Wednesday, June 17, 2026
Home Blog Page 676

बाढीले केराखेती नष्ट भएपछि किसानको व्यवसाय चौपट

0

राजविराज (सप्तरी): यही असोज ११ र १२ गते आएको बाढीका कारण सप्तरीको विभिन्न गाउँमा किसानको केराखेती नष्ट हुँदा उनीहरुको व्यवसाय चौपट भएको छ । भारदहमा मात्रै बाढीले पाँच सय बिघामा लगाएको केराखेती नष्ट गरेको थियो ।

बाढीले फलेको केरा खेतमै डुब्नुका साथै ढलेर नष्ट भएको थियो । यसबाट व्यावसायिक रुपमा केराखेती गर्दै आएका किसान मर्कामा परेका छन् । बिक्री गर्ने समयमा आएको बाढीका कारण केराखेती गर्ने किसानलाई लाखौँ रुपैयाँको घाटा भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवाका विलक्षण खंग १० कट्ठामा लगाएको केराखेती कोसी नदीको बाढीले नष्ट गरेपछि लाखौँ रुपैयाँको घाटा बेहोर्नुपरेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “मैले १० कट्ठा जमिनमा करिब दुई सयजति केराका बोट लगाएको थिए, बाढीका कारण त्यो अहिले खेतमै सुकिरहेको छ ।” खंगले केराखेतीबाट गरेको आम्दानीकै भरमा नौ जनाको परिवार पाल्दै आउनुभएको थियो । केरा बेच्न तयार भएको समयमा आएको बाढीले सखाप पारेपछि अब अन्य विकल्प सोच्नुपर्ने अवस्था आएको उहाँको भनाइ
छ ।

खंगले दसैँ, तिहार तथा छठ पर्वमा गत वर्ष झैँ यस वर्ष पनि ठेलामा लिएर सप्तरीको कञ्चनपुर, रुपनगर हनुमाननगर र भारदह बजारमा बेचेर मनग्य आम्दानी गर्ने योजना बनाउनुभएको थियो । “बाढीले योजना भताभुङ्ग बनाइदियो”, उहाँले भन्नुभयो । फलेको केराको बोट खेतमै ढलेपछि पानीमै कुहिएको उहाँले बताउनुभयो ।

सोही ठाउँका किसान शोभानन्द यादवले पनि सात बिघामा केराखेती लगाउनुभएको थियो । उहाँको पनि सबै केराका बोट बाढीका कारण नष्ट भएका छन् । उहाँ भन्नुहुन्छ, “सरकारले राहत तथा क्षतिपूर्तिको व्यवस्था नगरे त यहाँका किसान पलायन हुनुपर्ने अवस्था छ ।” बैंकबाट ऋण काढेर केराखेतीमा हात हालेकाले ब्याज र लगानी उठाउन समस्या भएको उहाँको भनाइ छ ।

हनुमाननगर कङ्कालिनी–१ कोसी पलारमा लगाएको केराखेती बाढीले सखाप भएको छ । यहाँ एक सय पाँच किसानले जग्गा भाडामा लिएर केराखेती गर्दैआएका थिए । हनुमाननगर कङ्कालिनी–२ सकरदहीका दिनेशकुमार राउतले मात्रै कोसी नदीको किनारमा १० बिघामा केराखेती गर्नुभएको थियो । सबै नष्ट भएपछि उहाँ अहिले चिन्तामा हुनुहुन्छ ।

“दसैँ, तिहार र छठमा केरा बिक्री गरेर पर्याप्त आम्दानी गर्ने सोचमा थिए, दसैँ सुरु हुनु अगाडि नै दसा लाग्यो”, राउतले भन्नुभयो– “केराखेतीकै आम्दानीले छोराछोरी पढाउने तथा घरखर्च चलाउने योजना थियो, बाढीले सब चौपट बनायो ।” केराखेतीमा पसेको बाढी सुकेपनि केराका घरी यत्रतत्र छरिएर खेतमै रहेका छन् ।

भारदह–१ की आशाकुमारी मण्डलले १५ कट्ठामा केराखेती गर्नुभएको थियो । बाढीले त्यो सब नष्ट पारिदिएको छ । उहाँका सात दिदीबहिनी मिलेर केराखेती गर्नुभएको थियो । केराखेती नष्ट भएपछि लगानी डुबेको उहाँले बताउनुभयो । केराखेतीकै आम्दानीले गुजारा गर्दै आएकाले बाढीले केरा नष्ट गरेपछि परिवार पाल्न समस्या भएको मण्डल बताउनुहुन्छ ।

“खेत रु ३० हजारका दरले भाडामा लिएर केरा लगायौँ । केरा नष्ट भएपछि भाडा तिर्ने अवस्थासमेत रहेन”, उहाँले भन्नुभयो । घरछेउमै दसँैमा कङ्कालिनी भगवती मन्दिरमा लाग्ने मेलामा केरा बेचेर आम्दानी गर्ने मण्डलको इच्छा बाढीका कारण पूरा हुन पाएन ।

बाढीका कारण भारदह–१ भलुवाका रामदेव मण्डलले ५० कट्ठा जग्गामा लगाउनुभएको केराखेती नष्ट भएको छ । केराखेती सबै कोसीको बाढीले बगाइदिएपछि उहाँ साहुँको ऋण कसरी तिर्ने भन्ने चिन्तामा हुनुहुुन्छ । भगवतीप्रसाद मण्डलको अवस्था पनि रामदेवको जस्तै भएको छ । “दश कट्ठामा लगाएको केराखेती सब सखाप भयो, यो वर्ष दसैँ जस्तै तिहार र छठ पर्व पनि राम्रोसँग मनाउन नसकिने भयो, घरखर्च टार्नै मुश्किल भयो”, उहाँले पीडा सुनाउनुभयो ।

केरा बिक्री गरेर मनग्य आम्दानी गर्दैआउनुभएका इनर्देव लोगी वैकल्पिक उपायको खोजीमा हुनुहुन्छ । लगाएको केराखेती नष्ट हुँदा घर खर्च चलाउन समस्या भएको भलुवाका रामचन्द्र ठाकुर बताउनुहुन्छ । एक बिघा क्षेत्रफलमा केराखेती गर्न एकपटकमा रु दुई लाखभन्दा बढी खर्च हुने गरेको उहाँको भनाइ छ ।

बाढीले लाखौँको क्षति भएपछि यहाँका किसानको केराखेतीतर्फ आकर्षण घट्ने भएको छ । किसानले हालसम्म कुनै निकायबाट पनि राहत नपाएको गुनासो गरेका छन् । यसअघि गत वैशाखमा हावाहुरी आउँदा पनि केरा ढलेर किसानले ठूलो क्षति बेहोर्नुपरेको थियो ।

सिलौटो बेचेर मासिक ४० हजार आम्दानी गर्दै

0

धरान (सुनसरी): सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिनुभयो । उहाँ लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दैआउनुभएको छ । सन्तराजले यही व्यापारबाट जीविकोपार्जन गर्दैआउनुभएको छ ।

उहाँले भन्नुभयो, “सिलौटा बनाउने हाम्रो पुख्र्यौली पेसा नै हो । तीन पुस्तादेखि गरिँदै आएको पेसालाई मैले पनि निरन्तरता दिँदैआएको छु ।”

इटहरी बजारको व्यस्त सडकमा चर्को घाममा सन्तराज ढुङ्गाका सामाग्री बिक्री गर्दैआउनुभएको छ । नजिकैको खोला किनारमा प्लास्टिकको छानोमुनि दिनभर घन र छिनोको साहायताबाट उहाँले ढुङ्गालाई विभिन्न आकार दिनुका साथै बुट्टा भर्दैआउनुभएको छ । उहाँले खोलाको किनारमा ती सामग्री बिक्रीका लागि लहरै राख्नुभएको छ ।

“विदेशमा गएर दुःख गर्नुभन्दा यही पुख्र्यौली पेसा सिलौटो व्यापारबाट आम्दानी गर्दैआएको छु, दिनभर यही बसेर सामाग्री तयार गर्छु, बेलुका घर फर्किन्छु । अहिलेसम्म यही व्यापारबाट परिवारलाई खान लाउन पुगेको छ । आम्दानीसँगै आत्मसन्तुष्टि पनि मिलेको छ”, सन्तराजले भन्नुभयो ।

सन्तराजले दैनिक तीनदेखि चार जोरसम्म लोहोरो र सिलौटा बनाउँदै आउनुभएको छ । “कहिले चार÷पाँच वटासम्म बिक्री हुन्छ कहिले कत्ति पनि बिक्री हुँदैन । व्यापार हो, सधैँ एकनास हँुदैन”, उहाँले भन्नुभयो । लोहोरो, जाँतो, सिलौटालगायत सामग्री बिक्री गर्न सन्तराज जिल्लाका विभिन्न ठाउँ पुग्ने गर्नुभएको छ । सिलौटो बनाउने ढुङ्गा मोरङको केराबारी, जाँते, लेटाङ, धुलाबारीगायतका स्थानबाट ल्याउने गरेको उहाँले बताउनुभयो ।

व्यापारबाट घर खर्च कटाएर मासिक रु ४० हजारसम्म आम्दानी हुँदै आएको सन्तराजले जानकारी दिनुभयो । उहाँले एउटै ठाउँलाई व्यापार गर्ने थलो बनाउनुभएको छ । छोराले पनि उहाँलाई साथ दिँदै आउनुभएको छ । “पुख्र्यौली पेसाको संरक्षण पनि भयो । साथमा आम्दानी पनि हुने भएकाले यो पेसालाई निरन्तरता दिएको हुँ”, उहाँले भन्नुभयो ।

सन्तराजले केही सामान ग्राहकको मागअनुसार बनाउने गर्नुभएको छ । एउटा सिलौटो तथा जाँतो बनाउन एक घण्टादेखि डेढ घण्टासम्म लाग्छ । उहाँले एउटा सिलौटो रु चार सयदेखि रु ५ सय ५० सम्ममा बिक्री गर्दैआउनुभएको छ । एक जोर जाँतो रु एक हजारदेखि रु एक हजार तीन सय सम्ममा बिक्री गर्दैआउनुभएको छ । पछिल्लो समय आफ्नो व्यवसाय सङ्कटमा पर्दै गएको उहाँको भनाइ छ । कुटानी पिसानीका लागि विभिन्न उपकरण बजारमा आएसँगै सन्तराजको पेसा सङ्कटमा परेको हो ।

वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय बनाइने

0

धनुषा: नयाँ रेल आएपछि नेपाल रेल्वे कम्पनीसँग रहेको दुई सय वर्ष पुरानो स्टिम इन्जिन र पार्टपुर्जा के होला भन्ने चासो बढेको छ । जर्मनीमा निर्माण गरिएको उक्त जनकपुर रेल्वेको दुई सय वर्ष पुरानो स्टिम इन्जिन र पार्टपुर्जासहितको सङ्ग्रहालय बनाउन पहल गरिने भएको छ ।

नेपालको एक मात्र नेपाल रेल्वे कम्पनीसँग विश्वमा लोप भएका कतिपय महत्वपूर्ण एवं दुर्लभ वाष्प इन्जिनहरू संरक्षणको पर्खाइमा रहेका छन् । धनुषाको जनकनन्दिनी गाउँपालिका–२ खजुरीस्थित नेपाल रेल्वे कम्पनी लिमिटेडको पुरानो कारखाना (मर्मत केन्द्र) मा खिया लागेर समाप्त हुने क्रममा रहेका इन्जिनहरूको संरक्षण गर्नुपर्ने आवाज उठ्ने गरे पनि तिनको संरक्षण भने हुन सकेको छैन ।

यसैबीच मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ऐतिहासिक एवं दुर्लभ रहेका वाष्प इन्जिनहरू भएको धनुषाको खजुरीस्थित रेल्वे कारखानाको हालै निरीक्षण गर्नुभयो । दुर्लभ इन्जिनहरुलाई सङ्ग्रहालयमा राख्ने विषयमा सङ्घीइ सरकारसँग छलफल गर्ने बताउनुभयो । रेल्वेको इतिहास तथा वर्तमानका विषयमा अध्ययन गर्न चाहनेका लागि नेपाल रेल्वेसँग रहेको दुर्लभ इन्जिन महत्वपूर्ण हुनुका साथै यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“दुर्लभ कोइला इन्जिनहरू बेलायती सरकारको पालादेखिका हुन् । ती इन्जिनहरूलाई प्रदर्शनीमा राख्न सके पर्यटकलाई आकर्षित गर्न सकिन्छ”, मुख्यमन्त्री सिंहले भन्नुभयो ।

पूर्व प्राध्यापक एवं अर्थशास्त्री डा सुरेन्द्र लाभका अनुसार मिथिलामा आउने पर्यटकहरू र यहाँका भावी सन्ततीहरूका लागि पुराना कोइला तथा डिजेल इन्जिनहरूको संरक्षण आवश्यक छ । जनकपुर रेल्वेको आफ्नै इतिहास रहेकाले नयाँ पुस्तालाई जानकारी गराउन यसको संरक्षण आवश्यक रहेको उहाँको भनाइ छ । “विगतमा कुन रूपमा नेपालको रेलको विकास भएको हो । त्यसको अध्ययनमा समेत सघाउ पुग्छ”, उहाँले भन्नुभयो ।

तत्कालीन समयमा भारतमा आफ्नो प्रत्यक्ष शासन गरेको बेलायतले निर्माण गरेको रेल्वे २०६९ सालदेखि पूर्ण रुपमा बन्द रहेको थियो । जयनगर जनकपुरदेखि विजलपुरासम्म चलेको नेरोगेज रेलको इन्जिनलगायतको अन्य भौतिक संरचनालाई सङ्ग्रहालय बनाउन आवश्यक भएको डा लाभले बताउनुभयो । नेपाल रेल्वेको कारखानामा थन्काइएका ब्रम्हा, विष्णु, राम, सीता, गोरखनाथ, पशुपतिनाथ, महावीरलगायतका नाम दिइएका ईन्जिनहरु संरक्षणको पर्खाईमा छन् ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले सङ्घीय सरकारसँग नेपाल रेल्वे कम्पनीले रु ४५ करोड माग गरेकामा रु २१ करोड मात्र दिन तयार भएको तर त्यति खर्चमा संङ्ग्रहालय बनाउन नसकिने भएकोले तत्काल रेलका पुराना इन्जिनहरुको संरक्षण गर्न आवश्यक भएको उहाँले बताउनुभयो ।

जेनेभामा नेपाल र चिनियाँ संसदीय प्रतिनिधिमण्डलबीच भेट

0

काठमाडौँ: अन्तर–व्यवस्थापिका सङ्घको महासभामा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभा पुगेको नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेट भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल नेतृत्वको नेपाली संसदीय टोली र चिनियाँ जनकङ्ग्रेसका शिक्षा, विज्ञान, संस्कृति एवं स्वास्थ्य समिति उपाध्यक्ष थ्यान सुइजन नेतृत्वको चिनियाँ टोलीबीच भेट भएको हो ।

भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, संसदीय अभ्यास, अनुभव आदान प्रदान र अन्तर्राष्ट्रिय मञ्चहरुमा सहकार्यका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

सो अवसरमा अध्यक्ष दाहालले नेपाल–चीन सम्बन्धको ऐतिहासिक आयामबारे चर्चा गर्दै नेपाल सदैव चीनको असल छिमेकीका रुपमा रहने स्पष्ट पार्नुभयो । दुई देशबीच राजनीतिक सम्बन्ध मात्रै नभई जनस्तरमै सामाजिक, सांस्कृतिक सम्बन्ध मजबुत रहेको उहाँको भनाइ थियो ।

सन् २०२२ मा चिनियाँ जनकङ्ग्रेसका तत्कालीन अध्यक्षले नेपाल भ्रमण गरेको स्मरण गराउँदै अध्यक्ष दाहालले दुई देशबीचका संसदको सहकार्यले एक अर्काका अनुभव आदान प्रदान हुनुका साथै असल अभ्यास सिक्ने अवसर पनि हुने बताउनुभयो ।

भेटमा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख समिति उपाध्यक्ष सुइजनले चिनियाँ राष्ट्रिय जनकङ्ग्रेस र नेपालको संसद्सँग विभिन्न क्षेत्रमा सहकार्य गर्न र संसदीय मैत्री समूहमार्फत् सम्बन्ध विस्तार गर्न चाहेको बताउनुभयो । दुई देशका संसद्बीचको सहकार्य, भ्रमण आदानप्रदान र अवलोकनले संसदीय अभ्यास, परम्परा र प्रक्रिया बुझ्न सहज हुने र दुई देशको सम्बन्ध थप मजबुत बनाउन सहयोग गर्ने बताउनुभयो ।

चीनले आफ्नो क्षमताले भ्याएसम्म र सम्भव भएसम्म नेपाललाई सहयोग गर्न कुनै कसर बाँकी नराख्दै भन्दै उपाध्यक्ष सुइजनले बिआरआईमार्फत् सडक, रेल्वेलगायतका पूर्वाधार विकासका योजनामा सहयोग गर्न चीन इच्छुक रहेको बताउनुभयो । भेटमा दुवै देशका प्रतिनिधिमण्डलमा सहभागी सांसद तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

ललितपुरको गोदावरी पुगेका मन्त्री यादवले भने – पन्ध्र दिनभित्र खानेपानी सेवा पुनःसञ्चालनमा आउँछ

0

पाटन (ललितपुर): खानेपानीमन्त्री प्रदीप यादवले ललितपुरको गोदावरी नगरपालिकाका नल्लु, बासुकी र देवकी खानेपानी मुहान क्षेत्रको निरीक्षण गर्नुभएको छ । निरीक्षणपछि उहाँले पन्ध्र दिनभित्र सबै काम पूरा गरेर खानेपानी सेवा सञ्चालन गर्नेगरी तीन दिनभित्र काम सुरु गरिने बताउनुभयो ।

“ हामीले खानेपानी मुहान क्षेत्रको जानकारी लियौँ । वन विभागका महानिर्देशक, केयुकेलका प्रमुख र हाम्रो मन्त्रालयका प्राविधिक समूहसँगै हामी खानेपानी मुहानमा पुग्यौँ । उहाँहरूले लागतसहितको प्रतिवेदन तयार गर्नुहुन्छ । प्रतिवेदन आएपछि तुरुन्तै काम सुरु गछौँ,” मन्त्री यादवले भन्नुभयो ।

बाढीबाट खानेपानी मुहानको क्षतिबारे जानकारी लिन मन्त्री यादवसहित, पूर्वअर्थराज्यमन्त्री, नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं ललितपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उदय शम्शेर राणा, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फूँयाल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल), वन विभाग तथा खानेपानी तथा ढल व्यवस्थापन विभागका अधिकारीहरू नल्लु पुग्नुभएको थियो ।

“खानेपानी नागरिकको आधारभूत अधिकार हो । सङ्घीय सरकार, स्थानीय सरकार र प्राविधिक निकायबीच समन्वय गर्दै तीन दिनभित्र यहाँको खानेपानी पुनः स्थापना कार्य सुरु गर्नु होला । जनताको समस्या समाधान गर्नु हाम्रो प्राथमिकता
हो । म व्यक्तिगतरूपमा यस कार्यको प्रगतिमा अनुगमन गर्नेछु र समस्या समाधान नगरी हिड्दिनँ,” मन्त्री यादवले
भन्नुभयो ।

मन्त्री यादवले सरकार स्थानीय बासिन्दाको समस्याप्रति सरकार संवेदनशील रहेको स्पष्ट पार्दै भविष्यमा यस्ता विपद्हरू दोहोरिन नदिन दिगो पूर्वाधार र दीर्घकालीन योजनाको खाँचो रहेको बताउनुभयो । उहाँले अबको समय सङ्कट समाधानमात्र होइन भन्दै दीर्घकालीन सुधारको लागि छिटो प्रतिक्रिया दिन सक्ने प्रणाली विकास गर्नुपर्नेमा जोड
दिनुभयो ।

पूर्व अर्थराज्यमन्त्री राणाले विपत्तिका कारण चापागाउँ, ठेचो, धापाखेल र सुनाकोठी क्षेत्रमा खानेपानीको हाहाकार भएको बताउनुभयो । उहाँले १० देखि १५ दिनभित्र खानेपानी सञ्चालन हुने आश्वास खानेपानी मन्त्रीबाट प्राप्त भएको बताउँदै जतिसक्दो छिटो खानेपानी सेवा सुरु हुनेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फूँयालले बाढी पहिरोबाट प्रभावित पालिकालाई क्षतविक्षत भएको खानेपानी सेवा पुनःसञ्चालन गर्न केन्द्रीय सरकारले सिधै केही रकम पठाइदिनु पर्नेमा खानेपानी मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नल्लु र बासुकी क्षेत्रको पानी १५ दिनभित्र ल्याउन सकिने अवस्था भएकाले बजेट नपुग भएको खण्डमा नगरपालिकाबाटै भए पनि व्यवस्था गर्ने बताउनुभयो ।

अविरल वर्षा र बाढीले आठ करोड बढीको धान बालीमा क्षति

0

पाल्हीनन्दन (नवलपरासी ब सु प): यही असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीले यहाँ साढे आठ सय विघामा लगाइएको धान बालीमा क्षति भएको छ ।

जिल्लाको पाल्हीनन्दन‐१ शङ्करपुर र सरावल गाउँपालिका ५, ६ र ७ नं वडा क्षेत्रमा साढे आठ सय विघामा लगाइएको धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र प्रमुख डा रविन्द्रनाथ चौवेले जानकारी दिनुुभयो । कृषि ज्ञान केन्द्रका अधिकृत नवराज घिमिरेले सरावल गाउँपालिकाको सो क्षेत्रमा मात्रै रु आठ करोड ४६ लाख बराबरको धान बाली नष्ट भएको बताउनुभयो ।

सरावल‐७ का वडाध्यक्ष हेयात खान धुनियाले वर्षापछि धनेवा र झरही खोलाको बाढी धानखेतमा पसेपछि बाली नष्ट भएएको बताउनुभयो । उहाँले यी दुवै खोलाले बर्सेनि खेतीयोग्य जमिन कटान गरिरहेकाले तटबन्धका लागि तीने तहका सरकारलाई आग्रह गर्नुभयो ।

पाल्हीनन्दन‐१ का वडाध्यक्ष चुुल्हाईप्रसाद यादवले आफ्नो वडाको शङ्करपुरमा मात्रै ढाई सय विघा धानबाली बाढी तथा डुबानमा परेर नष्ट भएको बताउनुुभयो । स्थानीय किसान सलाउदिन अलि अन्सारीले बाढीका कारण आफ्नो एक विघा जग्गामा लगाएको धान बालीमा क्षति पुगेकाले निकै समस्या भएको गुनासो गर्नुभयो ।

चितवनमा तीन सय ८६ जनामा स्क्रब टाइफस

0

चितवन: यहाँ विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साउनयता दुई हजार १४४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमितमध्ये एक सय ९६ जना चितवनका र एक सय ९० जना जिल्लाभन्दा बाहिरका रहेका जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये सो अवधिमा एक जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।

जिल्लामा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा सङ्मित देखिएका छन् । पट्टेलका अनुसार भरतपुर महानगरपालिकामा ९०, रत्ननगरमा ३३, राप्तीमा २०, खैरहनीमा १७, कालिका नगरपालिकामा ११ र माडी नगरपालिकामा सात तथा ईच्छाकामना गाउँपालिकामा १८ जनामा सङ्क्रमण देखिएको छ ।

स्क्रब टाइफस ओरिएन्टा सुसुगामुसी नामक जीवाणुबाट हुने सङ्क्रामक रोग हो । साधारणतया यो जीवाणुले मानिसलाई प्रत्यक्ष असर नपारी झाडीमा पाइने किर्ना (माइट्स) लाई सङ्क्रमण गर्छ । सोही सङ्क्रमित किर्ना मुसालगायत अन्य जनावरका शरीरमा बस्छन् । सङ्क्रमित किर्नाले टोकेको मुसा वा जनावर मानिसको सम्पर्कमा आएर शरीरमा टाँसिए वा टोकेमा स्क्रब टाइफस सर्ने गरेको चिकित्सकहरू बताउँछन् ।

यो रोगबाट सङ्क्रमित मानिसमा उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, पखाला लाग्ने, श्वास फेर्न गाह्रो हुने, टाउको, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा देखिने र टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने जनस्वास्थ्य अधिकृत पट्टेलले बताउनुभयो । यस रोगको सङ्क्रमणबाट जोगिन झाडीमा नजाने, शरीर ढाक्ने गरी लामो कपडा लगाउने, मुसा तथा सङ्क्रमित जनावरसँग टाण रहने जस्ता सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।

तीन राउण्ड गोली र पेस्तोलसहित एक जना पक्राउ

0

भक्तपुर: जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड गोली र एक थान पेस्तोलसहित आज एक जनालाई पक्राउ गरेको छ ।

काभ्रेपलान्चोकको पनौती नगरपालिका–१ स्थायी घरभई हाल सूर्यविनायक नगरपालिका–८ रानीकोट बस्दै आएका ३६ वर्षीय प्रेम तामाङले हतियार बोकी हिडिरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरिएको जनाएको छ ।

प्रहरी टोलीले घरबाटै तीन राउण्ड गोली लोड भएको मेडइन यूएसए लेखिएको पेस्तोलसहित तामाङलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो । म्याद थप गरी आजै तामाङमाथि थप अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।

बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो

0

म्याग्दी: पहिरोले बाटो बगाएपछि पर्यटकीयस्थल घोडेपानीमा पर्यटक आगमन गत वर्षको तुलनामा घटेको छ । वार्षिक ३० हजार विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा यो वर्ष पर्यटकको आगमन ठप्पप्रायः भएको छ ।

घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनका अनुसार अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिवाङ–शिख–चित्रे सडक अन्तर्गतअन्नपूर्ण–५ घोप्टेखर्कमा गत साउनमा पहिराले भत्काएको सडक मर्मत नहुँदा पर्यटक आगमन घटेको हो । पर्यटक आगमनको याम प्रारम्भ भइसक्दा पनि सडक मर्मत नहुँदा घोडेपानीका होटल व्यवसायी चिन्तित भएका छन् ।

“विगतका वर्षमा दशै लगत्तै छुट्टी मनाउन बस चढेर आउने आन्तरिक पर्यटकले घोडेपानीका होटलहरु भरिभराउ हुन्थे,” उहाँले भन्नुभयो “कास्कीबाट पदयात्रा गरेर आउने पर्यटक मात्रै छन् । घोडेपानी पर्यटकीय याममा पनि सुनसान छ ।”

घोप्टेखर्कमा १० मिटर सडक भत्किएपछि मोटरसाइकल बाहेक अन्य सवारी साधन ठप्प छन् । अठार किलोमिटर लामो पोखरेबगर–चित्रे सडक खुलेको १५ वर्षपछि गत वर्ष स्थानीय पूर्वाधार विकास कार्यालयले रु. ३० करोडको लागतमा कालोपत्र गरिएको थियो ।

अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले पहिरोले क्षति पु¥याएको सडक मर्मतका लागि आयोजना कार्यालयमा पहल र गाउँपालिकाले खिवाङ–कुटुका–पेरीभारानी–घोडेपानी जोड्ने वैकल्पिक सडक मर्मत गरेको बताउनुभयो ।

लुलीया र हल्लेखर्कको घुम्तिमा सडक भासिएको ठाउँमा हलुका सवारी साधन सञ्चालन हुनेगरी स्थानीय स्रोतबाट मर्मत गरिएको वडाध्यक्ष खड्काले बताउनुभयो ।

मौसम प्रतिकूलताका कारण लुक्लामा दुई दिनदेखि उडान ठप्प

0

सोलुखुम्बु: प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा दुई दिनदेखि जहाज उडान ठप्प छ । मौसममा आएको परिवर्तनका कारण सोमबारबाट कुनै पनि जहाजले उडान भर्न नसकेको नेपाल नागरिक उड्ययन प्राधिकरणलुक्लाले जनाएको छ ।

कार्यालयका ‘एटिसी अफिसर’ विवस दाहालका अनुसार आइतबार ९० वटा उडानमार्फत करिब आठ सय पर्यटक भित्रिएको लुक्लामा त्यसपछि कुनै पनि उडान हुन सकेको छैन । निरन्तर हुस्सुका कारण उडान प्रभावित हुँदा सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटक समस्यामा परेका छन् । “रामेछापको मन्थलीमा पनि लुक्ला आउने पर्यटकहरू रोकिएका छन्, कतिपय काठमाडौँमा पनि रोकिएको खबर छ । मौसम प्रतिकूल हुनसाथ उडान प्रभावित हुँदा पर्यटक रोकिएका हुन्”, उहाँले भन्नुभयो ।

उडान प्रभावित भएसँगै पर्यटक लिएर आएका हेलिकप्टर लुक्लाभन्दा केही तल सुर्केमा अवतरण भइरहेको बताइएको छ ।

नागरिक उड्डयन प्राधिकरण कार्यालय मन्थलीका प्रमुख हिरोण शाहले लुक्ला जान मन्थली पुगेका करिब एक हजार तीन सय जना विदेशी पर्यटक दुई दिनदेखि सोही स्थानमा रोकिएको जानकारी दिनुभयो । उडान प्रभावित हुँदा रोकिएका पर्यटक सडक मार्गबाट सोलुखुम्बु सदरमुकाम सल्लेरी हुँदै खुम्बु जाने योजनाका साथ अघि र केही भने हेलिकप्टरमार्फत सुर्के गइरहेको उहाँले बताउनुभयो ।

मन्थली विमानस्थलमा पर्यटकीययाममा दैनिक ५५ देखि ६० उडान हुने गरेको प्राधिकरणले जनाएको छ । शरद ऋतुमा सगरमाथा आधार शिविर पदयात्राका लागि पर्यटकले काठमाडौँ तथा रामेछापको मन्थली विमानस्थल हुँदै त्यहाँ जाने गरेका छन् ।