अमेरिका – गाजामा करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको प्रस्तावप्रति हमासले प्रतिक्रिया दिएको छ।
राष्ट्रपति ट्रम्पले आइतबार साँझ ६ बजेसम्म (न्युयोर्क समय) युद्धविरामको अन्तिम म्याद तोकेका थिए। उनले यदि सहमति नभए गाजा “नर्कमा परिणत हुने” चेतावनी दिएका थिए। तर उक्त प्रस्ताव इजरायल वा ह्वाइट हाउसलाई सन्तुष्ट पार्ने हो वा होइन भन्ने कुरा अझै स्पष्ट भएको छैन।
यसबीच, अमेरिकामा रहेका नेपाली छात्र विपिन जोशीको परिवारले ट्रम्पको प्रस्तावपछि आशा जागेको प्रतिक्रिया दिएका छन्। विपिनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले सबैसँग विपिन सकुशल फर्कने प्रार्थना गरिदिन आग्रह गरेका छन्। हाल बाँकी रहेका ४८ जना बन्धक मध्ये २० जना मात्र जीवित रहेको र तिनमध्ये एक मात्र अन्तर्राष्ट्रिय बन्धक विपिन जोशी भएको जनाइएको छ।
हमासले शुक्रबार राति प्रकाशित विज्ञप्तिमार्फत ट्रम्पको प्रस्तावमा समावेश विनिमय सूत्रअनुसार, क्षेत्रीय शर्तहरू पूरा भएपछि गाजामा रहेका सबै इजरायली बन्धक र मृतकको शव रिहा गर्ने तयारी जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “आन्दोलन वार्तामा प्रवेश गर्न मध्यस्थकर्तामार्फत तुरुन्त तयार छ।” साथै, हमासले गाजा पट्टीको प्रशासन स्वतन्त्र प्राविधिकहरूको पालना गर्ने निकायलाई हस्तान्तरण गर्न सहमति जनाउने उल्लेख गरिएको छ।
तर विज्ञप्तिमा समूहले इजरायल र अमेरिकाको प्रमुख माग मानिएको ‘हतियार त्याग्ने’ सर्तलाई सम्बोधन गरेन। त्यस्तै, सहअस्तित्वमा प्रतिबद्ध सदस्यहरूलाई दिइएको आममाफीको प्रावधानबारे पनि स्पष्ट धारणा राखिएको छैन।
स्मरणीय छ, अक्टोबर ७, २०२३ मा हमासले इजरायलमा आक्रमण गरेपछि यो युद्ध सुरु भएको थियो। त्यस आक्रमणमा करिब १,२०० जना मारिएका थिए र २५० जनालाई बन्धक बनाइएको थियो। त्यसयता इजरायली सैन्य कारबाहीमा ६२,००० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ, जसमा नागरिक र लडाकु दुवै परेका छन्। युद्धले गाजाको पूर्वाधारलाई पनि व्यापक क्षति पुर्याएको छ।


