Thursday, July 30, 2026
Home Blog Page 1382

धर्मसंकटमा नेपाल

0

अध्यक्ष ओलीसँग नझुक्ने अभिव्यक्ति र एमाले छोड्न नसक्ने मनस्थितिको विरोधाभासमा नेपालले अब के गर्लान् ?

काठमाडौँ — एमाले खनाल–नेपाल समूहको चैत ५ गतेको राष्ट्रिय भेलामा प्रदेश २ की सांसद मञ्जु यादवले सोधिन्, ‘फागुन २८ गतेको निर्णय फिर्ता लिएर ओली पक्ष २०७५ जेठ २ कै अवस्थामा पार्टीलाई पुनःस्थापित गर्न तयार भए त ठीकै छ, नभए के गर्ने ? लत्रिने ?’

अलमलपूर्ण अवधारणापत्र र नेताहरूको त्यस्तै भाषण सुनेपछि यादवले झैं धेरै प्रतिनिधिले यो प्रश्न झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेतृत्वसमक्ष सोझ्याएका थिए । उनीहरूले ठ्याक्कै जवाफ भने पाउन सकेनन् ।

उपमहासचिव घनश्याम भुसालले अन्तिमतिर ओली प्रवृत्तिविरुद्ध एमालेभित्रै संघर्ष गर्ने र तल्लो तहसम्म पार्टी कमिटी गठन/पुनर्गठन गर्दै जाने नै अबको कार्यक्रम हो भनेपछि भेलामा सहभागी सबैले ताली बजाएर अनुमोदन गरेका थिए । तर बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले नेपाल पक्षको अपेक्षाविपरीत पार्टीको महत्त्वपूर्ण अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई सुम्पिँदै नेपाल र भुसालसहितका चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गर्‍यो । भलै स्पष्टीकरण सोधिएको पत्र यी नेताले आइतबारसम्म पाएका छैनन् ।

यससँगै नेताहरूको जिम्मेवारी हेरफेर र केन्द्रीय कमिटी विस्तार गर्ने २८ गतेको निर्णय फिर्ता लिए पार्टीभित्र सहमतिको वातावरण बन्न सक्ने यो पक्षको बटमलाइनलाई अध्यक्ष ओलीले भनेका छन्, ‘पार्टीमा गुटबन्दी नो इन्ट्री ।’ ओलीको यो अभिव्यक्ति आफ्ना पक्षका नेताहरूमात्रै सम्मिलित गुटकै बैठकमा आएको हो । तर शनिबारको बैठकले गरेका निर्णयले नेपाल समूह र त्यसको नेतृत्वकर्ता नेपाललाई पार्टी जीवनकै अप्ठ्यारो परिस्थितिमा पुर्‍याइदिएको छ । यतिबेला नेपालका सामु आत्मसमर्पण या विद्रोहमध्ये एउटा बाटोमा हिँड्नुपर्ने परिस्थिति आएको छ । यी दुवै विकल्प नेपालका लागि प्रिय छैनन् ।

ओलीले छलफलका लागि बोलाउँदा उनको निवास बालुवाटारमा र एक्लै नभेट्ने बताएका नेपाल अब परिस्थिति आफ्नो प्रतिकूल हुँदा ओलीसमक्ष ‘लत्रिनु’ उनको राजनीतिक जीवनको लम्बेतान यात्रामा भयंकर आत्मसमर्पणवाद हुन सक्छ । यसो भन्दैमा एमाले बनेको चौथो वर्षदेखि नै पार्टी महासचिव भएर झन्डै १५ वर्ष हाँकेको पार्टीलाई छोड्न उनकै मनले दिँदैन ।

अध्यक्ष ओलीसँग नझुक्ने अभिव्यक्ति र एमाले छोड्न नसक्ने मनस्थितिको विरोधाभासमा नेपालले अब के गर्लान् ? उनले के गर्ने भन्ने तय गरिसकेका छैनन् । ओलीले सोधेको स्पष्टीकरणकै सन्दर्भमा पनि नेपालपक्षीय नेताहरूका बीचमा घनिभूत छलफल भइसकेको छैन । सम्भवतः सोमबार उनीहरूले स्पष्टीकरण सोधिएको पत्र पाउनेछन् र सामूहिक धारणा पनि बनाउनेछन् ।

उपमहासचिव घनश्याम भुसाल अहिले परिस्थिति असहज भए पनि विकल्परहित नभएको बताउँछन् । ‘हामीलाई अप्ठ्यारो छ, तर अप्ठ्यारो ओलीजीले सोध्ने भनिएको स्पष्टीकरणका सन्दर्भमा होइन, हाम्रो एजेन्डालाई उठाएर गाउँ/टोलसम्म पुर्‍याउने र हाम्रो समूहमा रहेका नेता–कार्यकर्तालाई एकताबद्ध राखेर एमालेले चलाउने गतिविधि कसरी प्रभावकारी बनाउने भन्ने हाम्रो चुनौती हो,’ भुसालले भने, ‘हामीले हाम्रो फोर्सलाई संगठित गर्न सक्यौं भने उहाँको कारबाहीले फरक पार्दैन । उहाँले बोलाएको बैठकमा जाने बाटो फागुन २८ को निर्णयले छेकेकै थियो ।’

ओलीले संविधान मिचेर पुस ५ मा गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई फागुन ११ मा सर्वोच्चले बदर गरिदिएपछि तत्काल नेकपाको एउटै खेमामा रहेका पुष्पकमल दाहाल र नेपाल समूहले उत्सव मनाएका थिए । संविधान लिकमा हिँड्यो भन्ने प्रतिक्रिया धेरैतिरबाट आएको पनि थियो । केही जानकारले प्रतिनिधिसभाको पुनर्बहाली भए पनि त्यसपछि हुने राजनीतिक खेलोमेलोले मुलुकलाई थप जटिलतातिर धकेल्ने बताएका थिए । फागुन ११ पछिका दिनहरूमा त्यस्तो संकेत मिल्दै थियो, सर्वोच्चले अर्को फैसला गरिदियो ।

जसले पूर्वएमाले र पूर्वमाओवादीका नेताहरू आ–आफ्नै थातथलोमा फर्किन बाध्य भए । यसले असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गर्ने निर्णय उल्टिएपछि अप्ठ्यारोमा परेका ओलीलाई सबैभन्दा बलियो अवस्थामा पुर्‍यायो, एक हिसाबले ओली राजनीतिक रूपमा बौरिए । उनले भनेका पनि छन्, ‘मलाई पार्टीका साथीहरूले ढुंगामा बजारी–बजारी सक्न लागेका थिए, सर्वोच्चको फैसलाले बचायो ।’

सर्वोच्चको फैसलापछि ओलीले चाहेकै पार्टी एमाले र सूर्य चिह्नमात्रै प्राप्त गरेनन्, केन्द्रीय कमिटी र संसदीय दलमा रहेको उनको बहुमत पनि फर्किएर आयो । नेकपा हुँदा ओली अल्पमतमा थिए । अल्पमतमा भएकै कारण पार्टीमा संघर्ष गर्न नसकेपछि उनले प्रतिनिधिसभामाथि प्रहार गरेका हुन् तर अहिले संसदीय दलको विधान र पार्टी कमिटीको निर्णयसमेत आफूअनुकूल गरेर ओली एमालेमा नवौं महाधिवेशनयताकै शक्तिशाली बनेका छन् ।

प्रतिनिधिसभा विघटनयता ओलीले जे गरे, ती गतिविधिमा उनको समूहका कुनै नेताले आपत्ति जनाएनन्, बरु उफ्रीउफ्री ताली ठोके । उनले जे भन्छन्, त्यो मात्र चल्ने खालको अवस्था बन्यो । जुन अवस्था ओलीको स्वभावअुनुकूल थियो । त्यसैले उनले अब फेरि माधव नेपाललगायत नेताहरूको विरोध र असन्तुष्टिलाई सम्बोधन गर्दै हिँड्नुभन्दा उनीहरूको बाटो थुनेर अघि बढ्ने उद्देश्य ओलीले राखे । त्यसैको परिणाम उनले नेपाललगायत आफ्ना कट्टर विरोधी नेताहरूलाई स्पष्टीकरणको डन्डामार्फत शक्ति प्रदर्शन गर्न खोजेका छन् ।

ओली यसरी शक्तिशाली हुँदै गर्दा जम्मा ३८ जनामात्रै सांसद र ८६ जना केन्द्रीय सदस्यको साथ पाएका नेपाल सांगठनिक, राजनीतिक र रणनीतिक सबै हिसाबले कमजोर देखिन्छन् । त्यसमाथि नेपालसँग प्रत्यक्ष निर्वाचित सांसद जम्मा २३ जनामात्रै छन् । समानुपातिक सांसदको बन्दसूची हेरफेर गर्ने अधिकार ओली एक्लैले पाएसँगै नेपाल पक्षमा रहेका १५ जना समानुपातिक सांसदको पद हल्लिएको छ । कालान्तरमा उनीहरूमध्ये अधिकांश या त ओली गुटमा जालान् या ओलीले चलाउने कारबाही भोग्न तयार होलान् । यो नेपालका लागि अर्को अप्ठ्यारो हो ।

एमाले उपाध्यक्ष भीम रावल ओलीसँग स्पष्टीकरण सोध्ने नैतिकता र पार्टीमा मनपरी गर्ने वैधानिक दुवै आधार नभएकाले आफूहरू पार्टी गतिविधिमै केन्द्रित हुने बताउँछन् । ‘विधानको धारा १३ अनुसार विधान अधिवेशनले मात्रै संशोधन गर्न सक्ने विधान गुटको भेला बोलाएर हचुवाका भरमा संशोधन गरी त्यहीअनुसार निर्णय गरें भनेर ओलीजीले भन्नुभएको छ, लोकतान्त्रिक पद्धतिमा यस्तो कुरा चल्दैन, यो खाले निरंकुश र स्वेच्छाचारी हर्कतले पार्टी एक जना व्यक्तिको कम्पनीमा परिणत हुन्छ,’ रावलले भने, ‘नेपालको राजनीतिक इतिहासमा यसरी कानुन मिच्ने, विधि मिच्ने पात्रहरू बेलाबेला देखिने गरे पनि त्यस्ता निरंकुश पात्रहरू टिकेको इतिहास छैन ।’

अदालतको फैसलापछि फागुन २४ मा नेपालपक्षीय एमाले र माओवादी केन्द्रका नेताहरूको संयुक्त बैठक माओवादी कार्यालय पेरिसडाँडामा बस्यो । बिदाइ बैठक भनिएको उक्त दिन नेपाल सबैभन्दा अन्तिमसम्म बसेर सबै स्थायी कमिटी सदस्यहरूको कुरा सुनेका थिए । बैठकमा वाम गठबन्धन बनाउने विषयमा उनीहरूबीच साझा धारणा बनेको थियो । त्यसपछि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम परिवर्तनसम्बन्धी विषयले एकाएक प्रवेश पायो ।

अर्कातिर एमालेको १२० र जसपाका ३२ जना सांसद भएपछि सजिलै सरकार बनाउन सकिने आकलनसहित अध्यक्ष ओलीले जसपाको एउटा समूहसित संवाद अघि बढाएका थिए । तर उनीहरूलाई नेपालपक्षीय सांसदले फोन गरेर त्यस्तो गठबन्धनमा सहमति जनाए आफूहरूले फ्लोर क्रस गरेर भए पनि सरकार बन्न नदिने बताएको सूचना ओलीसमक्ष पुग्यो । यही कारण जसपाको उक्त खेमा बिच्किएको ओली समूहको बुझाइ थियो ।

त्यसमाथि एमालेभित्रै नेपाल समूहले छुट्टै बैठक र भेलाहरू गरेपछि ओलीलाई निको लाग्ने कुरै भएन । यी सबै पृष्ठभूमिमा ओलीले आफूलाई सहज हुने गरी कदम चाल्दा नेपाललाई असहज भयो । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य यो अवस्थामा ओलीसँग मिलेर जान नसकिने बताउँछिन् ।

‘हाम्रो कुरा सिधा छ, केपीजीसँग मिल्न सक्दैनौं, त्यसैले कमिटीमा हाम्रो गतिविधि रोक्दैनौं, हाम्रो समूह बलियो बनाउँछौं, एमालेलाई बलियो बनाउँछौं,’ उनले भनिन्, ‘हाम्रा कमरेडहरूलाई स्पष्टीकरण सोध्ने ओलीजीको आफ्नै नैतिक धरातल छैन । संविधान मिचेर उहाँले गरेको निर्णय बदर भएर संसद् पुनःस्थापित भएपछि उहाँको नैतिकता कहाँ गयो त ? विधान मिचेर ओलीले चालेका कदम पनि एकदिन उहाँले नै सच्याउनुहुनेछ ।’

यद्यपि नेता शाक्यले तुरुन्तै अलग भएर जान भने नसकिने बताइन् । अन्तिमसम्म पनि ओलीलाई दबाब दिने र समानान्तर कमिटीहरूमार्फत आफ्नो समूहलाई बलियो बनाउने गरी अघि बढ्ने शाक्यको भनाइ थियो । तर यसका लागि उनीहरूमा ओलीपक्षबाट हुन सक्ने जस्तोसुकै निर्मम प्रहारको पनि सामना गर्न सक्ने आँट भने चाहिन्छ । यो आँट कार्यकर्ता तह र दोस्रो तहका कतिपय नेताहरूमा भए पनि स्वयं माधवकुमार नेपालमा भने छैन । त्यसैले उनले अब कुन बाटो जाने हो तय गर्न सकेका छैनन्, आफू हिँड्ने बाटोतिर फर्किन सकेका छैनन् ।

कान्तिपुरबाट साभार

शे–फोक्सुण्डोमा निःशुल्क इन्टरनेट जडान

0

शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा जडान गरिएको छ ।

निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्कले निःशुल्क इन्टरनेट सेवा जडान गरेको हो ।

सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसार–प्रसार होस् भन्ने हेतुले ताल नजिकै निःशुल्क इन्टरनेट सेवा जडान गरिएको वल्र्ड लिङ्कले जनाएको छ ।

इन्टरनेट प्रयोग गर्ने व्यक्तिले एक दिनमा निःशुल्क ५०० एमबी प्रयोग गर्नसक्ने कम्पनीका प्राविधिक उमाकान्त क्षेत्रीले जानकारी दिनुभयो । निःशुल्क इन्टरनेट जडानसँगै फोक्सुण्डो ताल घुम्न आउने पर्यटकका लागि सञ्चार सम्पर्कमा रहन सहज हुनाका साथै पर्यटकले मनोरञ्जन लिनसक्ने क्षेत्रीको भनाइ छ ।

१५ किलो गाँजासहित तीनजना पक्राउ

0

सर्लाहीको लालबन्दी नगरपालिकास्थित अटोबाट १५ किलो लागुऔषध गाँजासहित तीनजना पक्राउ परेका छन् ।

विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले लालबन्दी नगरपालिका १७ स्थित रानीगन्जबाट ज १ ह ४६०९ नं को अटोमा सवार तीन जनालाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा स्थानीय अटो चालक ४५ वर्षीय पुस्पबहादुर फुयाँल, ४० वर्षीय सुन्कुमार बल र वडानम्बर १४ निवासी ४१ वर्षीय पाल्साङ पाख्रिङ छन् ।

अटोमा राखिएको तीनवटा जेब्रा झोलाभित्र १५ किलो गाँजा बरामद भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । उनका अनुसार पक्राउ परेका बलको साथबाट नगद २५ हजारसमेत बरामद भएको छ ।

अटो, गाँजासहित तीनैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

नाली खन्दा बम भेटिएपछि

0

कैलालीको टीकापुर नगरपालिका १ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ ।

बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो । त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

फेला परेको बम सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिइसकेको छ । आज बिहान सेनाको बम डिस्पोजल टोली टीकापुर आउन थालेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए

गैँडा गणना शुरु

0

पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आज बिहान सिटी फुकेर गैँडा गणनाको शुभारम्भ गर्नुभएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर आजदेखि गणना शुरु गरिएको हो ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, वन मन्त्रालयका सचिव डा विश्वनाथ ओली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुु संरक्षण विभागका महानिर्देशक दीपक खराल, वन विभागका महानिर्देशक मनबहादुर खड्का, वन मन्त्रालयका महाशाखा प्रमुख, विभिन्न दातृ निकायका प्रमुखको सहभागिता रहेको थियो ।

गणना शुरु भएसँगै सौराहामा औपचारिक उद्घाटन कार्यक्रम गरिँदै छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गणनामा ४० वटा हात्ती र २०० जनशक्ति परिचालन गरिएको छ । दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिएका छन् । कोशीमा दरबन्दी रहेर यहाँ रहेका हात्ती र मध्यवर्ती क्षेत्रमा केही निजी हात्तीलाई पनि गणनामा प्रयोग गरिने छ । बरालका अनुसार ४० मुख्य गणक र वैकल्पिक २० लाई गणनामा खटाइँदै छ ।

यसका अतिरिक्त हात्तीको दरबन्दीमा रहेका कर्मचारी खटिएका छन् । गणनामा खटिएकालाई यही चैत ६ र ७ गते सौराहामा तालीम दिइएको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेका अनुसार दुई निकुञ्जमा गैँडा गणना गर्न २० दिन हाराहारी लाग्ने छ ।

राष्ट्रपति भण्डारी आज बंगलादेश जाँदै

0

राष्ट्रति विद्यादेवी भण्डारी आज बङ्गला देश प्रस्थान गर्दैछिन् । बंगलादेशी समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी राजकीय भ्रमणका लागि त्यसतर्फ जान लागेकी हुन् ।

वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत राष्टपति भण्डारी बिहान पौने ९ बजे बंगलादेश उड्ने कार्यक्रम तय भएको छ राष्ट्रपति कार्यालये जनाएको छ ।

दुई दिने भ्रमणका क्रममा नेपाल र बंगलादेशको बीचमा रहेको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतालगायत कम्तीमा चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ ।

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुने कार्यक्रम पनि छ ।

सो कार्यक्रममा भण्डारी नेपाल(बंगलादेश सम्बन्धको बारेमा प्रवचन दिने कार्यक्रम छ । त्यसैगरी भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा कुराकानी गर्ने कार्यक्रम छ ।

त्यसैगरी भण्डारी समकक्षीले आयोगजना गर्ने रात्रिभोजमा सहभागी हुने छिन् । त्यसैगरी राष्ट्रपति भण्डारीले त्यहाँको सहिद स्मारिकको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

ढाकास्थित नेपाली दूतवास भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग भेट गर्ने कार्यसूची पनि रहेको छ । भण्डारीको भ्रमण दलमा एक सांस्कृतिक टोली पनि रहने छ ।

षड्यन्त्र भयो, पहिचान र अधिकारको मुद्दामा बाँचुन्जेल लड्छौं : प्रचण्ड

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पहिचान र अधिकारको मुद्दा नछोडेको भन्दै बाँचुन्जेल लड्ने उद्घोष गरेका छन् ।

आइतवार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा दलित मुक्ति मोर्चा द्धारा आयोजित ५६ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस(२१ मार्च) र नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अधिकार र पहिचानको मुद्दा नछोडेको बताएका हुन् । दलित र महिलालाई विशेषाधिकार दिनको निम्ति आफुले पहल गरेको पनि उनको भनाई छ ।

विशेषाधिकारबिना महिला र दलितहरुले बास्तविक अर्थमा अधिकार सम्पन्न हुने अभियानमा प्रतिस्पर्धा गर्न सक्दैनन् भनेर संविधान सभाको माइनटमा नै नोट अफ डिसेन्ट राखि भविष्यमा यसको निम्ति आन्दोलन गर्ने बाटो खुला राखेको भएपनि आफुले मुद्दा छाडेको भनि प्रचार भएको उनको भनाई छ ।

प्राप्त अधिकारको उपयोग गर्दै बाँकी अधिकारको निम्ति लड्ने नीति लिएको भन्दै उनले विशेषाधिकार र पहिचानको मुद्दा नछोडेको स्पष्ट पारे । उनले भने – ‘तपाइहरुलाई लाग्दो हो प्रचण्डले छोडेको हो कि हाम्रो मुद्धालाई भन्ने लाग्दो हो । त्यो चाहीँ साचो होइन । मैले जति आन्दोलनको बलबाट र आजको राजनीतिक परिस्थितिमा प्राप्त हुनसक्ने जति अधिकार चाहिँ लिने र बाँकी अधिकारको निम्ति आन्दोलन जारी राख्ने नीति लिएको हो । अरु केही पनि होइन । न मैले विशेषाधिकार छोडेको छु ।

न मैले संघीय लोकतान्त्रिक गणतन्त्रमा सबै उत्पीडितहरुले पाउनुपर्ने पहिचान र अधिकारको मुद्धा छोडेको छु । मैले जति प्राप्त हुन सक्थ्यो त्यति चाहीँ लिइहालौँ । त्यसभन्दा अगाडी चाहीँ फेरी आन्दोलन अगाडी बढाइराख्नुपर्ने हुन्छ । र हामीले संविधानलाई पनि एउटा गतिशिल र परिवर्तनशिल दस्तावेजको रुपमा संविधान संशोधनको माध्यमबाट परिमार्जन गर्दै लैजाने र उत्पीडितहरुको अधिकार र पहिचानलाई स्थापित गर्दै लैजाने बाटो अपनाएको मात्रै हो । तपाइहरुले गहिरोगरी विचार गर्नुभयो भने यो कुरा बेठिक भनेर बहस गर्ने ठाउँ हुन्छ भन्ने मलाई लागेको छैन ।’

अध्यक्ष प्रचण्डले संविधानमा दलित, महिला, मधेसी, आदिबासी जनजातिलाई अधिकार दिएको कतिपयलाई मन नपरेका कारण संविधान च्यात्न लागेको बताए । नेपालको संविधान स्वीकार गर्न नसक्ने देशी विदेशीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रयोग गरेर संविधान र गणतन्त्र सिध्याउन खोजिएको पनि उनले आरोप लगाए उनले भने – ‘हिजोका गणतन्त्र विरोधी, सामन्तवादका दलालहरु देश भित्रका र देशबाहिरका प्रतिक्रियावादीहरु पनि जसले यो संविधानलाई स्वीकार्न सकेका छैनन् । बिचार गर्नुहोला, ति सबै मिलेर एउटा धार बनेको छ । र ति सबैले नेपालमा यो संविधानलाई निस्तेज पार्न सक्ने मान्छे खोज्दै जाँदा उनीहरुले केपी ओली भेटेका छन् ।

केपी ओली नै रहेछ यो संविधान सिध्याउन सक्ने, गणतन्त्रपनि सिध्याउन सक्ने, सबै उत्पीडित वर्ग , जाति, क्षेत्र, लिङ्ग,समुदायलाई उनीहरुको हक अधिकारलाई सिध्याउन सक्ने पहाडिया उच्च जातिय अहंकारवादको प्रतिनिधि र विदेशीको अगाडी राम्रै लम्पसार पर्नपनि सक्ने सजिलै । बिसौँ, पच्चीसौँ वर्षदेखि विदेशीहरुले हुर्काएको, पालित पोषित पनि को हो भनेर हेर्दै जाँदा केपी ओली नै देखियो भनेका छन् । र अहिले केपी ओलीलाई प्रतिनिधिको रुपमा त्यो धारको प्रतिगामी, प्रतिक्रान्तिकारी, निरंकुश, लोकतन्त्रविरोधी, समावेशी समानुपातिक विरोधी सारमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई नाश गर्न सक्ने पात्रको रुपमा केपीजीलाई साथ लिएका छन् उनीहरुले । कतिदिन लिन्छन् मलाई थाहा छैन । अहिले चाहीँ लिएकै छन् ।’

नेपाली जनताले आत्मनिर्णयको अधिकार खोज्नुपर्ने अवस्था आएको अध्यक्ष प्रचण्डको भनाई छ । दलित, आदिवासी, जनजाति, श्रमिक लगायतकोविरुद्धमा षड्यन्त्र भएको भन्दै उनले त्यसकोविरुद्ध आफू बाचुञ्जेल लड्ने पनि बताए । संविधानमाथि प्रहार गरेर सबैको अधिकार उल्ट्याउन खोजिएको उनको भनाई छ ।

 

जन सवालबाट साभार

देवकोटा सङ्ग्रहालय बनाउने काममा विलम्ब नहोस्

0

चूडामणि बन्धु (१९९५ ज्येष्ठ, पाल्पा सुपुत्र : डिल्लीराज उपाध्याय रेग्मी र हरिप्रियादेवी रेग्मी) नेपाली साहित्यकारहरूमध्ये अग्रज , त्रिभुवन विश्वविद्यालयका वरिष्ठ प्राध्यापक एवम् प्राज्ञ व्यक्तित्व हुन् । उनलाई जीवनीपरक सिर्जना, समीक्षा, अनुसन्धान, भाषाविज्ञान, बालसाहित्य, लोकसाहित्य आदि अनेक क्षेत्रमा विशेषज्ञका रूपमा आदर गरिन्छ । यहाँ बन्धुलाई देवकोटाको जीवनी लेखन, देवकोटाको बहुकोणीय कृति देवकोटा लेखन र देवकोटाका कविता, कथा, गीत आदि सम्पादक व्यक्तित्वका रूपमा देवकोटा विषयक स्रोत व्यक्तिका रूपमा लिइएको छ । बन्धुका महाकवि लक्ष्मीप्रसाद देवकोटा (बाल, २०१८), मोतीराम भट्ट (२०६४) कलाकार अरनिको (सह कृष्णप्रसाद पराजुलीसँग, २०६५) देवकोटा (२०३६), जस्ता जीवनी कृतिहरू प्रकाशित छन् । उनका. नेपाली भषाको उत्पत्ति (२०२५), भाषाविज्ञान (२०३०), सिञ्जाली स्टडी इन लिङ्ग्विस्टिक विहाभियर (सं १९७३), क्लज प्ल्याटर्स इन नेपाली (१९७३), अनुसन्धान प्रबन्धको रूप र शैली (२०३५) कर्णाली लोकसंस्कृति खण्ड ४ (२०३८), अनुसन्धान तथा प्रतिवेदन लेखन (२०५२), भषाविज्ञानका सम्प्रदाय (२०५३), नेपाली लोकसाहित्य (२०५८) जस्ता कृतिहरू प्रकाशित छन् । बन्धुका अनेक सम्पादित कृतिहरू प्रकाशित छन् । उनका साझा कविता (२०२५), साझा एकाङ्की (२०२५), लक्ष्मी कवितासंग्रह (२०३३), लक्ष्मी कथासङ्ग्रह (२०३४), लक्ष्मी गीतिसङ्ग्रह (२०४०), स्मृतिका केही पृष्ठ (२०४१), चिल्ड्रेन बुक्स एन्ड रिडिङ इन नेपाल (इ.१९८७), नेपाली व्याकरणका केही पक्ष (२०४५), आधारभूत प्राविधिक शब्दावली (२०५२), मौलिक कृति (२०४८), संस्कृत सूक्ति (२०४८), नेपाली बालविश्वकोश (२०६०), नेपाली साहित्यको इतिहास खण्ड १ (२०६१), जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास खण्ड १ र २ (२०७४ र २०७६) जस्ता विविध कृतिहरू प्रकाशित छन् । विविध विषय क्षेत्रका विशेषज्ञका रूपमा स्थापित बन्धुका देवकोटाका विषयमा मात्रै पाँचवटा कृति प्रकाशन भएका छन् यसै विशेषज्ञतालाई लिएर युवा कवि एवम् समीक्षक रमेश शुभेच्छुले देवकोटा विषयमा गरेको कुराकानीलाई यस शृङ्खलाको विशेष सामग्रीका रूपमा प्रस्तुत गरिएको छ । यस अन्तर्वार्ताले देवकोटाका विविध पक्ष उजागर गरेको छ । सम्पा.

 

वार्ताकार-रमेश शुभेच्छु

रमेश शुभेच्छु युवा पुस्ताका सक्रिय स्रष्टा, द्रष्टा एवम् साहित्यिक सञ्चारकर्मी हुन् । उनका अनेक कृति, फुटकर लेखरचना र अन्तर्वार्ताहरू प्रकाशित छन् । उनले नेपालका विशिष्ट विद्वान्हरूसँग प्रबन्ध वार्ताहरू लिएका छन् । उनले प्रबन्धवार्ता गरेका विद्वान्मध्ये डा. चूडामणि बन्धु पनि एक हुन् । यहाँ उनले बन्धुसँग गरेको देवकोटा विषयक वार्ताको सारलाई प्रस्तुत गरिएको छ । यो वार्ताले देवकोटाका विविध पक्षलाई समेटेको छ ।
सम्पा.

गुरु नमस्कार
नमस्कार

आज म यहाँसँग देवकोटा विषयमा केन्द्रित कुराकानीका लागि आएको छु ।
हुन्छ गरौँ न ।

यहाँको जन्म साल १९९५ । यहाँले देवकोटासँग साक्षत्कार हुने अवसर पाउनुभयो ?
मलाई महाकवि देवकोटासँग साक्षात्कार हुने सौभाग्य मिलेन ।

यहाँको युवा उमेरमा महाकवि लक्ष्मीप्रसाद देवकोटा शीर्षकमा बालजीवनीको कृति प्रकाशन भएको छ । यो कृति लेख्नका लागि अभिप्रेरक पक्ष के हो ?
मैले भनिसकेँ, मलाई महाकवि देवकोटासँग साक्षात्कार हुने सौभाग्य मिलेन । काठमाडौँ आउनु भन्दा अघि एक पटक बनारसको पुस्तक पसलमा मैले हिन्दीमा संसारका महापुरुषहरूबारे लेखिएका ससाना बालपुस्तक भेटाएँ । ती एक रुपिँयाका थिए, मलाई पनि त्यस्तै पुस्तक तयार गर्ने विचार आयो । त्यस बेला म विद्यालयमा पढाउँथेँ र बालबालिकाका लागि सरल भाषामा महापुरुष जीवनी तयार गरेमा उनीहरूलाई प्रेरणा मिल्छ भन्ने विचारले यो काम थालेको थिएँ । त्यस ताका देवकोटा मेरालागि आदर्श महापुरुष थिए र मैले पहिलो बालजीवनी देवकोटाबारे लेख्ने विचार गरेँ ।

साक्षात्कार नभएको प्रतिभाका विषयमा जीवनी सिर्जना गर्दा कसरी सामग्री सङ्कलन गर्नुभयो ?
मेरो जीवनी मालाको त्यो पहिलो कृति २०१८ सालमा प्रकाशित भएको थियो । नित्यराज पाण्डेले महाकवि देवकोटाबारे ग्रन्थ लेखी मदन पुरस्कार पनि पाइसकेका थिए र उनको कृतिका साथै केही पत्रपत्रिका र केही मित्रहरूबाट सूचना जम्मा गरी त्यो तयार गरेको थिएँ ।

यहाँले देवकोटाको त्यही जीवनी कृतिलाई बीज बनाएर देवकोटा शीर्षकको जीवनीपरक वृहत् समालोचना ग्रन्थ प्रकाशन गर्नुभयो । यो ग्रन्थ लेखनको अभिप्रेरक पक्ष चाहिँ के होला ?
‘महाकवि लक्ष्मीप्रसाद देवकोटा’ बाल जीवनी भए पनि यसलाई धेरैले मन पराए । छिटै सकियो र त्यसको अर्को संस्करण पनि प्रकाशित गरेँ । साझा प्रकाशनको स्थापनापछि क्षेत्रप्रताप अधिकारी त्यहाँ महाप्रबन्धकका रूपमा आएका थिए । सुरुका दिनमा त्यस ताका साझा प्रकाशनले विभिन्न विधाका सङ्कलन पनि तयार गर्ने योजना बनाएको थियो । मैले साझा कविताको सङ्कलन र सम्पादन गरी दिएँ । त्यसको लगत्तै साझा एकाङ्कीको सम्पादनको अभिभारा पनि मैले लिनु प¥यो । यी दुवै काम सके पछि लेखनाथ, देवकोटा र समका बारेमा महत्त्वपूर्ण ग्रन्थ तयार गर्ने सहमति भयो । कुनै विशेष परियोजना होइन । ग्रन्थ तयार भएर छापेपछि नियमानुसारको रोयल्टी पाउने सर्त थियो ।

देवकोटा विषयको त्यति गहन कृति तयार पार्न के कस्ता सङ्घर्ष गर्नु पर्‍यो ?
देवकोटा कृति तयार पार्नका लागि मैले आफ्ना तर्फबाट निकै खोज र अध्ययन पनि गर्नु प¥यो । त्रिभुवन विश्वविद्यालयको शिक्षणको जिम्मेवारी त छँदै थियो । भाषाविज्ञानमा विद्यावारिधि पनि गर्दै थिएँ । देवकोटाको व्यक्तित्व र कृतित्वबारे चाहिने सामग्री जम्मा गरेपछि सबैलाई व्यवस्थित गरेर तिनको अध्ययन गरी टिपोट बनाएर ओलम्पियाको नेपाली टाइप राइटरमा सोझै लेख्थेँ । संशोधन र परिवर्तन गरेका पृष्ठहरूलाई मात्र पुर्नटङ्कन गर्थेँ । यो २०३३ तिरै तयार गरेको भए पनि २०३६ मा मात्र प्रकाशित भयो ।

देवकोटा विषयक सामग्री सङ्कलन कतिको सहज थियो ?
देवकोटाबारे प्राथमिक र गौण सामग्रीको सङ्कलन गर्नु त्यति सजिलो थिएन । उनका कतिपय कृतिहरू अप्रकाशित नै थिए । देवकोटाका समकालीन लेखक कविहरूलाई भेटेँ, सूचना लिएँ, संवाद गरेँ । महाकविको घर गएर उनकी धर्मपत्नी मनदेवी देवकोटा अनि छोरा पद्मप्रसाद देवकोटालाई भेटेँ । उहाँहरूको सदासयताले निकै अप्रकाशित सामग्री पनि हेर्न सक्ने भएँ । यसै अवधिमा मैले ‘लक्ष्मी कथासङ्ग्रह’, ‘लक्ष्मी कवितासङ्ग्रह’ र ‘लक्ष्मी गीतिसङ्ग्रह’को पनि सङ्कलन र सम्पादन गरेको हुँ । त्यसताक कतिले मलाई साझा प्रकाशनकै लेखक भन्थे भने कतिले देवकोटामा विद्यावारिधि गरिरहेको ठान्थे । झन् ‘देवकोटा’ निस्के पछि त उनीहरूको ठनाई बलियो भएको थियो । आफुलाई भने चम्स्कीको सिद्धान्त खार्नु पर्ने पीडा छँदै थियो ।

यहाँले जानेबुझेरै देवकोटा कृतिलाई जीवनीपरक समीक्षाका रूपमा प्रस्तुत गर्नुभएको हो कि लेख्दै जाँदा त्यस रूपमा तयार भयो ?
देवकोटालाई भौतिक रूपमा नचिनेको र कृतिका आधारमा मात्र उनलाई आदर्श मानेकाले जीवनी र कृतिलाई मिलाएर यस ग्रन्थको निर्माण गर्ने योजना बनाएको हुँ । तयार भएपछि समालोचाना पनि भएछ, अझ जीवनीपरक समालोचना भएछ । त्यस बेला जीवनीपरक समालोचना कुन चराको नाउँ हो मलाई थाहा थिएन ।

यहाँले केही त सङ्केत गरिसक्नु भएकोछ । यहाँले लक्ष्मी कवितासङ्ग्रह पनि सम्पादन गर्नुभयो । लक्ष्मी कवितासङ्ग्रह (२०३३) को सम्पादनको जिम्मेवारी कसरी आयो ? यो कृति यहाँको योजनाले बन्यो कि साझा प्रकाशनको योजनामा बनेको हो ?
मैले अघि नै भने ‘देवकोटा’ लेख्ने क्रममा महाकविका कविताहरूको अध्ययन गर्न उनका प्रकाशित र अप्रकाशित कृतिहरूको अध्ययन गर्नु पर्ने थियो । उनका अप्रकाशित कृतिको अध्ययन गर्न देवकोटाकै कविकुञ्जमा गएँ । देवकोटाका इन्द्रेनी कालका र त्यसपछिका कृतिको अध्ययन गरेपछि त्यस समयावधिका कविताकृतिको राम्रो सङ्कलन गर्न सकिने देखियो । त्यस कालमा कविताको सङ्कलन तयार गर्न देवकोटा आफै सक्रिय रहेको कुरा उनका हस्तलिखित र टङ्कित पाण्डुलिपिहरू हेर्दा थाहा भयो । उनका गीत र कविताका कापीहरू पनि भेटिए । देवकोटाले यस अवधिमा आफ्ना कविताहरूको संशोधन, परिष्कार र पुनर्लेखन पनि गरेको देखियो । महाकवि देवकोटाले आफ्ना कविता एक पटक लेखेपछि फर्केर हेर्दैनन् भन्ने कुरा होइन रहेछ भन्ने कुरा ती विभिन्न पाठहरू हेर्दा थाहा भयो । मैले एउटै कविताका दुई – तिन पाठमध्ये सङ्कलनका निम्ति एउटाको छनोट गर्नु पर्ने भयो । यो काम सजिलो थिएन । तर त्यसरी छनोट गर्दा पछिल्लो पाठलाई लिने प्रयास भयो । कविताका अन्य पाठबारेको सूचना मैले ‘लक्ष्मी कवितासङ्ग्रह’को परिशिष्टमा राखेँ ।

यहाँले प्रारम्भिक खोजका क्रममा भेटेका पाठलाई त परिशिष्टमा राखिदिनुभयो अरू पनि केही छुटेका होलान् कि ? यहाँलाई के लाग्छ ?
मैले भेटेसम्म समेटेको छु । अनुसन्धानको क्रम सकिँदैन ।

यहाँले कविता सङ्कलन गरिसकेपछि लक्ष्मी कवितासङ्ग्रह नाम जुराउने आधार के
थियो ?
यहाँले सोधेको प्रश्न स्वाभाविक हो । सङ्कलनको नाम के राख्ने ? महाकवि देवकोटाले आफ्ना निबन्धलाई ‘लक्ष्मी निबन्धसङ्ग्रह’ भने जस्तै ‘लक्ष्मी कवितासङ्ग्रह’ राखेँ ।

भनेपछि लक्ष्मी गीतिसङ्ग्रह’ र ‘लक्ष्मी कथासङ्ग्रह’ को शीर्षको नामकरणको आधार पनि यही हो नि होइन ?
हो ।

यहाँले सम्पादन गरेको कृति देवकोटाको कविताकृति इन्द्रेणी कालीन कविताकृति हो । देवकोटाको कवि प्रतिभाको मूल्याङ्कन इन्द्रेणी कालीन सिर्जनासँग जोडेर बढी गरिन्छ । यहाँका दृष्टिमा देवकोटा कस्ता कवि हुन् ?
देवकोटा आद्यन्त मानवतावादी कवि हुन् । उनी सुरुका स्वच्छनदतावादी र पछिका स्वच्छन्दतावादी, क्रान्तकारी कवि हुन् । उनको लक्ष्मी कवितासङ्ग्रहमा धेरै जसो २०१३ सालमा पुनर्लेखन र परिष्कार गरिएका अनि रचिएका कविता राखिएका हुन् । सम्भवतः त्यसै साल उनी यी कविताहरू प्रकाशित गर्न चाहन्थे । २०१३ साल देवकोटाको कविता–गीत रचनाको स्वर्ण वर्ष हो ।

यहाँको सम्पादनमा लक्ष्मी कथासङ्ग्रह (२०३४) पनि प्रकाशनमा आयो । यो कृति सम्पादनको पृष्ठभूमिबारे जानकारी पाऊँ न ।
साझा प्रकाशनमा देवकोटाको हस्तलिखित कथाहरूको एउटा पाण्डुलिपि रहेछ । त्यो त्यस ताका महाप्रबन्धक सान्तनु पन्तले मलाई देखाउनु भयो । त्यो हेरेपछि ती ५ ओटा कथा अनि शारदा र अन्यत्र प्रकाशित कथालाई सङ्कलन गरेमा एउटा कथासङ्ग्रह तयार हुन सक्ने मैले देखेँ । यो कुरा मैले महाप्रबन्धक पन्तज्यूलाई बताएँ । उहाँले प्रकाशन गर्ने निर्णय गरेपछि ती कथाहरूलाई टङ्कित गरियो र प्रकाशनार्थ पाण्डुलिपि तयार भयो । देवकोटाका कविताको छनोट गर्नु पर्ने जस्तो अवस्था यसमा थिएन । केही शब्द र वाक्यलाई प्रचलित व्याकरणका नियमअनुसार मिलाउनुबाहेक अरू केही गर्नु परेन ।

कस्तो संयोग परेछ । यस कृतिको सम्पादनले देवकोटाको जीवनीलाई सहयोग पुगेको जस्तो देखिन्छ । उहाँका कथामा केही जीवनीका पाटा पनि त समेटिएका होलान् नि ?
हो । देवकोटाको जीवनी लेख्नलाई कथाको पाण्डुलिपिले मलाई महत्त्वपूर्ण सामग्री दियो । यसैमा देवकोटाले १०० ओटा कथा लेख्ने योजना बनाएको र तिनको शीर्षक पनि लेखेको पाइयो । यसैमा देवकोटाले नेपाली साहित्यका विविध क्षेत्रको लेखनमा क्रान्ति गर्ने योजनाको रूपरेखा पनि बनाएको पाइयो । त्यसको चर्चा प्राध्यापक वासुदेव त्रिपाठीले आफ्ना लेखमा गर्नुभएको छ ।

यहाँका दृष्टिमा देवकोटा कस्ता कथाकार हुन् ?
देवकोटा सामाजिक कथाकार हुन् । कवितामा उनी कल्पनामा उडे र स्वच्छन्दतावादी भए । कथामा उनी धरतीमा ओर्ले र यथार्थवादी भए । सामाजिक विकृति, गरिबी, बालमनोविज्ञान, मानवीय चरित्र तथा नारीहरूको अस्मितालाई उनले कथाको विषय बनाए ।

कस्तो सटिक विश्लेषण । म आज सारभूत कुरा मात्र खोज्दैछु । यहाँले देवकोटाकै अर्को कृति लक्ष्मीगीतिसङ्ग्रहको पनि सम्पादन गर्नुभएको छ ? यो कृति सम्पादनको पृष्ठभूमि त कविता सङ्कलन नै होला ? केही अनुभव बताइदिनोस् न ।
लक्ष्मी गीतिसङ्ग्रह पनि लक्ष्मी कवितासङ्ग्रहको सङ्कलनका क्रममा तयार गरिएको हो । २०१३ सालमा देवकोटाले आफ्ना गीतहरूको सङ्कलन तयार गरेको कुरा उनले सङ्कलित गीतका कपीका ‘गीतिसङ्ग्रह २०१३’ लेखेको कापीबाट स्पष्ट हुन्छ । देवकोटाका गीतका सङ्कलन तीन कापीमा थिए होलान् । दोस्रो कपी नै फेला परेन । पहिलो र तेस्रो कपीका अनि अन्यत्र छरिएका जति सबैलाई समेटेर ‘लक्ष्मी गीतिसङ्ग्रह’ तयार भयो । उनैले यिनको परिष्कार गरेर प्रकाशनका निम्ति तयार गरेका जस्ता थिए । पाएसम्मका गीत सङ्कलन गर्ने प्रयास गरे पनि केही छुटेका हुन सक्छन् ।

देवकोटाका अरू गीत पनि फेला परून् । हामी पढ्न पाऊँ । यहाँका दृष्टिमा देवकोटा कस्ता गीतकार हुन् ?
देवकोटा आफ्ना समयका कविता क्षेत्रका महाकवि जस्तै गीति क्षेत्रका महान् गीतकार हुन् । उनले सुरुदेखि नै गीतको रचनामा रूचि लिएका थिए र तिनको गायन पनि भएको थियो । उनको ‘गाइने गीत’ बढी स्वच्छन्दतावादी प्रकृतिको थियो तर २०१३ सालका गीतहरू उनका कविताझैँ स्वच्छन्दतावादी–क्रान्तिकारी भए ।

यहाँले स्वच्छन्दतावादी क्रान्तिकारी भन्नुभयो । देवकोटालाई स्वच्छन्दलतावादी प्रगतिवादी दुवै चरित्रमा विशेषत पहाडीपुकारदेखि नै देखिन्छ । यी पद चयनबारे यहाँको धारणा केही पाऊँ न ?
२०१३ सालमा उत्कर्षमा पुगेका देवकोटाका कविता र गीतलाई स्वच्छन्दतावादी–प्रगतिवादी भनिएको हो र खास गरी पठनपाठनका क्रममा यो विशेषण निकै चल्यो पनि । तर धेरै जसो माक्र्सवादी सौन्दर्यशास्त्रीहरू देवकोटालाई प्रगतिवादी भन्नु भन्दा क्रान्तिकारी नै भन्न उचित देख्छन् ।

देवकोटा र रवीन्द्रनाथ ठाकुरबाट अभिप्रेरित भएको कुरा यहाँको जीवनी पनि बोल्छ । देवकोटाले बङ्गाली भाषाकै वर्णमाला किनेर पढेको पनि पाइन्छ । उनको गीतिकारितालाई तुल्य रूपमा हेर्न सकिने कुनै सम्भावना छ ?
प्रतिभाको कुरा गर्ने हो भने हाम्रा देवकोटा रवीन्द्रनाथ ठाकुर भन्दा माथि होलान् । तर अभ्यासमा देवकोटा धेरै पछि परे । देवकोटाले अध्ययन र अभ्यास गर्ने समय पाएनन् । कविता र निबन्धबाहेक देवकोटाले अन्य विधामा पर्याप्त अभ्यास गरेनन्, गीत लेखनमा पनि ।

रवीन्द्रसङ्गीतको चर्चा गर्ने गरिन्छ । उनी गायक पनि थिए । यहाँले कतै एउटा लेखमा नेपालमा देवकोटा सङ्गीतको विकास गर्न सकिने सम्भावनालाई देखाउनुभएको थियो । म अलिकति बढी तुलनात्मक पक्षमा जिज्ञासु रहेँ ।
रवीन्द्रनाथ ठाकुरले २००० भन्दा बढी गीत लेखेका थिए । देवकोटाले लेखेका गीत २०० जति पुग्लान् कि ? ठाकुर बङ्गालका सुसंस्कृत सम्पन्न परिवारका सदस्य थिए । उनलाई नपुग्दो केही थिएन । उनले सङ्गीतको अभ्यास गरेका थिए । उनलाई प्रशस्त वातावरण पनि थियो । उनका गीत उनकै स्वरमा सुन्न पाइन्छ र अरू धेरैले उनका गीत गाइदिएर रवीन्द्र सङ्गीतको विकास भयो । रवीन्द्र सङ्गीतको बङ्गाली संस्कृतिमा ठूलो योगदान छ । देवकोटा सङ्गीतको पनि विकास गर्न सकिन्छ भनेर मैले एउटा सानो लेख २०५६ साल कार्तिक २० गतेको गोरखापत्रमा लेखेको थिएँ । त्यो रचना (१०४, २०६८) मा पुर्नमुद्रित छ । देवकोटाका राम्रा गीतहरू छानेर राम्रै सङ्गीतकारले गाउनु पर्छ । देवकोटा सङ्गीतलाई रवीन्द्र सङ्गीत जस्तै जस्तै बनाउन सकिन्छ ।

यहाँले देवकोटा सङ्गीतको सम्भावनालाई पनि देखाउनुभयो । सरसरती हेर्दा नेपाली साहित्यका विश्वकविका रूपमा चिनाउन लायक प्रतिभा लक्ष्मीप्रसाद देवकोटा हुन् । उनका समग्र कृतिको प्रकाशनका लागि प्रयास अहिलेसम्म पनि किन भइरहेको छैन ?
विश्वकविका रूपमा देवकोटालाई संसारमा चिनाउन केही विदेशी र स्वदेशी लेखक तथा अनुवादकले गरेको प्रयास प्रशंसनीय छ । एउटै मुनामदनका अनेक अनुवाद भइसके । तर उनका छरिएका कविता र गीतहरूको सङ्कलन पनि अहिलेसम्म हुन सकेको छैन । उनका सम्पूर्ण रचनाको सङ्कलन गरी देवकोटा ग्रन्थावलीका रूपमा प्रकाशन हुनु पर्ने हो । यसका लागि राम्रै लगानी गर्नु पर्ने हुन्छ ।

विश्वप्रसिद्ध स्रष्टा सेक्सपियरका जस्तै हाम्रा देवकोटाको जन्मघरलाई साहित्य प्रेमीहरूको तीर्थस्थल बनाउन किन विलम्ब भइरहेछ ?
महाकविको जन्मघरलाई एउटा सुन्दर सङ्ग्रहालयका रूपमा विकसित गरेर साहित्यप्रेमीहरूको तीर्थस्थल बनाउने तयारी भइरहेको मैले सुनेको हुँ । तर यस काममा निकै विलम्ब भएको छ । यसरी विलम्ब हुँदा सङ्ग्रहालयका लागि ठाउँ पाउन गाह्रो हुन्छ, पाए पनि महँगो पर्छ । साहित्यप्रेमीहरू देवकोटालाई बुझ्नबाट वञ्चित हुन्छन् । विभिन्न व्यक्तिसँग रहेका देवकोटासम्बन्धी सामग्री पनि हराउने र नष्ट हुने सम्भावना रहन्छ । देवकोटा सङ्ग्रहालय बनाउने जिम्मा नेपाल प्रज्ञाप्रतिष्ठानलाई दिइएको छ भन्ने सुनेको छु । आशा गरौँ, यो कार्य छिटै सम्पन्न होस् ।

देवकोटा सङ्ग्रहालय निर्माणका लागि नेपाल प्रज्ञाप्रतिष्ठानले जग्गा पाइसकेको भन्ने सुनिएको छ । यो आशा छिटै पुरा होला हामी कामना गरौँ ।

यो आवश्यकता हो । हामी र विदेशीका लागि पनि नेपालका महाकविको सङ्ग्रहालय नहुनु दुखद कुरा हो ।

साहित्य सागरबाट सभार

 

जोशीको परिवारद्वारा सरकारले दिएको १० लाख रुपैयाँ उपचार खर्च लिन अस्विकार

0

सरकारले पूर्व उद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य उपचारका लागि दिएको १० लाख रूपैयाँ उपचार खर्च जोशीको परिवारले लिन अस्वीकार गरेको छ ।

जोशीको स्वकीय सचिव पुष्कर पाण्डेले सरकारले नेता जोशीलाई दिने भनेको १० लाख रकम लिन परिवारले अस्वीकार गरेको सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

उनका अनुसार प्रधानमन्त्री कार्यालयबाट उपचारका लागि सरकारले दिन लागिएको जानकारी प्राप्त भए पनि जोशीको परिवारले उक्त सहयोग रकम अस्वीकार गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मस्तिष्कघातपछि उपचाररत जोशीलाई सरकारका तर्फबाट १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो।
शुक्रबार उपप्रधानमन्त्री ईश्वर पोखरेल जोशीको स्वास्थ्य अवस्थाबारे बुझ्न नर्भिक अस्पताल पुग्नुभएको थियोे । उहाँले सरकारको तर्फबाट १० लाख सहयोग गर्ने निर्णय गरेको बताउनुभएको थियो ।

फागुन १४ मा मस्तिष्कघात भएपछि अस्पताल भर्ना हुनुभएको जोशीको हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।