Tuesday, June 23, 2026
Home Blog Page 588

प्रहरीद्वारा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन

0

काठमाडौँ: नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा विभिन्न कारबाहीबाट रु दुई अर्ब २४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

विशेष कार्ययोजना लागू गर्दै प्रहरीले अवैध क्रियाकलाप रोकथाम तथा विभिन्न कारबाहीका लागि अभियान सञ्चालन गरेको थियो। नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही, हुण्डी, सुन, नदीजन्य उत्खननलगायत १० विधामा गरिएका कारबाहीबाट यो राजस्व सङ्कलन भएको हो।

प्रवक्ता अधिकारीका अनुसार, सबैभन्दा बढी राजस्व रु ९० करोड ५७ लाख (४०.४२ प्रतिशत) अवैध मालसामान बरामदबाट प्राप्त भएको छ। ट्राफिक जरिवाना बाट रु ५२ करोड सात लाख, अदालती फैसला कार्यान्वयनबाट रु ४२ करोड ७४ लाख, अवैध सुन तथा चाँदी बरामदबाट रु २६ करोड २९ लाख र अवैध मुद्रा बरामद गरी रु चार करोड ३७ लाख राजस्व सङ्कलन गरिएको छ।

त्यसैगरी, स्रोत नखुलेको रु दुई करोड ९० लाख, हुण्डी कारोबार नियन्त्रणबाट रु एक करोड ८३ लाख, र अवैध काठ बरामदबाट रु एक करोड २० लाख राजस्व सङ्कलन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

साउनदेखि मङ्सिरसम्मको विवरणअनुसार, अवैध पशुपन्छी नियन्त्रण अभियानबाट रु एक करोड १६ लाख र अवैध नदीजन्य उत्खननबाट रु ९२ लाखभन्दा बढी राजस्व सङ्कलन भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो।

पोर्नस्टारलाई पैसा दिएको मुद्दामा ट्रम्पलाई शपथ ग्रहणभन्दा पहिल्यै सजाय सुनाइने

0

काठमाडौं। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विवादास्पद “हस मनी” मुद्दामा सजाय तोकिने मिति घोषणा भएको छ। न्युयोर्कका न्यायाधीश जुआन मार्चनले जनवरी १०, २०२५ मा यस मुद्दामा सजाय सुनाउने बताएका छन्। यो मिति ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा पुनः सपथ लिने दिनको ठीक दुई हप्ता अघिको हो।

न्यायाधीशले ट्रम्पलाई जेलको सट्टा प्रोबेशन, जरिवाना, वा सशर्त रिहाइ दिने सम्भावना रहेको संकेत गरेका छन्। ट्रम्प सजाय सुनाइँदा व्यक्तिगत रूपमा अदालतमा उपस्थित हुन वा भिडियो कन्फरेन्समार्फत सहभागी हुन सक्नेछन्।

यो मुद्दा २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावताका वयस्क फिल्म स्टार स्टर्मी डेनियल्सलाई मौन बस्नका लागि तिर्ने रकमसँग सम्बन्धित हो। ट्रम्पका पूर्व वकिल माइकल कोहेनले स्टर्मी डेनियल्सलाई १.३ लाख अमेरिकी डलर तिरेको र यो रकम ट्रम्पको निर्देशनमा भएको बताइएको छ। यो तिर्ने उद्देश्य ट्रम्पको राजनीतिक छविलाई जोगाउन थियो।

गत वर्ष मे महिनामा ट्रम्पलाई यस मामिलामा दोषी ठहराइएको थियो। ट्रम्पको कानुनी टोलीले भने यो मुद्दालाई राजनीतिक प्रतिशोधका रूपमा चित्रित गर्दै खारेज गरिनुपर्ने माग गरेका छन्।

ट्रम्पले आफूलाई दोषी देखाउन खोजिएको र यो मुद्दा ‘अव्यवस्थित र अन्यायपूर्ण’ भएको आरोप लगाएका छन्। उनका समर्थकहरूले यो कानुनी कदमलाई राजनीतिक हिसाबकिताबको रूपमा व्याख्या गरेका छन्।

ट्रम्प जनवरी २० मा अमेरिकी राष्ट्रपतिको रूपमा पुनः सपथ लिने तयारी गरिरहेका छन्। यदि सजाय तोकिन्छ भने, यो अमेरिकी राजनीतिक इतिहासमा एउटा दुर्लभ घटना हुनेछ, जहाँ राष्ट्रपतिको रूपमा सपथ ग्रहण गर्न लागेको व्यक्तिलाई कानुनी सजाय तोकिएको छ।

यो घटनाले ट्रम्पको अभियान र राजनीतिक भविष्यमा असर पार्न सक्ने विश्लेषकहरूको धारणा छ। सजायको प्रकृतिले ट्रम्पको जनमत र कानुनी चुनौतीहरूलाई थप उचाइमा लैजान सक्छ।

गुजरातमा भारतीय तटरक्षकको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

0

काठमाडौं। भारतीय तटरक्षक गार्डको एक हेलिकप्टर आइतबार गुजरातको पोरबन्दर विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा चालक दलका तीन सदस्यको ज्यान गएको छ।

पोरबन्दरका प्रहरी उपरीक्षक भगीरथ सिंह जडेजाले बीबीसी संवाददाता गोपाल कटेशियालाई घटनाको पुष्टि गरेका छन्। उनका अनुसार, हेलिकप्टर नियमित उडान सकेर दिउँसो करिब १२:१० बजे विमानस्थलमा अवतरण गर्दै थियो। अवतरणको क्रममा दुर्घटना हुँदा हेलिकप्टरमा सवार तीनै सदस्य गम्भीर घाइते भएका थिए।

घटनापछि तुरुन्तै तीनै जनालाई पोरबन्दर अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले उनीहरूलाई मृत घोषित गरेका छन्।

प्रहरी उपरीक्षक जडेजाले दुर्घटनाको कारण हाल स्पष्ट नभएको बताए। “हेलिकप्टर दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको छ। घटनाको छानबिन प्रहरी र भारतीय तटरक्षकले संयुक्त रूपमा गर्नेछन्,” उनले भने।

यो घटना भारतीय तटरक्षकका हेलिकप्टरहरूको सुरक्षा मापदण्डप्रति प्रश्न खडा गरेको छ। नियमित उडानपछि पनि यस्तो दुर्घटना हुनुले प्राविधिक समस्या वा मानवीय त्रुटिको सम्भावनालाई इंगित गर्न सक्ने विशेषज्ञहरूको भनाइ छ।

भारतमा पछिल्ला वर्षहरूमा सैन्य र अर्धसैन्य एयरक्राफ्ट दुर्घटनाका केही घटनाहरूले सुरक्षाका उपायहरूमाथि समीक्षा आवश्यक रहेको देखाएको छ। हालैका वर्षहरूमा भारतीय सेनाको हेलिकप्टर तथा एयरक्राफ्टमा प्राविधिक समस्या र दुर्घटनाका केही घटनाहरू रिपोर्ट भएका छन्।

भारतीय तटरक्षक र रक्षा मन्त्रालयले घटना प्रति दुःख व्यक्त गर्दै अनुसन्धान प्रतिवेदन छिटो सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन्। यो दुर्घटनाले तटरक्षक गार्डका हेलिकप्टरहरूको प्राविधिक अवस्थाको पुनरावलोकन गर्ने आवश्यकतालाई पुनः प्राथमिकतामा राखेको छ।

सहरिया मतदाताले एमालेलाई पत्याउन छोडे: अध्यक्ष ओली

0

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सहरिया क्षेत्रमा जनमत गुमाएको स्वीकार गरेका छन्। संघ, प्रदेश, र स्थानीय तहका उपनिर्वाचन परिणामबाट सन्तुष्टि जनाए पनि उनले सहरिया मत खस्किएकोमा चिन्ता व्यक्त गरेका छन्।

आइतबार प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा ओलीले कीर्तिपुर र काठमाडौं–१६ जस्ता क्षेत्रहरूमा अपेक्षित परिणाम नआउनु र विगतमा जितेको वडा गुमाउनु पार्टीका लागि गम्भीर समीक्षा आवश्यक विषय भएको बताएका छन्।

“सहरिया जनमतमा अपेक्षित आकर्षण बढ्न नसक्नु र कीर्तिपुरजस्तो ठाउँमा अपेक्षित परिणाम नआउनु हामीले गम्भीरतापूर्वक लिनु पर्छ। आफूले विजय हासिल गरेका स्थानहरूमा पार्टी र जनप्रतिनिधिहरूले थप मिहिनेत गर्नु पर्ने शिक्षा यस उपनिर्वाचनले दिएको छ,” ओलीको प्रतिवेदनमा उल्लेख छ।

२०८१ वैशाख १५ मा सम्पन्न इलाम प्रतिनिधिसभा–२ र बझाङ प्रदेशसभा–१ उपनिर्वाचनमा एमालेले उल्लेख्य सफलता प्राप्त गरेको अध्यक्ष ओलीले बताए। इलाममा ७,५०० मतको फराकिलो अन्तरले विजय हासिल गर्दै २०७९ को तुलनामा उल्लेख्य सुधार गरेको र बझाङमा पनि पार्टीले शानदार जीत निकालेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।

मङ्सिर १६ मा सम्पन्न स्थानीय तह उपनिर्वाचनमा नेकपा एमालेले ८ स्थानमा विजय हासिल गरेको छ। एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष, र पाँच वडा अध्यक्षसहित समग्रमा परिणाम सकारात्मक भए पनि विगतका तुलनामा परिणाम अपेक्षाभन्दा कम रहेको ओलीको ठहर छ।

अध्यक्ष ओलीले माओवादी केन्द्रले आफ्नो लोकप्रियता अत्यधिक बढेको भ्रामक सन्देश सम्प्रेषण गरेको आरोप लगाएका छन्। “माओवादीले ८ बाट ११ स्थानमा विजय हासिल गरे पनि ६ दलको गठबन्धन हुँदा उम्मेदवार नउठाएका स्थानमा प्राप्त मत जोड्दा मात्र संख्या बढेको देखिन्छ,” ओलीले प्रतिवेदनमा भनेका छन्।

यस उपनिर्वाचनले २०७९ को तुलनामा मतदाताको बदलिँदो मनोभावना, जनप्रतिनिधिप्रतिको असन्तुष्टि, र नयाँ दल तथा राजावादी शक्तिको खस्किँदो अवस्थाबारे महत्त्वपूर्ण संकेत दिएको ओलीले बताए।

“सहरिया मतदातामाझ आकर्षण बढाउन र हासिल गरेका स्थानहरूमा थप मिहिनेत गर्नुपर्छ भन्ने शिक्षा यस निर्वाचनबाट पाएका छौं,” उनले प्रतिवेदनमा निष्कर्ष गरेका छन्।

रवि, छवि, जिबीसहित ३९ जनाविरुद्ध काठमाडौंमा पनि मुद्दा दायर

0

काठमाडौं। कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण अदालत प्रवेश गरेको छ। आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई, तत्कालीन सञ्चालक छविलाल जोशीसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो।

जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माका अनुसार प्रतिवादीमा गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक रवि लामिछाने र छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्यहरू हेमन्त अधिकारी र रविना रिमाल, तथा पूर्वअध्यक्ष दीपक लामालगायत व्यक्तिहरू समावेश छन्।

यस्तै सविना आले मगर, भक्तबहादुर भोलन, सविता लामा, प्रदीप लामा, गणेशराज श्रेष्ठ, सुनिता नेवा, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, कमल लामा, नविन अछामी, कल्पना कुमारी श्रेष्ठ, र राजु बरालसमेत प्रतिवादी सूचीमा छन्।

पोखरामा हिरासतमा रहेका अभियुक्तहरू

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने र जोशी कास्की जिल्ला अदालतमा थुनछेक बहस भइरहेका बेला काठमाडौंमा पनि मुद्दा दर्ता भएको हो।

कृपया तलको लिंक खोल्नुहोला।
रवि लामिछाने समेत…स्वर्णलक्ष्मी सहकारी_1736073087

माधव नेपालदेखि विप्लवसम्म पार्टी एकता, कांग्रेस एमालेसँग गठबन्धन नगर्ने

0

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धन नगरी एक्लै चुनाव लड्ने प्रस्ताव प्रस्तुत गरेका छन्।

आइतबार काठमाडौंमा सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले कांग्रेस र एमाले जस्ता पार्टीहरूसँग चुनावी तालमेल नगर्ने र पार्टीलाई एक्लै अघि बढाउने योजना राखेका हुन्।

वैज्ञानिक समाजवादको बाटोमा एकता प्रयास
प्रचण्डले वैज्ञानिक समाजवादमा विश्वास राख्ने पार्टीहरूलाई एकताबद्ध गर्दै अघि बढ्ने प्रस्ताव गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा बहुमत, विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य र प्रभु साहलगायतका दलहरूसँग एकताको पहल गर्ने कुरा प्रतिवेदनमा समावेश रहेको बताए।

जनतामाझ फर्कने अभियान
प्रचण्डले माओवादीको पक्षमा देशभर सकारात्मक ऊर्जा पैदा भएको भन्दै यथास्थितिबाट जनतामाझ फर्किनुपर्नेमा जोड दिएका छन्। यसका लागि फागुन १ देखि तराई–मधेश जागरण अभियान र अर्को महिना पूर्व–पश्चिम अभियान सञ्चालन गर्ने प्रस्ताव गरेका छन्। यी अभियानहरूमा अध्यक्षसहित सबै पदाधिकारीको सक्रिय सहभागिता आवश्यक रहेको उनले उल्लेख गरेका छन्।

संविधान संशोधन र संक्रमणकालीन न्याय
अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनले अग्रगमनको पक्षमा संविधान संशोधनका लागि बहस र छलफल गर्नुपर्ने र संक्रमणकालीन न्यायसम्बन्धी समितिमा पदाधिकारी नियुक्तिका लागि पहल गर्नुपर्ने कुरा पनि समेटेको छ।

बैठकमा प्रदेश र समन्वय समितिको रिपोर्टिङ
बैठकमा बिभिन्न प्रदेश कमिटी र सम्पर्क समन्वय कमिटीले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका छन्। ती रिपोर्टिङमा माओवादीमा देशभर प्रवेश गर्नेको लहर देखिएको र पार्टीलाई अझ बलियो बनाउन आवश्यक रहेको उल्लेख गरिएको प्रवक्ता सापकोटाले बताए।

नन्दकिशोर पुनलाई आमन्त्रित सदस्य
पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’लाई बैठकमा आमन्त्रित सदस्यका रूपमा बोलाइएको तर कुनै पदसम्बन्धी छलफल नभएको प्रवक्ता सापकोटाले जानकारी दिए।

केन्द्रीय समितिको पूर्ण बैठक सोमबार बिहान ११ बजे बस्नेछ, जहाँ राजनीतिक प्रतिवेदन र अन्य विषयमाथि थप छलफल हुने माओवादी केन्द्रले जनाएको छ।

सर्वेन्द्र खनालले छाडे नेकपा एमाले

0

काठमाडौँ: नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध नरहेको भन्दै सो घोषणा गरेका हुन् ।

उनले लेखेका छन्– ‘हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु, कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध छैन। म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। ‘

उनले आगामी दिनमा देश र समाजको हितका लागि आफ्नो समय व्यतीत गर्ने पनि उल्लेख गरेका छन् । खनाल औपचारिक रूपमा ६ असोज २०७९ मा उनी एमाले प्रवेश गरेका थिए ।

गत आम निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका उनी उपनिर्वाचनमा तनहुँबाट समेत पराजय बेहोरेका थिए ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको अध्यक्षमा श्रेष्ठ निर्वाचित

0

काठमाडौँ: देशभरका साना तथा मझौला उद्योगी व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको अध्यक्षमा मनोजबाबु श्रेष्ठ निर्वाचित हुनुभएको छ ।महासङ्घको सातौँ वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा ९२ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । अध्यक्ष श्रेष्ठ खिचापोखरी–न्युरोड व्यापार सङ्घको पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।

यस्तै, महासङ्घको वरिष्ठ उपाध्यक्षमा कमल अग्रवाल र हरिबहादुर गौतम, प्रथम उपाध्यक्षमा लक्ष्मी खड्का र हरिप्रसाद पाण्डे, १३ उपाध्यक्षमा गणेशकुमार न्यौपाने, गोरखबहादुर थापा, कुसुम महर्जन, दीपकचन्द्र प्रधान, रामप्रसाद अवाल, जयकृष्ण शर्मा, पार्वती पौडेल भट्ट, धिरेन्द्र रिजाल, मिलन श्रेष्ठ, शिवप्रसाद ढकाल, सागर शाक्य, रामकुमार तिमल्सिना र लेखनाथ पौडेल चयन हुनुभएको छ ।

यसैगरी, महासचिवमा नवीन लुइँटेल, उपमहासचिवमा रामकुमार पण्डित, नारायणप्रसाद न्यौपाने र लवराज भण्डारी, सात सचिवमा किशोरकुमार गौतम, केदारप्रसाद न्यौपाने, विजुरत्न बज्राचार्य, देवराज कार्की, सुरेन्द्रराज सुवेदी, गोपाल घिमिरे र पृथ्वीनारायण अधिकारी चयन हुनुभएको छ ।

सात सहसचिवमा प्रदीप घिमिरे, हरिप्रसाद पाण्डे, सुमित लामा, दीपककुमार श्रेष्ठ, जयराज बजगाईँ र मुलुकसिंह तामाङ, कोषाध्यक्षमा हिमलाल खराल र सहकोषाध्यक्षमा त्रिलोचन सुवेदी, यमुना श्रेष्ठ र राममणि भट्टराईलाई चयन गरिएको छ ।

साना तथा मझौला व्यवसायीको हकहित र अधिकारका लागि स्थापना भएको उक्त महासङ्घमा हाल देशभरका दुई दर्जनभन्दा बढी सङ्घ आबद्ध छन् । महासङ्घमा हाल २५ हजारभन्दा बढी व्यवसायी आबद्ध रहेको महासङ्घका निवर्तमान अध्यक्ष कुमार कार्कीले जानकारी दिनुभयो ।

सूर्यविनायक नगरपालिकाको संशोधित विधेयक पारित

0

भक्तपुर: सूर्यविनायक नगरपालिकाको नगरसभाको १७औँ नगर अधिवेशनले विभिन्न समितिले प्रस्तुत गरेको विभिन्न संशोधित विधेयक पारित गरेको छ । नगरप्रमुख वासुदेव थापाको अध्यक्षतामा प्रथम र दोस्रो गरी दुई चरणमा सम्पन्न नगर अधिवेशनले विभिन्न समितिको प्रतिवेदन एवं बजेट कार्यान्वयनको अवस्थाबारे प्रस्तुत प्रतिवेदनमाथि बृहत् छलफल गरी विधेयक पारित गरेको हो ।

नगरसभाका सभाध्यक्ष थापाले निर्णायार्थ प्रस्तुत गर्नुभएको नगरपालिकाको संस्था दर्ता (प्रथम संशोधन) विधेयक २०८१, आर्थिक कार्यविधि नियमित गर्ने विधेयक २०८१, आर्थिक ऐन २०८१ को प्रथम संशोधन विधेयक २०८१ र नगरपालिका तथा अन्तर्गतको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८१ पारित गरेको हो ।

नगरसभामा नगरप्रमुख एवं सभाअध्यक्ष थापाले चालु आर्थिक वर्ष २०८१÷८२ को ६ महिनाको अवधिमा कूल बजेटको १६ दशमलभ ०१ प्रतिशत बजेट खर्च भएको बताउनुभयो । उहाँले नगरपालिकाको चालु आर्थिक वर्षको कुल बजेट रु एक अर्ब ४० करोड ३७ लाख २२ हजार पारित गरेकामा छ महिनामा नगरको कुल बजेटको रु ३५ करोड ८६ लाख ५० हजारमात्र खर्च भएको
बताउनुभयो । नगरपालिकाको चालु खर्चतर्फ रु २३ करोड ४१ लाख ९१ हजार र पुँजीगततर्फ रु १२ करोड ४४ लाख ५९ हजार खर्च भएको उहाँले बताउनुभयो ।

नगरप्रमुख थापाले चालु आवको दुई महिना वर्षालगत्तै चाडपर्व सुरु भएकाले अपेक्षाकृत रूपमा बजेट खर्च हुन नसकेको बताउँदै चालु आवको बाँकी छ महिना योजना कार्यान्वयनमा जाने चरणमा रहेको बताउनुभयो । उहाँले बाँकी छ महिनामा बजेट खर्चको अवस्था सुधार हुने र आवको अन्त्यसम्ममा ९० प्रतिशतभन्दा बढी बजेट खर्च गर्दै नगरपालिकाले लक्ष्य हासिल गर्ने बताउनभयो । नगरपालिकले सबैभन्दा बढी बजेट भौतिक पूर्वाधारमा छुट्याएको छ ।

यसैगरी, नगरपालिकाले चालु आवको छ महिनामा रु ११ करोड ८८ लाख पाँच हजार सात सय तीन राजस्व सङ्कलन गरेको नगर अधिवेशनमा उपप्रमख सरिता तिम्सिना भट्टराईले बताउनभयो । नगरपालिकाले गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव ६० प्रतिशत रकम बढी राजस्व सङ्कलन गरेको बताउनुभयो ।

गत आवको छ महिनामा नगरपालिकाले रु ११ करोड २४ लाख ९० हजार राजस्व सङ्कलन गरेको उल्लेख गर्दै उहाँले नगरपालिकाले चालु आवमा रु ४३ करोड ६० लाख सात हजार पाँच सय राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको बताउनुभयो । उपप्रमुख भट्टराईले चालु आव २०८१/८२ मा नगरसभाबाट स्वीकृत तीन सय तीन, नगर कार्यपालिकाबाट स्वीकृत ३५, सङ्घ–प्रदेशबाट अख्तियार प्राप्त ३१ र विपद् व्यवस्थापनका लागि नगर कार्यपालिकाबाट स्वीकृत २१ गरी जम्मा तीन सय ९० योजना रहेकामा हालसम्म एक सय २० योजना सम्झौता भई योजना अनुगमन गरी ३४ योजना फरफारक गरिएको बताउनुभयो ।

नगरसभामा विधायन समितिका संयोजक प्रदीप कार्कीले आचारसंहिता वाचन, नगरपालिकाको विधायन समितिको प्रतिवेदन, आर्थिक कार्यविधि नियमित गर्ने विधेयक २०८१ पेश गर्नुभएको थियो । नगरउपप्रमुख एवं राजस्व परार्श समिति संयोजक एवं न्यायिक समिति संयोजक सरिता तिम्सिना भट्टराईले नगरपालिकाको न्यायिक समितिको र नगरस्तरीय अनुगमन तथा सुपरीवेक्षण तिवेदन सभामा प्रस्तुत गर्नुभएको थियो ।

सभामा विभिन्न समितिका संयोजकमध्ये राजकुमार जोशीले सार्वजनिक लेखा समितिको प्रतिवेदन, रवीन्द्र सापकोटाले संस्था दर्ता प्रथम संशोधन विधयक २०८१ र सामाजिक विकास समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । संयोजक पुष्पराज बस्नेतले आर्थिक विकास समितिको प्रतिवेदन, शिवराम राउतले पूर्वाधार विकास समितिको प्रतिवेदन, भगवाण खत्रीले वन वातावरण तथा विपद् व्यवस्थापन समितिको प्रतिवेदन र सानुकाजी कायस्थले सुशासन, सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास समितिको प्रतिवेदन र सार्वजनिक सम्पत्तिको विवरण सभामा प्रस्तुत गर्नुभएको थियो ।

निर्वाचनमा उपलब्धिपत्र लिएर जनतामाझ जानुपर्छः महामन्त्री थापा

0

गण्डकी: नेपाली कांग्रेसका महामन्त्री गगनकुुमार थापाले २०८४ को निर्वाचनमा उपलब्धिपत्र लिएर जनतामाझ जानुपर्ने आवश्यकता औँल्याएका छन्। नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित ‘प्रजातान्त्रिक व्यवस्थामा पार्टी र जनप्रतिनिधि’ विषयक प्रदेशस्तरीय गोष्ठी उद्घाटन गर्दै उहाँले निर्वाचनमा जाँदा उपलब्धिपत्रका साथ प्रस्तुत हुन निर्वाचित जनप्रतिनिधिहरूलाई परिणाममुखी काम गर्न आग्रह गरे।

महामन्त्री थापाले निराश हुने अवस्था नरहेको भन्दै आगामी तीन वर्षभित्र जनताले स्पष्ट अनुभव गर्नेगरी क्रियाशील हुनुपर्ने धारणा व्यक्त गरे। “कांग्रेसको नेतृत्वमा देशले धेरै उपलब्धि हासिल गरेको छ, तर ती कामको प्रचार हुन सकेको छैन। अब थप उपलब्धिका लागि सरकारको जिम्मेवारीमा रहेका सबैले परिणाममुखी काम गर्नुपर्छ। त्यही कामको विवरण लिएर आगामी चुनावमा जनतामाझ जान तयारी गरौँ,” उनले भने।

पार्टी संगठन र निर्वाचित जनप्रतिनिधिबीच संवाद आवश्यक भएको उल्लेख गर्दै थापाले संवादले जनअपेक्षा सम्बोधन गर्न सहयोग पुग्ने बताए। समस्या मात्र सुन्ने होइन, समाधान दिन सक्ने अवस्था सिर्जना गर्न संवादलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

महामन्त्री थापाले पार्टीको काँधमा धेरै जिम्मेवारी रहेकाले आगामी १५औँ महाधिवेशनले पार्टी संगठन सम्हाल्न सक्ने नेतृत्व चयन गर्नुपर्ने बताए। उनले कार्यकर्ताहरूलाई आगामी चैतभित्र क्रियाशील सदस्यता नवीकरण गर्न निर्देशन दिँदै यसमा ढिलाइ भएमा सदस्यता स्वतः रद्द हुने चेतावनी पनि दिए। “चैतसम्म नवीकरण नगर्ने क्रियाशील सदस्यता त्यसपछि नवीकरण हुँदैन। समयभित्र फारम नपठाउने जिल्लाहरूको क्रियाशील सदस्यता फारम फ्रिज हुनेछ,” उनले स्पष्ट पारे।

पार्टी विधान संशोधनका लागि करिब पाँच महिना लाग्ने र त्यसपछि विधान महाधिवेशनबाट पारित गरी महाधिवेशनको प्रक्रिया अघि बढाइने जानकारी पनि थापाले दिए।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टी नेतृत्वको सरकारले गरेका कामको प्रचार हुन नसकेको भन्दै पार्टीले त्यसमा ध्यान दिनुपर्ने बताए। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सामाजिक सञ्जाललाई संगठन निर्माण र राम्रो कामको प्रचारका लागि उपयोग गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रस्तुत कार्यपत्रहरूमा डा. रघुराज वाग्ले र डा. हेमराज लामिछानेले निर्वाचित जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुनुपर्ने औँल्याए।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको सभापत्विमा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, केन्द्रीय सदस्य मधु आचार्य, कृष्णचन्द्र नेपाली, र गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)लगायतले सम्बोधन गरे।