Saturday, April 18, 2026
Homeअन्तराष्ट्रियहर्मुज जलसन्धिमा इरानको कडा नियन्त्रण, तेल बजार र विश्व राजनीतिमा तनाव चुलियो

हर्मुज जलसन्धिमा इरानको कडा नियन्त्रण, तेल बजार र विश्व राजनीतिमा तनाव चुलियो

तेहरान । विश्वव्यापी ऊर्जा आपूर्तिको प्रमुख केन्द्र मानिने हर्मुज जलसन्धिमा इरानले पुनः पूर्ण नियन्त्रण कायम गरेको घोषणा गरेको छ।

केही समयअघि जलमार्गलाई केही सहज बनाउने संकेत दिएको इरानले आफ्नो निर्णय उल्ट्याउँदै अब कडा प्रतिबन्ध लागू गरेको जनाएको छ। यस आकस्मिक निर्णयले विश्व बजारमा तेलको मूल्य र भूराजनीतिक स्थिरतामा नयाँ चुनौती थपिएको छ।

इरानको संयुक्त सैन्य कमान्डद्वारा जारी वक्तव्यअनुसार उक्त जलमार्ग अहिले पूर्ण रूपमा इरानी सशस्त्र बलको कडा निगरानीमा रहेको छ। इरानी अधिकारीहरूले जलमार्ग ‘पुरानै अवस्था’मा फर्किएको उल्लेख गर्दै अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी नहटाएसम्म कडा नियम जारी रहने स्पष्ट पारेका छन्।

तेहरानले आफ्नो निर्णयको बचाउ गर्दै अमेरिकामाथि विश्वास तोडेको आरोप लगाएको छ। अमेरिकाले सम्झौता कार्यान्वयन नगरी नाकाबन्दी कायम राखेकाले आफूहरू बाध्य भएको इरानको भनाइ छ।

यसअघि इरानले केही तेल ट्यांकर र व्यावसायिक जहाजलाई सीमित रूपमा आवागमन अनुमति दिएको थियो। तर अमेरिकाले सैन्य दबाब नघटाएपछि इरान पुनः कडा रुखमा फर्किएको हो।

उता अमेरिकी राजधानीबाट कडा प्रतिक्रिया आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको कदम अस्वीकार्य भन्दै आलोचना गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत इरानले विश्व समुदायलाई धम्क्याइरहेको आरोप लगाउँदै यसले विश्व अर्थतन्त्रमा नकारात्मक असर पार्ने बताएका छन्। अमेरिकी प्रशासनले यस कदमलाई ‘समुद्री लुटपाट’को संज्ञा दिँदै कूटनीतिक तथा रणनीतिक प्रतिवाद गर्ने चेतावनी दिएको छ।

हर्मुज जलसन्धि विश्वको करिब २० प्रतिशत पेट्रोलियम आपूर्ति हुने अत्यन्त महत्वपूर्ण समुद्री मार्ग हो। यहाँ इरानले कडा नियन्त्रण कायम गरेसँगै अन्तर्राष्ट्रिय बजारमा चिन्ता बढेको छ।

हाल खाडी क्षेत्रमा अमेरिकी र इरानी सेनाको उपस्थिति बाक्लिँदै गएको छ। दुई देशबीचको बढ्दो तनावले मध्यपूर्वको अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ।

इरानले आफ्नो नियन्त्रणमा रहेका जहाजलाई इरानी जलक्षेत्रमार्फत मात्र आवतजावत गर्न र विशेष अनुमति लिन अनिवार्य बनाएको छ। यसले उक्त मार्ग प्रयोग गर्ने व्यावसायिक जहाजहरूको सुरक्षाप्रति विश्व समुदायमा गम्भीर चिन्ता थपिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका