काठमाडौं । धारिला हिम चुचुराहरुले घेरेको चट्टाने भू-सतहमाथि मोहक जलकुण्ड । यस्तो लाग्छ, मानौ प्रकृति आफैंमा एक कुशल कालिगड हुन् । र, गोसाईंकुण्ड उनको सर्वोत्कृष्ट कलाकृति ।
कहिले हिँउको च्यादर ओढेर गजधम्म बसेजस्तो, कहिले कञ्चन निलो आकासको प्रतिबिम्ब लिएर मुस्कुराए जस्तो । यो लेकाली जलाशय कुनै नव-यौवना भन्दा कम लज्जावती र रुपवती छैन ।
धेरै अघिदेखि हो, गोसाईंकुण्डसँग साक्षात्कार गर्ने रहर बोकेको । राजधानीदेखि धेरै टाढाको गन्त्व्य पनि होइन । रसुवासम्मको यात्रा तय गरेपछि सजिलै गोसाईंकुण्ड पुगिन्छ । तर, त्यहाँसम्म पुग्ने मेलोमोसो जुराउन सकिएको थिएन । यसपालि भने संयोगले गोसाईंकुण्डलाई नाङ्गो आँखाले हेर्ने मौका मिल्यो । धीत मरुञ्जेल ।
लीला लामाको निम्तो मान्दै हामीले गोसाईंकुण्डको फन्को लगायौं । लामा एमडी ग्रुपका प्रमुख हुन् । एमडी ग्रुपअन्तर्गत एमडी एडभेन्चर ट्राभल एन्ड टुरले हेली प्याकेज सार्वजनिक गरेको रहेछ । यसै प्याकेजअन्तर्गत पर्यटन व्यवसायी रामसुन्दर बिकेलयागत तीन जनाको हाम्रो टोली गोसाईंकुण्डतर्फ हान्नियौं ।
बिहान सात बजे त्रिभुवन विमानस्थलमा हाजिर भएका थियौं । त्यहाँबाट हामीलाई बोकेर उडेको हेलिकप्टरले करिब १७ मिनेटको अवधिमा गोसाईंकुण्डमा पुर्यायो ।
हेलिकप्टरको उडान सकेसम्म बिहानको समयमा जुराउनु पर्ने रहेछ । हामी गोइसाईकुण्डको आकासमाथि पुग्दा त्यहाँका चुचुराहरु हिउँले सेताम्मे थियो । जलकुण्ड आसपासमा मान्छे हिँडिरहेका, कोही नाचगान गरिरहेका देखियो ।
गोसाईंकुण्ड धार्मिक आस्थाको धरोहर पनि हो । गोसाइकुण्डको चिसो र पवित्र पानीले स्नान गरी पूजाआजा गर्दा मनले चिताएको पुग्छ भन्ने धार्मिक विश्वास छ । त्यसैले यहाँ धार्मिक पर्यटकहरुको घुँइचो लाग्ने गर्छ ।
समुद्री सतहबाट ४ हजार ३ सय ८० मिटरको उचाइमा अवस्थित गोसाईंकुण्ड हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हो ।
हरेक वर्ष जनैपूर्णिमा र दशहराका दिन गोसाईंकुण्डमा विशेष मेला लाग्ने गर्छ । त्यसबेला हजारौं तीर्थयात्री गोसाईंकुण्ड पुगी कुण्डको ‘पवित्रजल’ ले ‘स्नान’ गरेर धार्मिक आस्था प्रकट गर्दछन् । गोसाईंकुण्डको बीचमा रहेको ढुङ्गालाई महादेव भगवानको मन्दिरकै अवशेष भएको विश्वास गरिन्छ ।
धार्मिक कथन अनुसार समुद्र मन्थन गर्दा निस्केको कालकुट विष भगवान शिवले पिउँदा घाँटीसम्म पुग्यो । उनलाई जलन र छटपटी भयो । त्यही छटपटी शान्त पार्नका लागि निलाद्री पर्वतमा पुगेर त्रिसुल बजारे । त्यहाँबाट पवित्र जल निस्कियो । उनले जल पिए र त्यही बिराजमान भए ।
यसरी चराचर जगतलाई बचाउनका लागि भगवान शिवले कालकुट विष पिएको सम्झनामा यहाँ गङ्गा दशरामा दश दिन र भाद्र सुक्ल पूणिर्मामा पाँच दिन यहाँको जलकुण्डमा स्नान गर्नेको भिड लाग्छ ।
त्यसो त धार्मिक आस्थाको धरोहर मात्र पनि होइन, गोसाईंकुण्ड । सन् २००७ मा यसलाई रामसार सूचीमा समेत सूचीकृत गरिएको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने गोसाईंकुण्डमा गोसाईंकुण्ड, सरस्वतीकुण्ड, क्युमाछोकुण्ड, दुधकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, सूर्यकुण्ड, आमाकुण्ड, गणेशकुण्ड, बतासकुण्ड लगायत १७ वटा कुण्ड रहेका छन् ।
गोसाईंकुण्ड पुगेपछि लाग्यो, प्रकृतिले कति उदार मनले सजाएको छ गोसाइकुण्डलाई । जति हेरे पनि मन अघाउँदैन । हेरिरहुँ लाग्छ ।
अनलाईनखबर बाट साभार