Tuesday, June 30, 2026
Home Blog Page 496

सडक कालोपत्र हुन थालेपछि किसानलाई कृषि उपज बजारसम्म पुर्याउन सहज

0

इलाम: सूर्योदय नगरपालिकामा हाल ३३३ वटा स्थानीय सडक छन्, जसलाई ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ चार वर्गमा वर्गीकृत गरिएको छ। तीमध्ये १३.५ किलोमिटर कालोपत्रे, ८३.८ किलोमिटर ग्राभेल र ६६८.९३ किलोमिटर कच्ची (माटे) सडक रहेको नगरपालिकाका सिभिल इञ्जिनियर कविन सापकोटाले जानकारी दिनुभयो।

चार वर्षअघि नगरपालिकाले १२ महिना सवारी सञ्चालन गर्न मिल्ने ‘अल वेदर’ सडक निर्माण गर्ने लक्ष्यसहित नगरस्तरीय सडक सञ्जाल गुरुयोजना तयार पारेको थियो। २८ वर्षभित्र सम्पूर्ण सडक निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो योजनाअनुसार हालसम्म १३.५ किलोमिटर कालोपत्रे र ८३.०८ किलोमिटर ग्राभेल सडक निर्माण भइसकेको छ भने बाँकी सडकको स्तरउन्नती कार्य जारी छ, नगरप्रमुख रणबहादुर राईले बताउनुभयो।

उहाँका अनुसार, नगर क्षेत्रभित्र स्ट्राटेजिक रोड नेटवर्क (SRN) अन्तर्गत तीन प्रमुख सडक—मेची राजमार्ग, फिक्कल–पशुपतिनगर, र छिपिटार–श्रीअन्तु—अन्तर्गत ४८.२० किलोमिटर कालोपत्रे, २.४५ किलोमिटर ग्राभेल र २.४१ किलोमिटर माटे सडक छन्। यस्तै, डिस्ट्रिक्ट रोड केयर नेटवर्क (DRCN) अन्तर्गत १०.८३ किलोमिटर कालोपत्रे, १६.१२ किलोमिटर ग्राभेल र ३६.५६ किलोमिटर मोटर योग्य कच्ची सडक रहेका छन्।

नगरप्रमुख राईका अनुसार, “पुरानै शैलीमा सडक निर्माण जारी राखेमा सम्पूर्ण सडक ग्राभेल गर्न १२८ वर्ष लाग्ने देखियो। त्यसैले गुरुयोजनाअनुसार योजनावद्ध र दिगो विकासका लागि काम थालिएको हो।”

सूर्योदय–१ मकरजुङका ९३ वर्षीय तुलसीराम अधिकारीले आफ्नो घरअगाडि कालोपत्रे सडक बन्न थालेको दृश्यलाई ‘सपनाजस्तै’ भन्दै खुशी व्यक्त गर्नुभयो। उहाँजस्तै, माटो, धुलो र खाल्डाखुल्डीले हैरान भएका अन्य बासिन्दा पनि सडक निर्माणले उत्साहित भएका छन्।

प्रत्येक वडामा एक–एक वटा ‘अल वेदर’ सडक निर्माणको लक्ष्यसहित हाल ती सडकहरू कालोपत्रेको चरणमा पुगेका छन्। वडास्तरीय मुख्य सडकलाई प्राथमिकतामा राखेर स्तरउन्नती गरिँदै छ। स्थानीय निर्वाचनपछि जनप्रतिनिधिहरूले एक वडा, एक ग्राभेल सडकको अवधारणालाई प्राथमिकता दिएपछि हाल तीमध्ये धेरै सडकहरू कालोपत्रे हुँदै छन्।

सडक गुरुयोजनाअनुसार सबै सडक २७ वर्षभित्र ग्राभेल गर्न नगरपालिकाले हरेक पाँच वर्षमा ५९ करोड रुपैयाँ खर्च गर्नुपर्ने देखिएको छ। यसको ५% वातावरण संरक्षण, ५% सर्भे, १५% सडक चौडीकरण र ७५% ग्राभेलमा खर्च हुनेछ। वर्तमान दररेटअनुसार कुल तीन अर्ब २० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

सडक निर्माणले कृषकहरूलाई बजार पहुँचमा सहजता ल्याएको छ। सूर्योदय–१ का सन्तोष बजगाईंले अब स्थानीय उत्पादन मानेभञ्ज्याङ बजारसम्म सजिलै लैजान सकिने बताउनुभयो। पहिले पैदल वा घोडामा तीन–चार घण्टा लाग्ने यात्रा अहिले छोटिएको छ। सडक विकासले विद्यार्थी, बिरामी र कृषक सबैलाई राहत दिएको स्थानीयहरू बताउँछन्।

स्थानीय रबिन सापकोटा भन्छन्, “एकैपटक सबै विकास सम्भव छैन। २८ वर्षभित्र सफलतापूर्वक काम सम्पन्न गर्ने दीर्घकालीन लक्ष्य लिएको छौं।”

कृषक ख्यामराज रिजालले विगतमा वर्षामा बाटो नहुँदा दुग्धजन्य उत्पादन बगाएको र टमाटर कुहिएको स्मरण गर्दै अहिले समस्या समाधान भएको बताउनुभयो।

अनियोजित र अपूरा सडक विस्तारले पहाडी क्षेत्रका बासिन्दामा हिलो र पहिरोको जोखिम बढाएको भए पनि सूर्योदय नगरपालिकाले एक वडा, एक अलवेदर सडकको अवधारणासहित दिगो विकासको बाटो समातेको बताइएको छ।

स्थानीय गोविन्द सापकोटा भन्छन्, “अबको २४ वर्षमा सबै वडामा कालोपत्रे सडक पुग्ने लक्ष्य देखिन्छ। यो हामीभन्दा पनि छोराछोरी र नातिनातिनीका लागि लाभदायक हुनेछ।”

उपप्रमुख दुर्गाकुमार बरालका अनुसार, परम्परागत ‘माटो र बाटो नै विकास’ भन्ने अवधारणाबाट बाहिर निस्कँदै, नगरपालिका अब समग्र आर्थिक, सामाजिक, वातावरणीय र सुशासन क्षेत्रमा पनि योजना अघि बढाइरहेको छ। पूर्वाधारको गुणस्तर सुनिश्चित गर्न नगरमै पूर्वाधार परीक्षण प्रयोगशाला स्थापना गरिएको र आन्तरिक आम्दानीको दायरा पनि बढाइएको छ।

चियापछि सूर्योदयका किसानहरूले मुख्य रूपमा दूध उत्पादन गर्छन्। कृषि उत्पादन बजारसम्म पुर्‍याउन बारहमासी सडकले ठूलो सहजता ल्याएको किसानहरूको भनाइ छ। भारतसँग जोडिएका मानेभञ्ज्याङ, पशुपतिनगर, फाटक, फिक्कल, हर्कटे, आइतबारे र गोर्खे यहाँका प्रमुख व्यापार केन्द्र हुन्। किसान सरोज पोखरेलका अनुसार, पहिले गाउँको कुनाबाट बजार पुग्न पाँच घण्टासम्म लाग्थ्यो, तर अब सडक संरचनाले ती सबै बाधा हटाइदिएको छ।

सडक गुरुयोजनाअनुसार सूर्योदयमा दुईपाङ्ग्रे सवारी (मोटरसाइकल) सबैभन्दा धेरै—४५% प्रयोगमा छन्। त्यसपछि जिप/कार २६%, ट्रयाक्टर १७% र ट्रक/बस १२% छन्।

९ महिना गर्भवती भएको नाटक, महिना पुगेपछि अस्पतालबाट बच्चा चोरेर फरार

0

काठमाडौं: एक महिलाले दिनदहाडै अस्पतालबाट नवजात शिशु अपहरण गरेकी छन्। तर धेरै प्रयासपछि प्रहरीले सीसीटीभी फुटेजको आधारमा उनलाई फेला पार्न सफल भएको छ। पक्राउ परेपछि महिलाको बयानले प्रहरीसमेत अचम्मित भएको छ।

भारतको दिल्लीस्थित सफदरजंग अस्पतालबाट हराएको नवजात शिशु अपहरणको चार घण्टा भित्रै फेला पारिएको हो। पक्राउ परेकी महिलाको नाम पूजा हो, जो मालवीय नगरस्थित लेबर चोक निवासी पिंकुकी पत्नी हुन्। प्रहरीले पूजालाई नियन्त्रणमा लिएको छ र अपहरणमा परेकी बालिकालाई सकुशल उद्धार गरेको छ।

प्रारम्भिक अनुसन्धानपछि पूजाले आफू गर्भवती भएको नाटक गरेर पतिलाई धोका दिएको स्वीकारेकी छन्। उनी अप्रिल १४ मा अस्पताल भर्ना हुने बहानामा घरबाट निस्किएकी थिइन् र अप्रिल १५ मा नवजात शिशु लिएर घर फर्केर पतिको आफ्नै बच्चा भएको दाबी गरेकी थिइन्।

सफदरजंग अस्पतालमा अप्रिल १४ मा एक बालिकाको जन्म भएको थियो। त्यसको भोलिपल्ट, अप्रिल १५ मा, बालिकाका आमाबुबाले छोरी हराएको जानकारी प्रहरीलाई दिएका थिए। त्यसपछि सफदरजंग एन्क्लेभ प्रहरी चौकीले अनुसन्धान सुरु गर्‍यो।

इन्स्पेक्टर रजनीश कुमारको नेतृत्वमा रहेको टोलीले अस्पताल र वरपरका क्षेत्रहरूका सीसीटीभी फुटेज संकलन गरी विश्लेषण गर्दा एक होची, स्कार्फले अनुहार छोपेकी महिला शंकास्पद रूपमा देखा परिन्। उनी शिशु हराएको तलामा अरु महिलासँग गफ गरिरहेको दृश्यमा देखिएकी थिइन्। सोही कोठामा पनि उनी प्रवेश गरेको देखिएको थियो।

सीसीटीभी विश्लेषणबाट महिला एम्स मेट्रो स्टेशनबाट समयपुर बडलीतर्फको रेलमा चढेको देखिएको थियो। तर प्रहरीलाई झुक्याउन उनी बीचैमा आईएनए मेट्रो स्टेशनमा ओर्लेर हुडा सिटी सेन्टरतर्फको अर्को रेल चढिन्। पछि उनी हौज खास मेट्रो स्टेशनमा ओर्लिएर गेट नम्बर १ बाट बाहिरिएकी थिइन् र पंचशील फ्लाईओभरतर्फ गएकी थिइन्।

सो रुटको केही भागमा सीसीटीभी नभएको भए पनि पछि फेरि उनी दिउँसो ४ बजे पंचशील फ्लाईओभरबाट एक विद्युतीय रिक्सा चढेको देखिइन्। फुटेजमा रिक्साको नम्बर अस्पष्ट भएकाले २० भन्दा बढी सम्भावित रिक्साका नम्बरहरू जाँच गरियो।

अन्ततः सही रिक्सा पहिचान गरेर चालकलाई सोधपुछ गर्दा उनले महिलालाई मालवीय नगरको गुलक वली गल्लीको अगाडि बच्चासहित छोडेको जानकारी दिए। त्यसपछि प्रहरीले पूजालाई पहिचान गरी नियन्त्रणमा लियो र बालिकाको उद्धार गर्‍यो।

अहिले पूजा प्रहरी हिरासतमा छ भने थप अनुसन्धान जारी छ।

गभर्नरमा योग्यता नपुग्ने भन्दै भट्टविरुद्ध सर्वोच्चमा रिट दर्ता

0

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले डा. भट्टलाई गभर्नर नियुक्त गर्न कानुनी योग्यता नपुगेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन्।

दलहरूबीचको सहमतिका आधारमा कानुनी प्रक्रिया बेवास्ता गर्दै नियुक्ति गरिएको आरोपसहित रिट दर्ता गरिएको जनाइएको छ। सो रिट आइतबारको पेसीमा चढाइनेगरी पुरक निवेदनसमेत दर्ता भइसकेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

डा. भट्टले शुक्रबार मात्र कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। तर उनको राजीनामा हालसम्म स्वीकृत भइसकेको छैन।

आजदेखि वीरगञ्जको निषेधाज्ञा हटाइँदै

0

वीरगञ्ज, पर्सा: जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा लागू गरिएको निषेधाज्ञा आज बिहान ७ बजेदेखि हटाउने निर्णय गरेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले क्षेत्रको शान्ति सुरक्षाको अवस्था सामान्य भइसकेको निष्कर्ष निकाल्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो।

प्रजिअ अर्यालले गत वैशाख १ गतेदेखि लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय शान्ति सुरक्षाको समग्र अवस्था हेरेर गरिएको जानकारी दिए।

यस्तै, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बुधबार दिउँसोदेखि वीरगञ्जको अवस्था सामान्य हुँदै गइरहेको बताए।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

0

काठमाडौँ, ५ वैशाखः नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ।

अन्य प्रमुख मुद्राको विनिमयदर यसप्रकार छः

युरोपियन युरो: खरिददर १५४.९३, बिक्रीदर १५५.६१

पाउन्ड स्ट्रर्लिङ (UK): खरिददर १८०.४०, बिक्रीदर १८१.१९

स्वीस फ्र्याङ्क: खरिददर १६६.८२, बिक्रीदर १६७.५५

अष्ट्रेलियन डलर: खरिददर ८६.७२, बिक्रीदर ८७.१०

क्यानेडियन डलर: खरिददर ९८.१५, बिक्रीदर ९८.५८

सिङ्गापुर डलर: खरिददर १०३.८८, बिक्रीदर १०४.३३

जापानी येन (१०): खरिददर ९.५६, बिक्रीदर ९.६१

चिनियाँ युआन: खरिददर १८.६७, बिक्रीदर १८.७५

साउदी रियाल: खरिददर ३६.३२, बिक्रीदर ३६.४८

कतारी रियाल: खरिददर ३७.३९, बिक्रीदर ३७.५६

थाई भाट: खरिददर ४.०९, बिक्रीदर ४.११

युएई दिराम: खरिददर ३७.११, बिक्रीदर ३७.२७

मलेसियन रिङ्गेट: खरिददर ३०.९२, बिक्रीदर ३१.०६

दक्षिण कोरियन वन (१००): खरिददर ९.६२, बिक्रीदर ९.६६

स्वीडिस क्रोनर: खरिददर १४.०५, बिक्रीदर १४.११

डेनिस क्रोनर: खरिददर २०.७५, बिक्रीदर २०.८४

हङकङ डलर: खरिददर १७.५६, बिक्रीदर १७.६३

कुवेती दिनार: खरिददर ४४४.५८, बिक्रीदर ४४६.५४

बहराइन दिनार: खरिददर ३६१.६०, बिक्रीदर ३६३.१९

ओमनी रियाल: खरिददर ३५४.०३, बिक्रीदर ३५५.५९

भारतीय रुपैयाँ (१००): खरिददर १६०.००, बिक्रीदर १६०.१५

नेपाल राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमयदरमा परिवर्तन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर खुला बजारका आधारमा केही फरक पर्न सक्ने हुँदा अद्यावधिक विवरण बैंकको वेबसाइटमा हेर्न सकिनेछ।

सगरमाथा आरोहणमा नयाँ कीर्तिमानतर्फ टासी ग्याल्जेन शेर्पा, २० दिनमै चारपटक चढ्ने लक्ष्य

0

काठमाडौँ: सगरमाथा आरोहणको ७२ वर्षे इतिहासमा कीर्तिमान, प्रतिस्पर्धा र होडबाजी दिनप्रतिदिन बढ्दो छ। विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण आफैँमा जोखिमपूर्ण तथा चुनौतीपूर्ण यात्रा हो। यसका बाबजुद विभिन्न नेपाली तथा विदेशी आरोहीहरूले नयाँ–नयाँ कीर्तिमान कायम गर्दै आएका छन्।

सगरमाथा तीसपटक चढेर विश्व कीर्तिमान बनाएका कामीरिता शेर्पा, एकै सिजनमा तीनपटक चढेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, दुवै खुट्टा गुमाएका अवस्थामै सगरमाथा पुगेका हरिबहादुर बुढा, बिनाअक्सिजन १० पटक आरोहण गरेर ख्यातिप्राप्त ‘हिउँचितुवा’ स्व. आङ्रिता शेर्पाजस्ता आरोहीहरूको कीर्तिमान सूची लामो छ। कोहीले सबैभन्दा कम उमेरमा, कोहीले सबैभन्दा छोटो समयमा तथा कोहीले बिनाअक्सिजन सगरमाथा चढेर कीर्तिमान बनाएका छन्।

२० दिनमा चारपटक सगरमाथा चढ्ने लक्ष्य

त्यही सिलसिलामा, सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ निवासी २८ वर्षीय टासी ग्याल्जेन शेर्पा हाल २० दिनभित्र चारपटक सगरमाथा चढ्ने उद्देश्यले नयाँ कीर्तिमानको प्रयासमा छन्।

“बीस दिनभित्र चारपटक सगरमाथा चढ्ने मेरो लक्ष्य हो,” उहाँले बताउनुभयो। सन् २०१७ देखि पर्वतारोहणमा सक्रिय टासीले हालसम्म चारपटक सगरमाथा सफलतापूर्वक चढिसक्नुभएको छ। उहाँले आमादब्लम, चोयु, मकालु र चीनको सिसापाङ्मा हिमाल पनि आरोहण गर्नुभएको छ।

पारिवारिक प्रेरणा र कीर्तिमानको लक्ष्य

टासीका बुबा पनि सगरमाथा आरोही हुनुहुन्थ्यो। बुबाकै प्रेरणाले आफूले पर्वतारोहणमा लागेर नयाँ कीर्तिमान बनाउने लक्ष्य राखेको टासीले बताउनुभयो। उहाँले दावाफुञ्जु शेर्पाले आठ दिनमा तीनपटक सगरमाथा चढेको कीर्तिमान तोड्ने लक्ष्य राख्नुभएको छ।

उहाँको यो अभियान एटके एक्सपिडिसन कम्पनीमार्फत भइरहेको हो। यसअघि टासीले सेभेनसमिट ट्रेक्स र फर्टिन पिक कम्पनीमा व्यावसायिक गाइडको रूपमा काम गर्नुभएको छ। परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन्।

विश्वस्तरमा नेपाललाई चिनाउने लक्ष्य

टासीले आफूलाई तेन्जिङ नोर्गे, आप्पा शेर्पा, बाबुछिरी, कामीरिता शेर्पाजस्ता प्रसिद्ध आरोहीहरूको पंक्तिमा राख्ने लक्ष्य राखेका छन्। सगरमाथामा नयाँ कीर्तिमान राखेपछि नेपालमा अझ बढी विदेशी पर्यटक आकर्षण गर्ने दिशामा लाग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

आफ्नो सगरमाथा यात्राका क्रममा भारत, चीन, अमेरिका लगायतका देशका नागरिकहरूलाई चुचुरोमा पुर्याएको अनुभव सुनाउँदै उहाँले आगामी दिनमा सातवटै महादेशका अग्ला हिमाल चढ्ने योजना रहेको जानकारी दिनुभयो।

आज विश्व सम्पदा दिवस, सम्पदा पदयात्रासहित विविध कार्यक्रम हुँदै

0

काठमाडौँ: सम्पदाको संरक्षण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आज (अप्रिल १८) विश्व सम्पदा दिवस नेपालमा विविध कार्यक्रमका साथ मनाइँदै छ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत विश्व सम्पदा क्षेत्रको संरक्षणप्रति ध्यानाकर्षण गराउने उद्देश्यले सन् १९८३ देखि हरेक वर्ष यो दिवस मनाउँदै आइएको हो।

हाल नेपालका काठमाडौँ उपत्यकाका वसन्तपुर, पाटन, भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण मन्दिर, पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ, लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छन्।

सम्पदा पदयात्रा हुँदै

विश्व सम्पदा दिवसको अवसरमा आज बिहान राजधानीमा सम्पदा पदयात्रा आयोजना गरिएको छ। पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका अन्तर्गतको हनुमानढोका दरबार संरक्षण कार्यक्रम, हनुमानढोका दरबार हेरचाह अड्डा, श्री स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमिति, नेपाल सम्पदा सङ्घ तथा बागमती प्रदेश हस्तकला सङ्घको संयुक्त आयोजनामा पदयात्रा गरिँदैछ।

पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालका अनुसार पदयात्रा स्वयम्भूको भुइँखेलबाट सुरु भई हनुमानढोका दरबार क्षेत्रमा पुगेर समापन हुनेछ। पदयात्रामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, संस्कृतिकर्मीहरू तथा विभिन्न सांस्कृतिक संस्थाको सहभागिता रहनेछ।

सम्पदा प्रभाव मूल्याङ्कनको अभ्यास सुरु

सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा त्यसले सम्पदामा पार्ने प्रभावको मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको छ। अघिसम्म ठूला आयोजना निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य थियो भने अब सम्पदास्थल नजिकै पूर्वाधार निर्माण गर्दा सम्पदा प्रभाव मूल्याङ्कन पनि गर्नुपर्नेछ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गका अनुसार दुई वर्षअघि सम्पदा प्रभाव मूल्याङ्कन सम्बन्धी कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइएको हो। विभागका अनुसार सरकारले गत वर्ष पहिलो पटक सम्पदा प्रभाव मूल्याङ्कनका लागि सरकारीस्तरको तालिम सञ्चालन गरेको थियो, जसबाट प्रशिक्षित जनशक्तिले मूल्याङ्कन कार्य सुरु गरिसकेका छन्।

विभागले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ मा पनि यस विषयलाई समेटेर संशोधन प्रक्रिया अघि बढाएको छ। तर ऐन संशोधनमा समय लाग्ने भएकाले मन्त्रालयस्तरीय निर्णयबाट कार्यविधि स्वीकृत गरी तत्काल कार्यान्वयन सुरु गरिएको हो। कार्यविधिअनुसार अब सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा सम्पदा प्रभाव मूल्याङ्कन प्रतिवेदन अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

दमौली बजार खण्डमा मुग्लिन–पोखरा सडकको कालोपत्र तीव्र गतिमा

0

दमौली (तनहुँ): मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत दमौली बजार क्षेत्रमा तीव्र गतिमा कालोपत्रको काम भइरहेको छ।

व्यास नगरपालिका–२ अन्तर्गत बागबजार, मुख्यचोक, सफासडक चोक हुँदै तरकारी लाइनसम्म कालोपत्रको काम जारी रहेको मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले राससलाई जानकारी दिनुभयो।

उनका अनुसार चालु आर्थिक वर्षभित्रै दमौली खण्डको कालोपत्र कार्य पूरा गर्ने लक्ष्यसहित काम भइरहेको छ। बुधबार बागबजार खण्डमा कालोपत्र गरिएको थियो भने बिहीबार मुख्यचोक क्षेत्रमा एकतर्फी कालोपत्र सम्पन्न भएको छ। दुर्गामन्दिरदेखि चापाघाटसम्मको खण्डमा पनि चाँडै कालोपत्र गरिनेछ।

पूर्वी खण्डका अन्य स्थानमा घरटहरा हटाउन ढिलाइ भएका कारण कालोपत्रको काम केही समय रोकिएको थियो। हाल चार किलोमिटर सडक मात्रै कालोपत्र गर्न बाँकी रहेको इञ्जिनियर पाण्डेले जानकारी दिनुभयो।

पूर्वी खण्डअन्तर्गत हालसम्म सडक निर्माणको ८२.९५ प्रतिशत काम सम्पन्न भइसकेको छ। यो खण्डमा पहिलो तहअन्तर्गत ३८.३१ किलोमिटर दूरीमा चार लेन तथा ०.२९ किलोमिटर दूरीमा दुई लेनको कालोपत्र गरिएको छ।

पोखरा विमानस्थल सम्बन्धी उपसमितिको प्रतिवेदन संसद्को लेखा समितिमा पेस

0

काठमाडौँ: पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी उपसमितिको अध्ययन प्रतिवेदन संघीय संसद्को सार्वजनिक लेखा समितिमा पेस गरिएको छ।

उक्त उपसमिति सांसद राजेन्द्रप्रसाद लिङ्देनको संयोजकत्वमा गठन गरिएको थियो। समितिले विमानस्थल निर्माणसँग सम्बन्धित विविध पक्षको समग्र अध्ययन गरेको छ। उपसमितिमा सांसद अर्जुननरसिंह केसी, अमनलाल मोदी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, प्रेमबहादुर आले र रामकृष्ण यादव सदस्य थिए।

विभिन्न निकाय र सरोकारवालाबाट प्रश्न उठेपछि २०८१ जेठ २७ गते सार्वजनिक लेखा समितिको निर्णयअनुसार अध्ययन तथा अनुगमन कार्य अघि बढाइएको थियो। सोही निर्णयअनुसार २०८१ असार २३ देखि २५ गतेसम्म उपसमितिले स्थलगत निरीक्षण गरेको हो।

स्थलगत निरीक्षणका क्रममा उपसमितिले विमानस्थल निर्माणमा संलग्न निकाय, स्थानीय बासिन्दा तथा विषयगत विज्ञहरूसँग आवश्यक छलफलसमेत गरेको थियो। प्रतिवेदनमा विमानस्थलको भौतिक संरचना, उपकरण, धावनमार्ग, वरिपरिका भूभाग तथा कटान गरिएको छिनेडाँडाको अवस्थाबारे विस्तृत विवरण समावेश गरिएको छ।

करिब रु २२ अर्ब लागतमा चीनको एक्जिम बैंकको ऋण सहयोगमा निर्माण सम्पन्न भएको उक्त विमानस्थल २९ डिसेम्बर २०२२ मा निर्माण सम्पन्न भई २०७९ पुस १७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।

हालसम्म विमानस्थलमा केही अन्तरराष्ट्रिय चार्टर उडानबाहेक नियमित अन्तरराष्ट्रिय उडान सुरु हुन सकेको छैन। हाल आन्तरिक उडान मात्र सञ्चालनमा छन्। समितिका अनुसार उपसमितिको प्रतिवेदनमाथि आवश्यक छलफलपछि उपयुक्त निर्णय लिइनेछ।