Friday, June 12, 2026
Home Blog Page 695

पोखरामा सातै प्रदेशका पर्यटन मन्त्रीहरूको भेला

0

गण्डकी: भोलि बुधबार पोखरामा पर्यटकीय राजधानी सङ्घीयसहित सातै प्रदेशका पर्यटन मन्त्रीहरूको भेला हुने भएको छ । विश्व पर्यटन दिवसको अवसर पारी पोखरामा पर्यटन मन्त्रीहरूको भेला हुन लागेको हो । सङ्घीय मन्त्रीसहित सबै प्रदेशका मन्त्रीहरू आज साँझसम्म पोखरा आइपुग्नुुहुने गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङले जानकारी दिनुुभयो ।

उहाँका अनुसार बुधबार बिहान नेपाल सरकारका पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा सातवटै प्रदेशका पर्यटन मन्त्रीहरू सम्मिलित विषयगत समितिको बैठक बस्ने भएको छ । बुधबार दिउँसो गण्डकी प्रदेशका पर्यटन मन्त्रीको अध्यक्षतामा सङ्घीय मन्त्री, मुख्यमन्त्री र सबै प्रदेशका पर्यटन मन्त्री एवम् पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा ‘पोखरा पर्यटन राजधानी नीति संवाद’ कायक्रम हुने उहाँले जानकारी दिनुुभयो ।

सङ्घीय पर्यटनमन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीले सम्बोधन गर्नुहुने उक्त कार्यक्रममा निजी क्षेत्र पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारका तर्फबाट कार्यपत्रसमेत प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

0

काठमाडौँ: धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झन्डै ५९ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५८ दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार चार सय ७० दशमलव ३९ मा सिमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने ‘सेन्सेटिभ’ परिसूचक नौ दशमलव ५२ अङ्कले ओरालो लागेर चार सय ४४ दशमलव ८८ मा सिमित भएको छ । कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कुल एक करोड ५५ लाख चार हजार नौ सय २९ कित्ता शेयर रु पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार तीन सय ५६ मूल्यमा खरिद बिक्री भएका छन् ।

नेप्सेका अनुसार, स्वरोजगार लघुवित्त आठ दशमलव ८१, अप्पर स्याङ्गे हाइड्रोपावर सात दशमलव ८३, एनआइबिएल ग्रोथ फन्ड चार दशमलव ८५, इन्ग्वा हाइड्रोपावर चार दशमलव १४ र नबिल ब्यालेन्स फन्ड तेस्रोका लगानीकर्ताले चार दशमलव शून्य आठ प्रतिशतले कमाएका छन् ।

हिमालयन हाइड्रोपावर १०, नेपाल फाइनान्स आठ दशमलव ७४, बुद्धभूमि नेपाल हाइड्रोपावर सात दशमलव ९६, श्वेतगङ्गा हाइड्रोपावर सात दशमलव ६२ र एनआइसी एसिया फ्लेक्सी क्याप फन्डका लगानीकर्ताले सात दशमलव ५५ प्रतिशतले गुमाएका छन् ।

सागसब्जीखेतीबाटै दैनिक १० हजार कमाई

0

डोटी: रोजगारीको खोजीमा युवा विदेसिने क्रम बढिरहेका बेला डोटीका मुकुन्द अवस्थीले भने तरकारी खेतीबाट दैनिक दश हजार कमाइ गरिरहेका छन्।
आदर्श गाउँपालिका–१ का २३ वर्षीय मुकुन्द अवस्थीको तीन वर्षे कृषि विज्ञान (आइसिएजी) अध्ययन सकेर कृषिमा राम्रो कमाइ हुने देश जाने चाहना थियो । विदेश जाने योजना स्थगित गरेर गाउँमै व्यावसायिक सागसब्जी खेती गरेका मुकुन्दले सन्तोषजनक कमाइ गरिरहेका छन्।

‘‘अहिलेको ‘ट्रेन्ड’ भनौँ वा बाध्यता सबै विदेसिने लहर छ, बाहिर जानुपर्छ राम्रो कमाउनुपर्छ भन्ने मेरो पनि सोच थियो । कोरिया वा इजरायल जानुपर्छ भन्ने योजना बनाइसकेको थिएँ तर लकडाउन भएपछि घर आएँ र बाँझो जमिनमा खेती गर्न थाले’’, मुकुन्दले सुरुवाती दिन स्मरण गर्दै भने ।

हाल मुकुन्दले करिब १२ रोपनी जमिनमा सागसब्जी लगाइरहनुभएको छ । उहाँले दाजुभाइ बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर २५ ‘प्लास्टिक टनेल’ बनाएर सागसब्जी लगाउनुभएको छ । सबै टनेलमा अहिले गोलभेडा फलिरहेका छन् ।

सुरुवातमा गाउँपालिकाबाट प्राप्त रु एक लाख ५० हजार अनुदान र बाँकी आफ्नो लगानीमा दश ओटा टनेलबाट सागसब्जी उत्पादन सुरु गर्नुभयो । गत वर्ष दश ओटा टनेलबाट करिब नौ लाख बराबरको सागसब्जी बिक्री गरेको उहाँले जानकारी दिनुभयो । पहिलो वर्ष लगानी धेरै लागेकोले खर्च कटाएर करिब तीन लाखजति आम्दानी भएको थियो । यो वर्ष २५ ओटा टनेलमा सागसब्जी लगाएकोले कारोबार दोब्बरले बढ्ने उहाँको अनुमान छ ।

मुकुन्दले हाल दैनिक आठदेखि १० ‘क्रेट’ गोलभेडा बजार लैजाने गरेका छन्।
प्रति किलो रु ५० का दरले गोलभेडा बजारमा बिक्री हुँदा उनको दैनिक आठदेखि १० हजार कमाइ हुन्छ ।

गोलभेडाले सजिलै बजार पाएको छ । मुकुन्दले भने, ‘‘डोटी जिल्ला तरकारीमा परनिर्भर थियो सुरुमा उत्पादित सागसब्जी बिक्री गर्न धेरै मेहनत गर्नुपर्यो तर अहिले माग धान्न सकिरहेको छैन, दैनिक डेढदेखि दुई क्वीन्टल बजारमा जान्छ । मूल्य पनि राम्रो छ ।’’

उनले सागसब्जीमा ‘मल्चिङ’ र थोपा सिँचाइ प्रविधिको प्रयोगगरेका छन्। स्वच्छ तरकारी उत्पादन गर्न कम्पोस्ट मलको प्रयोग गरिएको छ । घरमा भएका भैँसी, बाख्रा, गाई, गोरुको मलमूत्रबाट बन्ने मल पर्याप्त छ । थप गँड्यौला मलको उत्पादन सुरु गर्ने तयारी गरिरहेको उनले बताए।

मुकुन्दले थालेको कृषिबाट परिवार मात्रै आत्मनिर्भर भएको छैन । पाँच जनाले रोजगारीसमेत पाएका छन् । यो वर्ष टनेलको सङ्ख्या थप गरेर ५० ओटा पुर्याउने उनको छ । तर उत्पादित सागसब्जी बजार पुर्याउन भने समस्या छ । दिपायल बजारसम्म पुग्ने बाटो कच्ची हुँदा बेलाबेला अवरुद्ध हुने गर्छ । त्यसो हुँदा पिठ्यूँमा बोकेर बजार पु-याउनुपर्ने बाध्यता रहेको उनले सुनाए।

बृहत् तरकारी उत्पादन क्षेत्र कार्यक्रम अनुसार थोपा सिँचाइ, पानी ट्याङ्की निर्माण, प्लास्टिक घर र गँड्यौला मलको उत्पादन सहयोग गरेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त प्रमुख गङ्गादत्त अवस्थीले बताए । छोटो समयमै सफल कृषक बन्नुभएका मुकुन्द युवाका लागि प्रेरणादायी व्यक्ति रहेको अवस्थीले बताए ।

धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति

0

म्याग्दी: यस वर्षको शरद्याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार धवलागिरि हिमाल आरोहणको अनुमति लिएकाबाट रु १६ लाख ८९ हजार ३० सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ । गत वसन्त याममा तीन समूहका २२ पुरुष र आठ जना महिलाले धवलागिरि हिमाल आरोहण गर्ने अनुमति लिएका थिए । सोबापत रु ७१ लाख ७० हजार सात सय ५० शुल्क सङ्कलन भएको विभागले जनाएको छ ।

आरोहण अनुमति लिएका आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर आउने तयारी गरेका इटली आधार शिविरका होटल व्यवसायीसमेत रहनुभएका धवलागिरि गाउँपालिका–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताउनुभयो ।

पर्यटन विभागको पछिल्लो विवरणअनुसार चालु यामका लागि नेपालका १० हिमाल आरोहणका लागि ५४ देशका ८८ महिला र दुई सय ७४ जना पुरुषले अनुमति लिएका छन् । उनीहरुबाट रु चार करोड ५२ लाख ४५ हजार आठ सय ४८ आरोहण शुल्क प्राप्त भएको छ ।

शरद्मा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही नौ सय डलर तिर्नुपर्ने प्रावधान रहेको विभागले जनाएको छ । अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ ।

शरद् याममा सबैभन्दा बढी गोरखामा रहेको आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न २८ वटा समूहका तीन सय आठ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । मनास्लुपछि धेरै आरोहणको अनुमति लिएको हिमाल धवलागिरि हो ।

पुथा हिमचुली नौ जना, अन्नपूर्ण चौथो पाँच, थाकर गो इस्ट चार, पुङ्गी पाँच, कुम्भकर्ण छ, अरनीको चुली तीन, अपी छ र मकालु पहिलो आरोहण गर्न दुई जनाले अनुमति लिएका छन् । सरदयाममा नेपालका हिमाल आरोहणका लागि सबैभन्दा बढी चीनका ६१ जनाले अनुमति लिएका विभागले जनाएको छ ।

गत वसन्तयाममा नेपालका ३० वटा हिमाल आरोहणका लागि एक हजार दुई जनाले अनुमति लिएका थिए । उनीहरुले रु ६८ करोड ९९ लाख ७५ हजार तीन सय ११ आरोहण शुल्क तिरेको विभागको वेबसाइटमा उल्लेख छ ।

मिथिलाञ्चलमा आजदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास सुरु

0

जलेश्वर (महोत्तरी): मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास सुरु भएको छ । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुखशान्तिका लागि मनाइने ‘जितिया पर्व’ महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै सोमबारदेखि यो पर्व सरु भएको हो । धार्मिक विधिअनुसार आज बिहान ४ बजेदेखि बुधबार साँझ ५ बजेसम्म बर्तालुहरु अन्नपानी नखाएर उपवास बस्ने गर्दछन् ।

श्री जानकी भित्ते पात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा सोमबार ‘ओगठन’ (दरखाने), आज जितिया व्रत र भोलि साँझ ५ बजे व्रत पारण (समापन) विधि गरिन्छ ।

तिथिअनुसार यस वर्ष सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत नहा खा विधि सम्पन्न भई आज भोलि दिनभरि उपवास बसेर भोलि साँझ व्रत समापन गरिने परम्परा रहेको जलेश्वरनाथ महादेव मन्दिरका पुजारी पण्डित उपेन्द्र पाठकले जानकारी दिनुभयो ।

व्रत बस्नुअघि सोमबार महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन र आफ्ना दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्यपदार्थ) र पिना प्रसादका रुपमा चढाएर परिवारका सबै सदस्यलाई खुवाएर आफूले खाएका उहाँले बताउनुभयो ।

सयौँ बर्तालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा लक्ष्मी सागर, बरुणसागर, भार्गवसरलगायत पवित्र सरोवरमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । कथा भन्ने र सुन्ने क्रममा पाकाले भन्ने र तन्नेरीले सुन्ने प्रचलन रहेको पण्डित पाठकले जानकारी दिनुभयो ।

व्रतको पहिलो दिन सोमबार पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ (कोदो) भनिन्छ । आज बिहानै काग कराउनुअघि पहिल्यै व्रती (बर्तालु) महिला ओगठन सम्पन्न गर्नुपर्ने हुन्छ । ओँगठनपछि उपवासको क्रम सुरु हुने भन्दै यसलाई पर्वको मुख्य अंश र मुख्य जितिया भन्ने गरिएको पण्डित पाठकले बताउनुभयो ।

आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यो व्रतको मिथिलाञ्चल क्षेत्रमा विशेष महत्व रहेको जलेश्वर नगरपालिका–८ का पण्डित बद्रीनारायण झाले बताउनुभयो ।

सन्तानको दीर्घ जीवन, सन्तान प्राप्ति तथा पारिवारिक सुखशान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व रहेको यालना संस्कृत विद्यापीठ मटिहानीका प्राध्यापक धु्रव रायले बताउनुभयो । “यसले मिथिलाका महिलाको सांस्कृतिक भूमिका, महत्व र आस्था उजागर गर्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार पितृ पक्षमा मनाइने यो पर्वमा महिलाले दिवङ्गत पितृको सम्झनामा पिण्ड चढाउँछन् । मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र मानिने उहाँको भनाइ छ ।

“राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै जनालाई दैत्यबाट फिर्ता ल्याइदिएको जनविश्वाससहित महिलाले शालिवहानलाई ‘जितुमाहन’ नामकरणगरी राजाको सम्झनामा उपवास बस्न थालेका पौराणिक कथन रहेको छ”, प्राध्यापक रायले भन्नुभयो ।

नवलपुरको विनियी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटनामा २३ जना घाइते

0

त्रिवेणी (नवलपरासी): पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौँबाट भारतको राजस्थान तर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटनामा भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज विहान आरजे १४ पिसी ३५४५ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको थियो । बस पल्टिँदा बसका २३ जना यात्रु घाइते भएका छन् । बसमा करिब ४५ जना यात्रु सवार रहेकामा अन्य यात्रु भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । घाइतेको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

बेनी अस्पताल बहिरङ्ग सेवा : बिहान सातदेखि बेलुका आठ बजेसम्म

0

म्याग्दी: म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवाको समयावधि विस्तारपछि अस्पतालमा स्वास्थ्य सेवा लिन आउने बिरामीको सङ्ख्या बढेको छ । म्याग्दीका साथै बागलुङ, पर्वत र मुस्ताङका सेवाग्राहीले समेत स्वास्थ्य सेवा लिने बेनी अस्पतालमा गण्डकी प्रदेशमा पहिलोपटक गत वर्षको कात्तिकदेखि बिहान ७ः०० देखि बेलुका ८ः०० बजेसम्म १३ घण्टे बहिरङ्ग सेवा विस्तार भएको थियो ।

शनिबार र बिदाका दिनमा समेत दैनिक १३ घण्टे ओपिडी सेवा विस्तार भएपछि सेवा लिन आउने बिरामीको सङ्ख्या वृद्धि भएको अस्पतालका निमित्त मेडिकल सुपेरिटेण्डेन्ट डा अञ्जु थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ मा बेनी अस्पतालको ओपिडी सेवाबाट ७३ हजार नौ सय ३० जनाले स्वास्थ्योपचार सेवा लिएका छन् । यसअघि आव २०७९/८० मा ५० हजार दुई सय ८१ र आव २०७८/७९ मा ४० हजार एक सय १० जनाले ओपिडी सेवाबाट स्वास्थ्योपचार गराएका थिए ।

अस्पतालले सोमबार आयोजना गरेको वार्षिक समीक्षामा अस्पतालका निमित्त मेडिकल सुपेरिटेण्डेन्ट डा थापाले साँघुरो भौतिक पूर्वाधार र सीमित स्रोत, साधनका बीच विस्तार भएको ओपिडी सेवाले बिरामीलाई सहजता मिलेको बताउनुभयो । गत वर्ष सात हजार पाँच सय ७२ जनाले अस्पतालको आकस्मिक सेवा लिएका छन् भने दुई हजार दुई सय ६५ जना बिरामी अस्पतालमा भर्ना भएर उपचार गरेको उहाँले बताउनुभयो । त्यस्तै गत वर्ष कुल तीन सय ७० महिला बेनी अस्पतालमा सुत्केरी भएकामा ९६ जनाको शल्यक्रिया गरी बच्चा जन्माइएको उहाँले जानकारी दिनुभयो ।

गत वर्ष बेनी अस्पतालमा ९८ जनाको मुख्य शल्यक्रिया गरिएको छभने नौ हजार छ सय ३६ जनाले युएसजी सेवा लिएका छन् । चार हजार १३ जनाले इसिजी सेवा लिएकामा १५ हजार आठ सय ९५ जनाले एक्सरे सेवा पाएका छन् । अस्पतालको सुविधासम्पन्न भवन निर्माणधीन अवस्थामा रहेकाले भौतिक पूर्वाधार र जनशक्ति अभावका बीचमा सेवा विस्तार गरी बिरामीलाई सहजता प्रदान गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।

उहाँले अस्पतालमा मेसिन उपकरणको बन्दोबस्त गर्ने काम भइरहेको भए पनि भवनको पूर्वाधारले पूर्णता नपाउँदा सेवालाई थप विस्तार र स्तरीकरण गर्न समस्या भएको जानकारी दिनुभयो । विसं २०७२ मा ५० शय्या क्षमतामा स्तरोन्नति भए पनि अस्थायी भौतिक संरचना थप गरेर अहिले ७८ बेड पुर्याइएको छ । अस्पतालमा स्वीकृत दरबन्दी कुल ५९ रहे पनि हाल जम्मा २६ जनाको मात्रै पदपूर्ति भएको छ ।

अस्पतालको सेवालाई सञ्चालन गर्न अस्थायी र करारमा समेत नियुक्त गरेर हाल अस्पतालमा एक सय २० जना कार्यरत रहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । बेनी अस्पतालमा मानसिक रोग, महिला तथा प्रसूति रोग, जनरल फिजिसियन, बालरोग विशेषज्ञ, हाडजोर्नी तथा नशारोग, जनरल सर्जरीलगायत विशेषज्ञ सेवाका साथै मिर्गाैला रोगका बिरामीका लागि डाइलाइसिस सेवा सञ्चालन हुँदै आएको छ ।

अतिरिक्त समयको सेवा प्रभावकारी

अस्पतालले सञ्चालन गरेको अतिरिक्त समयको सेवा प्रभावकारी बनेको छ । बिहान, बेलुकी र सार्वजनिक बिदामा पनि सरकारी अस्पतालमा सेवा पाएपछि कार्यालय समयमा फुुर्सद नपाउने सेवाग्राहीलाई सहज भएको हो । अस्पतालको अतिरिक्त समयको सेवाले मजदुर, कर्मचारी, व्यवसायी, शिक्षक, विद्यार्थीलाई निजी क्लिनिक जानुपर्ने समस्या हटेको बेनीका रिमा क्षेत्रीले बताउनुभयो ।

“सरकारी अस्पतालको बहिरङ्ग विभागको सेवा अतिरिक्त समयमा पाएपछि निजी क्लिनिकमा जानुुपरेन”, उहाँले भन्नुुभयो “कार्यालय समयमा फुुर्सद नपाउने सेवाग्राहीलाई सहज भएको छ, धेरै लाइन बस्नुु पनि परेन ।”

अतिरिक्त समय सेवा दिन थालेपछि सेवाग्राहीको सङ्ख्या बढेको अस्पतालका निमित्त प्रमुख डा थापाले बताउनुभयो । “अतिरिक्त समय सेवा प्रवाह सञ्चालन गरेपछि सेवाग्राहीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा २४ हजार जनाले बढेको छ”, उहाँले भन्नुभयो “बहिरङ्ग विभागको सेवा लिने करिब ४० प्रतिशत अतिरिक्त समयका सेवाग्राही छन् ।”

पचास शय्या क्षमता भए पनि ७८ शय्या बराबरको सेवा दिँदै आएको बेनी अस्पतालमा म्याग्दीका साथै पर्वतको उत्तरी क्षेत्रमा पर्ने जलजला गाउँपालिकाका बासिन्दाले सेवा लिँदै आएका छन् । अस्पतालको सामाजिक सेवा एकाइबाट निःशुल्क र सहुलियत रूपमा स्वास्थ्य सेवा लिनेको सङ्ख्या पनि बढेको छ । एकाइमार्फत आव २०७९/८० मा चार सय ७६ जनाले सेवा लिएकामा यो सङ्ख्या आव २०८०/८१ मा बढेर एक हजार एक सय ८६ जना पुगेको अस्पतालका सूचना अधिकारी वरिष्ठ नर्सिङ अधिकृत खेमकुमारी पन्तले बताउनुभयो ।

एकाइमार्फत महिला स्वास्थ्य स्वयंसेविका, गरिब, असाहय, परिचयपत्रबाहक अपाङ्ग, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसापीडित, गरिब तथा विपन्न, विपद् प्रभावित, सहिद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा बिरामी, सीमान्तकृत तथा लोपोन्मुख आदिवासी र जनजातिले निःशुल्क वा सहुलियतमा सेवा पाउँछन् ।

“स्वास्थ्य बीमा बोर्डले औषधापचारबापतको रकम समयमा भुक्तानी नगर्दा र ५० शय्या क्षमताको भवन निर्माणमा भएको ढिलाइले सेवा प्रवाहमा चुनौती सिर्जना भएको छ” व्यवस्थापन समिति अध्यक्ष सुवेदीले भन्नुभयो, “ठेकेदारले यसै वर्ष दुईवटा भवनको बल्क हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ ।”

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

0

न्युयोर्क (अमेरिका): प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेश फर्केर अवसर सृजना गर्न आग्रह गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वर्ल्ड लिडर्स फोरममा गरिबी निवारण गरी सबैलाई सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार दिलाउन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अघि सारिएको स्पष्ट पार्नुभयो ।

‘नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा’ विषयक संवादमा मुख्य वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले नेपालबाट विदेश गएका विद्यार्थी र युवाहरूको मात्रै सङ्ख्या बाहिर आउने तर विदेशबाट स्वदेश फर्किएकाहरूको हिसाब नभएको उल्लेख गर्दै फर्कनेहरूको क्रम पनि बढेको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले रोजगारीका अवसरका लागि नेपाल सरकारले साना–साना उद्योग र ‘स्टार्टअप’जस्ता कार्यक्रम ल्याएको जनाउँदै युवाहरूबिना मुलुकले रुपान्तरण गर्न सक्दैन भन्नेमा आफू स्पष्ट रहेकाले युवालाई राष्ट्र निर्माणमा एकजुट हुन आग्रह गर्नुभयो ।

“नेपालको आर्थिक अवस्था त्यस्तो धेरै कमजोर छैन । बरु म यसको समृद्धिको प्रचुर सम्भावना देखिरहेको छु, जुन हामीले मेहनत गरेमा छोटो समयभित्र हाँसिल गर्न सक्नेछौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी उदाउँदो लोकतन्त्र भएका मुलुक हौँ । भारत र चीनजस्ता आर्थिक शक्तिराष्ट्रका छिमेकी पनि हौँ । त्यस अर्थमा नेपाल आर्थिक विकासका लागि बहुआयामिक अर्थतन्त्र बन्न सक्ने अवस्थामा छ ।”

उहाँले आफूले नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्णायक भूमिका निर्वाह गरेका संसद्का दुई ठुला दलसहितको सरकारको नेतृत्व गरिरहेको अवगत गराउँदै सुशासन र पारदर्शिता कायम गर्ने सङ्कल्प लिएको जानकारी दिनुभयोे । “नेपालीलाई समृद्ध र सुखी बनाउनेबाहेक हामीसँग अरु कुनै अभिष्ट छैन । समृद्धिको यात्रामा हामी पूर्ण कटिबद्ध रहेका छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

यसैगरीप्रधानमन्त्री ओलीले युएसआइडी र युनिसेफद्वारा आयोजित ‘लिड फ्रि फ्युचरः पार्टनरसिप लन्च एण्ड प्लेजिङ इभेन्ट’लाई सम्बोधन गर्दै लिडमुक्त अभियानमा ऐक्यबद्धता जनाउनुभयो । उहाँले नेपालले पहिलेदेखि नै लिडको प्रयोगका कारण बालबालिकाको स्वास्थ्यमा असर परेको बुझाइसहित त्यसलाई मुक्त गर्ने नीति कार्यान्वयन गर्दै आएको र हालै संसद्मा खाद्य सुरक्षासम्बन्धी विधेयक ल्याएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनका पत्नी डा जिल वाइडेन, डोमिनिकाका राष्ट्रपति, मलावीका राष्ट्रपतिलगायतले पनि सम्बोधन गर्नुभएको थियो ।

देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृतिः राष्ट्रपति पौडेल

0

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधतायुक्त हाम्रो देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति भएको धारणा व्यक्त गर्नुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८१ को पुरस्कार समर्पण गर्न राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको समारोहमा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । “हाम्रा भाषा, साहित्य, संस्कृति तथा हामीसँग रहेका मौलिक एवं रैथाने ज्ञान, परम्पराको संरक्षण, सम्वर्द्धन र विकास गर्नु हाम्रो परम कर्तव्य हो”, उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले भाषा, साहित्य, संस्कृति, दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको बताउनुभयो । “भाषा मानिसका चाहना, भावना, विचारको विनिमय गर्ने सशक्त माध्यम हो, साहित्य भाषाको सबैभन्दा सुन्दर एवं कलात्मक अभिव्यक्ति हो, यसले भाषालाई श्रुतिमधुर बनाउने काम त गर्छ नै, भाषालाई युगौँ युगसम्म जीवित राख्ने काम पनि गर्छ”, उहाँको भनाइ थियो ।

मानिसका ज्ञान, अनुभव, अनुभूति, विचारलाई संरक्षण, सम्प्रेषण र सञ्चारमा साहित्यको अहम् भूमिका रहेकाले यो महत्वलाई कायम राख्न नेपाल प्रज्ञा प्रतिष्ठान जस्तो देशको महत्वपूर्ण प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण हुने राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो ।

नेपालमा बोलिने जुनसुकै मातृभाषाका कविताले पनि महोत्समा सहभागिता जनाउन सकिने व्यवस्था गरी महोत्सवलाई अझ सहभागितामूलक बनाइएको र यसबाट कविको सहभागितामा उल्लेख्य रूपमा बढोत्तरी भएको थाहा पाउँदा खुसी लागेको उहाँको भनाइ थियो । “मलाई आशा छ, आगामी वर्षमा नेपालका सबै भाषाका कविता राष्ट्रिय कविता महोत्सवमा सहभागी हुनेछन् र राष्ट्रिय कविता महोत्सव नेपाली कविताको विकासका लागि कोशेढुङ्गा सावित हुनेछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।त्यस अवसरमा उहाँले विजयी कविलाई पुरस्कार प्रदान गर्नुभयो ।

विरोधका कारण प्रधानमन्त्री केपी ओलीको अमेरिकाको कार्यक्रम स्थगित

0

न्यूयोर्क (अमेरिका): अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको बृहत् अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको छ । नेपाली समुदायबाटै विरोधको तयारी गरिएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो ।

न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझावसमेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा संयक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको पनि बताइएको छ ।

यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट महावाणिज्यदूतावासले दुःख प्रकट गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका छन् ।