Wednesday, June 10, 2026
Homeराजनीतिसिंहदरबारमै बस्न थाले मन्त्री महावीर पुन, विज्ञान तथा नवप्रवर्तन मन्त्रालयले थाल्यो तीव्र...

सिंहदरबारमै बस्न थाले मन्त्री महावीर पुन, विज्ञान तथा नवप्रवर्तन मन्त्रालयले थाल्यो तीव्र गति

काठमाडौं । सरकारको नयाँ कार्यविभाजनअनुसार गठन भएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत संरचना निर्माण र नीतिगत तयारीका कामलाई तीव्रता दिएको छ।

साविकको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधि क्षेत्रलाई अलग गरी ‘नवप्रवर्तन’लाई समेट्दै स्थापना गरिएको यस मन्त्रालयको नेतृत्व स्वतन्त्र सांसद तथा वैज्ञानिक अभियन्ता महावीर पुनले सम्हालेका छन्। मन्त्रालयको प्रशासनिक नेतृत्व इञ्जिनियरिङ सेवाकी प्रमिला बज्राचार्यले सचिवका रूपमा गरिरहेकी छन्।

मन्त्रालयले सिंहदरबारस्थित साविकको युवा तथा खेलकुद मन्त्रालयको भवनबाट औपचारिक रूपमा कार्य सञ्चालन सुरु गरिसकेको छ। नयाँ मन्त्रालय भएकाले आवश्यक संरचना, जनशक्ति व्यवस्थापन र कार्यप्रणाली विकासलाई प्राथमिकतामा राखिएको छ।

पदभार ग्रहण गरेलगत्तै मन्त्री पुनले मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अघि बढाउने निर्णय गरेका थिए। सचिव बज्राचार्यका अनुसार मन्त्रालयको दीर्घकालीन संरचना र कार्यक्षेत्र निर्धारणका लागि आवश्यक प्रारम्भिक काम तीव्र गतिमा भइरहेको छ।

मन्त्रालयको डिजिटल उपस्थितिलाई सुदृढ बनाउन आधिकारिक वेबसाइटको नमुना तयार गरी सूचना प्रविधि विभागलाई हस्तान्तरण गरिसकिएको छ। प्राविधिक प्रक्रिया पूरा भएपछि केही दिनभित्रै मन्त्रालयको वेबसाइट सञ्चालनमा आउने जनाइएको छ।

हाल स्वीकृत दरबन्दीअनुसार २४ जना कर्मचारी कार्यरत छन्। मन्त्रालयको संगठनात्मक संरचना र कार्यक्षेत्रको विस्तृत प्रतिवेदन तयार भएपछि थप जनशक्ति व्यवस्थापन र कार्यविभाजन गरिने तयारी छ।

यसैबीच, मन्त्रालयको कामलाई थप प्रभावकारी र समयमै सम्पन्न गर्न मन्त्री पुनले मन्त्रालय परिसरमै आफ्नो सरकारी निवास व्यवस्थापन गरेका छन्। उनी मंगलबारदेखि सिंहदरबारमै बस्न थालेका छन्।

वैज्ञानिक अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनलाई संस्थागत रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित स्थापित यो मन्त्रालयको कार्यशैली र प्रारम्भिक सक्रियतालाई आम नागरिक तथा सरोकारवालाले चासोपूर्वक नियालिरहेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका