Wednesday, June 17, 2026
Home Blog Page 14

परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा, द्विपक्षीय सम्बन्धका विविध विषयमा वार्ता हुने

0

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज (शुक्रबार)देखि भारतको औपचारिक भ्रमणमा जाँदैछन्। भारतीय विदेशमन्त्री एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको यो भ्रमण आइतबारसम्म चल्नेछ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँदिल्लीमा भारतीय समकक्षी डा. एस जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षहरू, विशेषगरी व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा जनस्तरका सम्बन्धका विषयमा छलफल हुने जनाइएको छ।

मन्त्रालयले नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानअन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल–भारतबीचको दीर्घकालीन तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। परराष्ट्रमन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

यसैबीच, परराष्ट्रमन्त्री खनालले सरकार सुशासन, आर्थिक सुधार र तीव्र विकासको लक्ष्यसहित अघि बढिरहेको बताएका छन्। उनले नागरिकको बढ्दो अपेक्षा पूरा गर्न सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्।

उनले क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको प्राथमिकता र आवाजलाई प्रभावकारी रूपमा प्रस्तुत गरिरहेको बताउँदै विकास साझेदारीलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन्। साथै, स्थानीय सरकारलाई सशक्त बनाउनु नै विकास कार्यक्रम र सामाजिक क्षेत्रका गतिविधिलाई प्रभावकारी बनाउने आधार भएको उनको भनाइ छ।

आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५३ रुपैयाँ नाघ्यो

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको विनिमयदर वृद्धि हुँदै बिक्रीदर १५३ रुपैयाँ ५६ पैसासम्म पुगेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा कायम गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बेलायती पाउण्ड स्टर्लिङको खरिददर २०५ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ६५ पैसा कायम गरिएको छ।

अन्य प्रमुख मुद्राअन्तर्गत अष्ट्रेलियन डलरको खरिददर १०९ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर ११० रुपैयाँ १० पैसा, सिङ्गापुर डलर ११९ रुपैयाँ २४ पैसा तथा चिनियाँ युआन २२ रुपैयाँ ५८ पैसामा खरिद हुने राष्ट्र बैंकले जनाएको छ।

खाडी मुलुकका मुद्रातर्फ साउदी रियालको खरिददर ४० रुपैयाँ ७४ पैसा, कतारी रियाल ४१ रुपैयाँ ९५ पैसा, यूएई दिराम ४१ रुपैयाँ ६५ पैसा तथा कुवेती दिनारको खरिददर ४९८ रुपैयाँ ३२ पैसा कायम गरिएको छ।

त्यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर परिवर्तन हुन सक्ने जनाएको छ।

समृद्ध भविष्यका लागि प्रकृतिमैत्री विकास’ नारासहित आज विश्व वातावरण दिवस मनाइँदै

0

काठमाडौं । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। यस वर्ष ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित दिवस मनाउन लागिएको हो।

दिवसका अवसरमा वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती र दिगो विकासका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम, अन्तरक्रिया, वृक्षारोपण तथा सचेतनामूलक अभियान सञ्चालन भइरहेका छन्।

हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसले वातावरण संरक्षण, जैविक विविधताको जगेर्ना तथा जलवायु परिवर्तनप्रति विश्वव्यापी सचेतना फैलाउने लक्ष्य राख्दै आएको छ।

वातावरणविद्हरूले जलवायु संकट बढ्दै गइरहेका बेला प्रकृतिमैत्री जीवनशैली, हरित विकास र वातावरण संरक्षणलाई व्यवहारमै लागू गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

राष्ट्रपति पौडेलको आह्वान: जलवायु संकट सामना गर्न प्रकृतिमैत्री विकास आवश्यक

0

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतको अत्यधिक दोहनले विश्व समुदायलाई गम्भीर चुनौती दिइरहेको भन्दै वातावरण संरक्षण र प्रकृतिमैत्री विकासमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।

विश्व वातावरण दिवस २०२६ का अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले हरित विकास, स्वच्छ ऊर्जा, वृक्षारोपण र प्राकृतिक सम्पदाको संरक्षणमार्फत भावी पुस्ताका लागि सुरक्षित र दिगो भविष्य निर्माण गर्न आह्वान गरेका हुन्।

राष्ट्रपति पौडेलले प्रकृति र वातावरण मानव जीवनको आधार भएको उल्लेख गर्दै स्वच्छ हावा, शुद्ध पानी, हरियाली वनजंगल तथा जैविक विविधताको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।

यस वर्ष ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने नारासहित विश्व वातावरण दिवस मनाइरहेको उल्लेख गर्दै उनले वातावरण संरक्षणलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका छन्।

उनले नेपालमा हिमाल पग्लिने, अनियमित वर्षा, बाढी, पहिरो तथा वातावरणीय असन्तुलनजस्ता असरहरू देखिन थालेको उल्लेख गर्दै जलवायु परिवर्तन भविष्यको मात्र नभई वर्तमानकै चुनौती बनिसकेको बताएका छन्।

राष्ट्रपतिले विकास र वातावरण एकअर्काका परिपूरक भएको उल्लेख गर्दै प्रकृतिमैत्री जीवनशैली अपनाउन, वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न तथा जलवायु अनुकूलन क्षमता विकास गर्न सबैलाई आग्रह गरेका छन्।

साथै, स्वच्छ ऊर्जाको प्रयोग, वृक्षारोपण तथा प्राकृतिक सम्पदाको संरक्षणमार्फत सुरक्षित, हरित र दिगो भविष्य निर्माण गर्न सकिने विश्वास उनले व्यक्त गरेका छन्।

तराईमा तातो लहरको जोखिम, पहाड–हिमालमा वर्षा र चट्याङको सम्भावना

0

काठमाडौं । हाल देशमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेकाले आज देशका विभिन्न क्षेत्रमा मिश्रित मौसम रहने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज विशेषगरी मधेस र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा मध्यम तातो लहर चल्ने सम्भावना रहेको छ। साथै, कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो दिनको अवस्था रहने अनुमान गरिएको छ। यी क्षेत्रमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने पूर्वानुमान छ।

आज कोसी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने मौसम विभागले जनाएको छ।

यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा मधेस, कोसी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति कोसी प्रदेशसहित हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्र तथा मधेस प्रदेशमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य तराई भूभागमा मौसम मुख्यतः सफा रहने अपेक्षा गरिएको छ।

विभागका अनुसार रातिको समयमा कोसी प्रदेशका केही स्थान तथा मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा उच्चस्तरीय वार्ता हुने

0

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आगामी जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। उनी भारतीय विदेशमन्त्री डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा भारत जान लागेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले भारतीय समकक्षी डा. जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल (कनेक्टिभिटी) तथा जनस्तरको सम्बन्धलगायतका विषयमा केन्द्रित भएर छलफल हुने जनाइएको छ।

मन्त्रालयले यो भ्रमणलाई नेपाल–भारतबीच नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमण आदान–प्रदानको निरन्तरता भएको उल्लेख गर्दै यसले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

पछिल्लो समय नेपाल–भारत सम्बन्धसँग जोडिएका विभिन्न राजनीतिक तथा कूटनीतिक विषय चर्चामा रहेका बेला हुन लागेको यो भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल औपचारिक भ्रमण पूरा गरी जेठ २४ गते काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

‘हामी बाटो बिरायौँ भने सच्याइदिनुहोस्’ — कार्यकर्तालाई रवि लामिछानेको आग्रह

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी सङ्गठनलाई थप बलियो बनाउन नेता–कार्यकर्तालाई सक्रिय भूमिका खेल्न आग्रह गर्दै गलत काम भए खबरदारी गर्न अनुरोध गरेका छन्।

भारतको नयाँ दिल्लीमा आयोजित पार्टी कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले रास्वपाका समर्थकहरू अन्ध समर्थन गर्ने समूह नभई सचेत र जिम्मेवार नागरिक भएको बताए। नेतृत्वले गलत बाटो समाते सच्याउने जिम्मेवारी पनि समर्थकहरूमाथि रहेको उनको भनाइ थियो।

उनले पार्टीप्रति देखाएको विश्वास र समर्थनप्रति आभार व्यक्त गर्दै आफूहरू जनताको भरोसा कायम राख्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘हामीबाट केही कमजोरी भए सुझाव दिनुहोस्, खबरदारी गर्नुहोस्। तपाईंहरूले जुन विश्वासका साथ घर–घरमा पुगेर घण्टीमा मतदान गर्न आग्रह गर्नुभयो, त्यो विश्वासमा आँच आउने काम हामी गर्ने छैनौँ,’ उनले भने।

लामिछानेले रास्वपामा आलोचना, सुझाव र आत्मसमीक्षाको संस्कार आवश्यक रहेको उल्लेख गर्दै समर्थकहरूले सहीलाई सही र गलतलाई गलत भन्न सक्ने विवेक राख्ने बताए।

उनले पार्टीका निर्णय वा गतिविधिमा कमजोरी देखिए सच्याउने अवसर दिन आग्रह गर्दै नेतृत्वलाई सही दिशामा राख्न समर्थकहरूको भूमिका महत्त्वपूर्ण हुने बताए।

सरकारको कामकारबाहीबारे उठिरहेका प्रश्नका सन्दर्भमा उनले सरकारको नियतमाथि शंका गर्नुपर्ने अवस्था नरहेको दाबी गरे। कामका क्रममा प्रक्रियागत वा प्राविधिक कमजोरी हुन सक्ने भए पनि सरकारको उद्देश्य देश र जनताको हितमै केन्द्रित रहेको उनको भनाइ थियो।

कैदीलाई होटल लगेर बियर, मासु र युवतीसँग भेट गराएको आरोपमा दुई प्रहरी बर्खास्त

0

काठमाडौं । केन्द्रीय कारागार जगन्नाथदेवलमा सजाय काटिरहेका एक कैदीलाई नियमविपरीत कारागारबाहिर लगेर होटलमा बियर, मासु खुवाउनुका साथै युवतीसँग भेट गराएको घटनामा संलग्न दुई प्रहरी कर्मचारी बर्खास्त भएका छन्।

घटनामा संलग्न प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विकलाई सेवाबाट बर्खास्त गरिएको प्रहरीले जनाएको छ। उनीहरूले गत जेठ १ गते कैदी अनुप भण्डारीलाई हतकडीसमेत नलगाई कारागारबाट बाहिर निकालेका थिए।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओम अधिकारीका अनुसार घटनाबारे छानबिनपछि दुवै प्रहरी कर्मचारी दोषी ठहर भएकाले सेवाबाट हटाइएको हो।

प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले कैदीलाई ‘अस्पताल लैजाने’ बहाना बनाएर कारागारबाट बाहिर निकालेका थिए। तर अस्पताल लैजानुको सट्टा उनलाई होटल पुर्‍याएर खानपिन गराउनुका साथै बाह्य व्यक्तिसँग भेटघाट गराउन सहयोग गरेको खुलेको छ।

सुरक्षा संवेदनशीलतामाथि गम्भीर लापरबाही गरेको, कैदी व्यवस्थापनसम्बन्धी नियम उल्लंघन गरेको तथा व्यावसायिक आचरणविपरीत काम गरेको निष्कर्षसहित प्रहरीले उनीहरूमाथि कारबाही गरेको जनाएको छ।

संविधान संशोधन बहस अघि बढ्दै, पूर्वराष्ट्रपतिद्वयले दिए राष्ट्रिय सहमति र प्रणाली सुधारका सुझाव

0

काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट गरी सुझाव संकलन गरेको छ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वयसँग उनीहरूको निवासमै पुगेर संविधानलाई समयानुकूल, व्यावहारिक र थप प्रभावकारी बनाउने विषयमा छलफल गरेको हो।

भेटका क्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधान नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि भएकाले यसको मूल मर्म जोगाउँदै अघि बढ्नुपर्नेमा जोड दिए। उनले संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता तथा समानुपातिक समावेशीजस्ता आधारभूत संरचनालाई अक्षुण राख्दै नयाँ पुस्ताका अपेक्षा समेट्न सुझाव दिएका छन्।

उनले संविधान संशोधनजस्तो संवेदनशील विषयमा पर्याप्त गृहकार्य, फराकिलो राजनीतिक सहमति तथा संसद्मा रहेका प्रमुख दलहरूको सहभागिता आवश्यक रहेको बताए। साथै, श्रमिक, किसान, सुकुम्बासी तथा विपन्न समुदायका आवश्यकतालाई केन्द्रमा राखेर संशोधन प्रक्रिया अघि बढाउनुपर्ने उनको धारणा थियो।

यस्तै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधान संशोधन प्रक्रिया राजनीतिक सहमति र राष्ट्रिय सहकार्यका आधारमा अघि बढ्नुपर्ने बताइन्। उनले महिला सहभागिताको वर्तमान प्रणालीमाथि पुनर्विचार गर्नुपर्ने उल्लेख गर्दै प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने सुझाव दिइन्।

भण्डारीले सरकार परिवर्तनसँगै राजदूत फिर्ता बोलाउने अभ्यासमाथि पनि प्रश्न उठाउँदै यस्तो परिपाटी सुधार गर्नुपर्ने बताइन्। साथै, संविधानमार्फत गठन गरिएका विभिन्न आयोगहरूको प्रभावकारिता र उपादेयताको पुनर्मूल्यांकन आवश्यक रहेको उनको भनाइ थियो।

कार्यदलले पूर्वराष्ट्रपतिद्वयसँगको छलफलपछि अब पूर्वप्रधानमन्त्रीहरूसँग पनि भेटघाट गरी संविधान संशोधनका विषयमा थप सुझाव संकलन गर्ने तयारी गरेको जनाएको छ।

‘आमिर खान तेस्रो विवाहको तयारीमा, जुलाईमा गौरी स्प्र्याटसँग निजी समारोहमा विवाह गर्ने’

0

मुम्बई । अभिनेता आमिर खान चाँडै नै प्रेमिका गौरी स्प्र्याटसँग विवाह बन्धनमा बाँधिने भएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनीहरूले यही वर्ष जुलाई ५ मा पारिवारिक उपस्थितिमा निजी समारोहबीच विवाह गर्ने तयारी गरेका छन्।

रिपोर्टअनुसार, विवाह भव्य कार्यक्रमभन्दा पनि साधारण र निजी शैलीमा हुनेछ। दुवैले सानो ‘साइनिङ सेरेमनी’ मार्फत आफ्नो सम्बन्धलाई कानुनी रूपमा औपचारिकता दिने तयारी गरेका छन्। आमिरले सन् २०२५ मा आफ्नो ६०औँ जन्मदिनका अवसरमा गौरीसँगको सम्बन्ध सार्वजनिक रूपमा स्वीकार गरेका थिए।

यो आमिर खानको तेस्रो विवाह हुनेछ। उनले पहिलो विवाह सन् १९८६ मा रीना दत्तासँग गरेका थिए। करिब १६ वर्ष लामो वैवाहिक सम्बन्धपछि सन् २००२ मा उनीहरू अलग भएका थिए। त्यसपछि उनले सन् २००५ मा निर्देशिका किरण रावसँग विवाह गरे। यो सम्बन्ध पनि सन् २०२१ मा अन्त्य भएको थियो।

सञ्चारमाध्यमहरूका अनुसार आमिर र गौरी पछिल्ला दुई वर्षभन्दा बढी समयदेखि मुम्बईमा सँगै बस्दै आएका छन्। पारिवारिक स्रोतहरूका अनुसार उनीहरू स्थिर र सुखद सम्बन्धमा छन् र अब परिवारकै उपस्थितिमा सम्बन्धलाई औपचारिकता दिने निर्णय गरेका हुन्।

बेंगलुरुकी गौरी स्प्र्याट फेसन तथा सौन्दर्य व्यवसायसँग जोडिएकी उद्यमी हुन्। उनले लन्डनमा फेसन र स्टाइलिङ अध्ययन गरेकी छन् र हाल मुम्बईमा सौन्दर्य व्यवसाय सञ्चालन गरिरहेकी छन्। उनी पछिल्लो समय आमिरसँग विभिन्न सार्वजनिक कार्यक्रमहरूमा पनि देखिँदै आएकी छन्।

आमिर र गौरी एकअर्कालाई करिब २५ वर्षदेखि चिन्छन्। सुरुमा उनीहरू घनिष्ठ साथी थिए र पछि सम्बन्ध प्रेममा परिणत भएको बताइएको छ। एक अन्तर्वार्तामा आमिरले गौरीसँग आफूले शान्ति र आत्मीयता महसुस गर्ने बताएका थिए।

यसअघि आमिरले आफ्नो पहिलो वैवाहिक सम्बन्ध टुट्नुमा आफू काममा अत्यधिक व्यस्त हुनु र परिवारलाई पर्याप्त समय दिन नसक्नु मुख्य कारण भएको स्वीकार गरेका थिए। यद्यपि, पूर्व पत्नीहरू रीना दत्ता र किरण रावसँग आज पनि सम्मानपूर्ण सम्बन्ध कायम रहेको र उनीहरू सन्तानको पालनपोषणमा सहकार्य गरिरहेको बताइएको छ।