काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न आज बिहान ८ बजे सर्वदलीय बैठक आह्वान गरेका छन्।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा हुने बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएको छ। साथै, संसद्बाहिर रहेका उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई पनि सहभागी हुन निमन्त्रणा दिइएको छ।
महामन्त्री आचार्यका अनुसार बैठकका लागि सबै दललाई औपचारिक पत्राचार गरिएको छ। साथै, सभापति लामिछानेले विभिन्न दलका नेताहरूलाई व्यक्तिगत रूपमा टेलिफोनमार्फत पनि बैठकमा सहभागी हुन आग्रह गरेका छन्।
बैठकमा सुनसरी घटनापछि विकसित परिस्थितिसहित शान्ति, सुरक्षा र समसामयिक राष्ट्रिय विषयमा छलफल हुने अपेक्षा गरिएको छ।


