Saturday, June 20, 2026
Home Blog Page 619

बिआरआइ सम्झौतामा ऋण लिने भनेर कतै लेखिएको छैन: परराष्ट्रमन्त्री

0

काठमाडौं: परराष्ट्रमन्त्री डाआरजु राणा देउवाले नेपाल सरकार र चीनबीच हालै सम्पन्न बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआइ) सम्झौतामा ऋण लिने भन्ने विषय कतै उल्लेख नभएको स्पष्ट गरेकी छन्।

नेपाल सरकार र चीनबीच हालै भएको सो सम्झौताका बारेमा गहिरो अध्ययन नगरी हलुकारूपमा टिकाटिप्पणी भइरहेको उनको भनाइ थियो।

इन्टरनेसनल कोर्ट अफ जस्टिस् (आइसिजे)मा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालका तर्फबाट धारणा राख्न नेदरल्याण्ड्स् प्रस्थान गर्नुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भनिन्, ‘हामीले बिआरआइअन्तर्गत सहयोगमा आधारित परियोजनामा हस्ताक्षर गरेका हौँ, ऋण लिने भन्ने कुरा कतै छैन।’

सो सम्झौताका बारेमा बुझ्दै नबुझी टिप्पणी गरिएको उनको भनाइ थियो। बिआरआइ सम्झौताअनुसारका परियोजनाहरू पनि दुवै देशको सहमतिबाट अघि बढाइने विषय स्पष्टसँग लेखिएकाले नेपालको सहमतिअनुसार नै सो सम्झौता अघि बढ्ने पनि उनले स्पष्ट गरिन्।

उनले भनिन्, ‘ऋण लिने भन्ने कुरा त लिने पक्षको मञ्जुरी र आग्रहमा हुने हो नि। हामीले लिँदैनौँ, हामीलाई आवश्यक छैन भने दिने पक्षले पनि कहाँ जबर्जस्ती गर्छ त ? त्यसैले सरकारले ऋण लिनेगरी सम्झौतामा हस्ताक्षर गर्‍यो भन्नु बचपना मात्र हो।’

नेपालले चीनसँग बिआरआइ सम्झौताअन्तर्गत अनुदानमा परियोजनाहरू निर्माण गर्नेगरी हस्ताक्षर गरेको र त्यो पनि सुरक्षा या अन्य कुनै विषयमा नभएर ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्स’ अन्तर्गत सहमति गरेको उनले जानकारी गराइन्।

नेपाल अहिले ऋण लिन सक्ने अवस्थामा छैन भन्ने कुरा आफूले चिनियाँ विदेशमन्त्रीसँग पनि राखेको र उनीहरू यस विषयमा सहमत भएपछि निकै मेहनत गरेर नेपालले बिआरआइअन्तर्गत नै कोअपरेसन फ्रेमवर्क निर्माण गरी दुवै पक्षको सहमतिअनुसार हस्ताक्षर भएको मन्त्री डा राणाले बताइन्।

उनले बिआरआइअन्तर्गत नेपालले चीनसँगको व्यापार, हवाई एवं स्थलगत कनेक्टिभिटी, पूर्वाधार निर्माण तथा आर्थिक सहायताजस्ता विषयलाई प्राथमिकतामा राखेको बताइन्।

मन्त्री डा राणा अन्तर्राष्ट्रिय अदालत (आइसिजे)मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र नेपालले पाउनुपर्ने क्षतिपूर्तिबारे कुरा उठाउन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेकी हुन्।

अन्तर्राष्ट्रिय अदालतमा नेपालले पहिलो पटक नेपालमा जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था र धारणा राख्न लागेको हो।

विश्वका धनी तथा विकसित मुलुकहरूले कार्बन उत्सर्जन गर्दा नेपालजस्ता मुलुकलाई परेको असरका साथै यसका कारण नेपालले पाउनुपर्ने क्षतिपूर्तिका विषयमा मन्त्री डा राणाले यही मङ्सिर २४ गते सो अदालतमा कुरा उठाउँदै छन्।

उनको प्रतिनिधिमण्डलमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र परराष्ट्र मन्त्रालयका अधिकारीहरू छन्।

कर्णाली याक्ससँग विराटनगर ७ रनले पराजित

0

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किङ्सलाई पराजित गर्दै कर्णाली याक्सले दोस्रो जित हासिल गरेको छ। त्रिवि क्रिकेट मैदानमा शनिबारसम्पन्न दोस्रो खेलमा विराटनगर किङ्सलाई ७ रनले पराजित गर्दै कर्णाली याक्सले दोस्रो जित निकालेको हो।

कर्णालीले विराटनगरलाई १३४ रनको लक्ष्य दिएको थियो। कर्णालीका लागि नन्दन यादवले ३ र विपिनप्रसाद शर्माले २ विकेट लिएका थिए। कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र युनिश सिंह ठकुरीले समान १–१ विकेट लिए।

विराटनगरका निकोलस किर्तोन ४०, लोकेश बम १९ र दीपक बोहराले १८ रन जोडे अन्यको खेल सम्झन योग्य रहेन।

यसअघि देव खनाल र विलियम बोसिस्टोको अर्धशतकीय पारीमा कर्णाली याक्सले उक्त लक्ष्य पेश गरेको थियो। कर्णाली याक्सका लागि देव खनालले ५३, विलियम बोसिस्टोले ६६, शिखर धवनले ५ रन बनाए पनि अरु खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।

कर्णाली याक्सका लागि जिसन मकसुदले ३ बल खेलेर २ रन जोड्दा अर्जुन घर्तीले ४ बलमा मात्र १ रनको योगदान दिए। नन्दन यादव, विपिनप्रसाद शर्मा भने बिना कुनै रन पभेलियन फर्किनु परेको थियो।

विराटनगर किङ्सका लागि प्रतिश जीसीले ४ विकेट लिँदा वसिर अहमद र क्रिस सोलले समान २–२ विकेट लिएका थिए। अकिब इलियासले कर्णाली याक्सको १ विकेट झारेका थिए।

न्यायालय लयमा आयो अब गरिमामय बनाउनुछ, साथ दिनुस् : प्रधानन्यायाधीश

0

काठमाडौँ: प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सबैको अथक प्रयासले अहिले न्यायालय एउटा लयमा फर्किएको बताउनुभएको छ । काठमाडौँमा वरिष्ठ अधिवक्ताहरूलाई प्रमाणपत्र वितरण समारोहमा उहाँले लयमा फर्किएको न्यायालयलाई अब गरिमामय बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रधानन्यायाधीश भन्नुभयो, “न्यायालय लयमा फर्किएकामा मात्रै चित्त बुझाउने हो कि गरिमामय बनाउने हो, यो आफैँ गरिमामय त बन्दैन है । यसलाई गरिमामय बनाउने जिम्मेवारी वर्तमान परिवेशले हामी सबैलाई सुम्पेको छ, हामीले आफूलाई निर्मम समीक्षा गर्न जरूरी छ, हामीले न्यायालयलार्ई गरिमामय बनाउन सकिरहेका छौँ कि छैनौँ, त्यसतर्फ हाम्रो भूमिका उन्मुख छ कि छैन ? विचार गर्नुपर्ने भएको छ ।” उहाँले आफू भने न्यायालयलाई गरिमामय बनाउन तयार रहेको बताउँदै साथ दिन वरिष्ठ अधिवक्ताहरूसँग अनुरोध पनि गर्नुभयो ।

प्रधानन्यायाधीश राउतले थप्नुभयो, “तपाईंहरूको साथ सहयोग र सहकार्य गर्न पाए न्यायालय गरिमामय नहुने कुरै छैन, एकपटक प्रयास त गरौँ, म नम्रतापूर्व सम्पूर्ण वरिष्ठ अधिवक्ताहरूमा नमन गर्न चाहन्छु ।” उहाँले वरिष्ठ अधिवक्ताले उच्च तहको मर्यादाको अभ्यास गर्नुपर्नेमा जोड दिँदै नैतिकताको लक्ष्मण रेखाभित्र बस्न सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले निजी स्वार्थ, अनुचित, नाजायज र बेमनासिब कुरालाई त्याग्न सकिएन भने नैतिकता जोगाउन नसकिने बताउनुभयो ।

प्रमाण र काुननका आधारमा न्याय दिनै सकिँदैन भन्ने जस्ता मुद्दा अदालत पुगेको सन्दर्भ जोड्दै उहाँले भन्नुभयो, “कहिले साथी, कहिले पावर सेन्टरको दबाबमा कहिलेकाहीँ आकर्षक पारिश्रमिकको आधारमा पुग्छ नि, त्यतिखेर टिक्दै नटिक्ने मुद्दामा वरिष्ठज्यूहरूको अदालतमा उपस्थिति देखियो भने इमेज कस्तो होला ?, स्तर कस्तो होला ? अरूले पनि नियाल्छ नि, जस्तै हामी न्यायाधीशहरूलाई अरूले नियालेका छन् नि, इमेज कस्तो हुन्छ ? यसको उत्तर मैले दिनु शोभनीय हुन्न, यो जिम्मा मैले तपाईंहरूलाई छाडेँ ।”

महान्यायाधिवक्ता रमेश बडालले वरिष्ठ अधिवक्ताको गरिमा जोगाउन कानुन व्यवसायीहरूलाई अनुरोध गर्नुभयो । अर्धन्यायिक निकायमा वरिष्ठ अधिवक्ताहरू जान नहुने, कुनै पनि मुद्दाका बहसमा जाँदा एकजना अधिवक्ता सहयोगी भएर जानुपर्ने स्पष्ट व्यवस्था भए पनि त्यो अभ्यास नभएको उल्लेख गर्दै उहाँले यसतर्फ वरिष्ठ अधिवक्ताहरूले ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।

समारोहमा वरिष्ठ अधिवक्ताको प्रमाणपत्र ग्रहण गर्नुभएका डा भीमार्जुन आचार्यले अब न्याय निरूपणमा प्रविधिको विकासले चुनौती खडा गरेकाले त्यसतर्फ ध्यान दिन सकिएन भने गरिमामाथि आँच आउने बताउनुभयो । उहाँले अधिवक्ताहरूले पनि विधागत विशेषज्ञ भएर अघि बढ्न जरूरी रहेको औँल्याउनुभयो ।

समारोहमा सर्वाेच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठ अधिवक्ता कविता बस्नेतलगायतले धारणा राख्नुभएको थियो । आज कार्यक्रममा प्रधानन्यायाधीश राउतले एक सय ५९ जना वरिष्ठ अधिवक्ताहरूलाई प्रमाणपत्र दिनुभएको थियो ।

सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्छ: कोइराला

0

चितवन : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सबै राजनीतिक दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वर्तमान सरकार गठनका बेला भएको सहमतिअनुसार संविधान संशोधन हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली कांग्रेस र नेकपा (एमाले)ले मात्रै संविधान संशोधन गरेर हुँदैन ।” फरक प्रसङ्गमा उहाँले वर्तमान सरकार परिवर्तन नहुने बताउनुभयो ।

सुशासन कायम गर्न सबैको सक्रिय सहयोग अपरिहार्य भएकामा नेता कोइरालाले जोड दिनुभयो । विआरआईसम्बन्धी चीन र नेपालबीचको सम्झौता ऋण नभई अनुदान हुने बताउनुभयो ।

साढे ४९ अर्ब बराबरको आइपिओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा

0

काठमाडौँ: पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ ।

त्यस्तै, धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा कम्पनीले आफ्नो पुँजी वृद्धि गर्न धितोपत्रको थप निष्काशन (एफपिओ) प्रक्रियामा रहेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार कूल रू ४९ अर्ब ४८ करोड ३० लाख ४९ हजार पाँच सय ९६ बराबरको आईपिओ पाइपलाइनमा छ । विभिन्न क्षेत्रका ८० वटा कम्पनीको ३४ करोड १९ लाख एक हजार ८० कित्ता शेयर आईपिओका लागि बोर्डको प्रक्रियामा छ ।

होटल तथा पर्यटन क्षेत्रका सात वटा कम्पनीले रु तीन अर्ब ३१ करोड १० लाख बराबरको तीन करोड ५३ लाख ६० हजार कित्ता आइपिओ जारी गर्न निवेदन दिएका छन् । साथै ४० वटा जलविद्युत् आयोजनाले कूल रु १६ अर्ब ४१ करोड ३० लाख ७९ हजार चार सय बराबरको १६ करोड ३६ लाख पाँच हजार चार सय ६४ कित्ता बराबर आइपिओ जारी गर्नका लागि बोर्डको प्रक्रियामा रहेका छन् ।

लगानी समूहअन्तर्गत तीन वटा कम्पनीले रु दुई अर्ब ८४ करोड ३३ लाख ५० हजार बराबरको एक करोड ५६ लाख ७३ हजार पाँच सय कित्ता आइपिओ जारी गर्नका लागि पाइपलाइनमा छन् । उत्पादन तथा प्रशोधनतर्फ १५ वटा कम्पनीले रु २२ अर्ब ६८ करोड ४७ लाख ७६ हजार छ सय ९६ बराबरको नौ करोड १६ लाख ७५ हजार छ सय ८४ कित्ता आईपिओ निष्कासनको प्रक्रियामा छन् ।

धितोपत्र बोर्डका अनुसार जलविद्युत् समूहतर्फ सबैभन्दा धेरै ४० वटा कम्पनीले आइपिओ निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् । सानिमा हाइड्रोपावर लिमिटेड, हिम स्टार ऊर्जा कम्पनी लिमिटेड, भुजुङ हाइड्रोपावर लिमिटेड, दरमखोला हाइड्रो इनर्जी लिमिटेड, सान्भी इनर्जी लिमिटेड, बेनी हाइड्रोपावर लिमिटेडलगायत कम्पनीको आइपिओ निष्कासन पाइपलाइनमा छ ।

त्यस्तै, यमलिङ्ग हाइड्रोपावर लिमिटेड, मबिलुङ्ग हाइड्रोपावर लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड, टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड, विकास हाइड्रोपावर कम्पनी, कालिञ्चोक हाइड्रोपावर लिमिटेडलगायत कम्पनीहरु आइपिओ पाइपलाइनमा रहेका छन् ।

होटल तथा पर्यटन समूहअन्तर्गत सात कम्पनीको आइपिओ पाइपलाइनमा छन् । यो समूहमा एपेक्स हस्पिटालिटी लिमिटेड, होटल फरेस्ट इन लिमिटेड, अर्केड होल्डिङ्स लिमिटेड, अन्नपूर्ण केबल कार, बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड, अकामा होटल लिमिटेड, ठमेल प्लाजा होटल एण्ड स्वीट्स लिमिटेड आइपिओ निष्काशनका लागि पाइपलाइनमा छन् ।

लगानी समूहतर्फ वरुण इन्भेष्टमेन्ट लिमिटेड, सिड इनर्जी लिमिटेड र शिवम् होल्डिङ्स लिमिटेडले आइपिओ ल्याउँदैछन् । उत्पादन तथा प्रशोधन समूहतर्फ १५ कम्पनीको आइपिओ पाइपलाइनमा छ । एकोर्ड फर्मास्युटिकल्स लिमिटेड, एसवाई प्यानल नेपाल लिमिटेड, सूर्य सिमेन्ट इन्ड्रस्ट्रिज लिमिटेड, मारुती सिमेन्ट्स लिमिटेड, स्मार्ट डोर्स लिमिटेड, पाल्पा सिमेन्ट इन्ड्रस्ट्रिज लिमिटेड, ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडलगायत कम्पनीको आइपिओ आइँदैछ । त्यस्तै, लक्ष्मी टेक्नोप्लास्ट लिमिटेड, श्री डिस्टिलरी लिमिटेड, सोपान फर्मास्युटिकल्स लिमिटेड, भूगर्भ सिमेन्ट लिमिटेड, रिद्धिसिद्धि सिमेन्ट लिमिटेड, सागर डिस्टिलरी लिमिटेड र अम्बे स्टील्स लिमिटेडले आइपिओ ल्याउने तयारी गरिहेका छन् ।

लघुवित्त समूहतर्फ स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ निष्कासनका लागि बोर्डमा विचाराधिन छ । त्यस्तै, लघुबीमा (माइक्रो इन्स्योरेन्स) तर्फ क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपिओ जारी गर्न बोर्ड समक्ष निवेदन दिएका छन् ।

अन्य समूहका १० कम्पनी आइपिओ पाइपलाइनमा छन् । ट्रेड टावर लिमिटेड, कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड, डिस मिडिया नेटवर्क लिमिटेड, आइएमई लिमिटेड, हस्पिटल फर एड्भान्स मेडिसिन एण्ड सर्जरी सर्जरी (हेम्स हस्पिटल) लिमिटेड, पिअर इनर्जी लिमिटेड, नेपाल ब्रोडकास्टिङ च्यानल लिमिटेड, कैलाश हेलिकप्टर सर्भिस लिमिटेड, छायादेवी कम्प्लेक्स लिमिटेड र बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इन्ड्रस्टिजले आइपिओ ल्याउँदैछन् ।

शिक्षालाई ठीक ढङ्गले अगाडि बढाउनुपर्छ : सभामुख घिमिरे

0

पाटन (ललितपुर): प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शिक्षालाई ठीक ढङ्गले लैजान सकेमात्र समाजका सबै समस्या हल गर्न सकिने बताउनुभएको छ ।

शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज ललितपुरको जावलाखेलमा आयोजित १६ औँ वार्षिक साधारणसभामा सभामुख घिमिरेले शिक्षाको ज्ञान र चेतना भर्ने शिक्षकले समाजलाई कता लैजाने भन्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

“शिक्षक शिक्षाको चेतना भर्ने समाजका अगुवा हो, आफू जलेर समाजलाई अगाडि बढाउने शिक्षकले समाजको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ, समाज परिवर्तनमा शिक्षकले धेरै काम गरेका छन्, राजनीतिक विभाजनले गर्दा शिक्षा क्षेत्रमा धेरै प्रगति हुन सकेको छैन, परिवर्तनका लागि शिक्षकहरू एक ठाउँमा उभिनु जरूरी छ,” सभामुख घिमिरेले भन्नुभयो ।

उहाँले शिक्षकहरूको हीतका लागि सानोसानो पूँजी जुटाएर काम गरेको सहकारी संस्थाले उत्कृष्ट काम गर्दै देशभर अगुवाई गरेर अगाडि बढेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “धेरै प्रयत्न गरिएको छ, राजनीतिक दलहरूबीच छलफल गरी आधारभूत कुराहरू टुङ्गोमा पुर्‍याएर निकास दिने तयारीमा छौँ ।”

साधारणसभामा नेपाल राष्ट्रिय शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष विष्णु भण्डारीले शिक्षकहरूद्वारा सञ्चालित ५४ जिल्लाका सहकारीलाई एकत्रित बनाएर बैंकिङ कारोबारमा लैजानुपपर्नेमा जोड दिनुभयो ।

साधरणसभामा सहकारीका सञ्चालक समितिका अध्यक्ष शुक्र थापाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

मधेस प्रदेशमा धान उत्पादन बढ्यो

0

जनकपुरधाम: मधेस प्रदेशमा चालू आर्थिक वर्षमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिकटन धान उत्पादन भएको छ । गत आर्थिक वर्षमा १२ लाख ९६ हजार छ सय ७ मेट्रिकटन धान उत्पादन भएको थियो ।

गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा दुई लाख पाँच हजार दुई सय ५१ मेट्रिकटन बढी धान उत्पादन भएको कृषि प्रसार अधिकृत रोशनकुमार मेहताले बताउनुभयो । रोपाइँ र त्यसपछिको समयमा पानी परेको थियो भने मल र बीउ समयमा नै उपलब्ध भएकाले उत्पादन बढेको उहाँको तर्क छ । गत वर्षको तुलनामा यस वर्षमा पाँच हजार दुई सय हेक्टर बढी जमिनमा धानखेती गरिएको थियो ।

गत वर्ष प्रतिहेक्टर तीन दशमलव ५० मेट्रिकटन धान उत्पादभएको थियो भने चालू आवमा प्रतिहेक्टर चार मेट्रिकटन उत्पादन भएको छ । सबैभन्दा बढी सप्तरीमा तथा सबैभन्दा कम रौतहटमा भएको छ । सप्तरीमा दुई लाख ६१ हजार एक सय २० मेट्रिकटन, रौतहटमा एक लाख ५० हजार चार सय ८० मेट्रिकटन, पर्सामा एक लाख ८४ हजार सात सय ४९ मेट्रिकटन, सर्लाहीमा एक लाख ८२ हजार एक सय ६० मेट्रिकटन र धनुषामा एक लाख ६६ हजार दुई सय ६० मेट्रिकटन धान उत्पादन भएको छ ।

यसैगरी, महोत्तरीमा एक लाख ६७ हजार सात सय ७० मेट्रिकटन, सिरहामा दुई लाख नौ हजार पाँच सय २० मेट्रिकटन र बारामा एक लाख ८० हजार तीन सय मेट्रिकटन धान उत्पादन भएको अधिकृत मेहताले जानकारी दिनुभयो ।

यसैबीच, यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको जनाएको छ ।

आजका लागि विदेशी मुद्राको विनिमय दर

0

काठमाडौँ: नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ सात पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ५७ र बिक्रीदर एक सय ७३ रूपैयाँ ३३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५४ रूपैयाँ आठ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ७६ पैसा कायम गरिएको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८८ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ २ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ सात र बिक्रीदर एक सय ७२ रूपैयाँ ८३ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५३ रूपैयाँ एक पैसा र बिक्रीदर एक सय ५३ रूपैयाँ ६९ पैसा कायम गरिएको थियो ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रूपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रूपैयाँ ३० पैसा र बिक्रीदर ९६ रूपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रूपैयाँ ९२ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रूपैयाँ ९८ पैसा र बिक्रीदर नौ रूपैयाँ दुई पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६१ पैसा र बिक्रीदर १८ रूपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ र बिक्रीदर ३६ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ नौ पैसा र बिक्रीदर ३७ रूपैयाँ २५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९८ पैसा र बिक्रीदर तीन रूपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ५९ पैसा र बिक्रीदर ३० रूपैयाँ ७३ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रूपैयाँ ५२ पैसा र बिक्रीदर नौ रूपैयाँ ५६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ४३ पैसा र बिक्रीदर १२ रूपैयाँ ४९ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ १८ पैसा र बिक्रीदर १९ रूपैयाँ २७ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ३८ पैसा र बिक्रीदर १७ रूपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रूपैयाँ ५ पैसा र बिक्रीदर चार सय ४२ रूपैयाँ, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रूपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ १४ पैसा, ओमनि रियाल एकको खरिदर तीन सय ५१ रूपैयाँ १९ पैसा, बिक्रिदर तीन सय ५२ रूपैयाँ ७५ पैसा र भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

पत्रकार महासङ्घको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी

0

काठमाडौँ: यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी दिनुभएको छ । सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको छ ।

गिरी प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिनुभएको हो भने शर्माले प्रेस चौतारीसहित प्यानलबाट उम्मेदवारी दिनुभएको छ । त्यसैगरी, बिष्टले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागार्इं, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीसहित चारजनाको उम्मेदवारी परेको छ । चौलागाई चौतारी नेतृत्वको प्यानलका उम्मेदवार हुनुहुन्छ । पुरी प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुनुहुन्छ ।

उपाध्यक्ष महिलामा गङ्गा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ । बराल प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुनुहुन्छ भने पण्डित चौतारी नेतृत्व प्यानलको उम्मेदवार हुनुहुन्छ । त्यसैगरी, महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ । जसमा दाहाल चौतारी नेतृत्वको प्यानलबाट उम्मेदवार हुनुहुन्छ भने न्यौपाने सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुनुहुन्छ । ५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि एक सय ३३ जनाको उम्मेदवारी परेको छ । महासङ्घको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न समयसीमा तोकिएकामा उक्त समयसीमाभित्र ४७ पदका लागि एक सय ३३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

कर्णालीमा ३३ आयोजना अलपत्र : ‘निर्माण व्यवसायीलाई अन्तिम मौका !’

0

काँक्रेविहार (सुर्खेत): लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल सुरू गरिएको छ । मन्त्रालयले अलपत्र परेका ठेक्काको पटकपटक म्याद थपे पनि समस्य समाधान नभएपछि मन्त्रालयमा निर्माण व्यवसायीसँग छलफल सुरू गरेको हो ।

मन्त्री शेरबहादुर बुढा, सचिव तथा अन्य अधिकारीको सहभागितामा निर्माण व्यवसायीलाई संयुक्त रूपमा राखेर समस्य र समाधानका उपायबारे छलफल सुरू गर्नुभएको मन्त्रीका सूचना प्राविद्यि सहायक टेकबहादुर शाहीले जानकारी दिनुभयो । कर्णालीमा ३३ वटा ठूला आयोजनाहरू अलपत्र पर्दै आएका छन् ।

अधिकांश अलपत्र पारिएका ठेक्काको चारपटकसम्म म्याद थप गरिएको पाइएको छ । अति जरूरी भएको ठाउँमा समेत ठेक्का लिएर निर्माण व्यवसायी सम्पर्कविहीन हुने गरेको जिल्लास्थित कार्यालय प्रमुखले गुनासो गर्दै आएका छन् । सोही गुनासो आधारमा निर्माण व्यवसायीलाई मन्त्रालयमा बोलाएर अन्तिम पटक समय दिएर काम गर्न आग्रह गरिएको मन्त्री बुढाले बताउनुभयो । उहाँले भन्नुभएको छ – काम नगर्ने हो भने बाटो खुल्ला गर्नुपर्‍यो, हैन भने तत्काल कम सुरू गर्नुपर्‍यो ।

कहाँ कहाँ छन् अलपत्र आयोजना ?

तीस प्रतिशतमात्र भौतिक प्रगति भएको डोल्पाको दुनै सरस्वती मन्दिरदेखि तिब्लागाउँ थरगाउँ काँडातलीसम्मको दोस्रो ठेक्को काम अलपत्र पर्दै आएको छ । श्रेया जुगल जेभीले उक्त ठेक्का लिएको छ । विसं २०७९ असार १६ गते उक्त ठेक्काको सम्झौता भएको थियो । विसं २०८१ मङ्सिर २३ गते यो ठेक्काको अन्तिम भाका रहेको छ ।

जाजरकोटको छेडा थलह सानाखोला जाँदे जुम्ला सडकको ३० किलोमिटर सडक निर्माण गर्ने भनी २०७८ माघ २५ गते सम्झौता भए पनि हालसम्म निर्माण व्यवसायी अमर सिस्ने जेभीले १० प्रतिशतमात्र काम गरेको छ । विसं २०८२ पुस ४ गतेसम्म म्याद रहेको यो आयोजनाको कामको गति निकै ढिला भएको छ । नेपाल मेघा सिस्ने जेभीले २०७८ साउन ४ गते पूर्वाधार विकास कार्यालय, जाजरकोटमा छेडागाड नगरपालिकाको साल्मखोलामा पुल निर्माण गर्ने भन्दै ठेक्का लिएको पुलको हालसम्म ३० प्रतिशतमात्र काम गरेको छ । म्याद थपसहित २०८२ जेठ २ सम्म पु¥याएको छ । निर्माण व्यवसायीले पुल निर्माणमा चासो नै नदेखाएकाले काम ढिला भएको भनी जिल्लास्थित पूर्वाधार विकास कार्यालयले प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा पत्राचार गरेको छ ।

जाजरकोटकै बारेकोट गाउँपालिका–८ साँघुतरा र नलगाड नगरपालिका–५ सिर्केस्थित मोटरेबल पुलसमेत अलपत्र पर्दै आएको छ । नेपाल मेगा सिस्ने जेभीले नै २०७८ साउन २९ गते पुल निर्माणको ठेक्का लिएको थियो । हालसम्म उक्त पुलको भौतिक प्रगति जिरो रहेको छ । निर्माण व्यवसायीले काम गर्नका लागि अहिलेसम्म फिल्डमै नपुगेको भनी पूर्वाधार विकास कार्यालय, जाजरकोटले मन्त्रालयमा पत्राचार गरेको छ । यसको म्याद थपसहित २०८२ असार २० गतेसम्म म्याद थप गरिएको छ ।

नारायनम निर्माण सेवा नेपालगञ्ज १८ बाँकेले बारेकोट गाउँपालिकाको भैसेडीमा पक्की पुल निर्माणका लागि २०७९ जेठ २३ गते लिएको ठेक्काको भौतिक प्रगति ५० प्रतिशत रहेको छ । विसं २०८१ जेठ २९ गतेसम्म म्याद सकिएको छ । कल्यानमा पक्की पुल निर्माण गर्ने भन्दै पिएस निर्माण सेवा नौवास्था–८ बाँकेले २०७९ जेठ ३० गते लिएको पुलको ठेक्का हालसम्म निर्माण हुन सकेको छैन । उक्त ठेक्काको म्याद थपसहितको मिति २०८१ जेठ २९ गते समाप्त भइसकेको छ । यसको भौतिक प्रगति ४५ प्रतिशतमात्र रहेको छ ।

कालीकोटको सेरी पान्तडी पद्मघाट जुम्ला सडक (बहुवर्षीय योजनासमेत) निर्माणको ठेक्का खड्काकृष्ण सुपरस्टार जेभीले २०७७ जेठ २ गते लिएको थियो । उक्त ठेक्काको काम हालसम्म ४० प्रतिशतमात्र भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । विसं २०८० जेठ ३० गते यस ठेक्काको म्याद सकिएको थियो । वारातु सियाला रेगिंल रोड निर्माण गर्नका लागि पूर्वाधार विकास कार्यालय कालीकोटले निकालेको ठेक्कामा मार्गादेवी निर्माण सेवाले २०७८ वैशाख २६ गते सम्झौता गरेर हालसम्म २८ प्रतिशतमात्र काम गरेर बीचमै छोडेको पाइएको छ ।

कडा चट्टान लागेको भन्दै उक्त काम बीचमै छाडिएको मन्त्रालयमा परिपत्र गरिएको छ । यसको म्याद थपसहितको अन्तिम मिति २०८२ वैशाख ३० गते रहेको छ । कालीकोटको पताला–९ को दाम्रीगाड पक्की पुल निर्माण गर्नका लागि गलवा/जगदम्बा/सुपरस्टार जेभीले २०७७ असार ३० गते सम्झौता भएको थियो । सम्झौताको मिति सकिएर म्याद थप गरेर २०८१ साल असार २० गते म्याद सकिएपनि उक्त पुलको भौतिक प्रगति हालसम्म ३५ प्रतिशतमात्र रहेको मन्त्रालयका सूचना अधिकारी प्रवीण कार्कीले जानकारी दिनुभयो ।

जारकोटमा पक्की पुल निर्माण गर्ने भनी २०७७ असोज १३ गते हिराचन/कारभान/सुपरस्टार जेभीले ठेक्का लिएकामा हालसम्म उक्त ठेक्काको २५ प्रतिशतमात्र रहेको छ । म्याद थपसहितको अन्तिम मिति २०८१ जेठ ३० गते समाप्त भएको थियो । त्यस्तै दैलेखमा समेत हालत उही रहेको छ ।

दैलेख सदरमुकामदेखि नौमुले गाउँपालिका–१ देखि ४ हुँदै जुनी जाजरकोट जिल्ला जोड्ने सडकसमेत अलपत्र पर्दै आएको छ । यसको ठेक्का बिरूवा सिद्धान्त श्रृङ्गेश्वर जेवीले लिएको थियो । यसको पनि भौतिक प्रगति निरासाजनक रहेको छ । यो सडक पटकपटक निर्माण गर्दा पनि निर्माण व्यवसायीले काम अगाडि बढाउन नचाहेको मन्त्रालयमा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साङ्गेतडा–ब्रिन्दासैनी–चामुण्डा बाटो निर्माण गर्ने भनी मोतिदान–लाल सुभ–मेन्द्रो जेभीले काम अलपत्र पार्दै आएको छ । कोप्ची कट्टी बेस्तडा रूम चौराठा देउली दैलेख सडकको काम वाइबा र लामा/लोपूर्ण जेभीले अलपत्र पार्दै आएको पाइएको छ । सान्ताडा मेहलतोली पातिहाल्ना जाजरकोट सडकको समेत अवस्थामा खराब छ । यसको प्रगति पनि निरासाजनक नै रहेको छ । यसको ठेक्का नाना निर्माणले लिएको छ ।

रबट छामघाट खोला पक्की पुल निर्माणको काम जलजला जय मा स्वर्गद्वारी जेभीले लिएर अलपत्र पारेको छ । पटकपटक म्याद थप गर्दा पनि १० जिल्लामा निम्न आयोजना निर्माण हुन नसकेर थन्किएका छन् । निर्माण व्यवसायीलाई पटकपटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले फोन अफ गरेर बसिरहेको पाइएको छ । सुर्खेतमा बड्डीचौर बिम्रेनी बाबियाचौर विद्यापुर सडक अनक/जयदेवी जेभीले अलपत्र परेको छ । रानीघाट तेलपानी भुरीगाउँ सडक थोदुङ्ग/जागृती जेभीले निर्माणमा समस्या बनाउँदै आएको मन्त्रालयले बताएको छ ।

मङ्गलगढी काँक्रेविहार सडक योजना अमर/सिस्ने/मेघा जेभीले बीचमै अलपत्र पारेको छ । कुइने जामु बाबियाचौर भक्तरी जगलघाट सडक अनक/जयदेवी/सनलाइट जेभीले, प्रदेश राजधानी वीरेन्द्रनगर प्लानिङ क्षेत्र सहरी सडक कान्छाराम कन्स्ट्रक्सने, तल्लो करेली पक्की पुल निर्माण भेरीगंगा–१३ को पुलगाल्वा निर्माण सेवा काठमाडौँले, घाटगाउँ गटु सालम कोरालाबास कुल्लीमोर सडक श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी काठमाडौँले ठेक्का लिएर बीचमै छाडेको अवस्थामा रहेको मन्त्रालयका सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो ।

हुम्लाको लालीबगर औलाथली मोटरेबल पुल सूर्य–एचएम–श्रेया जेभीले लिएर अलपत्र पारेको छ । याँचु बजार (पालिका केन्द्र) देखि तुमलिक मोटरेबल पुल, खार्पुनाथ गाउँपालिका हुम्ला सडक पुल पुनः सूर्य–एचएम–श्रेया जेभीले नै लिएर अलपत्र परेको छ । जुम्लाको झारज्युला निधार पक्की पुल गल्वा अमित जेभीले लिएर बीचमै छाडेको पूर्वाधार विकास कार्यालय जुम्लाले मन्त्रालयमा पत्र पठाएर जानकारी दिएको छ ।

मुगुको दोमुख तारापानी गमगढी नाक्चे लाग्ने सडक निर्माणको जिम्मेवारी लिएको खानी जगदम्बा मिसन जेभी, झुगला बेलिब्रिज वा मोटरेबल पुलको काम कन्काई–कुशेश्वर निसान जेभी, दोमुख पक्की पुलको काम मृत सञ्जीवनी निर्माण सेवाले हुम्ला कर्णाली र मुगु कर्णाली नदी दोमुखबाट गमगढी नाक्चेलाग्न सडक अदालतमा मुद्दा परेका कारण ढिला भइरहेको छ ।

रूकुम पश्चिममा चिसापानी–राडी–नदुवा–मुसीकोट सडक (बहुवर्षीय)को काम पिएस जिएसएचसीले, छेरावगर पक्की पुलको काम सपना सिस्ने खड्का जेभीले लिएको छ । सबै काम सन्तोषजनक नभएको पाइएको छ । पूर्वाधार विकास कार्यालय सल्यानका अनुसार बालुवा सङ्ग्रही कुपिण्डे खलङ्गा सडकको काम गलवा÷धुलिखेल जेभीले र बागचौर–पातीहाल्न बगरखोला पुलको ठेक्का प्राकृतिक निशानभूमि जेभीले लिएर अलपत्र पारेको छ । यी सबै ठेक्काका काम ३० देखि ५० प्रतिशत भई बीचमै अलपत्र पारिएको छ ।