Thursday, June 18, 2026
Home Blog Page 664

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटियो दुर्लभ जङ्गली याक

0
जंगली याक

काठमाडौँ : शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जङ्गली याक फेला परेको छ । सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जङ्गली याक भेटिएको हालै खुलासा गरिएको हो ।

वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सो जङ्गली याकको ‘फोटो फ्रेम’ अनावरण गरेको छ । स्थानीय नागरिक वैज्ञानिक सोनाम वाङ्दीले तस्बिर लिनुभएको जङ्गली याक शे–फोक्सुन्डो गाउँपालिका–१ सल्दाङस्थित क्षेत्रमा भेटिएको हो । चार हजार ६ सय २३ मिटरदेखि चार हजार नौ सय ३५ मिटर उचाइ रहेको सो स्थानमा उक्त जङ्गली याक गत जुलाई २३ देखि २६ सम्म देखिएको विभागको तथ्याङ्क छ ।

यो अध्ययन स्थानीय समुदायको पूर्व जानकारीपश्चात् निकुञ्ज विभागको अगुवाइमा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको सहकार्यमा सम्पन्न भएको थियो । विगतमा तथ्याङ्क अभाव तथा स्थानीय समुदायका अनुसार जङ्गली याक लोप हुने अवस्थामा रहेको मानिएको
थियो । जङ्गली याक प्रायः समुद्री सतहबाट चार हजार आठ सय २५ मिटरको उचाइमा पाइन्छ ।

यस अध्ययनका क्रममा स्थानीयका साथै युवा वैज्ञानिकहरू सोनाम वाङ्दी र उर्गेन गुरुङको महत्त्वपूर्ण योगदान रहेको डब्लुडब्लुएफ नेपालका पर्वतीय कार्यक्रम व्यवस्थापक सेरेन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यो जङ्गली याक देखिएको क्षेत्रबाट पश्चिमतिर चीनको सीमा नजिक पनि अर्काे जङ्गली याक देखिएको स्थानीयले जानकारी दिएका छन् । उहाँले भन्नुभयो, “तर यही हो वा अर्काे जङ्गली याक हो विस्तृत अध्ययन विना भन्न सकिने अवस्था छैन । चीन, भारत र नेपालका हिमाली क्षेत्रमा पाइने जङ्गली याकको नेपालमा खासै तथ्याङ्क छैन ।” नेपालमा पहिलोपटक अनुसन्धानकर्ताहरूले हुम्लामा सन् २०१४ मा जङ्गली याक देखेका र पहिलो आधिकारिक तस्बिर पनि सोही समयमा सार्वजनिक गरिएको थियो ।

नेपालमा वन चौँरी पनि भनेर चिनिने जङ्गली याक विश्वव्यापी रूपमा चीन, भारत र नेपालको मूल रैथाने प्रजाति हो । जङ्गली याक खासगरी अल्पाइन टुन्ड्रा क्षेत्रको घाँसेमैदान र चिसो मरुभूमि क्षेत्रहरूमा पाइन्छ । जाडोमा तल्लो उपत्यकाहरूमा झर्दै, मौसमी रूपमा सर्ने गर्छ । यद्यपि, यस प्रजातिको हालको वितरण दायरा राम्रोसँग थाहा छैन । जङ्गली याक प्रायः उत्तरी सिमाना छिमेकी चीनको तिब्बतसँग जोडिएका हिमाली क्षेत्रमा बढी रहने गरेको अनुमान गरिन्छ ।

नेपालमा यस प्रजातिको जनसङ्ख्याको आकारका बारेमा कुनै जानकारी उपलब्ध छैन । हुम्ला जिल्लाको लिमी उपत्यकामा सन् २०१४ मा पुनः पत्ता नलागेसम्म जङ्गली याक लोप भइसकेको मानिन्थ्यो । विश्वव्यापी रूपमा जङ्गली याकलाई आइयुसिएनले ‘रेड लिस्ट’ले जोखिममा राखेको छ । नेपालमा राष्ट्रिय रूपमा यसलाई तथ्याङ्क अभावका रूपमा वर्गीकृत गरिएको छ । नेपालमा यस प्रजातिको कानुनी स्थिति राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनद्वारा संरक्षित (परिशिष्ट १) छ ।

त्यसैगरी, साइटिसले परिशिष्ट १ प्रजातिमा जङ्गली याकलाई सूचीकृत गरेको निकुञ्ज विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार जङ्गली याक गाई प्रजातिको जन्तु हो । तराई क्षेत्रमा गौरी गाई पाइएजस्तै उपल्लो हिमाली क्षेत्रमा चौँरी र जङ्गली याक पाइन्छ । “जङ्गली याक दुर्लभ छ । कठिन भौगोलिक क्षेत्र र हिमाली क्षेत्रमा पाइने भएकाले यसको अध्ययन र अनुसन्धान पर्याप्त हुन सकेको छैन,” वरिष्ठ इकोलोजिष्ट आचार्यले भन्नुभयो, “अहिले बिस्तारै हवाई यातायात, सडकको पँहुच, प्रविधिको विकासले गर्दा हिमाली वन्यजन्तुसँगै जङ्गली याकको पनि अध्ययन सुरु हुन थालेको छ ।” हिउँ चितुवाको र यसको बासस्थान प्रायः एकै क्षेत्रमा हुन्छ । जङ्गली याकको बासस्थान र चरन क्षेत्र हिउँचितुवाको तुलनामा भने सीमित हुन्छ । घरपालुवा चौँरीभन्दा यो शारीरिक बनावटले फरक हुन्छ । “घरपालुवा चौँरीको तुलनामा यसको आकार ठूलोे हुन्छ, सिङ र रौँ फरक हुन्छ । विभागले सार्वजनिक गरेको उक्त तस्बिरसँगै जङ्गली याकको अध्ययन गर्न अनुसन्धानकर्ताको चासो बढ्छ । त्यसमा हामी प्रोेत्साहन गर्छौं”, उहाँले भन्नुभयो ।

अविरल वर्षाबाट १५ करोड बराबरको पुष्पखेतीमा नोक्सान

0

काठमाडौँ : गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण पुष्पखेतीमा समेत क्षति पुर्याएको छ । यसबाट सयपत्री फूलको मूल्य बढ्ने भएको छ ।

फुल्न थालिसकेको फूल वर्षाकै कारण नोक्सान भएपछि तिहारमा भारतबाट १५ लाख माला आयात गर्ने तयारी रहेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष दिलीप बादेले जानकारी दिनुभयो ।

गत वर्ष रु ६५ देखि ७० सम्म एउटा मालालाई परेको भए पनि यस वर्ष प्रतिगोटा रु ८० देखि ८५ सम्म होलसेल मूल्य पर्ने उहाँले बताउनुभयो । अविरल वर्षाले कारण करिब रु १५ करोडको फूल नोक्सान भएको थियो ।

अध्यक्ष बादेका अनुसार बजार मागअनुरुपनै गत वर्षको तुलनामा यस वर्ष सात लाख बढी सयपत्री फूल मालाको माग छ । गत वर्षको तिहारमा ३३ लाख माला खपत भएको थियो । बजार मागको ६० प्रतिशत फूल काठमाडौँ उपत्यकामा प्रयोग हुने गरेको छ ।

यस वर्षको तिहारका लागि ४० लाख सयपत्री फूलमालाको बजार माग रहेको छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्षको तिहारमा बजार माग ४० लाख मालाको रहेको र स्वदेशी उत्पादन २५ लाख माला मात्र रहेकाले यस वर्षको तिहारमा १५ लाख सयपत्री माला भारतबाट आयात गर्न लागिएको हो ।

बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ । विशेष गरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि तिहारमा प्रयोग हुने सयपत्री र प्रणय दिवसमा प्रयोग गरिने रातो गुलाब भने छिमेकी मुलुक भारतबाट ल्याउनुपर्ने बाध्यता अझै टरेको छैन ।

नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन् ।

व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गरेका छन् ।

पर्यटकको रोजाइमा ‘मुन्दुम ट्रेल’, तीनवटै तहका सरकारको करोडौँ लगानी

0

खोटाङ: साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको ‘मुन्दुम ट्रेल’ पदमार्ग जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा पर्दछ । नेपाल सरकारको सयवटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग करिब एक सय सात किलोमिटर लामो दूरीको छ ।

प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको ‘मुन्दुम ट्रेल’ पदमार्गको स्तरोन्नतिमा तीनवटै तहका सरकारको करोडौँ लगानीसमेत भइरहेको छ । प्रकृतिप्रेमी अर्थात् सौन्दर्यमा रमाउन चाहने तथा किराती संस्कार, संस्कृति अध्ययन एवम् अनुसन्धान गर्न आउने पर्यटकका लागि ‘मुन्दुम ट्रेल’ रोजाइमा पर्ने गरेको छ ।

शरद ऋतु सुरु भएसँगै अध्ययन तथा जागिरको सिलसिलामा राजधानी काठमाडौँलगायत सहरमा बस्दै आएका जिल्लावासी तथा बाह्य पर्यटकहरु मुन्दुम ट्रेल घुम्न र अध्ययन गर्न आउने गरेको केपिलासगढी गाउँपालिका–१ फेदीका भेडापालक लक्ष्मण राई ‘समीप’ले बताउनुभयो । “असोज लागेसँगै हूलका हूल पर्यटकहरू घुम्न आउने गर्छन् । मुन्दुम ट्रेलका सबै ठाउँमा पर्यटकका लागि बास बस्ने तथा खाना खाने ठाउँ छैन । भेडीचोक तथा चौँरी गोठमा बस्न दिने गरेका छौँ”, मैयुङको लेकमा व्यावसायिक रुपमा भेडापालन गर्दै आउनुभएका समीपले भन्नुभयो, “राज्यले यसप्रति ध्यान दिन जरुरी छ । भर्खरै पहिचान गरिएको मुन्दुम ट्रेललाई प्रवर्द्धन गर्न सकेमा स्थानीय बासिन्दाका लागि मात्र नभई राज्यलाई समेत आर्थिक रुपमा ठूलो टेवा पुग्ने सम्भावना छ ।”

पूर्वीपहाडी जिल्लाहरू खोटाङ, भोजपुर, सोलुखुम्बु तथा सङ्खुवासभा सीमामा पर्ने यो मुन्दुम ट्रेल किरात समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ । नेपालका लागि यो नयाँ (भर्जिन) पर्यटकीय गन्तव्यस्थल मुन्दुम ट्रेलको पहिचान मैयुङ–टेम्के–साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले गरेको हो । खोटाङ र भोजपुरको सीमामा पर्ने खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको यो पदमार्ग तीन हजार एक सय ६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार सात सय ५० मिटरको साल्पापोखरी तथा चार हजार एक सय ६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ । पहाडैपहाडको चुचुरामा निर्माण सुरु गरिएको मुन्दुम ट्रेल पदमार्ग पूरा गर्न विदेशीका लागि करिब १३ दिन तथा नेपालीका लागि दश दिन लाग्ने गरेको छ ।

हिमाल नजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि डाँडैडाँडा यात्रा गर्दा थकानको महसुससमेत हुँदैन । पदमार्गमा अधिकांश किरात समुदायका बस्तीहरू रहेको तथा उनीहरूको मौखिक ग्रन्थ ‘मुन्मुम’ मा उल्लिखित किराती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले पदमार्गको नाम ‘मुन्दुम ट्रेल’ राखिएको पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईले बताउनुभयो । “छ वर्षअघिदेखि सुरु गरिएको मुन्दुम ट्रेल स्तरोन्नतिको काम करिब ६५ प्रतिशत पूरा भएको छ । आगामी चार वर्षभित्र सम्पूर्ण काम पूरा गर्ने योजनामा छौँ”, उहाँले भन्नुभयो, “पदमार्गबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्सेलगायत आठ हजार मिटरभन्दा अग्ला हिमालहरु सजिलै देख्न सकिन्छ । उच्च हिमाली शृङ्खला तथा सबैभन्दा होचो स्थानमा रहेको अरुण उपत्यकाका साथै तराईका फाँटहरू अवलोकन गर्न सकिने यो पदमार्गमा पर्यटकका लागि स्थानीयवासीले होमस्टे (घरबास) समेत विस्तार गरिरहेका छन् ।”

ठूल्ठूला घाँसेमैदान, फराकिला चौरीखर्क तथा भेडीगोठका साथै घोडचढी अर्थात् घोडा चढ्न पाउनुले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्दै आएको छ । दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घनाजङ्गल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो ।

मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, भीर मौरी र विभिन्न जङ्गली जनावरहरुसँग पनि त्यत्तिकै लुकामारी खेल्न पाइन्छ । सगरमाथा चुचुरोमा पहिलो पाइला टेकेका तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् २०१० सालमा यही पदमार्गको एउटा अंशको रुट प्रयोग गर्नुभएको जनाइएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–भोजपुर सडकखण्डसँग जोडिएकाले यो ‘मुन्दुम ट्रेल’ पदमार्ग बाह्य पर्यटकलाई समेत आवागमनमा सहज छ । यो ‘मुन्दुम ट्रेल’ पदमार्गको पूर्वाधार तयारी तथा अन्य विकासका लागि सङ्घीय सरकारले रु ५० लाख, पर्यटन बोर्डले रु २० लाख र भोजपुरको टेम्के मैयुङ गाउँपालिकाले रु १० लाख गरी रु ८० लाख बजेटले स्तरोन्नति गरिएको छ ।

स्विस सरकारकोसमेत लगानी रहेको यो पदमार्ग अवलोकन गर्न नेपालका लागि स्विस राजदूत एलिजावेथ भोन क्यापलर १३ अप्रिल २०२१ मा खोटाङ आउनुभएको थियो । खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङलाई ‘मुन्दुम ट्रेल’को स्टार्टिङ प्वइन्ट (प्रवेशद्वार) मानिएकाले राजदूत एलिजावेथ खोटाङ आउनुभएको हो ।

साकेला गाउँपालिका क्षेत्रभित्र पर्ने पदमार्गमा स्थानीय सरकारको ३० प्रतिशत, प्रदेश सरकारको ३५ प्रतिशत र स्विस सरकारको ३५ प्रतिशत गरी रु ९१ लाख ४५ हजार दुई सय ५२ मा ‘मुन्दुम ट्रेल’ स्तरोन्नतिको काम गरिएको छ । त्रिपक्षीय सम्झौताका आधारमा निर्माण सुरु गरिएको ‘मुन्दुम ट्रेल’को अवधारणा विसं २०७५ पुस २१ गते औपचारिक रुपमा अघि सारिएको हो ।

‘मुन्दुम ट्रेल’ पदमार्गको दायाँबायाँ चौडा गर्ने, सुक्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्ने लगायतका आधारभूत पूर्वाधारको काम भएको छ । खोटाङ र भोजपुरको पर्यटन प्रवर्द्धन तथा विकासमा ‘मुन्दुम ट्रेल’ पदमार्गले ठूलो सहयोग पुगेको प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामकुमार राई ‘पासाङ’ले बताउनुभयो ।

प्रारम्भिक चरणमा पदमार्गका रुपमा विकास गरिएको क्षेत्रमा सूचना पार्टी, विभिन्न सङ्केत चिह्न राख्ने तथा पदमार्ग निर्माण गर्नेजस्ता कामहरू गरिएको छ । त्यस्तै, मैयुङस्थित हाँसपोखरी नजिकैको नागीमा पाहुनाघर निर्माण गरिएको छ । मानव बस्ती कम पाइने पदमार्गमा पर्यटकको चहलपहल बढेसँगै उनीहरुका लागि स्थानीय गोठवालाले खाने तथा बस्ने व्यवस्था मिलाउने गरेका छन् । परम्परागत रुपमा सञ्चालन हुँदै आएको गोठलाई स्तरोन्नति गरेर ‘गोठ स्टे’ गोठ बासको व्यवस्था मिलाएर स्थानीय परिकार, चौँरीको दूध, फापर, कोदो र गहुँको ढिँडो, लोकल कुखुरा, रायोको साग, आलु, सिमीलगायत स्थानीय उत्पादनलाई प्राथमिकता दिएका छन् ।

पशुपालन गर्ने किसानले खर्क (पशुचौपाया चराउने ठाउँ) को रुपमा मात्र प्रयोग गर्दै आएको यो ठाउँ पर्यटकीय क्षेत्र बनेपछि स्थानीय बासिन्दासमेत हर्षित बनेका छन् । स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेतृत्व लगायतले ‘मुन्दुम ट्रेल’ पदमार्गको विकास गर्न लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।

कृषिमा १० वर्षे लगानी नीतिको तयारी, निजी क्षेत्रसँग अन्तरक्रिया

0

काठमाडौँ: नेपाल चेम्बर अफ कमर्सले कृषिको विकासमा सरकारको १० वर्षे लगानी नीति सम्बन्धमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसहित सरोकारवाला निकायसँग बृहत् अन्तरक्रिया गरेको छ ।

चेम्बर अफ कमर्सको जडीबुटी तथा वनजन्य समितिद्वारा यहाँ आयोजित कार्यक्रममा नेपालको कृषि विकासमा सरकारको १० वर्षे लगानी नीति, आत्मनिर्भर कृषिको सम्भावना र चुनौतीबारे निजी क्षेत्रका प्रतिनिधिसहित छलफल भएको थियो ।

कार्यक्रममा मन्त्री रामनाथ अधिकारीले पहिलो चरणमा कम्तीमा जीविकोपार्जन हुनेगरी कृषिखेती गर्नका लागि सरकारले सहजीकरण गर्ने बताउनुभयो । कृषिमा आत्मनिर्भर हुनेगरी अर्थतन्त्रको विकास र मुलुकलाई गरिबीबाट मुक्त गर्न सरकार प्रयासरत रहेको उहाँ बताउनुभयो । कृषि क्षेत्रमा आश्रित नागरिकको सङ्ख्या बढाएर बाँझो जमिनलाई खेतीयोग्य बनाउन आफूले प्रयास गरिरहेको मन्त्री अधिकारीको भनाइ थियो ।

कृषि क्षेत्रमा सरकारले दिने अनुदान र सहुलियत ऋण वास्तविक कृषकले पाउनेगरी व्यवस्था मिलाउन आफू प्रयासरत रहेको उल्लेख गर्दै उहाँले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताउनुभयो ।

कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले आफ्नो जमिन बाँझो राखेर झन्डै तीन खर्ब रुपैयाँ हाराहारीमा कृषिजन्य वस्तुहरु आयात हुनु मुलुकका लागि दुर्भाग्यपुर्ण भएको बताउनुभयो । उहाँले कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान र वृद्धिदर घट्नु भनेको आयात बढ्नु हो भन्नुभयो ।

बजेटको अभाव र विनियोजित बजेट पनि प्रभावकारी ढंगले खर्च हुन नसक्ने परिपाटीका कारण कृषिमा अपेक्षा अनुसारको उपलब्धि हासिल हुन नसकेको अध्यक्ष अग्रवालको भनाइ थियो । सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा कृषि मल कारखानाको स्थापना गर्न नेपाल चेम्बर अफ कमर्स तयार रहेको अध्यक्ष अग्रवालले बताउनुभयो ।

चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले जग्गाको हदबन्दीका कारण व्यावसायिक कृषि गर्न नसकिएको बताउनुभयो । उहाँले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरणका लागि लगानी गर्न निजी क्षेत्र तयार रहेको तर सरकारको नीति झन्झटिलो रहेको टिप्पणी गर्नुभयो ।

चेम्बर अफ कमर्सको जडीबुटी तथा वनजन्य समितिका सभापति कृष्णमान श्रेष्ठले कृषिमा सरकारको नीति तथा कार्यक्रम र आम कृषकको वास्तविक समस्याबीच तालमेल हुन नसकेको बताउनुभयो । कृषिसँग सम्बन्धित निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले कृषि क्षेत्रको समस्याबारे मन्त्री अधिकारीको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा चेम्बरले कृषिमन्त्री अधिकारीसमक्ष कृषि विकासमा सरकारको १० वर्षे लगानी नीति सम्बन्धमा ३८ बुँदे सुझावसमेत पेस गरेको छ ।

नयाँ युगका निम्ति योग्य नागरिक तयार गर्ने अभियान सुरु गरौँ : विजुक्छेँ

0

भक्तपुर: नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले नयाँ युगको निम्ति योग्य नागरिक तयार गर्ने अभियान सुरु गर्नुपर्ने बताउनुभएको छ ।

भक्तपुर नगरपालिकाले आयोजना गरेको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले नयाँ युगको निम्ति योग्य नागरिक तयार गर्ने अभियानको सुरुआत खेलकुदबाट गर्नुपर्ने बताउनुभएको हो । अध्यक्ष विजुक्छेँले शारीरिक रूपमा स्वस्थ व्यक्तिले समाजका लागि धेरै काम गर्न सक्ने भन्नुहुँदै त्यस्ता व्यक्ति विद्यालयबाटै तयार पार्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले खेलकुद महोत्सवको रूपमा सुरु गरेको प्रतियोगिता देशलाई आवश्यक राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी तयार गर्ने उद्देश्यले आयोजना गरेको बताउनुभयो ।

बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलगायतले खेलकुद देशका लागि हुनुपर्नेमा जोड दिनुभयो । कात्तिक १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा खेलकुदका विभिन्न १५ विधाका खेलका लागि ८४ वटा विद्यालयका दुई हजार ८४६ खेलाडीले भाग लिने भक्तपुर नपा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितामा विद्यालयस्तरीय टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो—खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाललगायत खेल हुनेछन् ।

वीरगञ्ज नाकाबाट सवारीसाधन आयातमा कमी

0

वीरगञ्ज (पर्सा): वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधन आयातमा कमी आएको छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा चारपाङ्ग्रे सवारीसाधनको आयात ६० प्रतिशतले कमी आएको हो । वीरगञ्ज नाका हुँदै पेट्रोलियम पदार्थ र विद्युतीय सवारीसाधन दूवैको आयातमा कमी भएको छ ।

चालु आवको असोज मसान्तसम्म रु ४० करोड ४७ लाख ६३ हजार मूल्यपर्ने दुई सय १५ वटा जीप, कार र भ्यान आयात भएका छन् । गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा ६६ दशमलव ०९ प्रतिशतले घटेको हो । राजस्व सङ्कलनका आधारमा भने ४९ दशमलव ९३ प्रतिशतले कमी भएको हो ।

वीरगञ्ज भन्सार कार्यालय प्रमुख दीपक लामिछानेले चारपाङ्ग्रे सवारीसाधन वीरगञ्ज नाकाभन्दा अन्य नाकाबाट भित्र्याउने क्रम बढेको बताउनुभयो । ‘‘व्यवसायीले जुनसुकै नाकाबाट सवारीसाधन भित्र्याए पनि समग्रमा राजस्व मुलुकभित्रै भित्रिने हो,’’ उहाँले भन्नुभयो, ‘‘चालु आवको साउन र भदौ महिनाको तुलनामा वीरगञ्ज भन्सार कार्यालयले सङ्कलन गर्ने समग्र राजस्वमा वृद्धि भएको छ ।’’

गत आवको तीन महिनामा रु ९० करोड ५७ लाख १६ हजार मूल्यपर्ने छ सय ३४ वटा जीप, कार र भ्यान आयात गरिएको थियो । पेट्रोलियम पदार्थबाट चल्ने चारपाङग्रे सवारीसाधन मात्र नभएर गत आवको तीन महिनामा चालु आवको सोही अवधिमा विद्युतीय कार, जीप र भ्यानको आयातमा कमी आएको हो ।

चालु आवको तीन महिनामा वीरगञ्ज नाकाहुँदै रु नौ करोड ७७ लाख ९० हजार मूल्यपर्ने ६७ वटा मात्रै विद्युतीय कार, जीप र भ्यान आयात भएको छ । प्रमुख भन्सार प्रशासक लामिछानेले विद्युतीय सवारीसाधन वीरगञ्ज नाकाको तुलनामा उत्तरी नाकाबाट धेरै भित्रिने गरेको बताउनुभयो ।

गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा विद्युतीय सवारीसाधनको आयात परिमाणको हिसाबले ६४ दशमलव ७४ प्रतिशतले घटेको हो । सोही अवधिमा विद्युतीय सवारीसाधनको आयातबाट हुने राजस्व सङ्कलनमा ५९ दशमलव ६७ प्रतिशतले कमी आएको छ । गत आवको सोही अवधिमा रु ३५ करोड नौ लाख ९४ हजार मूल्यपर्ने एक सय ९० वटा विद्युतीय सवारीसाधन आयात भएको थियो ।

चालु आवको तीन महिनामा रु सात करोड ३२ लाख १७ हजार मूल्य पर्ने ३२ वटा ट्रक र मिनि ट्रक आयात भएको छ । गत आवको तुलनामा ६३ दशमलव ६४ प्रतिशतले आयात घटेको हो । गत आवको सोही अवधिमा ट्रक र मिनि ट्रक रु २० करोड १३ लाख १२ हजार मूल्य पर्ने ८८ वटा भित्रिएका थिए । चालु आवको तीन महिनामा पिकअप तथा डेलिभरी भ्यानको आयात पनि घटेको छ । चालु आवको तीन महिनामा रु नौ करोड ७५ लाख तीन हजार मूल्य पर्ने ६८ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको छ ।

गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा पिकअप तथा डेलिभरी भ्यानको आयात ६३ दशमलव ६४ प्रतिशतले घटेको हो । गत आवको सोही अवधिमा रु १४ करोड १५ लाख मूल्यपर्ने एक सय ३२ वटा पिकअप तथा डेलिभरी भ्यानको आयात भएको थियो ।

अमेरिकाको म्याकडोनाल्डबाट ब्याक्टेरियाको संक्रमण फैलियो, १० राज्य प्रभावित

0

काठमाडौं: अमेरिकाको म्याकडोनाल्ड बर्गरबाट ब्याक्टेरियाको संक्रमण (ई. कोलाई) फैलिएको छ। म्याकडोनाल्डको क्वार्टर पाउन्डर ह्याम्बर्गर खाँदा एक व्यक्तिको मृत्यु भएको छ । ४९ जना बिरामी छन्, जसमध्ये १० जना अस्पतालमा भर्ना छन् ।

यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार सेप्टेम्बरको अन्त्यमा सुरु भएको यो ई. कोलाई भाइरस हालसम्म १० पश्चिमी राज्यहरूमा फैलिएको छ जसमध्ये अधिकांश कोलोराडो र नेब्रास्कामा रिपोर्ट गरिएको छ।

म्याकडोनाल्ड्सले क्वार्टर पाउन्डर ह्याम्बर्गरबाट काटेको प्याज र बीफ प्याटीहरू हटाएको छ जब एक व्यक्ति बर्गर खाएपछि बिरामी परेका थिए। अहिले छानबिन चलिरहेको छ ।

कम्पनीले भन्यो- जुन रेस्टुरेन्टमा गुनासो आएको थियो, त्यहाँ म्याकडोनाल्ड्सका अध्यक्ष जो एर्लिङ्गरले एक भिडियो सन्देशमा भनेका छन्, ‘हाम्रो लागि खाद्य सुरक्षा सबैभन्दा महत्त्वपूर्ण छ । बर्गरको गुनासो आएका क्षेत्रका रेष्टुरेन्टबाट क्वार्टर पाउन्डर ह्याम्बर्गर अस्थायी रूपमा हटाउने निर्णय गरिएको छ ।

उनले भने कि अधिकांश राज्य प्रभावित छैनन्। गुनासो आएका रेस्टुरेन्टमा एउटै कम्पनीबाट प्याज आपूर्ति भइरहेको कम्पनीले स्वीकार गरेको छ ।

इ कोलाइ ब्याक्टेरिया हाम्रो आन्द्रामा पनि हुन्छ । यसका केहि स्ट्रेनहरू घातक हुन्छन् । इ कोलाइ एक प्रकारको ब्याक्टेरिया हो जसले तपाईंको पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ। यदि तपाइँ दूषित खाना खानुहुन्छ वा प्रदूषित पानी पिउनुहुन्छ भने केहि तनावहरूले पखाला हुन सक्छ।

इमरान खानकी श्रीमती बुशरा ९ महिनापछि जेलबाट रिहा

0

काठमाडौं: पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पत्नी बुशरा बीबीले तोशाखानासँग सम्बन्धित मुद्दामा जमानत पाएकी छिन् ।

इस्लामावाद उच्च अदालतले बुशरालाई १० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ । बुशरा विगत ९ महिनादेखि रावलपिंडीको अडियाला जेलमा बन्दी थिइन् । उनलाई कडा सुरक्षामा यहाँबाट रिहा गरिएको हो ।

रिहा भएलगत्तै बुशरा बनी गालास्थित आफ्नो घर गएकी थिइन् । यहाँ उनले पाकिस्तान तहरीक-ए-इन्साफ पार्टी (पीटीआई) का नेताहरूसँग भेट गर्नेछिन्। उनको रिहाइको जानकारी पीटीआईले ट्विटरमा पोस्ट गरेको छ।

यसअघि १३ जुलाईमा इमरान खान र बुशरालाई इद्दत अर्थात् नक्कली विवाह मुद्दामा सफाइ दिइएको थियो । तर, त्यसको केही घन्टापछि नै दुवैलाई नेशनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) ले पक्राउ गरेको थियो । इमरान खान अहिले पनि यही जेलमा छन् ।

इमरानलाई रावलपिंडीको अडियाला जेलमा तीनवटा विभिन्न मुद्दामा ३५० दिनदेखि राखिएको छ। इस्लामावादको स्थानीय अदालतले अगस्ट ५, २०२३ मा उनलाई तोशाखाना मुद्दामा दोषी ठहर गरेको थियो।

त्यसपछि उनलाई इस्लामावादको जमान पार्कस्थित घरबाट पक्राउ गरी जेल पठाइएको थियो । पछि उनी थप २ मुद्दामा दोषी ठहर भएका थिए । तर, यी सबै मुद्दामा इमरानलाई सफाइ दिइएको छ । नक्कली निकाह मुद्दामा जुलाइ १३ मा रिहा भएपछि उनी तोशखानासँग सम्बन्धित अर्को मुद्दामा पक्राउ परेका थिए ।

ललितपुरलगायत १७ जिल्लाका सिडिओ हेरफेर (सूची सहित)

0

काठमाडौं: सरकारले ललितपुर, रुपन्देही लगायत १७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु केही सहायक प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गरेको छ।

गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सी बहादुर श्रेष्ठको गृहमन्त्रालयमा सरुवा गरेर उक्त ठाउँमा मन्त्रालयका सहसचिव रमेश ढकाललाई पठाइएको छ।

यस्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरेर त्यहाँ बासुदेव घिमिरेलाई पठाएको छ।

गहृमन्त्रालयले सहसचिव तथा उपसचिव स्तरका कुल २७ जना कर्मचारीहरुको सरुवा गरेको हो।

जसमा विभिन्न जिल्ला प्रशासन कार्यालय र इलका प्रशासन कार्यालयहरुमा कार्यारत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा समेत भएको छ।

को कहाँ सूची

८४ सम्म सडक र सदन रास्वपाको हुने उद्घोष

0

काठमाडाैं: आफ्ना पार्टीका सभापति रवि लामिछानेको पक्राउ विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेर प्रहरीको हिरासतमा रहेका लामिछानेको पक्राउको विरोधमा रास्वपाले शुक्रबारबाट काठमाडौं केन्द्रीत प्रदर्शन थालेको हो। लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरको रास्वाको आरोप छ।

पक्राउको विरोधमा ऐकवद्ध हुन आह्वान गर्दै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ। प्रदर्शनका क्रममा रास्वपा नेता तथा कार्यकर्ताले भ्रष्ट सरकार चाहिँदैन, राजनीतिक प्रतिशोध साँध्न पाइदैन, सत्य कहिल्यै ढल्दैन, तानाशाही अव चल्दैन, दुईतिहाईको दम्भ बन्द गर लगाएतका नारा लगाएका थिए।

प्रदर्शनका क्रममा रास्वपा सांसद हरि ढकालले रास्वपा संसदमा आएपछि ठूला भनिएका दलहरुले निरन्तर पार्टी र नेताहरुमाथि षड्यन्त्र गरेको आरोप लगाए। उनले ८४ को निर्वाचन अघिसम्म सडक र सदन रास्वपाको हुने जिकिर गरे।

कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणलगायतमा अनुसन्धान गर्ने भन्दै म्याद थपेर अनुसन्धान गरिरहेको छ। कास्कीमा बयान सकिनेबित्तिकै रुपन्देही लैजाने प्रहरीको तयारी छ।