Friday, February 7, 2025
Homeराजनीतिहामीबीच एकता भए बहुमत प्राप्त पार्टी बनाउन सकिन्छः सभापति देउवा

हामीबीच एकता भए बहुमत प्राप्त पार्टी बनाउन सकिन्छः सभापति देउवा

गण्डकी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई बहुमत पार्टी बनाउन एकता आवश्यक रहेको बताएका छन्।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै देउवाले समावेशी र समानुपातिक राजनीतिक प्रणालीका कारण बहुमत प्राप्त गर्न गाह्रो भए पनि एकताबद्ध प्रयासले सम्भव हुने बताए।

“समावेशी प्रणालीले एउटा पार्टीको बहुमत ल्याउन कठिन बनाएको छ, तर कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ,” उनले भने, “साथीहरूबीच हार्दिक एकता भएमा कांग्रेसले बहुमत ल्याउन सक्छ।”

उनले संवैधानिक व्यवस्थाले सबै जातजाति, भाषा र समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको बताए। देउवाले बिपी, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादजस्ता नेताहरूको जिम्मेवारी पूरा गर्न एकता र क्रियाशीलता आवश्यक रहेको उल्लेख गरे।

संघर्षबाट प्राप्त लोकतन्त्र, संघीयता र समावेशितालाई सुदृढ बनाउन जोड दिँदै उनले देश विकासका लागि अधिकारको विकेन्द्रीकरण आवश्यक रहेको धारणा राखे।

प्रशिक्षण कार्यक्रमबाट कार्यदिशा तय हुने

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले माघ मसान्तसम्म प्रशिक्षण पुस्तिकालाई अन्तिम रूप दिने जानकारी दिए। उनले पार्टीको प्रशिक्षण कार्यक्रम केन्द्रदेखि निर्वाचन क्षेत्रसम्म सञ्चालन हुने बताए।

गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीको ऐतिहासिक मूल्य र विरासतलाई बिर्सन नहुने भन्दै सबैलाई समेटेर कांग्रेसलाई बलियो बनाउन जोड दिए।

एकदिने कार्यक्रममा सातै प्रदेशका पार्टी सभापति, प्रशिक्षण विभाग प्रमुख, केन्द्रीय पदाधिकारी तथा कास्कीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका