकारसम्पन्न बनाएको छ र राज्यमा समानुपातिक समावेशी प्रतिनिधित्वलाई एक हदसम्म सुनिश्चित गरेको छ । यसलाई अझ सुदृढ गर्न अगाडि बढ्नु हामी सबैको जिम्मेवारी हो”, शुभकामना सन्देशमा भनिएको छ ।

संविधानको थप सुदृढीकरणकका लागि आफ्नो पार्टीले निरन्तर अभियानात्मक कार्यक्रमअघि बढाउने तयारी गरिरहेको उल्लेख गर्नुहुँदै अध्यक्ष दाहालले अराजकता, भ्रष्टाचार, बेथिति र निराशालाई चिर्दै नयाँ उत्साहका साथ अघि बढ्न र यस अभियानमा सहभागी हुन आमजनसमुदायमा अपिल गर्नुभयो । दिवसले संविधान कार्यान्वयनमा बाँकी रहेका काम तदारुकता र दृढताका साथ कार्यान्वयन गर्न उत्प्रेरणा मिलोस् भनी उहाँले कामना गर्नुभएको छ ।

अध्यक्ष दाहालले संविधान निर्माणका निम्ति योगदान गर्ने देशभित्र र बाहिरका सम्पूर्ण नेपाली जनताप्रति बधाई र शुभकामनासमेत व्यक्त गर्नुभएको छ । उहाँले देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणस्तरसम्म ल्याइपुर्याउन जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनलगायतमा प्राण उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण र सम्पूर्ण बेपत्ता योद्धा, घाइते तथा अपाङ्गतालगायतमा सम्मान प्रकट गर्नुभएको छ ।

यस्तो छ आजको मौसम

0

काठमाडौँ: देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापिय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसकारण देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ ।

महाशाखाका मौसमविद् सुदर्शन हुमागाईंकानुसार आज मनसुनको सामान्य प्रभाव रहे पनि भोलि शुक्रबार वर्षाको सम्भावना रहेको छ । “आज उल्लेखनीय वर्षाको सम्भावना छैन, भोलि शुक्रबार कोशी, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ”, उहाँले भन्नुभयो । आज काठमाडौँको अधिकतम तापक्रम ३१ डिग्रिसेल्सियस रहनेछ । उपत्यकामा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।

मौसम बुलेटिनअनुसार आज देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणयता बदली र बाँकी भूभागमा आंशिकदेखि मुख्यता सफा रहनेछ । कोशी र बागमती प्रदेशका पहाडी भूू–भागका थोरै स्थान तथा बाँकी पहाडी भू–भागको एक÷दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातिको समयमा कोशी र बागमती प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यवर्षाको सम्भावना रहेको छ ।

नेपाल ओमनसँग पराजित

0

काठमाडौं: आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो ।

क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्ड (ए), किङ सिटी, अन्टेरियोमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । ओमानले नेपालले दिएको लक्ष्य ४९ दशमलव ५ ओभरमा नौ विकेटको क्षतिमा भेट्टाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६० रनको योगदान दिएका थिए भने गुलशन झाले ५३, आरिफ शेखले ३५, सोमपाल कामीले २० रनको योगदान दिए। त्यस्तै गुलशनले ५ विकेट, कारणले २, सन्दीप र आरिफले १-१ विकेट लिएका थिए।

मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड

0

काठमाडौँ: उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण कानुनी व्यवस्थाको अक्षरशः कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ ।
आज संविधान दिवस–२०८१ का अवसरमा शुभकामना सन्देश दिदैं उहाँले संविधानले अङ्गीकार गरेको समावेशी सिद्धान्तको मर्मलाई कहीँकतै र कसैबाट अवहेलना गर्न नहुने बताउनुभयो ।

उपराष्ट्रपति यादवले संविधानको अक्षर र भावनाले निर्दिष्ट गरेका समाजवाद उन्मुख आर्थिक–सामाजिक प्रणाली तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समानुपातिक समावेशीतालगायत प्रावधानलाई सबैले पालना गर्न सक्नुपर्नेमा जोड दिनुभयमे । “सङ्घ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाँडफाँड गर्न अझै पनि विलम्ब हुनुले सङ्घीयताप्रति नै वितृष्णा बढेको जस्तो देखिएकाले आगामी दिनमा सङ्घीय प्रणालीलाई संस्थागत गर्दै प्रदेशलाई संविधानसम्मत अधिकारसम्पन्न गराउन अतिआवश्यक र अपरिहार्य छ,” उपराष्ट्रपतिले शुभकामना सन्देशमा भन्नुभएको छ । उहाँले संविधानको मर्म र भावनाअनुसार प्रत्येक नेपाली नागरिकलाई स्वदेशमै रोजगारका अवसर प्राप्त हुनेगरी काम गर्न सबैलाई संविधान दिवसले उत्प्रेरित गर्न सकोस् भनी कामनासमेत गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले संविधानको प्रस्तावनामै ‘सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य’ उल्लेख हुनु र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहीत हुनुले संविधानको गरिमा र जनताको सर्वोच्चतालाई पुष्टि गरेको उल्लेख गर्नुभएको छ ।

संविधानले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा पनि परिभाषित गरेको जनाउनुहुँदै उहाँले नेपाली नागरिकलाई न्याय, समानता र स्वतन्त्रताको प्रत्याभूति गर्दै एकता र बन्धुत्व भावलाई बढावा दिने प्रयास संविधानले गरेको उल्लेख गर्नुभएको छ । “सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक, समानता र न्यायसम्बन्धी हक तथा शिक्षा, स्वास्थ्य, खाद्य, रोजगार, स्वच्छ वातावरण र सामाजिक न्यायलगायत अधिकार ‘मौलिक हक र कर्तव्य’ मै समावेश गरिनु सकारात्मक त छँदैछ, यसले संवैधानिक उच्चता र गरिमालाई पनि दर्शाउँदछ”, उपराष्ट्रपति यादवले सन्देशमा भन्नुभएको छ ।

उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ पटक–पटक भएका जनआन्दोलन, विद्रोह र अधिकार प्राप्तिका सङ्घर्षका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुभएका सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली, घाइते र अङ्गभङ्ग भएकाप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति यादवले लोकतन्त्र, समावेशीता एवं अग्रगामी परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका सम्पूर्ण अग्रजप्रति सम्मानका साथ संविधानको कार्यान्वयनमार्फत् नेपाली नागरिक र राष्ट्रहित तथा मुलुकको समृद्धि एवं दिगो विकासको शुभकामना व्यक्त गर्नुभएको छ ।

आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ हर्षाेल्लासका साथ मनाइँदै

0

काठमाडौँ: आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षाेल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ ।

सो अवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ । आजै साँझै राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम तय भएको छ ।

संविधान दिवसका उपलक्ष्यमा सङ्घ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि विभिन्न कार्यक्रमको आयोजना गरिने छ । विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछन् ।

नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट विस २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।

पैँतिस भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ ।

सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ । ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आजै नौ वर्ष पूरा भएको छ ।

संविधान दिवसकै खुसियालीमा नागरिकस्तरबाट काठमाडौँको दरबारमार्गमा राष्ट्रिय दिवस साङगीतिक प्रस्तुती हुनेछ । यसैबीच, संविधान दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरुले शुभकामना सन्देशमार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस भव्य रूपमा मनाउन आम–जनसमुदायलाई आह्वान गर्नुभएको छ ।
सरकारले संविधान दिवसका अवसरमा दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वानसमेत गरेको छ ।

मिस्टर काठमाडौंको उपाधि जितेको चार दिनमै प्रकाशको निधन

0

काठमाडौं: पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनको उपाधि जितेको चार दिनमै विजेता प्रकाश राईको निधन भएको छ।

गत शनिबार मात्र शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका ४५ वर्षीय राईको हृदयघातका कारण आज बुधबार बिहान निधन भएको हो।

स्वास्थ्यमा समस्या भएपछि तत्काल धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्‍याइएको थियो । तर, उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ।

मोरङको पथरी १ घर भएका राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै पछि ओभरल भिडन्तमा मिस्टर काठमाडौंको उपाधि जितेका थिए।

डलर, यूराे र पाउण्डको भाउ घट्यो, अन्यको कति ?

0

काठमाडौं: नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार सोमबारको तुलनामा आज अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घटेको छ।

मंगलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसामा कारोबार भएकामा आजका लागि खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा कायम भएको छ।

साथै मंगलबार युरोपियन यूरो एकको खरिददर १४८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६० पैसा भएकामा आज खरिददर १४८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ। केन्द्रीय बैंकका अनुसार युके पाउण्ड स्ट्रलिङको भाउ पनि घटेको छ। अघिल्लो दिन पाउण्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५७ पैसा रहेकामा आजका लागि खरिददर १७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४४ पैसा कायम छ।

केन्द्रीय बैंकका अनुसार स्वीस फ्रयांक एकको खरिददर १५८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५९ रुपैयाँ ०७ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३४ पैसा र बिक्रीदर ९० रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ।

क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८२ पैसा, सिंगापुर डलर एकको खरिददर १०३ रुपैयाँ ३७ र बिक्रीदर १०३ रुपैयाँ ८४ पैसा कायम भएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा कायम छ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा कायम भएको छ।

थाई भाट एकको खरिददर ४ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४ रुपैयाँ ०३ पैसा कायम छ। साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा रहेको छ।

मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ १९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३ रुपैयाँ २१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९५ पैसा र बिक्रीदर २० रुपैयाँ ०४ पैसा छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १६ पैसा र बिक्रीदर १७ रुपैयाँ २४ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४४० रुपैयाँ ५३ पैसा छ भने बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ३८ पैसा कायम भएको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

सहकारी छानविन समितिको प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन हुन्छ : उपप्रधानमन्त्री सिंह

0

काठमाडाैं: उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी छानविन समितिको प्रतिवेदनलाई सरकारले पूर्णरुपमा कार्यान्वयन गर्ने बताएका छन्।

गणेशमान सिंह फाउन्डेसनद्वारा काठमाडौँमा आयोजित गणेशमान सिंहको २७ औं पुण्य तिथिको अवसरमा कार्यक्रममा सिंहले समितिको प्रतिवेदन कार्यान्वयन गर्न संसदले सरकारलाई निर्देश गरिसकेकाले सरकारले कार्यान्वयन गर्ने बताएका हुन्।

उनले समितिको प्रतिवेदनलाई अध्ययन गरेर मन्त्रिपरिषदबाट कार्यान्वयनका लागि अघि बढ्ने दाबी गरे। सिंहले नेपालको परिवर्तन र जनताको अधिकार स्थापीत गर्न स्वर्गीय गणेशमान सिंहले खेलेको भूमिकाको स्मरण गरे।

सो अवसरमा सिंहले गणेशमान सिंहको प्रतिमामा माल्यार्पण गरेका थिए। गणेशमानले २०४६ सालमा राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए।

जनआन्दोलन पश्चात तत्कालीन राजा वीरेन्द्र शाहले गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए। तर उनले प्रधानमन्त्री बन्न अस्वीकार गरी कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएका थिए। नेता सिंहको २०५४ असोज २ गते निधन भएको थियो।